विकासन्युज

नेपाली अदुवा पहिलाे पटक युरोप निर्यात हुँदै, इटालियन व्यवसायीले किन्ने

काठमाडौं । नेपाली अदुवा अब युरोपमा पनि निकासी हुने भएको छ । युरोपको इटालीका व्यवसायीले नेपाली अदुवा खरिद गर्न लागेका हुन् । भारतले विभिन्न वाहानामा अदुवा निकासी रोक्न थालेपछि नेपाली व्यवसायीले इटालीमा अदुवा निकासीका लागि पहल थालेका हुन् । इटालीका व्यवसायीले अदुवाप्रति चासो देखाउदै केही दिनभित्रै अदुवाको खरिदका लागि नेपाल आउने भएका छन् । इटालिका व्यवसायीले अदुवा खरिदका लागि चासो देखाएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले बताए । उनका अनुसार पछिल्लो समय थोरै भएपनि अन्तर्राष्ट्रिय बजारमा नेपाली अदुवाको प्रसार प्रचार भएको कारण इटलीका व्यापारीहरुको ध्यान नेपाली अदुवाप्रति तानिएको हो । ‘ती व्यापारीहरुसंग नेपाली अदुवाको निर्यात सम्बन्धमा विस्तृत छलफल हुनेछ,’ उनले भने ‘नेपाली अदुवा पहिलो पटक इटाली पुग्ने छ ।’ इटाली निर्यातका लागि इलाम जिन्जर एक्स्पोर्ट प्रालिले तयारी गरिहेको कम्पनीकाे सञ्चालक समेत रहेका उनले जानकारी दिए । ‘यो नेपालको लागि सुखद अवसर हो,’ उनले भने । संघकोअनुसासर हालसम्म नेपालबाट भारत र बंगलादेश अदुवा निर्यात हुदै आएको छ । गएको तीन महिनाअघिदेखि मात्र बंगलादेशमा नेपाली अदुवा निर्यात हुन थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नेपाली अदुवाको सम्भावना राम्रो भएपनि सरकारले अझै पनि अदुवाको बजारीकरणमा ध्यान पुर्याउन सकेकाे छैन।  

इन्भेष्टर्स फोरम तातेपछि सेयर बजारमा सुधार, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको काराेबार

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सोमबार सेयरधितो कर्जा सीमा बढाउन सरकारसँग माग गरेपछिको मंगलबारको सेयर बजारमा सुधार भएको छ । फोरमले सेयर बजार निरन्तर घट्दै गएपछि सोमबार सेयरधितो कर्जा सीमा बढाउन माग गरेको थियो । खुलेदेखि नै सुधारको संकेत देखिएको मंगलबारको सेयर बजार अन्तत हरियो नै भएर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४.८९ अंकले उकालो लागेर १२८१.९० अंकमा पुगेको छ । कुल १५६ कम्पनीको २३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२० रुपैयाँ रहेको छ । त्यसैगरी, नबिल बैंक, यूनिलिभर नेपाल र एभरेष्ट बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका ३ समूह बाहेक अन्य बाँकी समूहको सूचक हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूहको सूचक ६१ अंकले उकालो लागेको छ भने सबैभन्दा बढी उत्पादनमूलक समूह ३२ अंकले ओरालो लागेको छ ।

विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडाैंमा

काठमाडौं । सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल मंगलबार काठमाडौंआइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो । उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए । बंगलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौं आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् । यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपीशर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।

रसुवाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडियो, स्काभेटर र डोजर खरिदमा सांसदकाे व्यक्तिगत लगानी

