एनबी ग्रुपको अवरोधले एनसीसी बैंकको हकप्रद सेयर निष्कासन अन्यौलमा, असारसम्म चुक्तापुँजी ८ अर्ब नपुगे के हुन्छ ?
काठमाडौं । एनबी ग्रुृपको विभिन्न विषय उठाएर नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर निष्कासन अन्यौलमा परेको छ । एनबी ग्रुपका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले गत भदौ १६ गते सम्पन्न १९ औं वार्षिक साधारणसभा नै फर्जी भएको र सो सभाले गरेको निर्णय अवैध हुने दावी गर्दै त्यसलाई रोक्न नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टार कार्यालयमा उजुरी दिएपछि एनसीसीको हकप्रद सेयर तत्काल निष्कासन नहुने अवस्था आएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार साधारणसभाले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । आफु अनुकुल नभएपछि एनबी समूहले हकप्रद सेयर निष्कासन रोक्नका लागि बोर्ड र रजिष्टार कार्यलयमा उजुरी दिएको हो । एनसीसीमा एनबी समूहको १५ प्रतिशत अर्थात झण्डै ७५ लाख कित्ता संस्थापक सेयर छ । बोर्ड र रजिष्टार कार्यालयले हकप्रद निष्कासनका लागि बाटो खुला नगरेपछि पुँजीवृद्धिको योजना प्रभावित हुन लागेको हो । साधारणसभाबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित भएपछि एनसीसीले गत मंसिर २० गते साविकका सेयरधनीलाई २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । रजिष्टार कार्यालयले साधारणसभाले गरेको निर्णयलाई मान्यता नदिएमा हकप्रद सेयर निष्कासनको काम अघि बढ्दैन । पुनः अर्को साधारणसभा गर्नुपर्ने हुन्छ । उजुरी परेपछि विवरण पठाउन पत्रचार गरेकोमा बैंकले सबैकुरा सभाको विवरणमा उल्लेख भएको भनी पत्राचार गरेको कार्यालयकी रजिष्टार गीता होमगाइले बताइन् । उनले बैंकबाट साधारणसभाको विषयमा स्पष्ट जवाफ नआएको बताइन् । विकास न्युजसँग कुरा गर्दै होमगाइले यस विषयमा छानविन गर्न रजिष्टार कार्यालयले बैंकमा निरीक्षण टोली पठाउन लागेको जानकारी दिइन् । हकप्रद निष्कासन गर्ने साधारणसभाको निर्णयको विरुद्धमा एनबी ग्रुपले उजुरी हालेर रोकेपछि आउदो असारसम्म पनि चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुग्ने संभावना बढेको छ । एनबी ग्रुपले हकप्रद निष्कासन रोकेपछि बैंक सञ्चालक समितिले गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपाललाई भेटी समस्या समधानको उपाय खोजी गरेको थियो । हकप्रद सेयर निष्कासन गर्न नपाएर एनसीसीको पुँजी वृद्धि प्रभावित हुने भएपछि छलफल थालेको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । यस विषयमा कसरी समस्या समाधान गर्ने भन्ने विषयमा नियमन र सुपरीवेक्षण विभागबीच छलफल भइरहेको उनले जानकारी दिए । उनले अहिले नै केही निर्णय नभएको बताएका छन् । एनसीसीको हाल चुक्तापुँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । इन्टरनेसनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्फाष्टक्चर डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक गाभिएपछि चुक्तापुँजी बढेर ४ अर्ब ६७ करोड ९० रुपैयाँ पुगेको हो । हकप्रद निष्कासन र गत आवमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिएर चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने पुँजीवृद्धिको योजना बैंकले राष्ट्र बैंकले पेश गरेको छ । एनबी ग्रुपको ७० लाख कित्ता एनसीसीको संस्थापक सेयर बिक्री नभएपछि सो ग्रुपले ३५ करोड रुपैयाँ बढी हकप्रदमा लगानी गर्नुपर्ने छ ।
