विकासन्युज

शारीरिक र मानसिक रुपमा अशक्त कर्मचारीले मात्र स्वैच्छिक अवकाश पाउने, ३० अर्ब जाेगाउँदै मन्त्री लालबाबु पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शारीरिक रुपमा अशक्त र मानसिक रुपमा अस्वस्थ्य कर्मचारीलार्इ मात्र स्वैच्छिक अवकाशको सुविधा प्रदान गरिने बताएका छन् । यसअघिको सरकारले ल्याएको निजामति कर्मचारी स्वैच्छिक अवकाश योजना जस्ताको तस्तै लागू हुन नसक्ने उनको भनाई छ । एकातिर राज्यलाई ३० अर्ब रुपैयाँ भार पर्ने र अर्कोतिर सरकारी सेवा प्रदान गर्न दक्ष र सक्षम कर्मचारीको अभाव हुने भएकोले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको स्वैच्छिक अवकाश योजना लागू हुन नसक्ने उनले बताएका छन् । आईतबार बीबीसीसँगको अन्तरवार्तामा मन्त्री पण्डितले भनेका छन्– स्वैच्छिक अवकास योजना दुई वटा कारणले लागू गर्न सकिदैन । पहिलो, कसैको अवकाश हुन हप्ता/दश दिन मात्र बाँकी छ, कसैको १५/२० दिन मात्र बाँकी छ । तर उहाँहरुले राज्यबाट बढी सुविधा लिनको लागि स्वैच्छिक अवकास पाउँ भनेर निवेदन गर्नु भएको छ । यो नितान्त गलत कुरा हो । दोस्रो, जो सक्षम, दक्ष र राज्यको लागि आवश्यक छन्, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा उनीहरुको आवश्यकता छ, उनीहरुलाई विदा गर्ने र नयाँ कर्मचारी ल्याएर, प्रशिक्षित गरेर राख्न कठिन छ । यस्तो गर्ने हो भने जनतालाई सरकारको तर्फबाट सेवा दिन कठिनाई हुन्छ । त्यसैले उहाँहरुलाई हामीले विदा दिन सक्दैनौ ।’ उनले भनेका छन्–मानसिक रुपमा जागिर छोड्ने र काम गर्दिन भन्नेहरुले राजीनामा गर्दा हुन्छ, जागिर छोडेर जाँदा हुन्छ । तर म राजीनामा दिन्न, राज्यले मलाई बढी लगानी गरेर विदा गरोस् भन्ने हो भने त्यो असम्भव छ । असम्भव बाटोमा सरकार जान सक्दैन ।’ पूर्ववर्ति सरकारले ल्याएको स्वैच्छिक अवकास योजनामा सम्शोधन हुने उनको बताई छ । ‘नियमित रुपमा अवकाश हुन लागेका, थोरै समय मात्र बाँकी रहेकाले स्वेच्छिक अवकास पाउन सक्दैनन् । तर शारिरिक रुपमा अशक्त रहेका, मानसिक रुपमा अस्वस्थ्यहरुलाई मात्र स्वैच्छिक अवकाश दिन सकिन्छ । त्यहि भावमा पुरानो व्यवस्था संशोधन हुन्छ ।’ हाल ४ सचिवसहित करिब १० हजार कर्मचारीद्वारा स्वैच्छिक अवकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला, संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी ४ सचिवसहित ९ हजार ६५६ कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएको मन्त्रालयका मन्त्रालयको स्वैच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाले जानकारी दिए । सरकारले निजामतिसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वैच्छिक अवकाशको योजना ल्याएको हो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो । गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको रोकायले जानकारी दिए । जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको उनको भनाइ थियो । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वैच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो ।

सेञ्चुरी बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र लाइफ इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले यस बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

