पर्यटन मन्त्रीका छ प्राथमिकता, पूर्वाधार निमार्णदेिखि कालाेसूचिकाे दाग मेटाउनेसम्म
काठमाडौं । युवा जोशले भरिएका एमाले केन्द्रिय सदस्य रविन्द्र अधिकारी पर्यटन मन्त्री बनेका छन् । उनले सन २०२० सालमा बर्सेनी १५ लाख पर्यटक नेपाल आउने वातावरण बनाउने घोषणा गरेका छन् । बार्षिक १० लाख मात्रै होईन ५० औं लाख पर्यटक नेपाल आउन सक्छन तर त्यसका लागि सरकारले केहि कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउनु पर्नेछ । यस्ता हुन सक्छन् पर्यटन मन्त्रीका छ प्राथमिकता १) हवाई पुर्वाधारहरुको निर्माणमा तिब्रता हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिसँगै भैरहवा विमानस्थल र पोखरा विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । दोश्रो अन्तराष्ट्रिय विमानस्थलका रुपमा निजगढ विमानस्थल बनाउने भन्ने सरकारी घोषणाले अझै ठोस रुप लिएको छैन् । निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे अन्यौल कायमै छ । त्रिभुवन विमानस्थलको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढेको छ भने भैरहवामा एमाले बरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक खनालले अवरोध गरेको आरोप लागेको छ । पोखरा विमानस्थलमा पर्यटनमन्त्री अधिकारी आफै जोडिएका छन र उनले सहजताका लागि पहल कदमी पनि गरिरहेकै छन् । निजगढ विमानस्थलमा एमाले उपाध्यक्ष भिम रावलका छोरा जोडिएका छन् । रावलका छोराले कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्डवाइड मार्फत निजगढ विमानस्थलको प्रारम्भिक सम्भाव्यता अध्ययन गराएका थिए । अहिले ३५ लाख अमेरिकी डलरको क्षतिपुर्तिले काम हलो अड्काएको छ । ल्याण्डमार्कले ३५ लाख डलरको ब्याज समेत जोडेर क्षतिपुर्ति माग गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा विमानस्थल र निजगढ विमानस्थलको निर्माणलाई गति दिनु पर्यटन मन्त्रीको पहिलो प्राथमिकता बन्नु आवश्यक छ । यी पुर्वाधारहरु निर्माण सम्पन्न हुने वित्तिकै नेपाल आउने पर्यटकहरुको आगमन ह्वात्तै बढ्नेछ । त्यसका अलवा आन्तरिक विमानस्थलहरुको स्तरोन्नति पनि प्राथमिकतामा पर्नु पर्छ । २) नेपाल बायुसेवा निगमको प्रभावकारीता राष्ट्रिय ध्वजा बाहक नेपाल बायुसेवा निगम लथालिंग अवस्थाबाट गुज्र्रिरहेको छ । निगमसँग भएका जहाजहरुको नियमित उडान र नयाँ ल्याउने भनिएका जहाजहरुको उपयुक्त व्यापार योजना नबनाउने हो भने निगम अझै ओरालो लाग्ने त निश्चित नै छ साथमा पर्यटन उद्योग थप धारासायी बन्न सक्छ । त्यसकारण पर्यटन मन्त्रीले बायुसेवा निगमको सशक्तिकरण र युरोप तथा अमेरिकासम्म उड्न सक्ने बनाउन आवश्यक योजना ल्याउनु पर्छ । निगमले आफ्नै आम्दानीबाट सेवा विस्तार गर्ने वातावरण बनाउनका लागि पर्यटनमन्त्रीले हस्तक्षेपकारी भूमिका मन्त्रीले खेल्नु पर्ने देखिन्छ । ३) नागरिक उड्डयन प्राधिकरणको क्षमता अभिवृद्धि नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षमता माथी सधै प्रश्न उठ्दै आएको छ । अन्तराष्ट्रिय विमानस्थल भित्रै युएस बंगला जहाज दुर्घटना हुँदा ४९ जनाको जलेरै मृत्यु भयो । यसले हाम्रो अन्तराष्ट्रिय विमानस्थल भित्रकै उद्धार क्षमतामा पनि गम्भिर