बजार ९ अंकले घट्दा नेपाल लाइफ र एनसीसीको २ करोड बढीको सेयर किनबेच
काठमाडौं । साताको पहिलो दिनकाे सेयर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको आइतबारको बजार त्यसपछिको कारोबारमा भने निरन्तर ओरालो लागेको छ । अन्ततः सो दिनको नेप्से परिसूचक बजार बन्द हुँदा ९.४० अंकले ओरालो लागेर १२७८ अंकमा झरेको छ । आइतबार कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ७० अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स र अन्य समूह सामान्य अंकले झरेका छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । बजारमा कुल १५२ कम्पनीको ३० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस कम्पनीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएपछि लगानीकर्ता यस कम्पनीमा आकर्षित भएका हुन् । त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको पनि एकैदिन २ करोड ३२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बैंकमा करिब डेढ अर्ब रुपैयाँ पैसा उठ्ने भएपछि लगानीकर्ताहरु यस कम्पनी प्रति झुम्एिका हुन् । रकम घोटला गरेको काण्ड पछि केही सेयरधनीहरुले डराएर सेयर बेच्न र बाठा लगानीकर्ताले सेयर किन्न थालेपछि यस कम्पनीको कारोबारमा वृद्धि भएको हो ।
माइक्रोम्याक्सले ल्यायो दुई नयाँ स्मार्टफोन, एक हजारदेखि ६ हजारसम्ममा पाइने
काठमाडौं । स्मार्टफोन जगतमा विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा यी दुई फोनको मूल्य १ हजार ०२५ र रुपैयाँ ६ हजार ८२० रुपैयाँमात्र रहेको छ । माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसको अलावा एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ । कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोनमा क्यु ३५३ हो, यस फोनमा १.३ जीएचजेट क्वाड क्वोर र १ जीबी र्याम रहेको छ । ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०ह१२८० पिक्सल रिजोलुसन रहेको छ । यस फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएको छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ । यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको छ । यसमा ७.० नुगट अपरेटिङ सिस्टमको जडान गरिएको छ । यसमा प्रसस्त स्टोरेज क्षमता रहेको छ । १ जिबी र्याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ । थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । माइक्रोम्याक्सले ल्याएको क्यु३ एन्ड्रोयड बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोनमा पर्छ । जसले कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन ।
रिद्धिसिद्धि उद्योगमा रोटवटबाट सिमेन्ट उत्पादन हुने, कारखाना सञ्चालनको तयारीमा