काठमाडौं । रसुवा जिल्लाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको छ। रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यको व्यक्तिगत प्रयासमा रसुवाको गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको हो। रसुवा जिल्लाका सबै स्थानलाई सडक सञ्जालमा जोड्ने अभियान स्वरुप सांसद आचार्यले आफ्नो व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि गत माघ २७ गते जिल्लालाई उपलब्ध गराएका थिए। गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडकको लम्वाई ३ किलोमिटर रहेको छ। रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान अन्तर्गत हाल सम्म ७ किलो मिटर ग्रामिण सडक निर्माण भैसकेको छ। यस अघि कालीका गाँउपालिकाको लामाटोल देखि चित्रेपानी जोड्ने ४ किलोमिटर सडक निर्माण गरिएको थियो। बाटो निर्माणका लागी स्काभेटर र डोजर संञ्चालन गर्न आवश्यक ईन्धनको व्यवस्था उपभोक्ता समितिले गराएको थियो। अब सो मेसिनले पार्वतीकुण्ड गाँउपालिकाको हाकुलाई सडक सञ्जालसँग जोड्न बाटो खन्ने काम शूरु गर्ने सांसद आचार्यले बताएका छन्।

आइएमई जनरल इन्स्योरेन्सको ३३औं शाखा काठमाडौंकोे टेकूमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकू स्थित अम्बे कम्पलेक्समा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मंगलबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् । यस शाखा सहित कम्पनीले ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । उक्त अवसरमा बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाउने कम्पनीले जनाएको छ । साथै, कम्पनीले लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ । सोही अवसरमा अध्यक्ष चापागाईले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि आग्रह गरेका छन् । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सम्पूर्ण बीमा सेवा प्रदान गर्ने जानकारी गराएका छन्। कम्पनीले आ.ब. २०७४/०७५ को दोश्रो त्रैमास सम्ममा ४३ करोड बीमा शुल्क आर्जन र कूल लगानी ८५ करोड रुपैयाँ गरेको छ । सो अवधिमा कम्पनीले खुद नाफा ४ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको जानकारी दिइएको छ ।

स्प्रेडदर ५ प्रतिशत नाघेका बैंकका लगानीकर्ताले लाभांश नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले औसत ब्याजदर अन्तर (स्प्रेड) ५ प्रतिशत बढी हुने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाएको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी स्प्रेडदर ५ प्रतिशत भन्दा बढी भएमा कारावाही गर्न लागेको हो । केन्द्रीय बैंकले बोनस सेयर र नगद लाभांश वितरणमा बन्देज लगाउने चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाले स्प्रेडदर तोड्न लागेपछि केन्द्रीय बैंकले लगाम लगाएको हो । सीमा भन्दा बढी स्प्रेडदर भएका बैंक तथा वित्तीय संस्थाले कार्यालय नभएका स्थानीय तह बाहेक अन्य स्थानमा शाखा विस्तार गर्न बन्देज लगाउने भएको छ । यस्तै भूकम्प पीडितलाई बाहेक अन्यलाई पुनर्कर्जा सुविधा दिन बन्देज लगाउने भएको छ । कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) रेसियो दैनिक अनुगमन गरिने तर महिनाको अन्त्यमा पनि ८० प्रतिशत कटेमा हर्जाना लगाउने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक महिनाको १ देखि मसान्तसम्म विदा बाहेक सीसीडी रेसियो निर्धारण गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाले प्रतिवद्धता जनाएको क्षेत्रमा चालु आर्थिक वर्षभित्र शाखा खोल्नुपर्ने छ ।