मद्क्युखोलाबाट १३ मेगावाट बिजुली उत्पादन सुरु

काठमाडौं । निजी लगानीमा निर्माण भएको मद्क्युखोला जलविद्युत आयोजनाबाट १३ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । सिक्लेस हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गरेको सो आयोजनाबाट शनिबारदेखि नै बिजुली उत्पादन सुरु भएको हो । सुख्खाले गर्दा नदीमा पानीको वहाव कम भएपछि आयोजनाबाट ५ मेगावाट मात्र बिजुली उत्पादन भएको छ । आयोजनाले हाल परीक्षण उत्पादन गरिरहेको छ । दुई सातापछि व्यवसायीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । आयोजना २ अर्ब २१ करोड रुपैयाँमा सम्पन्न भएको छ । भूकम्प, भारतीय नाकाबन्दीका कारण आयोजनाको निर्माण अवधि लम्बिएको छ । नेपाल बैंक लिमिटेडको अगुवाईमा सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बंगालादेश बैंक, एनआइडिसी डभेलपमेन्ट बैंक,कृषि विकास बैंकको ऋण लगानी छ । चालु आर्थिक वर्षमा निजी तथा सार्वजनिक क्षेत्रबाट गरी १३८ मेगावाट बिजुली थप हुने भएको छ ।

रसुवागढी र सान्जेन जलविद्युतले सोमबारदेखि ४७ करोडको दोस्रो आईपीओ ल्याउदै, चैत १३ गते निष्कासन बन्द हुने

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सोमबारदेखि दोस्रो साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । रसुवागढी र सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता कर्मचारी संचय कोषका कर्मचारीलाई ४७ करोड २१ लाख ४४ हजार रुपैयाँ बराबरको ४७ लाख २१ हजार कित्ता आईपीओ सोमबारदेखि बिक्री खुला गर्न लागेका हुन् । यसमध्ये रसुवागढीको ३० करोड ७८ लाख ९४ हजार रुपैयाँ र सान्जेनको १६ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ । मंसिर २२ गतेसम्म वहाल रहेका कर्मचारीले मात्र सेयर खरिदका लागि आवेदन दिन पाउने भएका छन् । आईपीओ निष्कासन चैत १३ गते बन्द हुनेछ ।रसुवागढी र सान्जेनले २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेकोमा कर्मचारी संचय कोषका संचयकर्ताबाट १० अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । रसुवागढी र सान्जेनको सेयर खरिद गर्न सञ्चय कोषका ३ लाख ६९ हजार ४५९ सञ्चयकर्ताको आवेदन परेको छ । रसुवागढीमा १ लाख ८६ हजार ३२४ आवेदन परेको छ । रसुवागढीका लागि सञ्चयकर्ताबाट परेको आवेदनबाट ६ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ । रसुवागढीले सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर निष्कासन गरेको थियो । यसैगरी सान्जेन जलविद्युतमा १ लाख ८३ हजार २२४ सञ्चयकर्ताको आवेदन परेको छ । आवेदनबाट ४ अर्ब १७ करोड २२ लाख ५३ हजार रुपैयाँ संकलन भएको छ ।सान्जेनले सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको ७१ लाख १७ हजार ५ सय कित्ता सेयर बिक्री खुल्ला गरेको थियो ।रसुवागढीले १११ मेगाावाटको र सान्जेनले तल्लो र माथिल्लो गरी ५७ मेगावाटका २ जलविद्युत आयोजना बनाइरहेको छ ।