हेटौँंडा । पहिलो पटक हेटौडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादनको तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने भएकाले जनशक्ति कम लाग्ने उद्योगका परियोजना प्रमुख राजेश पिलाइ बताउछन्। उनकाअनुसार उद्योगको व्यवस्थापकदेखि बजार व्यवस्थापन र पिएनसम्म गरेर जम्मा तीनसय जनशक्ति लाग्नेछ । उत्पादनको अनुपातमा जनशक्ति एकदमै कम भएको र यो उद्योग प्रविधिको हिसाबले हेर्दा नेपालमा पहिलो भएको योजना उनको भनाइ छ । उद्योगबाट धुलो बाहिर जान नदिन अत्याधुनिक उपकरण जडान गरिएकाले वातावरणमा प्रतिकूल असर नपार्ने प्रमुख पिलाइको भनाई छ। रिद्धिसिद्धि सिमेन्टले मकवानपुरको राक्सिराङ र निबुवाटारको चुनढुंगा खानीबाट कच्चापदार्थ आपूर्ति गर्ने उद्योगका आयोजना प्रमुख पिलाइ बताउछन्। यसबाहेक चितवनको शक्तिखोरमा रहेको खानीबाट पनि चुनढुंगा आपूर्ति गरिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १५ मेगावाट विद्युत् खपत हुनेछ । अम्बे र शंकरग्रुपको लगानीमा मिर्चैयामा पनि रिद्धिसिद्धि भन्दा ठूलो उद्योग स्थापना भइरहेको छ । नेपालमा सिमेन्टको बजार प्रशस्त रहेको र गुणस्तरीय उत्पादनको खोजीमा रहेका उपभोक्ताको मागलाई सम्बोधन गर्ने अपेक्षा छ । नेपालमा सिमेन्टको माग बर्सेनि १५ देखि २० प्रतिशतका दरले वृद्धि भइरहेकाले लगानीकर्ताले सिमेन्ट उद्योगमा लगानी गरेको उद्योगका निर्देशक राजेश खरेल बताउछन् । उनकाअनुसार स्वदेशी लगानीमा स्थापना भएका सिमेन्ट उद्योगमध्ये नेपालको हालसम्मको ठूलो उद्योग यो एउटा हो । उद्योगको भौतिक निर्माणकार्य अन्तिम चरणमा पुगेकाले तीन महिनाभित्र उत्पादन थाल्ने निर्देशक खरेलले बताए। आफ्नै क्लिङकर उत्पादन गर्ने प्लान्ट जडानका लागि भने एक वर्षको समय लाग्ने भएकाले क्लिङकर उपकरण जडान नभएसम्म खरिद गरेर उत्पादन गर्ने उद्योगको योजना रहेको उनको भनाइ छ । ओपिसी र पिएससी दुई प्रकारका सिमेन्ट उत्पादन गर्ने उद्योगका निर्देशक खरेल बताउछन् । सिमेन्ट उद्योगमा जर्मनी र डेनमार्कको अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको उद्योगले जनाएको छ । ४० बिगाहा क्षेत्रफलमा निर्माणाधीन उद्योगमा पूर्णतया स्वचालित उपकरण जडान भइरहेको छ । रासस
गुणस्तर, मूल्य र बजार नेटवर्क महिन्द्रा कमर्सियल भेइकलका अस्त्र हुन्- सञ्जय जादव
महिन्द्रा एण्ड महिन्द्रा ग्रुपका उपाध्यक्ष तथा दक्षिण एसिया अपरेशन प्रमुख सञ्जय जादव पेशाले इञ्जिनियर हुन् । २० वर्षदेखि महिन्द्रा ग्रुपसँग आवद्ध रहेका जादवले ६० वटा भन्दा धेरै मुलुकहरुको भ्रमण गरिसकेका छन् । हाल महिन्द्रा एण्ड महिन्द्रा ग्रपका १० वटा उत्पादनहरुको बजारीकरण हेरिरहेका जादव हाल नेपाल भ्रमणमा छन् । प्रस्तुत छ महिन्द्राका कमर्सियल भेहिकलकाबारेमा सञ्जय जादवसँग विकासन्यूजले गरेको कुराकानी । सञ्जय जादव, भाईस प्रेसिडेन्ट, अन्तराष्ट्रिय अपरेशन प्रमुख (दक्षिण एसिया), महिन्द्रा एण्ड महिन्द्रा नेपालमा महिन्द्रा एण्ड महिन्द्राको कमर्सियल(भेहिकल) गाडी बिक्रीको इतिहास कस्तो छ ? नेपालमा महिन्द्रा एण्ड महिन्द्राको यात्रा २६ वर्षअघि नै सुरु भएको हो । महिन्द्रा ग्रुपले नेपालमा कमर्सियल, हेभि, प्यासेञ्जर सेगमेन्टका सवारी साधनहरु