विकासन्युज

युवाहरू वैदेशिक रोजगारीतर्फ, बैतडीमा उद्योग दर्ता घट्यो

बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो । गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् । दर्ता भएका उद्योगमा कृषि, वन, आटामिल, मसला, अचारलगायतका छन् । आर्थिक वर्ष २०७९/८० मा यहाँ चार सय २७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउदले बताउनुभयो । तथ्याङ्कानुसार आव २०८०/८१ मा उक्त सङ्ख्याबाट घटेर एक सय ९१ उद्योगमात्र दर्ता भएको देखिएको छ । त्यसैगरी, आव २०८१/८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ । गत आवमा यहाँ एक सय ३५ मात्र उद्योग दर्ता भएका देखिएका छन् । गएको तीन वर्षमा यहाँ वाणिज्यतर्फ तीन सय ९९ सय फर्म दर्ता भएका छन् । वाणिज्यतर्फ आव २०७९/८० मा एक सय ६३, २०८०/८१ मा एक सय ७३ र गत २०८१ र८२ मा ६३ फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग नवीकरण पनि हुने गरेका छन् । दर्ता भएका उद्योग पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी साउदले बताए । आव २०७९/८० मा दुई सय ५१, आव २०८०/८१ मा दुई सय चार र गत आव २०८१/८२ मा तीन सय ९३ उद्योग नवीकरण भएका उनले बताए । तीन वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार १२२ व्यवसाय नवीकरण भएका छन् । जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज पनि बढ्दो क्रममा छ । गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् । युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताए । सरकारी सेवा सुविधा र अनुदानका लागि मात्र पनि उद्योग दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उनले बताए । त्यसैगरी, गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट रु ७७ लाख छ हजार ७७८ राजस्व सङ्कलन भएको छ । रासस

एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउँदो चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र सञ्चालन गर्ने जनाएको छ । साथै, आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि यो अफर विशेष अवसर हुने बैंकको दाबी छ । वातावरण मैत्री सवारी प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको जनाएको छ । यस अफरबारे थप जानकारी नजिकको शाखा वा नाडा अटो शोमा रहेको बैंकको स्टल नं. इ–२४ मा सम्पर्क गरेर लिन सकिनेछ ।

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतिको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रूपमा उपलब्ध गराइँदा प्रतिरोध क्षमता वृद्धि हुनुका साथै बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासका हुने जानकार बताउँछन् । मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् । गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता बढाउन यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए । अब देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमार्फत देशैभर पहिलो चरणमा कार्यक्रम सुरु हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । आगामी वर्षमा देशका सबै आयुर्वेदिक संस्थामा यस्तो कार्यक्रम विस्तार गर्ने योजना रहेको प्रवक्ता बुढाथोकीले बताए । ‘देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवर्द्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्य रक्षामा यो महत्त्वपूर्ण कदम हो,’ उनले भने । मन्त्री पौडेलले आयुर्वेदिक औषधी तथा उपचार विधि प्रवर्द्धन गर्न स्वदेशी उत्पादकलाई विदेश निर्यातमा सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड जिएमपी प्राप्त गर्ने व्यवस्था मिलाएका छन् । विदेश निर्यात गर्न तथा देशभित्रै स्तरीय उत्पादन गरिरहेका आयुर्वेदिक उत्पादकले औषधी व्यवस्था विभागबाट यो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मन्त्री पौडेलले मिलाएका हुन् । नयाँ बजेटमा देशका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम समेत अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