नमुना टोल जहाँ घर भाडामा बस्नेलाई स्वागत र छोडेर जानेलाई बिदाई

म्याग्दी । घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरु घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन् । चर्को भाडा, घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधै गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सदरमुकाम बेनीमा नौलो अभ्यासको थालनी गरिएको छ । म्याग्दी जिल्लाको सदरमुकाम बेनीको एउटा टोलमा भाडामा बस्न आउनेलाई स्वागत तथा छोडेर जानेलाई बिदाइ गर्ने गरिन्छ । वीरेन्द्रचोक टोल सुधार समितिले सार्वजनिकरुपमै कार्यक्रम गरी भाडामा बस्नेको गुनासो सुन्ने गर्छ । घरधनी र भाडावालाको सम्बन्ध बलियो बनाउन भाडामा बस्न आउनेलाई सम्मानसहित स्वागत र घर छोडेर जानेलाई बिदाइ गर्ने गरिन्छ । जिल्लाकै प्रमुख प्रशासनिक केन्द्रसमेत रहेको वीरेन्द्रचोकवासीले घरधनी र भाडावालाबीच नङ र मासुजस्तै सम्बन्ध हुनुपर्छ भन्दै शनिबार एक कार्यक्रम गरी भब्य स्वागत तथा बिदाइ गरेका छन् । टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, जेष्ठ नागरिक रुपादेवी खत्री, समितिका उपाध्यक्ष पूर्णबहादुर कार्कीलगायतले फूलमाला लगाएर स्वागत तथा बिदाइ गरेका थिए । कार्यक्रममा मयुर रेक्छोना कस्मेटिक गिफ्ट हाउसका एलिना कार्की, दिदीबहिनी टेलरिङका हिमा र उमकला थापा, अर्जुन सपिङ सेन्टरका अर्जुन र करण कुँवर र पेन्ट व्यवसायी रन्जितकुमार यादवलाई स्वागत गरिएको थियो भने रोजगारको सिलसिलामा दक्षिण कोरिया जान लागेका दिनेश कटुवाल क्षेत्री र बेनीबजारकै न्यूरोडमा व्यवसाय स्थानान्तरण गरेका दिनेश कुँवरलाई बिदाइ गरिएको थियो । बेनी नगरपालिकाभित्रका टोल सुधार समितिमा नमूना मानिएको वीरेन्द्रचोक टोल सुधार समितिले प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीशलगायतका जिल्लामा आउने र सरुवा भएर जाने टोलभित्रका सरकारी कार्यालयका प्रमुखलाई समेत सम्मान गर्दै आइरहेको छ । सार्वजनिक खानेपानीको सुविधा, दैनिक सरसफाइ, एकघर एक डस्टबिन, तीव्रगतिमा गुड्ने सवारी साधनबाट दुर्घटनाको सम्भावना रहेकाले ट्राफिक कार्यालयसँग सहकार्य गरी गति नियन्त्रण बोर्ड, चोकमा सडक बत्ती जडान, ढल मर्मत तथा सरसफाइका साथै विभिन्न कार्यमा आर्थिक संकलन गर्ने गरेको छ । टोल सुधार समितिको कोषमा रु तीन लाख बचत रहेको छ । जिल्लाकै सफा र सुन्दर टोल बनाउने अभियानमा एक घरले एक डष्टबिन सहयोग गर्नुका साथै हरेक महिना सडक बत्तीको बिलसमेत भुक्तान गर्ने गरिएको छ । टोलबासीबीचको सहकार्यले अन्य टोललाई समेत सिक्ने अवसर मिलेको समितिकी कोषाध्यक्ष पुष्पा पुनले बताए । वीरेन्द्रचोकलाई बेनी नगरपालिकाले नमूना टोलका रुपमा सम्मानसमेत गरेको छ । रासस

प्रिमियर इन्स्योरेन्सको साधारणसभा चैत २६ मा, साढे १३ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २४ औं साधारणसभा चैत २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै बोनस सेयरको कर प्रयोजनका लागि ३६ लाख ५९ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा चैत २८ मा, सेयरधनीलाई दिने ७०.५३ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा चैत २८ गते वीरगञ्जमा हुने भएको छ ।सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई दिन प्रस्ताव गरिएको ७०.५३ प्रतिशत लाभांश स्वीकृत गर्नेछ । कम्पनीले ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।कम्पनीले ८८ करोड ३२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । सभाले अधिकृत पूँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्ने जानकारी नेपाल लाइफले दिएको छ । चुक्तापुँजी बढ्ने भएपछि अधिकृत पूँजी बढाउने तयारी नेपाल लाइफको छ । कम्पनीमा संस्थापक सेयर घटाउने प्रस्ताव सभाले पारित गर्ने भएको छ । हाल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्वलाई परिवर्तन गरी ६० र ४० बनाइने नेपाल लाइफले जनाएको छ ।