उपलब्ध गराउँदै आएको छ । हामीले कमर्सियल सवारी भने १९९२ मा नेपालमा शुरु गरेका हौं । कमर्सियल सवारीको नेपाली यात्रामा हामी साह्रै सुखद सफलता पाईरहेका छौं । उपभोक्ताहरुले राम्रो प्रतिक्रिया दिईरहेका छन् । हामीले पनि राम्रो प्रडक्ट र राम्रो सर्भिस दिईरहेका छौं । पछिल्लो २६ वर्षदेखि हामी नेपाली बजारका लिडर नै हौं । दुगड ग्रुपसँगको सहकार्यले हामीलाई ठूलो सफलता दिईरहेको छ । लोडकिङ सेगमेन्टमा पनि हामी बजारको लिडर नै हौं । साना कमर्सियसल सवारीको सेगमेन्टमा पनि हामी सफल छौं । ३ वर्षअघि हामीले हेभि कमर्सियसल सवारीमा नेपालमा ल्याएका छौं । त्यसमा पनि हामीले बजारमा राम्रो पहुँच विस्तार गरेका छौं । एमभी दुगड ग्रुपसँगको सम्बन्ध र सहकार्य कसरी अघि बढिरहेको छ ? महिन्द्रा ग्रुपको सिद्धान्त भनेकै दीर्घकालिन आत्मिय सहकार्य नै हो । हामीले यहि सिद्धान्तका आधारमा पछिल्लो २६ वर्षदेखि मोतिलाल जी र विवेकसँग सहकार्य गरिरहेका छौं । यो सहकार्य राम्रो गतिमा अघि बढिरहेको छ । हामीसँगै अघि बढिरहेका छौं र दुगडसँगको सहकार्यलाई हामीलाई नेपाली बजारमा पुरस्कृत गरिहेको अनुभव गरिहेका छौं । यो सम्बन्धले हामीलाई अझै लामो यात्राका लागि प्रेरित गरिरहेको छ । कमर्सियल सवारीका सवालमा नेपाली बजारको कुनै अध्ययन गर्नु भएको छ ? हामी नेपाली बजारका बारेमा राम्रो जानकार छौं । दुगड ग्रुप आफैंले पनि नेपाली बजारको अध्ययन गरिरहेको छ । यहि इफोर्टले नै हामी नेपाली बजारमा लिडर ब्राण्डका रुपमा दुई दशकदेखि सशक्त रुपमा उपस्थित हुन सफल भएका छौं । व्यवसायिक कम्पनीका लागि बजारको अध्ययन अनिवार्य सर्त नै हुन् । दुगडको देशभर शाखाहरु छन् । सब डिलर र डिलरहरु छन् । हामी त्यतिकै बजारको लिडर ब्राण्ड भएका होइनौं । हामी सिधै उपभोक्तासँग जोडिएका छौं । हामी आफ्ना उत्पादनहरु नै बजारको अनुसन्धानका आधारमा तयार पार्छाै । नेपालले अख्तियारले गरेको विकासको गतिमा तपाईको बजार बढाउने योजना के छन् ? आगामी दिनमा महिन्द्राको कमर्सियल सवारीको बजार कस्तो होला ? नेपाल यतिबेला पूर्वाधार विकासको गतिमा तिब्र रुपले अघि बढिरहेको छ । ठूला पूर्वाधारहरुको निर्माणले गति लिएसँगै हाम्रा उत्पादनहरुको बजार पनि बढ्ने हो र त्यो बढिरहेकै छ । हाम्रा कमर्सियल सवारीहरुको बजार अझै बढ्दै जाने अपेक्षा छ । कुनै पनि उत्पादनको बजार भनेको उपभोक्तासम्म पुग्ने नेटवर्क नै हो । बजार विस्तारको नेटवर्क बिना कुनै पनि उत्पादनले उपभोक्ताको मन जित्न सक्दैन् । हामी बिक्रीपछिको सेवाका बारेमा पनि साह्रै सचेत छौं । दुगडले आफ्ना शाखा, सब डिलर र डिलर मार्फत कमिर्सयसल सवारीहरुको बिक्री गर्छ र बिक्रीपछिको सर्भिस पनि दिन्छौं । स्पेयर पार्टस्हरुको सहज उपलब्धता र बिग्रिएका सवारीहरुको निर्माण पनि हाम्रो उच्च प्राथमिकतामा रहने गरेको छ । हामीले बजार नेटवर्क विस्तारलाई सधै उच्च प्राथमिकतामा राख्दै आएका छौं । दुगडलाई देशभर उपयुक्त डिलर छान्न सहयोग गर्दै आएका छौं । उपकरण खरिद गरिसकेपछि स्पेयर पार्टस् र मर्मत सर्भिसमा पनि उपभोक्तालाई सहजता प्रदान गरेका छौं । अहिले देशभर १६ वटा डिलर्स