पोखरामा नबिल बैंकको पहिलो प्रादेशिक कार्यालय र ३ नयाँ शाखा सञ्चालनमा
काठमाडौं । नबिल बैंकले पोखरामा प्रादेशिक कार्यालय तथा ३ नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । उक्त ४ नं. प्रदेशको प्रादेशिक कार्यालयको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जि.सी.तथा बैंकका संचालक समितीका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा गरेका छन् । साथै, बैंकका अध्यक्ष पौड्यालले तालचोक, बगर र अमरसिंहचोक स्थित ३ नयाँ शाखाहरुको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर जिसीले भने ‘नबिल बैंकको प्रादेशिक कार्यालय र थप ३ नयाँ शाखाहरु सहित पोखरामा बैंकले ५ वटा शाखाहरुबाट सेवा प्रदान गर्ने भएकोमा हामीलाई अत्यन्त खुशी लागेको छ । बैंकले दिने सेवा सुविधाहरुबाट पोखराको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास हामीले लिएका छौं ।’ उक्त अवसरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्रका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप विभिन्न क्षेत्रमा आफ्नो शाखा कार्यालयको सजांल बढाउँदै लगिरहेको बताएका छन् । हाल बैंकले ६२ वटा शाखाहरु, १०५ वटा एटिएम, १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् सेवा प्रदान गदै आइरहेको छ ।
सिद्धार्थ बैंकले ल्यायो नगद फिर्ता योजना, भिसा कार्डबाट सपिङ गर्दा १० प्रतिशत रकम थप
काठमाडौं । सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा नगद फिर्ता (क्यास ब्याक) योजना सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएकाे यस योजना अन्तर्गत् भिसा कार्डका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्दा आफ्नो खातामा नगद फिर्ता पाउनेछन् । यस योजना अन्तर्गत् यस बैंकका भिसा कार्डका नयाँ ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड एक्टिभेट गरेको १५ दिन भित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा उक्त पहिलो कारोबार अन्तर्गत भएको कुल खरिद रकमको १५ प्रतिशत वा अधिकत्तम १ हजार रुपैयाँसम्मको नगद आफ्नो खातामा फिर्ता पाउने छन् । यसैगरी भिसा कार्डको प्रयोग गरिरहेका ग्राहकहरुले बैंकको भिसा डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत् तीन वा तीनभन्दा बढी खरिद कारोबारमा कुल न्यूनतम १००० रुपैयाँको खरिद गरेको खण्डमा आफ्नो खरिद रकमको १० प्रतिशत वा अधिकत्तम १००० रुपैयाँसम्मको नगद खातामा फिर्ता पाउनेछन् । यो योजना चैत मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ । ग्राहकहरुलाई वस्तु तथा सेवाको खरिद गर्दा नगदको प्रयोगको सट्टा कार्ड मार्फत् भुक्तानी गर्न अभिप्रेरित गर्नु बैंकको उद्देश्य रहेको कम्पनीले बताएको छ ।
धरहरा पुनर्निर्माण सम्बन्धमा प्राधिकरणद्वारा छलफल, अझै टुङ्गो लाग्न सकेन
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिसाहिक महत्वको धहरहरा पुनर्निर्माणलाई अघि बढाउने बिषयमा सरोकारवाला निकायसँग बिहीबार छलफल भएको छ । आफ्नै प्रतिबद्धताबाट पछि हटेर नेपाल टेलिकमले धरहरा पुनर्निर्माण गर्न नसक्ने बताएपछि प्राधिकरण आफैले त्यसको पुनर्निर्माण गर्ने वारे तयारी अघि बढाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका सचिव मधुसुदन अधिकारी, कार्यकारी सदस्यहरु डा. हरिराम पराजुली, डा.चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, बिण्णु भण्डारी, पर्यटन मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकार्इ प्रमुख डण्डुराज घिमिरे, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल लगायत बिज्ञ समुहका सदस्यहरुलाई बोलाइएको थियो । वैठकमा प्रमुख कार्यकारी अधिकृत भूसालले निर्माण पुर्वका सवै प्राविधिक तयारी पुरा गरी जतिसक्दो छिटो धरहराको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । प्राधिकरणका प्रवक्ता यमलाल भूसालले धरहरा सम्बन्धी ड्रोइङ डिजाईनसहितका प्राविधिक पक्षका बिषयमा छलफल चलिरहेको भन्दै यसको टुंगो लागेपछि धरहरा पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने बताए । धरहरा पुनर्निर्माणको प्राविधिक पक्षवारे छिट्टै बिज्ञ सदस्यहरुसहित अर्काे बैठकमा छलफल गर्ने सहमति भएको उनको भनाइ छ ।