वार्षिक एउटा उद्योग थप्ने भनेको, यसै वर्ष पाँच वटा थपियो–प्रबलजंग पाण्डे

प्रबलजंग पाण्डे काठमाडौं । १५ महिनाअघि उद्यमी प्रबलजंग पाण्डेले विकासन्युजसँग भनेको थिए–‘हरेक वर्ष एउटा उद्योग खोल्ने उदेश्य लिएको छौं ।’ उनको भनाईलाई पछ्याउँदै हामीले सोध्यौ–‘यसपाली के उद्योग खोल्नु भयो ।’ पाण्डे खुलेर हाँसे । र, भने–‘एउटा भनेको ४/५ वटा उद्योग खोलिसक्यौ ।’ ‘मैले मात्र होइन, हामी टिममा छौं । सबै कुरा भन्न पनि मिल्दैन’ उनले व्यवसायिक गोपनीयता जोगाउने प्रयास गरे । उनी पनि अरु जस्तै मान्छे त हुन् । कुरा गर्दै जाँदा भावनामा बग्न थाले र धेरै कुरा खुलस्त भने । ‘जीवन भनेको निरन्तर यात्रा हो । यो रोकिनु हुदैन, जसरी जीवन रोकिनु हुदैन त्यसरी नै उद्योग व्यवसाय पनि रोकिनु हुदैन भन्ने हाम्रो मान्यता हो’ उनी खुल्दै गए ‘विगतमा मेरो बुबा महासंघको नेतृत्वमा रहेर काम गर्दा र त्यसपछिका भएका विभिन्न घटना क्रममा पनि हामीले कुनै पनि व्यवसायीहरुलाई आँच आउन दिएनौं, झन् विस्तार गर्यौ । हामीले लगानी मात्र थपेका छैनाैं, लगानीको क्षेत्रमा पनि विविधिकरण गरेका छौं ।’ ‘बुबा (प्रदीपजंग पाण्डे)ले शुरु गर्नु भएका उद्योगहरुको उत्पादन क्षमता बढाईरहेको छौं । लोमस फर्मास्यूटिकल्स उद्योगले नयाँ–नयाँ औषधि उत्पादनलाई निरन्तरता दिएको छ । यस वर्ष आइ ड्रप, एयर ड्रप औषधी उत्पादन थपेका छौं’ पाण्डेले थपे– ‘यसै वर्षदेखि जनकपुरमा सिमेन्ट क्लीङ्कर फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । यस उद्योगले दैनिक ५ सय टन क्लीङकर प्रतिदिन उत्पादन गर्छ ।’ उनको अनुसार उक्त उद्योगको उत्पादन क्षमता वृद्धि गरी दैनिक १२ सय टन क्लीङकर उत्पादन तयारी भईरहेको छ । यस उद्योगमा ३ देखि ४ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना रहेको छ । लोमस समूहले विराटनगरमा कसमस ब्राण्डको सिमेन्ट उत्पदन गर्दै आएको छ । हाल कम्पनीले दैनिक ४ सय टन सिमेन्ट उत्पादन आईरहेको छ । दुई वर्षभित्र यस उद्योगको क्षमता विस्तार गरी दैनिक ८ सय टन बनाउने लक्ष्य रहेको उनले बताए । औषधि, सिमेन्ट, क्लिङकर उद्योग स्थापनामा प्रदिपजंग पाण्डेको अग्रणी भूमिका रहेको छ । बुबाको थालेको उद्योगलाई अझ राम्रो बनाउने प्रयाससँगै छोराहरुले आ–आफ्नो रुचीमा नयाँ क्षेत्रमा लगानी थालेको उनले बताए । ‘हामी पारिवारिक व्यवसायलाई पनि अगाडि लैजान्छौं । पब्लिक लिमिटेट कम्पनीहरुमा पनि लगानी विस्तार गरिरहेको छौं । साथै, मन मिल्ने