छन् । जहाँबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टस् उपलब्ध गराउँछौं । त्यसबाहेक थप २५ वटा स्पेयर्स पार्ट्सका बिक्रेता छन् । उपभोक्ताहरुले महिन्द्रा कम्पनीका कमर्सियल सवारी नै किन रोज्ने ? पक्कै पनि, अहिले संसारभरका राम्रा भनिएका कम्पनीहरुका कमर्सियल सवारी नेपालमा उपलब्ध छन् । त्यस अर्थमा नेपालीहरु साह्रै भाग्यमानी पनि छन् । अमेरिका, युरोप, जापान र कोरियाका उत्पादनहरु नेपालमा सर्वत्र उपलब्ध छन् । नेपालीहरुका माझ कमर्सियल सवारी साधनमा छनौटको राम्रो सुबिधा छ । तर पनि उनीहरुले महिन्द्रालाई नै पहिलो रोजाई बनाउँदै आएका छन् । बजारमा उपलब्ध अन्य कमर्सियल सवारी भन्दा महिन्द्राका सवारी दिगो हुन्छन् । लामो समयसम्म सेवा दिन सक्छन् । किनकी हामी सवारी बेच्ने काम मात्रै गर्दनौं । त्यसको मूल्य अभिवृद्धि( भ्याल्यु एडिसन) पनि गराउँछौं । उपयोगिता पनि बढाउँछौं । अर्थात महिन्द्राका कमर्सियल सवारी साधन अरु कम्पनीका भन्दा बढि उपयोगी र लामो समय टिक्छन् । त्यसका अलवा हामीले बिक्रीपछिको सर्भिस र स्पेयर पार्टस्मा पनि राम्रो ख्याल गर्दै आएका छौं । हाम्रा सवारी खरिद गरेपछि पार्टपुर्जा नपाउने, मर्मतमा कठिनाई हुने समस्या आउँदैनन् । हामीले उपभोक्तासँग क्रेता र बिक्रेताको रुपमा होइन, दुई वटा कम्पनीबीचको व्यवसायिक सम्झौताका रुपमा व्यवहार गरिरहेका छौं । हाम्रा कमर्सियल सवारी साधन खरिद गर्नेहरु आफैं व्यवसायी हुन र हामी उनीहरुसँग व्यवसायिक सम्बन्धका आधारमा व्यवहार गर्छाै । हाम्रा उत्पादनहरुमा न्युन इन्धन खपत हुन्छन् । हामीसँग आधुनिक तालिम प्राप्त मर्मतकर्ताहरु छन् । त्यसकारण, गुणस्तर, मूल्य, बजार नेटवर्क, उपयोगिता, मर्मत सम्भारको सुबिधा लगायतका कारणहरुले महिन्द्राका कमर्सियल सवारी साधन नै उपयुक्त हुनेछन् भन्ने हाम्रो मान्यता हो । नेपालमा बजारीकरणका लागि उत्पादक कम्पनीका रुपमा कुनै योजना बनाउनु भएको छ ? हामी आफैंले नेपालका लागि व्यवसायिक योजना बनाउनु पर्छ भन्ने मान्यता राख्दैनौं । हामी उत्पादन गर्छाै । गुणस्तर कायम गराउँछौं । नेपालमा व्यवसाय विस्तार गर्ने, उपभोक्तामा जानकारी पुर्याउने काम दुगड ग्रुपको हो । जुन काम उहाँहरुले लामो समयदेखि सफल ढंगले गर्दै आउनु भएको छ । हामीले भारतसहित संसारका अन्य मुलुकहरुमा व्यवसाय विस्तारका क्रममा प्राप्त गरेको अनुभवलाई साट्ने गरेका छौं । त्यसका आधारमा दुगड ग्रुपले नेपालमा व्यवसाय विस्तारको लागि काम गर्दै आएको छ । कमर्सियल सवारी साधनको सेगमेन्टमा अब चाँडै नेपालमा कस्तो प्रडक्ट आउँदैछ ? नेपाल तिब्र गतिमा विकासको चरणमा हिडिरहेको छ । यो हाम्रा लागि राम्रो बजार पनि हो । अहिलेसम्म हामीले ठूला कमर्सियल सवारी र साना कमर्सियल सवारी मात्रै नेपालमा उपलब्ध गराउँदै आएका थियौं । अब भने हामी मध्यम खाल(इन्टरमेडियट) कमर्सियल सवारी पनि नेपालमा भित्र्याउने सोँच बनाएका छौं । आइसीबी सेगमेन्टमा पनि हामीले आफ्ना उत्पादन नेपाली बजारमा चाँडै पठाएर सबै खाले कमर्सियल सावरी उपलब्ध गराउने योजना बनाएका छौं । आइसीबीको उपलब्धता हाम्रा लागि र नेपाली बजारका लागि पनि नयाँ अध्याय हुनेछ । कति