प्रश्न खडा गरेको छ । यो राष्ट्रिय लज्जाको बिषय पनि बन्न पुगेको छ । नागरिक उड्डयन प्राधिकरणको नियामकिय क्षमता अभिवृद्धिका साथै त्यसको संस्थागत सुदृढीकरण पनि आजको महत्वपुर्ण आवश्यकता बनिसकेको छ । प्राधिकरणलाई हवाई क्षेत्रका विचौलियाहरुले घेराबन्दीमा पारेका छन् । नियामक निकायलाई विचौलियाहरुको चंगुलबाट मुक्त गराउनु पनि अर्काे प्राथमिकता बन्नु पर्छ । ५) कालोसूचिको दाग नेपाली बायु सेवा कम्पनीहरुलाई युरोपियन युनियनले कालो सूचिमा राखेका छ । त्यसको कारण पनि नागरिक उड्डयन प्राधिकरणकै दक्षतासँग जोडिएको छ । युरोप जहाँबाट बर्षेनी लाखौं पर्यटक नेपाल आउँछन्, त्यसैले नेपाली बायु सेवा कम्पनीहरुलाई कालो सूचिमा राखेपछि नेपालको पर्यटन उद्योग उभोँ लाग्ने सम्भावनै छैन् । नेपाली बायु सेवा कम्पनीहरुलाई इयुको कालो सूचिबाट हटाउन सके मात्रै अन्तराष्ट्रिय बजारमा नेपालको छवि सुध्रने छ र युरोपियन पर्यटकहरु नेपाली विमानबाटै नेपाल आउने वातावरण बन्नेछ । ६) पर्यटन बोर्डको सशक्तिकरण पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड गतिहिन जस्तै बनेको छ । ठुलो भ्रष्टाचार काण्ड बाहिरिएसँगै भर्खरै तँग्रिँदै गरेको बोर्डले संसारभर नेपाली पर्यटन क्षेत्रहरुको प्रवद्धन गर्ने प्रयास गरेपनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन् । बोर्डले आफ्नै वेभसाइटको समेत राम्रोसँग व्यवस्थापन गरेको देखिन्न । नेपाली पर्यटन गन्तव्यहरुको प्रचार सामग्री निर्माण गरेर विश्व बजारमा दर्बिलो उपस्थिती जनाउनका लागि पनि पर्यटन मन्त्रीले आफ्नो भूमिका देखाउनै पर्नेछ । यस अघिकै कार्य शैली र गतिले अघि बढ्ने छुट नयाँ पर्यटन मन्त्री अधिकारीलाई छैन् ।
सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त
काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैंठकले भट्टराईलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो । भट्टराईले आगामी ४ वर्षसम्म यस कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।
काठमाडौं स्टीलले विकास गरेको प्रविधि विश्वभरका स्टील उद्योगका लागि धेरै उपयोगि छ
मेकानिकल इन्जिनियरीङ र मेटिरियल्स् साइन्समा अमेरिकाबाट मास्टर डिग्री गर्नु भएका केशव राज पोखरेल हाल मेटिरियल्स् साइन्समा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँ विगत १७ वर्षदेखि स्टील उद्योगमा सक्रिय हुनुहुन्छ । अमेरिकी डिफेन्स इन्डस्ट्रिजमा डिजाईनरको रुपमा समेत काम गरीसक्नु भएका पोखरेल पञ्चकन्या, अम्बे र हामा स्टील हुँदै हाल काठमाडौं स्टीलको प्रमुख कार्यकारी पदमा कार्यरत हुनुहुन्छ । पोखरेल सहितको टिमले पञ्चकन्यामा काम गर्दा नेपालमा पहिलो पटक २००२ मा टीएमटी बार उत्पादन थालेको थियो । अहिले टीएमटी बारको उत्पादन र बजार ठूलो भएको छ । हाल काठमाडौं स्टीलले फेरी नयाँ प्रविधिको प्रयोग गरी ‘रिडवार विथ कपलर सिस्टम’ उत्पादन गर्दै आएको छ । प्रस्तुत छ काठमाडौं स्टीलले प्रयोग गरेको नयाँ प्रविधि, स्टील बजार र उपभोग्य शैलीमा आएको परिवर्तन बारे पोखरेलसँग गरिएको विकास वहस । केशवराज पोखरेल, प्रमुख कार्यकारी अधिकृत-काठमाडौं स्टील प्रा.