लाइन मिलेको बीमा समितिः अर्थमन्त्री र सभामुख दाहिना, यसै बर्ष नयाँ ऐन
काठमाडौं । अहिले अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको टकरावबारे व्यापक चर्चा छ । वित्तिय क्षेत्रको नियामक निकायले अर्थ मन्त्रालयबाट यथोचित सहयोग नपाउने अड्कलबाजी भैरहेका बेला बीमा क्षेत्रको नियामक निकाय बीमा समिति भने उत्साहित छ । २०६२/६३ सालमै तयार पारिएको नयाँ बीमा ऐनको मस्यौदालाई यसैपाली कानुनको रुप दिलाउने तयारीमा समिति नेतृत्व जुटेको छ । ‘समितिलाई अहिले सबै खाले अनुकुलता छ, चालु आर्थिक बर्षमै नयाँ बीमा ऐन ल्याउने तयारीसहित काम गरिरहेका छौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी नेपालले भने । उनले डा. युवराज खतिवडा अर्थमन्त्री हुनु र प्रतिनिधी सभाको सभामुखमा कृष्ण बहादुर महरा पुग्नु पनि समितिका लागि सुखद अवसर भएको पनि बताए । ‘डा. युवराज खतिवडासँगै मैले राष्ट्र बैंकमा काम गरेँ, उहाँ अहिले अर्थमन्त्री हुनुहुन्छ, मलाई बीमा समितिको अध्यक्ष बनाउने तत्कालिन अर्थमन्त्री यतिबेला सभामुख बन्नु भएको छ, यी अनुकुलतालाई उपयोग गरेर ऐन चाँडै ल्याउने हो’, बीमा समितिका अध्यक्ष चापागाईँले भने । अर्थ मन्त्रालयको तदारुकता र सभामुखको सक्रियताले बिधेयकहरुलाई चाँडो पास गराउन महत्वपुर्ण भूमिका खेल्ने गरेको छ । अर्थमन्त्री डा.खतिवडा र चापागाईँ दुबै राष्ट्र बैंककै प्रडक्ट हुन् । खतिवडा गभर्नर बनेका थिए भने चापागाईँ निर्देशक थिए । निर्देशक पदबाट काजमा उनी बीमा समितिको अध्यक्ष बन्न गएका हुन् । उनले बीमा समितिको नियमन क्षमता बढाउने, बीमा क्षेत्रको पहुँच बढाउने लगायतका नयाँ व्यवस्था ऐनमा गरिएको पनि जानकारी दिए । हाल चापागाईँकै संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका प्रतिनिधी रहेको समितिले मस्यौदाबाट नयाँ संबिधानसँग बाझिाएका बुँद हटाउने काम अघि बढाईरहेको छ । ‘मस्यौदा बनाउँदा संघिताले ल्याएका नयाँ संरचनालाई समेटिएको थिएन, अहिले राज्य पुनसंरचनाको यहि मुद्धालाई मस्यौदामा समेट्ने काम भैरहेको छ’, अध्यक्ष चापागाईँले भने । अर्थमन्त्रालयका सहसचिव तथा समितिका सञ्चालक गणेश प्रसाद पाण्डेले पनि नयाँ बीमा ऐनलाई मन्त्रालयको उच्च प्राथमिकतामा राखिएको बताए । ‘अर्थ मन्त्रालयले बीमा ऐनलाई उच्च प्राथमिकतामा राखेको छ, हामी चाँडो भन्दा चाँडो संसदमा लगेर पारित गराउने अभियानमा छौं’, पाण्डेले भने ।
भक्तपुरमा खुल्यो स्मार्ट सेलको स्मार्ट सेन्टर
काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायक स्थित आरएन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोर जी सेवा सुरु गरेको उक्त कम्पनीले भक्तपुरमा सेन्टर स्थापना गरेको हो । बिहीबारदेखि सुरु गरिएको उक्त स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुनका साथै स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै उपलब्ध गराउने टेलिकमले बताएको छ । कम्पनीका अनुसार सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदान गर्ने नयाँ–नयाँ सेवा तथा उत्पादनहरुको जानकारी प्रदान गरिनेछ । कम्पनीका अध्यक्ष सर्वेस जोशीले सो नयाँ सेन्टरको उद्घाटन गरेका थिए । उनले ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सेन्टर सञ्चालन गरेको बताए । यस अघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतली सडकमा पनि आफ्नो सेन्टर स्थापना गरिसकेको जनाएको छ । आगामी दिनमा मुलुकको प्रमुख सहरहरुमा कम्पनीले आफ्नो स्मार्ट सेन्टर स्थापना गर्ने योजना गरेको कम्पनीका अध्यक्ष जोशीको भनाइ छ । १ जुलाई २००८ मा सूचना तथा सञ्चारको क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्यले स्मार्ट सेलको स्थापना गरिएको हो । त्यसयता कम्पनीले नेपालका दुर्गम क्षेत्रहरुमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीले मुलुकभरी सेवा विस्तार गर्ने योजनासहित हालसम्म आफ्नो फोरजि सेवा काठमाडाै, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।
