विकासन्युज

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता, ग्राहक र कर्मचारीलाई छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिटबीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले मकवानपुर जिल्लाको थाहा नगरपालिका–१३, बज्रबाराहीस्थित ओम अध्याय रिट्रिटमा उपलब्ध हुने सेवाहरूमा छुट पाउने भएका छन् । सम्झौता बमोजिम ओम अध्याय रिट्रिटले रिसोर्टमा उपलब्ध हुने विभिन्न सेवामा लाग्ने शुल्कमा बिल रकमको १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । यसले नेपाल बैंकका कर्मचारी, परिवार र ग्राहकहरूलाई सेवा उपयोगमा थप सुविधा हुने अपेक्षा गरिएको छ । उक्त सम्झौता पत्रमा भदौ २ गते नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिटका निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

नाडा अटो शोमा बिवाइडी एटो टू सार्वजनिक, मूल्य ४३ लाख ९९ हजार

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बीवाइडीकी प्रबन्ध निर्देश्क यमुना श्रेष्ठका अनुसार एटो टूलाई कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा राखिएको छ ।  'यो गाडी कम्प्याक्ट एसयुभी सेग्मेन्टमा पर्छ, जुन एटो थ्रीभन्दा सानो तर भित्री डिजाइन र अनुभवमा एसयुभीको विशेषता बोकेको छ,'  उनले भनिन् । मुख्य विशेषता र रेन्ज एटो टूमा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३४५ किलोमिटर (डब्लुएलटिपी) को रेन्ज दिन्छ । शाक्यले नेपालको सडक अवस्था र ट्राफिकका कारण वास्तविक रेन्जमा १०(२० किलोमिटरको सामान्य घटबढ हुन सक्ने बताए । सबै बिवाइडी गाडीहरूमा जस्तै यसमा पनि विश्वकै सबैभन्दा सुरक्षित मानिने 'ब्लेड ब्याट्री' प्रविधिको प्रयोग गरिएको छ । नाडा अटो शोमा किने १० वर्षको वारेन्टी नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । यद्यपि यसमा नगद छुटको व्यवस्था छैन, तर ग्राहकहरूले गाडीको मोटर र ब्याट्रीमा १० वर्षको विस्तारित वारेन्टी पाउनेछन् । सामान्यतया कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । फाइनान्स सुविधा गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि कम्पनीले नबिल बैंकसँग सहकार्य गरेको छ । नबिल बैंकमार्फत गाडी खरिद गर्दा ७ वर्षको लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा ऋण सुविधा उपलब्ध हुनेछ । अटो शोमा बिवाइडीले एटो टूका साथै सिल र एटो वान (डल्फिन) पनि प्रदर्शनमा राखेको छ ।  कम्पनीले अवलोकनकर्ताहरूलाई बिवाइडीको स्टलमा आएर नयाँ प्रविधि र गाडीहरू अवलोकन गर्न तथा हालको अफरको लाभ उठाउन आग्रह गरेको छ ।  

रुपन्देही ३ उपनिर्वाचनमा २६ दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि साउन १६ गते सूचना जारी गर्दै साउन २७ सम्म राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दलहरुलाई आव्हान गरेको थियो ।  जस अनुसार निवेदन दिएका २७ दल मध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् । पोखरेलका अनुसार नेपालको संविधान २०७२ को धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगको दल दर्तामा सबैभन्दा पहिलो नम्बरमा मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता भएको आयोगले जानकारी दियो ।  दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदा नेपाली कांग्रेस साताैँ र नेकपा एमाले ११ औँ नम्बरमा दर्ता भएको आयोगले जानकारी दिएको छ । आयोगको उपनिर्वाचन कार्यतालिका अनुसार आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ता गरिने कार्यक्रम रहेको छ ।

शिक्षा विधेयक प्रतिवेदनमाथि अध्ययन गर्दै सांसदहरू

काठमाडौं । शिक्षा विधेयकको प्रतिवेदन सांसदलाई वितरण गरिएको छ । सिंह दरबारमा सोमबार बसेको बैठकले विधेयकमाथि छलफल गरी प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरेपछि समितिले सांसदहरूलाई अध्ययनको लागि वितरण गरेको हो ।  विधेयकलाई प्राविधिक रुपमा  मिलाउने जिम्मेवारी पाएको समिति सचिवालयले आफ्नो काम सकेर समितिलाई बुझाएको थियो । प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई दुई दिनको समय दिइएको छ । विधेयक माथि समितिमा भएका विभिन्न छलफल र सहमतिको भाषा लगायतका विषयलाई कानूनी एवं प्राविधिक रुपमा मिलाउन गत २२ साउनको बैठकको निर्णय अनुसार सचिवालयलाई जिम्मेवारी दिइएको थियो ।  अब भाद्र पाँच गते समितिको बैठक बोलाइएको छ । सो बैठकमा आआफ्ना राय सहित सांसदहरुलाई उपस्थित हुन समिति सभापति अम्मर बहादुर थापाले निर्देश दिएका छन् ।

नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने - पछाडि परेकाले अरूभन्दा छिटो दौडनुपर्छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको दौडमा पछाडि परेकोले अब अरूभन्दा छिटो दौडनुपर्ने बेला आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नाडा अटो शो २०२५ को १७औं संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको समग्र विकासका लागि सबै क्षेत्रले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए । उनले संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्रीको पुस्तक 'माई भिजन' मा उल्लेखित सिंह र हरिणको कथा सुनाउँदै विकासको गति बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, 'जंगलमा सिंहले सबैभन्दा छिटो कुद्ने हरिणभन्दा छिटो कुद्न सकेन भने भोकै मर्छ, र हरिणले सबैभन्दा छिटो कुद्ने सिंहभन्दा छिटो कुद्न सकेन भने मारिन्छ । बाँच्नका लागि सबैले छिटो दौडनैपर्छ । हामी विकासमा पहिल्यै पछाडि छुटिसकेका छौं, त्यसैले हामीले अरूभन्दा छिटो दौडनुपर्छ ।' उनले युवा उद्यमी, व्यवसायी, कर्मचारी र विद्यार्थीहरूलाई नयाँ सोच र ऊर्जाका साथ अगाडि बढ्न आग्रह गरे ।प्रविधिको विकास तीव्र गतिमा भइरहेको उल्लेख गर्दै उनले सन् १९३९ मा अमेरिकी राष्ट्रपति रुजवेल्टले पहिलो पटक टेलिभिजनको उद्घाटन गर्दा त्यो असम्भव जस्तो लागे पनि आज सामान्य भइसकेको प्रसङ्ग जोडे। उनले भने, 'नेपालमा २०४२ सालमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन आउँदा ठूलो कुरा थियो, आज हामी स्मार्ट युगमा छौं । हाम्रा स्कुले विद्यार्थीहरूले मोटरसाइकल र स्याटलाइट बनाइरहेका छन्, यो खुसीको कुरा हो ।' नाडाले युवा नेतृत्व पाएकोमा प्रशंसा गर्दै अध्यक्षलाई ऊर्जावान् र भिजनरीको संज्ञा दिए । उनले भने, 'अब युवाहरूको समय आएको छ र युवाहरूले गर्न सक्छन् भन्ने विश्वास छ ।' यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय सरकारले लिएका नीतिगत सुधारका कारण अर्थतन्त्रमा उत्साह थपिएको बताए । उनले सरकारले हालै लागू गरेको युरो सिक्स मापदण्डका कारण व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि केही समय दिन सरकारसँग आग्रह गरे । समारोहको उद्घाटन प्रधानमन्त्रीले रोबोटिक्स एसोसिएसन अफ नेपालको सहयोगमा आईओटी-बेस्ड प्रविधिबाट पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा नाडाको मुखपत्र नाडा अटो न्युज को ५०औं अंकको पनि विमोचन गरिएको थियो ।   

बुद्ध, यति र श्रीको साढे २१ अर्बको व्यापार, कुन कम्पनीले कति कमाए ?

