स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई नेपाल मेडिसिटी हस्पिटलमा विशेष छुट
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुलाई विशेष ‘मेडिसिटी प्राइभी प्रोग्राम’ को निशुल्क सदस्यता उपलब्ध गराइनेछ । सदस्यता प्राप्त गर्नेले मेडिसिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छूट तथा निशुल्क पहिलो स्वास्थ्य परामर्श, टेली–परामर्श, स्वास्थ्यमा पहुँचसम्बन्धि कुराकानी एवं सचेतता जाँच जस्ता सेवा पाउनेछन् । बैंकले आफ्ना प्राथमिकता प्राप्त ग्राहक एवं डेबिट र क्रेडिट कार्ड ग्राहकहरुका लागि सेवा उपलब्ध गराउन हस्पिटलसँग समझदारी गरेको हो । मेडिसिटीले नेपालमैं पहिलोपटक प्रिमियम मेडिकल प्याकेज ‘अभिभावकप्रति समर्पित’ सार्वजानिक गर्दैछ । बैंकको हस्पिटलसँगको रणनीतिक साझेदारीअन्तर्गत, बैंकका ‘सिल्भर जेनेरेसन’ (विशेष ग्राहक) र उनका अभिभावकहरुलाई विशेष हेरचाहको प्याकेज सेवा निशुल्क प्रदान गरिनेछ । बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुले पनि ‘अभिभावकप्रति समर्पित’ प्याकेजमा ६० प्रतिशतभन्दा बढीको छुट पाउनेछन् । सम्झौताअनुसार बैंकको डेबिट र क्रेडिट कार्ड लिएकाहरुले समेत हस्पिटलले प्रदान गर्ने सेवामा ७ प्रतिशतको छुट पाउनेछन् । यद्यपि, औषधि, उपभोग्य वस्तु, प्रत्यारोपण सामाग्री एवं चिकित्सकको परामर्श शुल्कमा भने यो छुट नपाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महालक्ष्मी विकास बैंकद्धारा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको मनहरी शाखाले जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप १५ हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय उच्च माध्यामिक विद्यालयका कक्षा ११ मा अध्ययरत खड्कालाई उक्त सहयोग गरेको हो । त्यसैगरि, बैंकको नारायणगढ शहिदचोक शाखाले देवघाटधाम स्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिकतथा खेलकुद सामाग्री सहयोग गरेको छ ।
धान किन्न नसकेपछि नेपाल खाद्य संस्थानले ३४ करोडको चामल किन्ने
काठमडौं । लक्ष्य अनुसारको धान खरिद गर्न नसक्ने भएपछि नेपाल खाद्य संस्थानले वैशाखदेखि चामल किन्ने भएको छ । गएको दुई वर्ष पर्याप्त धान खरिद गरेकोले चामल किन्न नपरेकाे संस्थानले यो वर्ष धान खरिद गर्न नसकेसँगै चामल किन्ने लागेकाे हो । संस्थानको प्रवक्ता शंकर सापकोटाले यो वर्ष ३४ करोड रुपैयाँ बराबरको करिब १ लाख क्वीटल चामल खरिद गर्ने तयारी गरिरहेको बताए । ‘अबको केही हप्तासम्म धान खरिद गरिनेछ,’ उनले भने ‘तर धान खरिद उत्साहजनक देखिएको छैन । त्यसैले चामल किन्ने गृहकार्य भइरहेको छ ।’ आगामी वैशाखदेखि चामल खरिद गर्न सुरु गर्ने उनले बनाए । यस वर्ष संस्थानले निर्धारण गरेको धानको मूल्यभन्दा बजार मूल्य बढी भएको तथा भारत सरकारले जीएसटी लागू गरेसँगै अनौपचारिक रुपमा मुलुकमा भित्रिने गरेको धान नआएकोले पनि धान खरिदमा प्रभाव परेको उनकाे बुझाइ छ । संस्थानले झापा, विराटनगर, लहान, विरगन्ज, काठमडौं, भैरवा, नेपालगन्ज, सुर्खेत, धनगडी लागयतका स्थानहरुबाट चामल खरिद गर्ने जानकारी दिएको छ । संस्थानका अनुसार खाद्यन्न सुरक्षा भण्डारणको लागि २५ हजार टन खाद्यन्न स्टकमा राख्नु पर्ने हुन्छ । त्यस्तै सार्क फुड बैंकमा नेपालकोतर्फबाट ८ हजार टन खाद्यन्न जम्मा गर्नु पर्ने प्रावधान छ । चालु वर्ष ६४ करोड रुपैयाँ बराबरको २ लाख ७६ हजार क्वीटल धान खरिद गर्ने लक्ष्य राखेता पनि हालसम्म करिब ९४ हजार क्वीटल मात्र धान खरिद भएको संस्थानका प्रवत्ता सापकोटाको भनाइ छ ।
सलमान खानको कन्सर्ट भाड्ने विप्लवको घोषणा, अटेर गरे भयानक परिणाम