मूल्य देखि कतिसम्मका कमर्सियल सवारी नेपाली बजारमा उपलब्ध छन् ? हामीले करिब ८ लाख मूल्यका कमर्सियल उत्पादन देखि ६३ लाख मूल्यसम्मका कमर्सियल उत्पादन नेपाली बजारमा उपलब्ध गराएका छौँ । जितो, टिपर, ट्याक्टर टेलर्स, माक्सीमो, लोडकिङ, बस लगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन् । नेपाली उपभोक्ताका लागि कुनै बिशेष योजना छन् कि ? उपभोक्ताका लागि कस्तो योजना ल्याउँदा फाइदा हुन्छ भनेर दुगड ग्रुपले हेरिरहेको हुन्छ । मूल्यमा छुट दिने, स्पयेर्स पार्टस्, मर्मत सम्भारका सुबिधाहरुलाई आवश्यकता अनुसार ल्याउने गरेका छौं । मुलतः हाम्रा उत्पादनहरुले उपभोक्तालाई अधिकतम लाभ दिनुपर्छ भन्ने मान्यता छ । महिन्द्राको विश्व व्यापार सञ्जाल र हिस्सा कस्तो छ ? महिन्द्रा ग्रुप १९४५ मा स्थापना भएको हो । यो विविधिकरण भएको औद्योगिक समूह हो । ११५ भन्दा बढि देशमा हाम्रो व्यवसाय विस्तार भएको छ । महिन्द्रा ग्रुपको मुल व्यवसाय भनेको अटोमोबाइल्स नै हो । ट्रक, बस, टिपर, ट्याक्टर, टु ह्विलर, थ्री ह्विलर, कमर्सियल सवारी, एसयुभी लगायतका सबै खाले सवारी साधन उत्पादन गर्छाै । हामी ट्याक्टरमा विश्वकै एक नम्बर कम्पनी हौं । हामीसँग टेक महिन्द्रा नामको आइटी कम्पनी पनि छ । सोलार, जलविद्युत उत्पादक कम्पनी पनि छन् । पूर्वाधार निर्माण कम्पनी लगायतका कम्पनी पनि छन् । हामी अटोबोमाइल मात्रै ६० वटा देशमा निर्यात गर्छाै । युरोप, अमेरिकामा अटोमोबाइल निर्यात गरिरहेका छौं । अमेरिकामा भर्खरै मात्रै एसेम्बल प्लान्ट राखेका छौं । महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्षको नाताले नेपाली उपभोक्तालाई सन्देश के छ ? नेपालका उपभोक्ताहरु ग्लोबल ब्राण्ड छान्ने सुबिधामा छन् । तर उनीहरुले महिन्द्रा एण्ड महिन्द्रालाई आफ्नो रोजाईमा पारेका छन् । यो हाम्रो ब्राण्डप्रति नेपालीहरुको विश्वास हो । हामी यो विश्वासलाई अझै मजबुत बनाउन चाहान्छौं । महिन्द्राका उत्पादनहरु प्रयोग गरेर नेपालीहरुले आफ्नो व्यवसायलाई बढाउन सक्छन् । महिन्द्रालाई नेपालीहरुले गरेको मायाले हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरिरहेको छ । हामी गुणस्तर, मूल्य, उपयोगीता जस्ता कुरामा थप जिम्मेवार भएर अघि बढ्नेछौं । नेपालीहरुको यो माया अझै निरन्तर रहोस् ।
एपेक्स बैंकका सञ्चालक छविरमण अधिकारी पक्राउ
काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक छविरमण अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका तत्कालीन संचालक अधिकारीलाई पक्राउ गरेको हो । संचालक अधिकारी शनिवार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ परेका व्यूरोका डिएसपी श्याम ओलियाले बताएका छन् । साथै, व्युरोले गत शुक्रबार बैंकको १ अर्ब ५० करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा बैंकका संचालक सहित १३ जनालाई पक्राउ गरेको थियो ।
जेठाजुले मिर्गौला दिएर बुहारीलाई बचाए