काठमाडौं । उडड्यन क्षेत्रका मुख्य प्रतिस्पर्धी हवाई कम्पनी हुन्- बुद्ध एयर, यति एयर र श्री एयरलाइन्स । आन्तरिक हवाई उडड्यनमा यी क्षेत्रमा यी तीनवटै कम्पनीले अधिकांश हिस्सा ओगटेका छन् ।  यी तीन एयरलाइन्स कम्पनीले एक वर्षमा साढे २१ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा २१ अर्ब ५५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेका हुन् । गत वर्ष सबैभन्दा धेरै कारोबार बुद्ध एयरले गरेको छ । कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । यस्तै, यति एयरलाइन्सले ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ र श्री एयरले ४ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको तथ्याङ्क छ ।  पछिल्लो तथ्याङ्कअनुसार भने गत आर्थिक वर्ष यी तीनै कम्पनीले १४ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । साथै यी तीन कम्पनीको नेपाली हवाई क्षेत्रमा ९३ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।  बुद्ध एयर बुद्ध एयरले नेपालको आन्तरिक हवाई उडानमा ६० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गरेको छ । सन् १९९६ मा स्थापित बुद्ध एयरले १८ सिटे जहाजबाट उडान सुरु गरेको थियो । नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा जहाज संख्या, लगानी, बजार हिस्सालगायतम बुद्ध एयर अग्रणी कम्पनी हो ।  कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ, सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०१७ मा ५ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१६ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर ऋण लिएको छ । कम्पनीका अनुसार ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८२ करोड ९९ लाख रुपैयाँ ओभरड्राफ्ट र ८ करोड रुपैयाँ बैंक ग्यारेन्टी लिएको छ ।   बुद्ध एयरले काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आएको छ । यसका साथै कम्पनीले हिमाल दर्शन उडान तथा पोखराबाट अन्नपूर्ण क्षेत्रका विशेष उडान पनि सञ्चालन गर्दै आएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । कम्पनीको अध्यक्ष वीरेन्द्र बस्नेत हुन् ।  यति एयरलाइन्स सन् २००२ मा स्थापित यति एयरलाइन्स नेपालको पुरानो घरेलु एयरलाइन्समध्ये एक हो । कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको मुख्य सेयर स्वामित्व रहेको छ । कम्पनीमा एशियन लाइफको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ सेयर स्वामित्व रहेको छ ।  कम्पनीको अध्यक्ष समेत रहेका ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरलाइन्सको नेतृत्व गरिरहेका छन् ।  साथै कम्पनीमा चन्दा शेर्पा प्रबन्ध निर्देशक, नोर्बु छिरिङ शेर्पालाई उपप्रबन्ध निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सुभास सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् । यति एयरलाइन्सले गत आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।  कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।  कम्पनीसँग ७२ सिट क्षमताका ७ वटा एटीआर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये ६ वटा खरिद गरिएका हुन् भने एउटा भाडामा लिइएको कम्पनीले जनाएको छ । कम्पनीले घरेलु हवाई उद्योगमा १७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ ।  अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बजार हिस्सा घटेको देखिएको छ । सन् २०२३ जनवरी १५ मा कम्पनीको नाइनएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएपछि बजार हिस्सा घटेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीको बजार हिस्सा २१ प्रतिशत थियो ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २७.१९ मिलियन अमेरिकी डलर ऋण लिएको छ ।  श्री एयरलाइन्स एयर अनन्याको नाममा सन् १९९९ मा स्थापित कम्पनीले पछि नम परिवर्तन गर्दै श्री एयरलाइन्स बनेको हो । साढे दुई दशकदेखि नेपाली हवाई क्षेत्रमा सञ्चालनमा रहेको यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् । मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ । श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १६ प्रतिशत (जुलाई २०२४) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको छ । गत आव २०८१/८२ (सन् २०२५) को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।  कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।  कम्पनीले १० वटा बम्बार्डियर विमानहरू सञ्चालन गरिरहेको छ । जसमा फिक्स्ड–विङ खण्डमा ३ जेट र ७ टर्बो प्रोप्स (भाडामा २ टर्बो प्रोप्स सहित) समावेश छन् । साथै, रोटर खण्डमा ६ वटा एमआई–८ हेलिकप्टर र दुई एयरबस सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । कम्पनीको नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति छ । साथै तीन नयाँ टर्बो प्रोप्स विमान थपिएसँगै कम्पनीले पोखरा, सुर्खेत लगायत क्षेत्रमा पनि उडान विस्तार गरेको छ । यसले कम्पनीको बजार हिस्सा बढ्नुका साथै आम्दानी समेत वृद्धि हुने कम्पनीको बुझाइ छ ।