लि. काठमाडौं स्टीलले ‘रिडवार विथ कपलर सिस्टम’ मा आधारित स्टील उत्पादन गर्दै आएको छ, यसको विशेषता के हुन् ? २०६८ सालमा स्थापना भएको काठमाडौं स्टील कम्पनीले २०७० सालदेखि उत्पादन गर्दै आएको छ । अरु कम्पनीको उत्पादन भन्दा हाम्रो उत्पादन फरक छ । ‘रिडवार विथ कपलर सिस्टम’ को स्टील उत्पादन गर्ने साउथ एशियामा काठमाडौं स्टील एक मात्र कम्पनी हो । यसका उत्पादनलाई जहाँ काटेर पनि त्यसमा जोड्न सकिन्छ । जीआई पाइपमा सकेट राखेझै काठमाडौं स्टीलका रडहरु जोड्नको लागि सजिलो छ । यसरी जोडिएको भागको स्ट्रेन्थ तथा बेन्डिङ मोमेन्ट रडको परम्परागत डिजाइनको तुलनामा धेरै राम्रो हुन्छ । अन्य भागको जतिकै बलियो हुन्छ । परम्परागत स्टीलहरु जोर्तीमा ओभरल्याप (एक रडमाथि अर्को रड) गरिन्छ । निर्माणलाई बलियो बनाउन रडहरु जोर्तीमा नखप्टी हुँदैन । त्यसो गर्दा धेरै रड खपत हुन्छ । निर्माताको खर्च बढी हुन जान्छ । कति फरक पर्न सक्छ ? मानौं, एउटा पुल बनाउन १०० टन रड लाग्छ भने १० टन रड ज्वाइन्टमा मात्र खपत हुन्छ । तर काठमाडौं स्टीलको उत्पादन प्रयोग गर्ने हो भने त्यहि पुल बनाउन ९० टन मात्र भए पुग्छ । त्यस्तै, कुनै पनि प्रोजेक्टमा काठमाडौं स्टील प्रयोग गर्ने हो भने एक टुक्रा पनि खेर जाँदैन । मानौ ४० फिटको रड छ, ३५ फिट मात्र रड लाग्ने हो भने ५ फिट रड खेर जाने भयो । तर काठमाडौं स्टील प्रयोग गर्ने हो भने त्यो ५ फिटको रड खेर फाल्नु पर्दैन, अर्को ठाउँमा जोडेर प्रयोग गर्न सकिन्छ । कपलर ज्वाइन्ट र ओभरल्याप ज्वाइन्टमा कुन बलियो हुन्छ ? ओभरल्याप ज्वाइन्टमा दुई डण्डीलाई मसिनो तारले बाधेको हुन्छ । बँधाई खुकुलो भएको अवस्थामा, कङ्क्रिट राखेर भाईबेटरले चलाउँदाको अवस्थामा डण्डीको ज्वाइन्ट फाटेर जाने जोखिम हुन्छ । कपलर ज्वाइन्टमा त्यस्तो कुनै जोखिम हुँदैन । अर्को महत्वपूर्ण कुरा के छ भने ओभरल्याप ज्वाइन्टमा बढी स्टील प्रयोग हुन्छ, त्यसले घरलाई बढी बोझिलो बनाउँछ । अग्ला घर बनाउँदा ३२ एमएमको रड प्रयोग हुन्छ । एउटा रड ओभरल्याप गर्दा १२ किलोग्राम अतिरिक्त भार पर्छ । ४ वटा रड प्रयोग भएको एउटा विन्दुमा ओभरल्याप खर्च ४८ किलोग्राम हुन्छ । कपलर प्रयोग गर्यो भने त्यसको तौल १० किलो मात्र हुन्छ । एउटा रडको जोइन्टमा साढे नौ किलो कम हुन्छ भने एउटा विन्दुमा ३८ किलो कम तौल हुन जान्छ । माथिल्लो भागमा कम लोड भएको अग्ला घरहरुमा डाइनामिक लोड पनि कम हुन्छ । भूकम्पीय दृष्टिकोणले यस्तो घर कम जोखिमपूर्ण हुन्छ । काठमाडौं स्टीलको बजारमा माग कस्तो छ ? आवास तथा परियोजना मध्ये कहाँ बढी प्रयोग हुन्छ ? काठमाडौं स्टीलको मूल्य अन्य स्टीलको भन्दा केही महँगो छ । गुणस्तर र मूल्य तुलना गरेर किन्ने ग्राहक कम हुन्छन् । धेरै जसो ग्राहक जुन ब्राण्डको प्रतिकिलो मूल्य सस्तो छ, त्यहि किन्छन् । तर कुल लागतको हिसावले काठमाडौं स्टिल महँगो पर्दैन । किनकी पराम्परागत स्टीलको तुलनामा जोर्तीको ओभरल्यापमा बढी स्टीलको खपत हुँदैन । बजारमा हाल काठमाण्डौ स्टिलको माग तिव्र रुपले बढ्दै गएको अवस्था छ । प्रोफेसनल डिजाइनरहरुले तयार गरेका डिजाइनहरुमा तथा रास्ट्रिय गौरवका आयोजनाहरुको पहिलो रोजाईमा प्रयोग भएको पाईन्छ । विस्तारै सर्वसाधारणका