साथीसँग साझेदारीमा पनि विजनेश थालेका छौं’ उनले भने । लाइक माइन्डेड र मन मिल्ने साथीसँगको सहकार्यमा ५ वटा व्यवसाय यसै वर्ष शुरु भएको उनले बताए । ‘म, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, महासंघकै कार्यकारिणी सदस्य तथा युवा उद्यमी भरत आचार्यसँगको साझेदारीमा एकै पटक चार वटा व्यवसाय थालेका छौं’ उनले भने । उनका माइलो भाई प्रतावजंग पाण्डेले आफ्ना साथीहरुसँग मिलेर कैलास हेलिकोप्टर सञ्चालनमा ल्याएका छन् । कान्छा भाइ प्रज्जलजंग पाण्डेले स्कुल पनि खोलेका छन्–सेम्रक । यो चेन प्रि स्कूल हो । दायाँबाट क्रमशः प्रतावजंग, प्रबलजंग, प्रदिपजंग र प्रज्वलजंग पाण्डे पारिवारिक विजनेशमा औषधि उद्योग प्रदिपले हेर्छन । उनलाई कान्छो छोराले सहयोग गर्छन । सिमेन्ट उद्योग प्रबलले हेर्छन । वित्तीय क्षेत्र वित्तीय क्षेत्रको लगानी प्रतापजंग पाण्डेले हेरिरहेका छन् । ‘पारिवारिक व्यवसायमा हामी एक भएर काम गरिरहेका छौं । सँगै, साथीसँगको साझेदारीका उद्योग व्यवसाय आफ्नै तरिकाले गर्न स्वतन्त्र पनि छौं’ पारिवारिक हिसावकिताव बारे उनले भने ‘आफ्ना साथीहरु मिलेर खोलेको उद्योग तथा व्यवसायले पारिवारिक व्यवसायलाई कुनै असर पनि गर्दैन । पारिवारिक र साझेदारी विजनेशबीच कुनै सम्बन्ध पनि हुँदैन ।’ पाण्डे परिवारले २ वटा वाणिज्य बैंक र तीन वटा बीमा कम्पनीमा पनि ठूलो लगानी गरेको छ । सिटिजन्स इन्टरनेनल बैंक, सिभिल बैंक, शिखर इन्स्योरेन्स, आईजीआई इन्स्योरेस पुरानो लगानीका कम्पनी हुन् भने यसै वर्ष सञ्चालनमा आएको ‘सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा यस समूह मुख्य प्रवद्र्धक छ। सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष प्रदिपजंग पाण्डे छन् । गएको दुई वर्षमा वित्तीय क्षेत्रमा ठूलो पुँजी लगानी गरिएको उनले बताए । आफूहरुले संस्थापक सेयर लिएको कम्पनीहरुप्रति विश्वास भएको र सबैमा हकप्रद सेयर लिएको उनले बताए । ‘सिटिजन्स र सिभिल दुबै बैंकको पुँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ भयो । हामीले हाम्रो सेयर हिस्सा घट्न दिएका छैनौं । आईएमई जनरल इन्स्योरेन्समा सेयर हिस्सा बढाउँदै लगेका छौं’ उनले भने । पाण्डे परिवारले माउन्टेन इनर्जी हाइड्रोमा पनि लगानी गरेको छ । यस कम्पनीले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला हाइड्रोपावर बनाईरहेको छ । त्यस्तै डाटा हब कम्पनी पनि चलाईरहेको छन् । ‘माओवादीको जनयुद्धकाल होस् वा तराई आन्दोलनको काल होस् । राज्यमा राजनीतिक संक्रमणकाल होस्, हरेक समयमा हाम्रो यात्रा रोकिएको छैन’ संकटमा पनि काम उर्जा थपिएको उल्लेख गर्दै उनले भने ‘पछिल्लो दुई वर्षमा हामीले आफ्नो व्यवसाय वृद्धि सन्तोषजनक रुपमा गरिरहेका छौं । र, हामी निकै उत्साहित पनि भएको छौं ।’ पाण्डे, राणा र आचार्यका चार व्यवसाय प्रबलजंग पाण्डे, भवानी राणा र भरत आचार्यको संयुक्त लगानीमा चार कम्पनी खुलेका छन् । त्यसमा दुई ओटा उत्पादन मुलक र दुई व्यापार मुलक व्यवसाय छन् । पाण्डेले भने–एउटा ट्रेडिङ हाउस फर्चुना अटोमोबाइल छ । त्यसमार्फत भारतको प्रित ब्राण्डका ट्याक्टर, धान काट्ने मेसिन लगायतका कृषिमा आधारित सामाग्रीको व्यापार थालेका छौं । यो व्यापार थालेको ६ महिना भयो । यस अवधिमा नेपालभरी नै अटोमोबाइलको नेटवर्क बनाउन र उल्लेख्य सख्यामा ट्याक्टर तथा मेसिन बिक्री गर्न सफल भएको उनले बताए । त्यस्तै, सोही समूहले वकिनवा ब्राण्डको विद्युत्तिय स्कूटर नेपाल भित्र्याउने तयारी गरेको छ । ‘जापानिज कोल्याबोरेशनमा भारतमा बनेको इलेक्ट्रीक स्कूटर नेपालभर बिक्री वितरण गर्ने गरी सम्झौता गरिसकेको छौं ।’ पाण्डे, आचार्य र राणाको समूहले दुई ओटा हेल्थ केयर प्रोडक्टसन गर्दैछ । ‘एउटा फ्याक्ट्रीको डेढ महिनामा प्रोडक्सन आउँछ । अर्को फ्याक्ट्रीको ६ महिनामा आउछ । पाटनमा एउटा फ्याक्ट्री अलमोस्ट तयारीमा छ । अर्को फ्याक्ट्री पनि अबको ६ महिनामा उत्पादन आउँछ’ पाण्डेले विकासन्युजसँग भने । दुई उद्योग मध्ये एउटा उद्योगले औषधि उद्योगहरुका लागि आवश्यक प्याकेजिङ सामाग्री उत्पादन गर्ने र अर्कोले मानिसहरुले प्रयोग गर्ने हेल्थ केयर सम्बन्धी सामाग्री भएको उनले बताए । पछिल्लो समय भारतले नाकाबन्दी गर्दा नेपालका औषधि उद्योगहरु नेपालमा कच्चा पदार्थ हुँदा हुँदै पनि प्याकेजिङ मेटेरियल्स नभएको कारणाले औषधि उत्पादन हुन नसकेको घट्नाबाट प्रभावित भएर प्याकेजिङ इन्डस्ट्रिज लगाउने निर्णयमा पुगेको उनले बताए । उत्पादन प्रक्रियामा रहेको हेल्थ केयार प्रोडक्टबारे उनले खुलेर बताउँन चाहेनन् । ‘यसको वार्षिक करिब २५/३० करोड रुपैयाँको कारोबार हुने विश्वास गरेका छौं । हाम्रो उत्पादनले आयात रोक्ने अपेक्षा गरेका छौं’ उनले यति मात्र भने । प्याकेजिङ इन्डस्ट्रिजमा ६०/७० जनाले रोजगार पाउछन् भने हेल्थ केयर इन्डस्ट्रिजमा सय डेढ सय जनाले जागिर पाउछन् । प्याकेजिङ र हेल्थ केयरमा ३०/३० गरि ६० करोड रूपैयाँ लगानी भएको छ ।