काँकडभिट्टा । झापामा जेठाजुले मृर्गौला दिएर बुहारीलाई बचाएका छन् । पत्रकार समेत रहेकी माया पकुवाललाई उनकै जेठाजु सौरभले मिर्गौला दिएका हुन् । पकुवाललाई सौरभले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला दान गरेको परिवारले जनाएको छ । दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल गएकी थिइन। उपचारका क्रममा चिकित्सकले उनको दुवै मिर्गौला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गौला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो । सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएका थिए । मिर्गौलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताए। उनको अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गौला दान दिएकी थिइन् । रासस
धरहरा बनाउन स्थानीयको दबाबमुलक अभियान, लाखौंको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँदै
काठमाडौं । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्गथाीयहरु लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् । स्थानीयले ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, हस्ताक्षर अधियानमा सहभागी बनौ’ भन्ने ब्यानरसहित हस्ताक्षर संकलन गरिरहेका छन् । साथै उनीहरुले ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ५१ हजार १ सय १ रुपैंया पनि जम्मा गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । खिचापोखरी युवा क्लबसहित स्थानीयहरु मनोज शम्सेर जवरा, वेदप्रकाश गौतम, रामेश्वर शिवा, कर्ण शाही, कृष्ण केसीलगायतको अगुवाईमा संघर्ष समिति नै बनाएर उक्त अभियान अगाडि बढाईएको छ । ‘यो सांकेतिक शुरुवात हो, हामी लाखौंको हस्ताक्षर संकलन गरेर धरहरा बनाउने अभियानमा लागेका छौं । धरहरा बनाउने प्रतिबद्धतासहित शिलान्यास नभएसम्म हाम्रो चरणबद्ध दबाबमुलक कार्यक्रम अगाडि बढि नै रहनेछ ।’ स्थानीय वेदप्रकाश गौतमले भने, ‘धरहरा बनाउन हामी आफैं श्रमदान गर्न पनि तयार छौं ।’ उनले प्रदेश प्रमुखसहित महानगर लगायत सबैको ध्यानाकर्षण गराउने कार्यक्रम पनि अगाडि बढाईएको जानकारी दिए । यस्तै खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डंगोलले धरहरा ढलेपछि भूकम्पको त्रास बढेको र त्यसलाई मेटाउन पनि धरहरा तत्काल बन्नुपर्ने बताए । उनले भने, ‘यसलाई व्यापारिक प्रयोजनमा लैजानुहुँदैन । सरकारले संरक्षणका लागि यसको ठेक्का दिएको हो । पर्यटकीय हिसाबले यसको संरक्षण गर्दै ढलेको धरहरा तत्काल बन्नुपर्छ ।’ पर्यटकका लागि आवश्यक सुबिधा र त्यहाँका स्थानीयहरुको सुबिधालाई मध्यनजर गर्दै राष्ट्रिय धरोहर धरहरा बन्नुपर्नेमा जोड दिदैं उनले भने, ‘धरहरमा आँच आउनेगरी गगनचुम्बी भवनहरु बन्नुभएन । हाम्रो भनाई तत्काल धरहरा बन्नुपर्छ ।’ उनले धरहरा बनाउन सम्बन्धीत निकायलाई सहयोग गर्न क्लब र त्यहाँ रहेका अन्य संघसंस्थाहरुलाई ऐक्यबद्ध गराउन आफूहरु तयार रहेको र सरकारले तत्काल धरहरा बनाउने पहलकदमी लिनुपर्ने बताए । स्थानीयले गुठी संस्थानको जग्गालाई पार्किङमा प्रयोग गर्न सक्ने तर व्यापारिक भवन बन्न नदिने बताएका छन् । यसअघि धरहराको दक्षिणतर्फ रहेको जग्गामा भीम मुक्तेश्वर गुठी संस्थाले भाडामा लिई व्यापारिक भवन बनाउन लागेकोमा स्थानीयले विरोध गर्दै महानगरबाट नै त्यस कार्यलाई रोकेका थिए ।