पूर्वमा घट्यो करिव ४ प्रतिशत विद्युत चुहावट, ४७ करोड ५३ लाख युनिट ऊर्जा बिक्री

काठमाडौं । प्रदेश नम्बर एकका नौ जिल्लामा चालू आर्थिक वर्षको माघसम्ममा नम्बर एकमा विद्युत चुहावट करिब ४ प्रतिशत घटेको छ । नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतका १७ बितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष ०७३/७४मा रहेको १७.६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३.९१ प्रतिशतले घटाएर १३.७४ प्रतिशत कायम गरेका हुन् । क्षेत्रीय कार्यालय अन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ । प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ । विराटनगर बितरण केन्द्रले १४.०५ प्रतिशत रहेको चुहावटलाई ४.२१ प्रतिशतले घटाएर ९.८४ प्रतिशत कायम गरेको छ । ८.९५ प्रतिशत रहेको विद्युत चुहावटलाई दुहवी वितरण केन्द्रले ३.०७ प्रतिशतले घटाएर ५.८८ प्रतिशत कायम गरेको छ । बिराटनगर र दुहवी कार्यालय अन्तर्गत ठूला औद्योगिक ग्राहकहरु छन् । दमक बितरण केन्द्रले ४.७३ प्रतिशतले चुहावट घटाएको छ । केन्द्रले असारसम्मको २३.२२ प्रतिशतको चुहावटलाई घटाएर १८.४९ प्रतिशतमा झारेको हो । मोरङको रंगेली बितरण केन्द्रको चुहावट भने अझै ३२.३० प्रतिशत छ । असासम्ममा ३६.४२ प्रतिशत चुहावट रहेको माघसम्ममा ४.१२ प्रतिशत मात्रै घटेको छ । इनरुवा बितरण केन्द्रको ३६.५९ प्रतिशतको चुहावट १०.०७ प्रतिशतले घटेर २६.५२ प्रतिशत पुगेको छ । यसैगरि, वेलबारी बितरण केन्द्रको २६.१३ प्रतिशत चुहावट १.२४ प्रतिशतले घटी २४.८९ प्रतिशतमा सीमित भएको छ । विद्युत चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा बितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यासम्पादन सम्झौता लगायतका कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैर प्राविधिक चुहावटमा कमी आएको छ, ओभरलोडमा रहेको ट्रान्सफर्मर फेरिरहेका छौं जसले गर्दा प्राविधिक चुहावटमा क्रमिकरुपमा कमी आइरहेको छ’,उनले भने,‘अझै चुहावट नियन्त्रण अभियानलाई हामी अझै शसक्तरुपमा अगाडि बढाउँछौं ।’ चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्राधिकरणको यही अभियानलाई साथ दिंदै झापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘विद्युत चुहावट मुक्त’ घोषणा गरिसकेको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले गर्मी सुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने बताए । ‘माघसम्मको तथ्याङ हेर्दा विद्युत चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको टार्गेटभन्दा कम छ, तर गर्मी सुरु हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ’, उनले भने, ‘तर, हामीलाई दिइएको टार्गेट पूरा गर्ने प्रयासमा क्रियाशील छौं ।’ क्षेत्रीय कार्यालयलाई गत आबमा रहेको १७.६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने टार्गेट दिइएको छ । गत असारसम्म प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६.८२को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।

सुजुकीको ‘सिलेरियो एक्स’ गाडी नेपाली बजारमा, मूल्य २६ लाख ९९ रुपैयाँ

काठमाडौं । सीजी मोटोकर्प, नेपालका लागि सुजुकीफोर व्हिलरसको आधिकारिक वितरक तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने र्स्पोटि र ट्रेन्डि ‘सिलेरियो एक्स’ बजारमा ल्याएको छ । सिलेरियो एक्स र्स्पोटस्मा एरोडाइनामिक शैलीअनि अग्रभागको वरिपरि एक्स् थीममाआधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुने कम्पनीले जनाएकाे छ । ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियर मालगाएको अत्यन्तचमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि-पिलर यसको अर्को ट्रेन्डि विशेषता हो । सिलेरियोले आफुलाई पूर्ण फेमिलीकारको रुपमा नेपालीबजारमा स्थापित गरेको छ । सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरुप अझ स्टाइलिस अनि र्स्पोटि बनाउदै लग्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार सिलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवाजोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् । सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्कृत समयोजनले गाडीको इन्टेरियर अझ र्स्पोटि देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समिश्रण झल्किन्छ । कालो रंगको सिटमा सुन्तला रंगको समयोजनले गाडीको स्र्पोटि लुक्स लाई थप निखार दिएको कम्पनीले जनाएको छ । सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टम (एबीएस)को साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्राथप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्थागरिएको छ । अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ लगायतकाविभिन्नआरामदायीबन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनिआरामदायी बनाउँछ । शक्तिशाली के. नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ केएमपीएलको माइलेज दिने दाबी गरिएको छ । कम्पनीले यस गाडीको शुभारम्भ मूल्य २६ लाख ९९ रुपैयाँ तोकेको छ ।