संरचनामा पनि प्रयोग हुने क्रम बडिरहेको छ । ग्राहकले गुणस्तर तथा त्यसबाट हुने बचतका बारेमा राम्रो सँग बुझिनसकेको अवश्थाका कारण पनि सर्वसाधारणको रोजाईमा रिडबारले स्थान बनाउन नसकेको हो । बजारमा प्रतिस्पर्धी बनाउन मूल्य घटाउने प्रयास भएको होला नि ? मूल्य घटाउनको लागि हामीले रिसर्च तथा डेभलपमेन्टको काम गरिरहेका छौं । र, यो अन्तिम चरणमा पुगेको छ । यसले जोर्तीको ओभरल्यापमा हुने खपतमा ७८ प्रतिशत कम गराउने देखिएको छ भने लागत मूल्यमा २० प्रतिशत बचत हुने देखिएको छ । हामीले ज्वाइन्ट कपलर न्यूजिल्याण्डबाट ल्याउनु पर्दा यो महँगो भएको हो । अब यस्तो सकेट हामी आफैले बनाउने तयारीमा छौं । यस्तो सकेट बनाउने उद्योगको लागि नेपाली बजार सानो हुन्छ । त्यसैले हामीले नेपाल, भारत र चीनको बजारलाई लक्षित गरी नयाँ उद्योग खोल्ने तयारीमा छौं । हामीले बनाउने वित्तिकै यस्तो सकेटको मूल्य कम हुन जान्छ । त्यसपछि यसले बजारमा यति व्यापकता पाउँछ कि जुनसुकै कन्स्ट्रक्सन साईटमा यसको प्रयोग हुनेछ । काठमाडौं स्टीलको उत्पादन गर्ने प्रविधि पनि फरक छ । उत्पादनपछि ह्याण्डलिङ एण्ड डिस्प्याचको काम मेसिनले गर्ने प्रविधि हामीले पहिलो पटक नेपालमा विकास गरेको छौं र त्यसको पेटेन्ट राईट लिने प्रक्रिया अगाडि सारेका छौं । नेपाल र भारतमा पेटेन्ट राईट दर्ता भईसकेको छ । ह्याण्डलिङ एण्ड डिस्प्याच मेसिनको विकास भनेको कस्तो हो ? त्यसले उत्पादनमा कसरी सहयोग गर्छ ? ५/६ सय डिग्री तापक्रममा बनेको डण्डी गन्ने, मुठा बनाउने, बङ्ग्याउने, ट्याग लगाउने, लोड गर्ने सबै काम विश्वभर नै मान्छेले हातैले गर्ने अभ्यास छ । यो काम निकै जोखिमयुक्त काम हो । यो काम मेसिनको प्रयोगबाट गर्ने प्रविधिको हामीले विकास गरेका छौं । नयाँ मेसिनको प्रयोगसँगै दैनिक १३० जनाले गर्ने काम ४ जनाले गर्न सक्छन् । हाम्रो कम्पनीमा पुरै अटोमेशन भईसक्यो । फ्याक्ट्रीबाट उत्पादन हुँदा हुँदै गाडीमा लोड भईसक्छ । म्यानुअली हुने उद्योगमा आज उत्पादन भएको डण्डी डिस्प्याच र ह्याण्डलिङको काम ४÷५ दिन पछि मात्र हुन्छ । यो मेसिनको प्रयोगले रोजगारी कटौतिमा कस्तो असर पर्छ ? हामीले बनाएको मेसिन नेपालका सबै उद्योगले प्रयोग गरे भने ५ हजार भन्दा बढी रोजगारी कटौति हुन्छ । हरेक स्टील उद्योगमा कम्तिमा १०० र बढीमा ३०० जना भारतीय नागरिकले काम गर्छन । प्रोडक्सन ह्याण्डिलिङ र डिस्प्याच गर्ने कामदारले ८ घण्टा काम गर्दा प्रतिदिन १५०० रुपैयाँ कमाउँछन् । उनीहरुले वार्षिक ४० देखि ४५ करोड रुपैयाँ भारत लैजान्छन् । त्यो पुरै कट हुन्छ । हामीले बनाएको मेसिन लिने स्टील उद्योगहरुले गर्ने लगानी एक वर्षमा नै उठ्छ । त्यसपछि अहिले डिस्प्याच एण्ड ह्याण्डलिङमा हुँदै आएको सबै खर्च बचत हुन जान्छ । मानविय दृष्टिकोणले पनि यो मेसिन निकै उपयुक्त छ । डिस्प्याच एण्ड ह्याण्डलिङको काम गर्दा कामदार जल्ने, पोलिने वा अङ्गभङ्ग हुने जोखिम धेरै हुन्छ । धेरै गरिब र दुःख पाएका मान्छेले मात्र यो जोखिम लिएर काम गरेका हुन्छन् । उनीहरु केही समय जोखिम लिएर काम गर्छन, अलिअलि पैसा कमाएपछि यो काम गर्न छोड्छन् । त्यसैले हरेक स्टील उद्योगको लागि सबैभन्दा ठूलो