विकासन्युज

सिद्धार्थ बैंकको १४ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १४ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार(आज) सम्पन्न बैंकको १६औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । साथै, बोनस सेयर अघि नै स्वीकृत भई जारी भइरहेको १० प्रतिशत हकप्रद सेयर समेत गरी बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ । हाल बैंकले १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ एटीएम र ६८७ पीओएस् मेसिन मार्फत्  बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । गत फागुन मसान्तसम्म बैंकको कुल निक्षेप ८७ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७९ अर्ब २९ करोड रुपैयाँ रहेको छ । सोहि अवधीसम्म बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीसँग एफएनसीसीआईका अध्यक्ष राणाको भेटवार्ता

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा आएकी भारतीय उद्योग परिसंघ (कन्फेडेरेशन आफ इण्डीयन इन्डस्ट्रिज)का अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारी उपाध्यक्ष सोबना कामिनेनीको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्ष कामिनेनीलाई आग्रह गरेका थिए । उनले मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थालाई लागनी गर्नका लागि अनुरोध गरेका थिए । सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलनको गृहकार्य भैइरहेको जानकारी गराइन् । नेपालमा भारतीय लगानी विस्तारको लागि सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ छ । त्यस्तै सीआईआईका अध्यक्ष कामिनेनीले प्रधानमन्त्री ओलीलाई भारतीय निजी क्षेत्रकातर्फबाट बधाई दिदै नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्र उत्साहित रहेको बताइन् । उनले संयुक्त लगानी विस्तार गर्न पर्नेमा जोड दिएकी थिइन् । लगानीका क्षेत्रको पहिचान लगायतको लागि आगामी दिनमा ठोस गृहकार्यसहित अगाडी बढ्नु पर्ने उनको धारणा छ ।

विदेशी विनिमय संचिती घट्यो, ९ महिनाको वस्तु आयात मात्र धान्न पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको वित्तीय अवस्था कसिलो भएको छ । बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा कमी आउदा वित्तीय अवस्था कसिलो भएको हो । आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुदै जाने अनुमान नेपाल राष्ट्र बैंकको छ । आयातमा वृद्धि र निकासीमा कमी भएपछि शोधानान्तरको अवस्था ऋणात्मक भएको छ । विदेशी विनिमय संचित २.८ प्रतिशत घटेर १० खर्ब ४० अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ विदेशी विनिमय संचिती थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७४/७५ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.३ महिनाको वस्तु आयात र ९.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

उपभोक्ता मूल्य बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा उपभोक्ता मूल्य बढेर ५ प्रतिशत पुगेको छ । गत आवकासे सोही अवधिमा यस्तो मुल्यवृद्धि ३.३ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य वस्तुहरूको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको हो । समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घ्यू तथा तेल लगायतका वस्तुहरूको मूल्यमा वृद्धि भएको कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । यस्तै गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ५.६, हिमालमा ५.४, पहाडमा ५.१ र काठमाडौं उपत्यकामा ४ प्रतिशत छ ।

नयाँ वर्षको अवसरमा महिन्द्रा टु ह्वीलले ल्यायो विशेष योजना, स्क्र्याचमा २०७५ गुणा रकम छुट

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै नयाँ वर्ष २०७५ को उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ । सो अवसरमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५ देखि १०० सम्मलाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सक्नुहुने छ । अग्नि ग्रुपको बारेमा सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

रेमिट्यान्स आप्रवाहमा सामान्य सुधार, ७ महिनामा ४०१ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा सामान्य सुधार आएको छ । ६ महिनामा ऋणात्मक अवस्थामा रहेको रेमिट्यान्स आप्रवाह समीक्षा अवधिमा १.७ प्रतिशतले वृद्धि भई ४ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६.७ प्रतिशतले घटेको थियो ।

सिटिजन्स बैंकद्धारा हकुना माटाटा परियोजनालाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “साथ”नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको उक्त संस्थालाई सो मात्राको सहयोग प्रदान गरेको हो । बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । बैंकले एक कार्यक्रमका बीच सो मात्राको चेक संस्थाका संचालक क्रिस्टिमा कार्कीलाई हस्तान्तरण गरेको हो । हकुना माटाटा परियोजनाले काठमाडौंमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक कार्कीले जानकारी दिएकी छिन् । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बताएका छन् ।

डेढ अर्ब घोटला काण्ड: १४ जनामाथी अनुसन्धान हुदैं, बिगो असुलीसहित ५ वर्ष जेल सजाय हुनसक्ने

काठमाडौं । डेढ अर्ब घोटाला काण्डमा पक्राउ परेका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका १४ जना कर्मचारीमाथी बैंकिङ कसुर अन्तर्गत मुद्दा अघि बढेको छ । चैत २ गते १३ जना र ३ गते १ जना गरी १४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका थिए । अहिले उनीहरुमथी केद्रिय अनुसन्धान ब्युरोमा मुद्दा दायार गरिएको अनुसन्धान विभागसि (आइबी)का प्रवक्ता जीवन श्रेष्ठले बताए । ‘पहिले उनीहरुमाथी अनुसन्धान केन्द्रमै उजुरी दर्ता हुन्छ, प्रहरीको अनुसन्धान सकिएपछि सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायार गर्नेछ’, श्रेष्ठले विकासन्युजसँग भने । उनीहरुमाथी थप अनुसन्धान भैरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तो छ कानूनी प्रावधान उनीहरूमाथी १ अर्ब ५० करोड ९६  लाख  ३३ हजार ९ सय चौरासी रुपैंया घाटला गरेकाे अाराेप लागेकाे छ । बैंकिङ कसुर ऐन २०६४ को दफा ७, ८, ९, १३ र १४ सम्मको दफा अनुसार उनीहरु दोसी देखिन सक्छन् । जसअन्तर्गत दफा ७ मा अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने, दफा ८ मा कर्जाको दुरुपयोग गर्न नहुने, दफा ९ मा बैंकिङ स्रोत साधन र सम्पतीको दरुपयोग गर्न नहुने, दफा १३ मा बढी कम या गलत मूल्यांकन गर्न नहुने र दफा १४ मा अनियमित तथा वित्तिय कारोबार गर्न गराउन नहुने भनि उल्लेख गरिएको छ । पक्राउ परेका व्यक्तिहरु यस्तो छ उनीहरुमाथीको आरोप १ .कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको २. कृतिम ऋणीहरु खडा गरिएको ३. निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ४. ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ५.  मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ६. धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ७. कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ८.  कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ९. सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको १०. एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ११. सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको १२। अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको माथी उल्लेखित आरोपहरु प्रमाणित भएमा ऐनको परिच्छेद ३ अन्तर्गत  दफा १५  खण्ड (घ) अनुसार बिगो जरिवाना सहित ३ वर्ष देखि ५ वर्षसम्म जेल सयाय हुनेछ ।