जगदम्बा स्टिल्सद्धारा क्यापस टपर वस्तीलाई ५१ हजारको चेक प्रदान
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स् कम्पनीले इन्जिनियररिङ अध्ययन संस्थानका सञ्जिला वस्तीलाई ५१ हजारको चेक प्रदान गरेकाे छ । कम्पनीले समाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो पटक इन्जिनियररिङ् अध्ययन संस्थान, थापाथली क्यापस हलमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहमा साे मात्राकाे चेक हस्तान्तरण गरेकाे हाे । उक्त कार्यक्रममा शंकरलाल अग्रवालले गोल्ड मेडल सहित उक्त रकमकाे चेक वस्तीलाई प्रदान गरेकाे हाे । उनी इन्जिनियररिङ् अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट नजिता प्राप्त गरि वि.सं. २०७४ सालमा क्यापस टपर हुन् ।
कर्पोरेट फुटसललाई फोर्डको प्रयोजन
काठमाडौं । चैत्र ३ गते संचालन हुन कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताको लागि फोर्डले २ लाख ५० हजारको प्रायोजन गर्न लागेको हो । अटोमोबाइल्स प्रालीका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका ब्यवस्थापक शिसर गर्तौलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा उल्लेख भए अनुसार प्रतियोगिता फोर्ड फुटसलको नामले संचालन हुनेछ । कार्यक्रममा मुख्य प्रायोजक गो अटोमोबाइल्स प्रालीका बजार प्रमुख रेग्मीले खेलकुदको माध्यमबाट कर्पोरेट हाउसबीच आपसी सम्बन्ध बिस्तार गर्ने बताए । फोर्ड कर्पोरेट फुटसलमा बैंक,होटल,इन्सुरेन्स कम्पनी,हस्पिटल र रेमिटेन्स कम्पनीका बीच प्रतिस्पर्धा हुने छ । एक दिने फोर्ड कर्पोरेट फुटसल प्रतियोगितामा २० टिमको सहभागिता रहने छ ।
चैत दोस्रो साता अन्तर्राष्ट्रिय महिला उद्यमी मेला
काठमाडौं । ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा चैत ८ देखि १२ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०१८ हुने भएको छ । स्वदेशमा उत्पादन भएका वस्तु एंव हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रबद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालले उक्त मेला आयोजना गर्न लागेको हो । आयोजकका अनुसार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी, महिला निर्यातकर्ता साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ । मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घर बुन्नका लागि प्रयोग हुने सामाग्री, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, गरगहना लगायतका सामाग्रीहरु राखिने छन् । मेलामा स्वदेशका महिला उद्यामी लगायत बंगलादेश, भारत, थाइल्याण्ड, पाकिस्तान लगयातका महिला उद्यमीहरुको उत्कृष्ट उत्पादनहरुको सय स्टल राखिने अयोजकको भनाइ छ ।
शाइन रेसुङ्गाको ३६५ दिने बैंकिङ्ग सेवा शुरु, सार्वजनिक बिदामा पनि बैंक खुल्ने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकलाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ३६५ दिन नै बैंकिङ्ग सेवाको शुरु गरेको छ । अब यस बैंकका ग्राहकहरुले सार्वजनिक बिदाको दिन समेत बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकहरुले यस बैंकको जुनसुकै शाखामा रहेको खातामा रकम जम्मा गर्न र जुनसुकै शाखा कार्यालयको खाताबाट रकम झिक्न सक्नेछन् । बैंकले पहिलो चरणमा रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क र प्यूठान जिल्लाकोे विजुवारमा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ । साथै, भविष्यमा अन्य शाखा कार्यालयहरुबाट समेत यो सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने बैंकले जनाएको छ । चुक्ता पूँजी १ अर्ब ३७ करोड रहेको बैंकको निक्षेप परिचालन १२ अर्व ४१ करोड, कर्जा लगानी ११ अर्ब ३ करोड रुपैयाँ रहेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकले हाल ३२ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ । साथै, कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा कार्यालय सञ्चालनको अन्तिम तयारी गरिरहेको बैंकले जनाएको छ ।
युएस बंगला विमान दुर्घटनाः तथ्य पत्ता लाग्न १५० दिन कुर्नुपर्ने
काठमाडौं । युएस बंगला विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन १५० दिन कुर्नुपर्ने भएको छ । सरकारले गठन गरेको छानविन आयोगले आफ्नो प्रतिवेदन १५० दिन पछि मात्रै तयार गर्ने र सो प्रतिवेदन तयार नहुँदासम्म बिमान दुर्घटनको कारण नखुल्ने स्पष्ट भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुर्घटनाको तथ्य उजागर गर्न न्युनतम पनि १५० दिन कुर्नुपर्ने स्पष्ट पारेको हो । ‘सरकारले यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ६ सदस्ययीय आयोग गठन गरेको छ, आयोगको प्रतिवेदन नआएसम्म सत्य उजार हुँदैन’, उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने । समितिले बिमान निर्माता कम्पनी बम्बाडियरसँग जहाजको अवस्था, बंगलादेशको नागरिक उड्डयन प्राधिकरणसँग पाइलटको मेडिकल रिपोर्ट लगायतका कागजागत मगाएर छानविन गर्नेछ । ‘एयर ट्राफिक कन्ट्रोलर वा पाइलट कसको गल्ति हो ? न जहाजमा पो गडबडी थियो की त्यो पत्ता लाग्न आयोगको प्रतिवेदन कुर्नुपर्छ’, गौतमले भने । पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले विमान दुर्घटनामा २२ जनाको जिवित्तै उद्धार गर्न सफल हुनुलाई ठुलो उपलब्धि मान्नुपर्ने बताए । प्राधिकरणले जहाज दुर्घटना भएको २ मिनेट भित्रै उद्धार टोली पुगेको बताएको छ । सोमबार २ बजेर १८ मिनेट जाँदा युएस बंगला बिमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गबाट बाहिरिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो भने २२ जनाको उपचार भैरहेको छ । उनीहरुमध्ये एक जना बाहेक सबैको अवस्था सामान्य रहेको प्राधिकरणले बताएको छ ।
प्रहरी हवल्दार कुलबहादुर बिसी १ लाख ६० हजार घुस रकमसहित पक्राउ
काठमाडौं । प्रहरी चौकी पाखापानी म्याग्दीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर बिसी घुष रकमसहित पक्राउ परेका छन् । बिसी सेवाग्राहीलाई नेपाल प्रहरीको जवान पदमा भर्ना गराइदिने बहानामा सेवाग्राहीसँग १ लाख ६० हजार घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । बिसीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कारवाहि प्रक्रिया अघि बढेको अख्तियार दुरुपयोग अनुसन्धानले जनाउको छ । उनीमाथी जरिवाना र कैद सजाय हुन मागदाबी सहित मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
एचएच बजाजको नयाँ शोरुम बर्दियाको गुलेरियामा
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम बर्दियाको गुलेरियामा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको ‘बर्दिया अटो इन्टरनेशनल’ नामको शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ । यस कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।
प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न बोर्डमा दियो आवेदन
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको जानकारी दिएको छ । आउदो असारसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुरउने पर्नेछ ।