समस्या भनेको डिस्प्याच एण्ड ह्याण्डलिङ गर्ने मान्छे नपाउनु हो । ‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’ यो समस्या नेपालमा मात्र होइन, भारतमा झन् ठूलो समस्याको रुपमा रहेको छ । विश्वका अरु देशहरुमा पनि यो समस्या छ । हालसालै म भारतमा पेटेन्ट राईट दर्ता गर्न जाँदा त्यहाँको अफिसर निकै खुशी भए । उनले भने–‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’ यो मेसिन राख्न कति लगानी गर्नु पर्छ र कस्ता स्टील उद्योगहरुले प्रयोग गर्न सक्छन् ? यो मेसिन किन्न सवा दुई करोड रुपैयाँ लाग्ने छ । घण्टाको ५ देखि ६० टन उत्पादन क्षमता भएका कम्पनीहरुको लागि उपयोगि हुनेछ । यो मेसिनको प्रयोगले वार्षिक ६०/७० हजार टन स्टील उत्पादन गर्ने कम्पनीको वार्षिक करिव २ करोड रुपैयाँ बचत गर्छ । हामीले यो मेसिन अरु देशलाई बनाउन अधिकार दिने छैनौ । नेपालमा नै बनाएर विदेशमा निर्यात गर्ने र नेपालको लागि डलर भित्र्याउने काम गर्ने छौं । कुनै पनि देशले एलसी खोलेर अर्डर गरी लैजान सक्छन् । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, केन्या, चाइना लगायत धेरै देशमा यो मेसिन निर्यात गर्ने हामीले योजना बनाएका छौं । स्टील उद्योगमा नविन कार्यशैलीहरु कस्तो आएको छ ? पहिला धेरै काम मान्छेले म्यानुअली गरिन्थ्यो भने अहिले प्रविधिको प्रयोग हुन्छ, मेसिन औजारहरुको प्रयोग हुन्छ । जतिबेलामा म स्टील इन्डस्ट्रीमा प्रवेश गरे त्यतिबेला यो उद्योगमा नेपालीले काम गर्न सक्दैन भनिन्थ्यो । त्यतिबेला हेल्परदेखि सुपरभाइजरसम्मका मान्छेहरु भारतबाट ल्याउनु पर्दथ्यो । अहिले धेरै प्रकारका जनशक्ति नेपालमा नै पाइन्छ । मैले काम गरेका पञ्चकन्या, अम्बे, हामा, र काठमाडौं स्टीलमा अधिकांश नेपालीले काम गर्छन । मैले काम सिकाएका १५० जना भन्दा बढी दक्ष जनशक्ति अहिले नेपालको स्टील उद्योगमा क्रियाशिल छन । कडा परिश्रम गर्नु पर्ने काम भएकाले पनि मानिसहरु अझै पनि भारतबाट आउने क्रम रोकिएको छैन ।
प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १३.५२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८०६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८१६ रुपैयाँ रहेको थियो ।
सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल बैंकको एफपीओ पनि रोकियो
काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल बैंकले तत्काल थप निष्कासन(एफपीओ) नल्याउने भएको छ । बजार ओरालो लागेपछि बैंकको सेयर मूल्यमा गिरावट आउँदा एफपीओको धेरै मूल्य नपाउने अवस्था देखिएपछि बैंकले तत्काल एफपीओ नल्याउने योजना बनाएको हो । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको थियो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।बजार घटिरहेकोले एफपीओ तत्काल नल्याउने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । विकास न्युजसँग कुरा गर्दै उनले बजार सुधार भएर अनुकुल वातावरण बनेपछि मात्र एफपीओको प्रक्रिया अघि बढाउने उनको भनाई छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । पछिल्लो समयमा बैंकको सेयर मूल्यमा पनि निरन्तर गिरावट आई प्रतिकित्ता ३ सय रुपैयाँमा झरेको छ । गत बैशाखमा बैंकको सेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँसम्म पुगेको थियो । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहनेछ । सेयर बजार प्रतिकुल भएका कारण एफपीओ निष्कासन गर्न मर्चेन्ट बैंकर नियुक्ति नगरेको उनको भनाई छ । मर्चेन्ट बैंकर नियुक्त गरेर एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिने काम अहिले रोकिएको उनले जानकारी दिए । सैदान्तिक रुपमा एफपीओ निष्कासनको निर्णय भएपनि बजारमा प्रतिकुल अवस्था सिर्जना भएकाले केही ढिलाइ हुन गएको रेग्मीले भने ।
‘हाम्रो शहर तिर्खामुक्त नगर’ रिङ रोडसहित यस्ता छन् निलकण्ठ नगर विकासका कामहरु
काठमाडौं । देशकै उत्कृष्ट नगर बनाउने भन्दै चुनावमा गएका निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले नगरविकासका काम धमाधम अघि बढेको बताएका छन् । उनले नगरमा रिङ रोड, बस पार्क, सडक, सपिङ कम्पेक्स, भ्यू टावर र खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । नगरका १४ वटा वडालाई जोड्नका लागि रिङ रोड र पर्यटन विकासलाई जोड दिन भ्यू टावर निर्माणलाई अघि बढाएका छन् । भिम प्रसाद ढुङ्गाना, नगर प्रमुख यस्ता छन् नगर विकासका लागि शुरु भएका कामहरुः रिङ रोड निलकण्ठ नगरपालिका १४ वटा वडालाई जोड्ने रिङ रोड निर्माण प्रक्रिया अघि बढेको छ । नगपालिकाका इन्जिनियर कुमार ढकालका अनुसार रिङ रोडको डिपीआरको तयारी अघि बढेको छ । रिङ रोड ससाह रामकोट, ज्यामिरे, गोला भञ्याङ, साङकोष, धुवाकोट, खाल्टे, सुनौला बजार, तारुखर्क, तल्लोबेशी हुदै ससाहमा जोडिनेछ । ढकालका अनुसार रिङ रोडको लागि सहरी विकास कार्यलयको सहयोगमा ज्यामिरेबाट अध्यायन सुरु भएको छ । बस पार्क र सपिङ कम्पेक्स नगरपालिकामा बस पार्क निर्माणका लागि वडा नं १२ जंगलेमा जग्गा लिने तयारी गरेको छ । त्यसैगरी वडा नं २ अहिले संञ्चालनमा मा रहेको बस पार्कमा सपिङ कप्पेक्स निर्माण हुनेछ । बाँकी रहेको जग्गामा ग्रामिण क्षेत्रमा जाने बस पाकिङको व्यवस्था मिलाइने इन्जिनियर ढकालले जानकारी दिए । भ्यू टावर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न ३६ फिट अग्लो भ्यु टावर निर्माण प्रक्रिया सुरु भएको छ । टावर वडा नं २ मा बन्नेछ । भ्यू टावर निमार्णका लागि नगरले डिजी कन्ट्रक्सनलाई जिम्मा दिएको छ । सामान्य जग्गा विवाद पछि काम सुरु भैसकेको इन्जिनियर ढकालले जानकारी दिए । भ्यू टावरबाट धादिङ सहित गोरखा र नुवाकोटको अधिकांश दृष्य देख्न सकिन्छ । हाम्रो शहर तिर्खा मुक्त नगर दक्षिण कोरियाली सहयोगी संस्था सर्भिस फर पिसको सहयोगमा नगरको विभिन्न ठाउमा खानेपानी आयोजना सञचान गरिएको छ । यस आयोजनाबाट पतेनी, कुसुण्डे र नवलपुर लाभान्वित हुनेछन् । वडा नं ५ पतेनीमा भने आयोजना सम्पन्न भैसकेको खानेपानी योजना प्रमुख उपेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पतेनीमा लिफ्टीङबाट पानी निकाली ४० घनमिटरको ट्याङकीबाट ६० घरधुरीलाई प्रत्येक घरमा धारासहित खानेपानीको वितरण गरिएको छ । त्यसैगरी कुसुन्डेमा ६० घनलिटरको ट्याङकीबाट १०८ घर धुरी र नवलपुरमा ८० घनलिटरको ट्याङकीबाट २ सय २० घरधुरीलाई सुविधा दिनेगरी योजना प्रक्रिया