वार्षिक बिक्रीको ४० प्रतिशत सवारी नाडा अटो शोबाट

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।  मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको दाबी गरे । उनले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए ।  ‘नेपालमा वार्षिक बिक्री हुने कुल गाडीमध्ये करिब ४० प्रतिशत यही थलोबाट बुकिङ हुने गरेको छ,’ उनले भने, ‘यसले हाम्रो रोजगार र राजस्वमा ठूलो सहयोग पु‍र्याउँछ ।’ अध्यक्ष चौधरीले युवा शक्ति पलायन देशको प्रमुख चुनौती भएको उल्लेख गर्दै नाडाले सीप विकास र रोजगारी सिर्जनामार्फत यसलाई रोक्न पहल गरिरहेको बताए । ‘हामी सीप पनि दिन्छौं, रोजगार पनि दिन्छौं,’ उनले भने, ‘युवालाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।’ सम्बोधनका क्रममा उनले सरकारले ल्याएको पछिल्लो बजेटको खुलेर प्रशंसा गरे ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिँदै अध्यक्ष चौधरीले भने, ‘यो मेरो नाडाको दश वर्षे कार्यकाल, एक दशकमा मैले नदेखेको बजेट हो । यो स्वागतयोग्य छ र हामीले हर्षोल्लासका साथ मनाउनुपर्छ ।’ उनले सरकारका सकारात्मक कदमलाई प्रोत्साहन गर्नुपर्ने र आलोचना मात्र गर्ने परिपाटीबाट माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए । यस वर्षको अटो शोमा नयाँ आकर्षणहरू थपिएको जानकारी दिँदै चौधरीले पहिलो पटक ह्युमोनोइड रोबोट र दक्षिण एसियामै पहिलो पटक 'भर्टिकल फ्लाइङ ट्याक्सी ' सार्वजनिक गरिएको बताए ।  साथै ‘मेड इन नेपाल’ पविलियनमार्फत टायर, ब्याट्री, लुब्रिकेन्ट्स जस्ता स्वदेशमै उत्पादित पार्टपुर्जालाई प्रोत्साहन गरिएको उनको भनाइ थियो । सवारी खरिदमा फाइनान्सिङको समस्या रहेको स्वीकार्दै उनले आगामी मौद्रिक नीतिको समीक्षाबाट यसको समाधान निस्कनेमा आफू आशावादी रहेको बताए ।  उनले नाडाले उपभोक्ता, व्यवसायी र सरकार सबैको हितमा काम गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

निजी मेडिकल कलेजमा बढाइएको सिट संख्याप्रति स्वास्थ्यकर्मीको आपत्ति

काठमाडौं । निजी मेडिकल कलेजमा एमबीबीएस र बिडिएस कार्यक्रमका लागि सिट संख्या बढाउने चिकित्सा शिक्षा आयोगको चिकित्सकहरूले आपत्ती जनाएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले तत्काल निर्णयलाई खारेज गर्न माग गरेको छ ।  अधिकांश कलेजहरूको क्षमता सय सिट भन्दा बढी नभएको भए पनि सय भन्दा बढी सिट दिने निर्णय गरेको भन्दै यसले शिक्षा गुणस्तर घटाउने समितिले जारी गरेको विज्ञप्तिमा आयोगले चेतावनी दिएको छ । जहाँ भनिएको छ, ‘सिट वृद्धि फगत व्यापारीहरूको नाफा बढाउने खेल बाहेक अरु केही हुन सक्दैन। यसमा चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा उपाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरू मुख्य दोषी देखिन्छन्। यस्तो दीर्घकालिक रुपमा चिकित्सा शिक्षालाई ध्वस्त बनाउने निर्णयलाई समेत आयोगका पदाधिकारीहरू स्वयम् नै ऐतिहासिक निर्णय भन्दै हिँड्नु खेदजनक छ ।’ माथेमा प्रतिवेदनले नेपालको सन्दर्भमाप्रति कलेज प्रतिवर्ष एक सय  भन्दा बढी सिट नबढाउन स्पष्ट सिफारिस गरिसकेको छ । तर चिकित्सा शिक्षा आयोगले यसको विपरित सिट वृद्धि गरेको छ । यस्तो निर्णयले समग्र चिकित्सा शिक्षाको गुणस्तर खस्काउने, भविष्यमा बेरोजगार डाक्टरहरूको संख्या बढाउने, चिकित्सकमाथि श्रमशोषण बढाउने र अझै बढी सङ्ख्यामा चिकित्सकहरूलाई विदेशिन बाध्य पार्ने गम्भीर खतरा देखिने समितिको ठम्याइ छ ।   समितिले निहित स्वार्थका लागि व्यापारीहरूको अथाह नाफालाई बढाउन, नेपाली स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई दूरगामी नकारात्मक असर पार्ने निर्णयहरू द्रुत गतिमा गर्दै जाने कार्य शङ्कास्पद भएको भन्दै निन्दा गरेको छ ।  निजी मेडिकल कलेज सञ्चालकको फाइदाका लागि गरिएको यो अन्यायपूर्ण निर्णय गम्भीर परिस्थितिको सामान गर्नुपर्ने चेतावनी दिएको छ । समितिले आवश्यक परे सडक आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । समितिले मेडिकल कलेजहरूको सिट वृद्धि गर्ने निर्णय खारेज गरी, आवश्यक अध्ययन, दीर्घकालीन योजना र राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्र नीति बनाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।