बजाजको ‘बजाज युगारम्भ’ योजना सार्वजनिक, नयाँ युगलाई स्वागत गर्ने उद्देश्य
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०७५ को अवसरमा बजाजको ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारा सहित यस योजना शुरु गरेको हो । नेपालले अब विकासको बाटो समाउने तर्रखर गरिरहेकाले अब आउँदै गरेको नयाँ वर्ष नेपाली नागरिकको लागि निकै महत्वपूर्ण हुने हुँदा कम्पनीले यस योजना सार्वजनिक गरेको हो । यस योजनाले विकासको युग आरम्भ भएको संदेश युवाहरुमा प्रवाह गर्ने कम्पनीले जनाएको छ । यसले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने छ । यस योजनाले नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने छ । यो अभियानका विशेषताहरुमा ‘रु.७५०० स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७५०० रुपैयाँ नगद छुट पाउनेछन् । साथै हरेक खरिदकर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यशाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् । यो योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विस्वास लिएका छौं । त्यसैले सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको संदेश पुर्याउन हामीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेका हौं । नयाँ वर्षको उपहार योजनामा नयाँ युगलाई स्वागत गर्ने उद्देश्य र नयाँ नेपाल बनाउन युवाहरुको योगदानको उतिकै महत्व छ भन्ने सन्देश दिन हामीले यो योजना सार्वजनिक गरेका हौं ।’
वैदेशिक रोजगारीमा गएका र स्वरोजगारको पनि संचय कोष हुने
काठमाडौं । कर्मचारी संचय कोषले वैदेशिक रोजगारीमा गएका र नेपालमै स्वरोजगार रहेका नागरिकहरुको पनि सञ्चय कोष गर्ने भएको छ । वैदेशिक रोजारीमा जाने र स्वदेशमै आफै रोजगार भएकाको कोष कट्टा सुरु गर्न लागेको हो । यसका लागि कोषले बेग्लै स्वरोजगार संचय कोष गठन गर्न लागेको छ । स्वरोजगार कोष गठनका लागि नीति र कार्यविधि बनाइ सञ्चालक समितिमा पेश भएको छ । सञ्चालक समितिबाट पारित भएपछि कार्यन्वयनका लागि अर्थ मन्त्रालयमा पेश गरिने कोषका कामु प्रशासक दीपक रौनियारले बताए । हाल सरकारी तथा निजी संगठित संस्थाका कर्मचारीको मात्र कोष व्यवस्थापन गरिरहेकोमा अब वैदेशिक रोजगारीमा जाने र स्वरोजगार भएका व्यक्तिलाई पनि कोषमा सहभागि गराउन लागेको उनले बताए । यसमा अनिवार्य नभई एेच्छिक रुपमा वैदेशिक रोजगारीमा जाने र स्वरोजगार भएका व्यक्ति समावेश हुने छन् । आम्दानीको प्रकृतिअनुसार वार्षिक वा त्रैमाशिक रुपमा कोषमा रकम जम्मा गर्ने व्यवस्था हुनेछ । यसले दीर्घकालमा पेन्सन फण्डको रुपमा काम गर्ने कोषको भनाई छ ।
प्रभु लाइफ इन्स्योरेन्सले एकैसाथ खोल्यो थप ४ नयाँ शाखा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले एकैसाथ थप चार नयाँ शाखा कार्यालयहरुको संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार(आज)देखि ललितपूर, कलंकी, बानेश्वर र बनेपा शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनले एक कार्यक्रमकाबीच ललितपूर शाखा र कम्पनीका संञ्चालक नरेश बहादुर मल्लले कलंकी शाखा कार्यालयको उद्घाटन गरेका छन् । त्यसैगरी, कम्पनीका संस्थापक सेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा र कम्पनीकै संस्थापक सेयरधनी तथा सांग्रिला विकास बैंकका सीईओ राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रभु बैंकका सीईओ शेरचनले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य रहेको यस कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् । आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु विस्तार गर्दै जाने बताएको छ । साथै, कम्पनीले छिट्टै गंगबु तथा नारायणगढ शाखाहरु संचालनमा ल्याउने तयारी गरिरहेको छ । इन्स्योरेन्सले यस अघि नै ताहाचल, वीरगंज, ईटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुर शाखा कार्यालयहरुबाट कारोबार संचालन गरिसकेको छ ।