अघि बढेको छ । आगामी ४ वर्षमा पुर्ण रुपमा नगरलाई तिर्खा मुक्त बनाउने मेयर ढुङगानाले बताएका छन् । यसैगरी नगरका १४ वटै वडामा इन्टरनेट सेवाको सुरुवात भैसकेको छ । नगरबासीलाई नगर सम्बन्धी जानकारी दिन निलकण्ठ एप्सको सुरुवात भएको छ । अहिले नगरपालिकाको सडक स्तर उनन्ती लागि काम भैरहेको छ । नगरको धादिङबेशी देखि खाल्टेसम्म सडक खण्डको स्तर विकास गर्नका लागि ५० लाखको टेन्डर प्रक्रिया अघि बढेको छ । त्यस्तै वडा नम्बर ४ र ३ लाई जोड्ने बाङगे ढुङगामा पक्की पुलको निर्माण भैसकेको छ भने २ पुल निर्माण गर्ने योजना अघि बढेको छ । यसैगरी नयाँ सहायक सडकहरुमा भने ग्राभेल तथा सडक पिच गर्ने काम भैरहेका छन् । नगरमा १४ हजार घरधुरीका ७० हजार मानिसहरू बसाेबास गर्दै अाएका छन् ।
ओली सरकारसँग ३० लाख लगानीकर्ताको चित्त दुखेको छः रौनियार
काठमाडौं । नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र नेप्सेको नकर्मण्यताका कारण अहिले सेयर बजारमा पहिरो गैरहेको छ । त्यसमा पछिल्लो समय ओली सरकारको मौनता पनि जोडिएको छ । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको योजना अघि सार्यो तर बोनस, हकप्रदको बाटोमा बैंकहरु गए । केन्द्रिय बैंकले त्यसलाई सहर्ष स्विकार गर्यो । यसले बैंक तथा वित्तिय संस्थाहरुमा हकप्रद र बोनस सेयरको बाढी आयो । लगानी कर्ताहरुले बैंकबाटै ऋण लिएर हकप्रद सेयर खरिद गरे । संस्थापक देखि साधारण लगानी कर्ता सबैले बैंकबाटै पैसा झिकेर हकप्रद भरेका हुन् । केन्द्रिय बैंकले १५ प्रतिशत भन्दा बढि हकप्रद सेयर दिन नमिल्ने भनेको थियो भने आज यस्तो अवस्था आउने थिएन् । तर साना बैंकहरुले पनि मर्जरमा नगएर हकप्रदलाई नै पुँजी वृद्धिको माध्यम बनाए । केन्द्रिय बैंकपछि बीमा समितिले अर्काे गल्ति गर्यो । समितिले पनि पुँजी वृद्धिको योजना त ल्यायो त त्यसलाई हकप्रद र बोनसकै बाटो अपनाउने नीति लियो जुन अर्काे गलत कदम थियो । त्यसमाथी फेरी नयाँ बीमा कम्पनीहरु थपिदियो । नयाँ कम्पनीहरुमा पनि ठुलो रकम थुप्रियो । राष्ट्र बैंक र बीमा समितिपछि बजार घटाउन भूमिका खेल्ने अर्काे निकाय भनेको नेपाल धितोपत्र बोर्ड हो । बजारमा सेयरको आपुर्ति व्यापक मात्रामा बढेपछि बोर्डले माग बढाउन कुनै भूमिका खेलेन् । केहि अंकमा बजार बढ्ने वित्तिकै विज्ञप्ति निकालेर लगानी कर्तालाई होसियार बन्न आग्रह गर्ने बोर्डले बजार यत्रोबिधि घट्दा भने कुनै विज्ञप्ति निकाल्नु पर्ने आवश्यकता देखेन् । बजार बढ्दा कालोधनको जोखिम देखाउने बोर्डले बजार घट्दा बोल्नु पर्दैन् ? बजार ओरालो लाग्नुमा नेप्सेको पनि भूमिका छ । नेप्सले अनलाइन कारोबारको व्यवस्था गरेको भए सेयर बजार यस्तो हालतमा आउने थिएन् । अहिलेको सेयर बजार भनेको ५० वटा ब्रोकरहरुको तजबिजमा चलिरहेको छ । २१ खर्बको बजार १५ खर्बमा झरिसकेको छ । ५० वटा ब्रोकरले १५ खर्बको बजार कब्जा गरेका छन् ।