निसेलढोरवासीले अझै विद्युत् सेवा उपयोग गर्न पाएनन्

बागलुङ । निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् । फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरेपनि अधिकांश स्थानीय टुकी र दियालोकै भरमा छन् । नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसेलढोरमा खानेपानी, सडकको पहुँच पुगे पनि अहिलेसम्म विद्युत्को सुविधा पुग्न नसकेको हो ।   अधिकांश स्थानीय निसी गाउँबाट गएर यहाँ बसोबास गर्ने गरेका छन् । पहिले बर्खाको समयमा मात्र निसेलढोर पुग्ने निसीवासी अहिले स्थायी रूपमै यहाँ बस्न थालेका हुन् । निसेलढोरमा बस्ती विस्तार भए पनि अहिलेसम्म विद्युत्को पहुँच नपुग्दा सयौँ स्थानीय समस्यामा पर्ने गरेका छन् । जेठदेखि असोजसम्म अधिकांश निसीका स्थानीय निसेलढोरमा बस्ने गर्छन् । उनीहरू अहिलेसम्म अन्धकारमै रात बिताउँदै आएका छन् ।  एक दशक अगाडिसम्म घुम्ती बसाइ हुने गर्दा विद्युत् विस्तारका लागि राज्यले चासो दिएको थिएन । अहिले बाह्रै महिना सयौँ स्थानीय निसेलढोरमा बसोबास गर्दा पनि विद्युत्को सुविधा पाउन नसकेको स्थानीय चन्द्रबहादुर घर्तीमगरले बताए । पछिल्लो पाँच वर्षयता निसेलढोरमा स्थायी रूपमा बस्ने स्थानीयको सङ्ख्या बढेको उनको भनाइ छ । हुनेखानेहरूले विभिन्न विद्युतीय उपकरण लिएर रातिमा उज्यालो सामान्य परिवारले टुकीकै भरमा रात कटाउनुपर्ने घर्तीमगर बताउछन् । 'अहिलेको जमानामा पनि हामीहरू विद्युत सेवा उपयोग गर्न पाएका  छैनौँ, सरकारले यति ठूलो बस्तीमा विद्युत् ल्याउनका लागि इच्छा देखाएन, पहिले बजारबाट मट्टितेल लिएर टुकी बाल्ने गथ्र्यौँ, अहिले सबै ठाउँमा बिजुली पुगेर होला बजारमा मट्टितेल पनि पाउन गाह्रो छ', उनले भने, 'विद्युत्को माग गर्न धेरै ठाउँमा पुग्यौँ, तर अहिलेसम्म कतैबाट पनि माग पूरा गर्न प्रयास भएको छैन ।' गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउनुका साथै रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्न पनि निकै समस्या भएको स्थानीय पानकुमारी विकले बताए । दुई वर्ष अगाडि नेपाल टेलिकमले टावर राखेर फोन गर्न सुविधा दिए पनि विद्युत् नहुँदा चार्ज गर्न नपाइने उनको भनाइ छ । अहिले दुई घण्टा हिँडेर मोबाइल चार्ज गर्न ढोरपाटन नगरपालिका–९ स्थित भुजी आउनुपर्ने बाध्यता रहेको विकले सुनाए । विकले भने, 'आफन्तलाई फोन गर्न पहिला निकै समस्या थियो, दुईतीन घण्टाको उकालो चढेर अग्लो पहाडमा पुगी फोन गर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको छ, तर बिजुली नहुँदा चार्ज गर्न टाढा जानुपर्छ, गाउँमा बिजुली हुन्थ्यो भने धेरै सजिलो हुने थियो, व्याट्रीबाट रेडियो सुन्छौँ, टेलिभिजन हर्न पाएका छैनौँ ।' निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्याउन केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरिरहेको जानकारी दिए । स्थानीय जलविद्युत आयोजनाबाट तार तानेर विद्युत् लैजाने भनिए पनि काम नभएको उनको भनाइ छ । आगामी वर्षसम्म निसीखोलामा विद्युत् बालेर छाड्ने उपाध्यक्ष घर्तीमगर बताउछन् । रासस

खानी खोला हाइड्रोको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले आज भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।  कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४६ लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत असार २७ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले भदौ २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको ललितपुर, सिटिजन्स बैंकको कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ । 

एनएमबि क्यापिटलका दुइटा म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को नगद लाभांश दिने घोषणा गरेको हो । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टीका इकाईधनीलाई करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ का इकाइधनीलाई १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।  लाभांश वितरण प्रयोजनार्थ दु्इवटै फण्डको भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम इकाईधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । साथै, कम्पनीले एनएमबि हाइब्रिड फण्ड एल-२का लागि लाभांश वितरण नगर्ने जनाएको छ ।

नबिल इन्भेष्टेमन्टको एनआई ३१ मा लगानी गर्ने आज अन्तिम अवसर

काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ्गको एनआई ३१ मा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ । साउन ३० गतेदेखि बिक्री खुला गरेको खुलामुखी योजना एनआई ३१ मा लगानीकर्ताहरुले आजसम्म खरिद गर्न सक्नेछन् । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग रहेको छ ।  लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । 

बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि दोस्रो चरणको आईपीओ बिक्री गर्ने

काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।