ब्रोकरहरु सेयर कारोबारमा भ्याट लगाउन लबिङ गरिरहेका छन् । कारोबार कर लगाउन लबिङ गरिरहेका छन् । लगानी कर्ताको पैसामा ब्रोकरको रजाई भैरहेको छ । नेपाल धितोपत्र बोर्ड, नेप्से पनि ब्रोकरकै प्रभावमा छन् । सेयर बजार प्रति ओली सरकारको रवैया प्रधानमन्त्री बन्नु अघि केपी ओलीले सेयर बजार बारे पटक पटक बोलेका थिए । उनले आफुलाई देखाएर सेयर बजार घटाउने खेल भैरहेको आरोप लगाएका थिए । ओलीले सेयरमा भ्याट लगाउन नदिने घोषणा पनि गरेका थिए । तर ओली यतिबेला प्रधानमन्त्री बनेका एक महिना नाघ्यो । यसबिचमा २१ खर्बको बजार १५ खर्बमा झरेको छ तर ओलीले एक शब्द बोलेका छैनन् । किन ? हामी छक्क परेका छौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग पुँजी बजारको इतिहास जोडिएको छ । अर्थमन्त्रीसँग पुँजी बजार डराउँदै आएको छ । उहाँले म सेयर बजारप्रति नकारात्मक छैन भन्नु भयो तर उहाँले बजार प्रति सकारात्मक छु भन्न किन नसक्नु भएको छ । ओलीले बजार घट्दा एक शब्द नबोल्ने, अर्थमन्त्रीले पुँजी बजार प्रति सकारात्मक छु भन्न नसक्ने अनि कसरी बढ्छ बजार ? वास्तवमा भन्ने हो भने केपी ओली सरकारसँग ३० लाख लगानी कर्ताको चित्त दुखाई छ । भूकम्प र नाका बन्दी छिचोलेको पुँजी बजारमा त्यो भन्दा ठुलो भूकम्प गैरहेको छ अहिले । नेप्से, धितोपत्र बोर्ड र केन्द्रिय बैंक मुग्दर्शक भएका छन् । पुँजी बजार भनेको मुलुकको अर्थतन्त्रको ऐना हो । संसार कहाँबाट कहाँ पुगी सक्यो तर हामी पुँजी बजार उत्पादक हो की अनुत्पादक भन्ने विवादमै रुमलिएका छौं । (नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष रौनियारसँग गरिएको कुराकानीमा आधारित)
प्रतिकित्ता १७४० गुमाएका एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले प्रमोटर सेयर किन्नुपर्ने, यस्तो आयो पुँजी वृद्धि योजना
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सबै सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार पुँजी संरचनामा संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउन कम्पनीले विद्यमान सबै सेयरधनीका लागि संस्थापक हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । त्यसपछि कम्पनीले दुई चरणमा हकप्रद सेयर निष्काशन गर्ने छ । पहिलो चरणमा साधारण सेयरधनीलाई १ बराबर १ दशमलव शुन्य ५ प्रतिशतको अनुपातमा प्रमोटर हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त सेयर निष्काशनपछि यस कम्पनीका ५१ प्रतिशत प्रमोटर ४९ प्रतिशत साधारण सेयर हुनेछ । दोस्रो चरणमा कम्पनीले १ बराबर ३ अनुपातमा फेरी हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । १० प्रतिशत बोनस सेयर, १ः०५ र १ः ३ अनुपातको हकप्रद सेयर निष्काशन पछि कम्पनीको सेयर पुँजी एक अर्ब १२ करोड रुपैयाँ हुने छ । कम्पनीको यसअघि साधारणसभाले पास गरेको ६०० प्रतिशत हकप्रद सेयर सम्बन्धि निर्णय भने खारेज हुने कम्पनीले जनाएको छ । सञ्चालक समितिले गरेका यी निणर्यलाई पारित गर्न कम्पनीले आउदो बैशाख १० गते २३ औं वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी चैत २६ गते बुक क्लोज गर्दै छ । ६०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेपछि कम्पनीको सेयर प्रतिकित्ता २ हजार ९३० रूपैयाँमा काराेबार भएकाे थियाे । चैत ७ गते यस कम्पनीको सेयर ११९२ रुपैयाँमा कारोबार भएको छ । प्रतिकित्ता १७४० रुपैयाँसम्म गुमाएको यस कम्पनीका सेयरधनीले अब प्रमोटर सेयर किनेर चित्त बुझउनु पर्नेछ ।