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय अभिनेता सलमान खानको कन्सर्ट भाड्ने घोषणा गरेको छ । नेकपा भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरेर सलमान खानको कन्सर्ट रोक्न भनेको हो । कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी पनि महासंघले दिएको छ । फागुन २६ गते खान सहितका भारतीय कलाकारहरुले सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्दैछन् । महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ-नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको छ । नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्, भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजनाअन्तर्गत हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौँ । रक्सीको प्रवद्र्धनको लागि नेपाल आउने र प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट बेच्ने कार्य स्वाभिमानी नेपालीलाई स्विकार्य नभएको उनले स्पष्ट पारेका छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम रोक्न अपिल गर्दै नेकपाको भातृ संगठनले सलमान खानका लागि नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात भएको र नेपाली कला संस्कृतिमा माथीको ठूलो अपमान समेत भएको बताएको छ । ‘नेपालको स्वाभिमानको रक्षार्थ पनि सलमान खानसहित भारतीय कलाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य छ ।’, विज्ञप्तिमा भनिएको छ । सैनिक मञ्चमा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेको पनि महासंघको ठहर छ । ‘हाम्रो सङ्गठन यसप्रकारको भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रतिरोध गर्न तयार छ । भारतीय कलाकार सलमान खानलाई यस्तो गलत कार्यक्रमको बाहना बनाएर नेपाल नआउन, उनको कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टलाई उक्त कार्यक्रम नगर्न तथा आम नेपाली जनतालाई महंगो मूल्य तिरेर सो कार्यक्रमको टिकट नकिन्न महासङ्घ हार्दिक आग्रह गर्दछ । जबर्जस्ती गर्न खोजे, अन्यथा रूपमा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिद्वारा स्पष्ट पार्न चाहन्छौँ ।’, विज्ञप्तिमा भनिएको छ । महासंघले नेपाली राजनीतिक दलहरूलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सधैँ मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैनिक मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न पनि आग्रह गरेको छ ।
मनमोहन मेमोरियल इन्ष्टिच्युटको ११ औं वार्षिक उत्सव सम्पन्न
काठमाडौं । मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजले ११ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको प्रमुख आतित्थयतामा वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डाक्टर राजेन्द्र शर्मा गुरागाई विषेस अतिथी रहेका थिए । कलेजले फागुन ८ गतेलाई वार्षिक उत्सव रुपमा मनाउँदै आएको छ । कार्यक्रममा प्राविधिक शिक्षा तथा ब्यवसयिक तालिम परिषद संचालित प्रविणता तह नसि‚सामान्य चिकित्सा लगायत विषयमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरेकाे थियाे । यसअघि शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा ब्यवसयिक तालिम परिषदबाट यस बर्षको सम्वन्धन प्राप्त कलेजहरु मध्ये उत्कृष्ट कलेज रुपमा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज पुरस्कृत भएको थियो ।
तारागाउँ होटल र नेपाल फाइनान्सले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदैछ ?
काठमाडौं । तारागाउँ रिजेन्सी होटल र नेपाल फाइनान्सले बुक क्लोजको मिति तोकेका छन् । तारागाउँ रिजेन्सी होटलले आगामी फागुन १८ गतेदेखि चैत १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । होटलले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको हो । होटलको साधारणसभा चैत १२ गते हुने भएको छ । सभामा होटलले सेयरधनीलाई (कर समेत) ७.३६८ प्रतिशत अर्थात १४ करोड ५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल फाइनान्सले फागुन १५ गतेदेखि २९ गतेसम्म संस्थाको बुक क्लोज गर्ने भएको छ । यस संस्था फागुन २९ गते विशेष साधारणसभामा जाँदै छ
उद्योगमन्त्री यादवले निजी क्षेत्रलाई भने– समस्या ल्याउनुस म तुरुन्त समधान गर्छु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रका सबै समस्या समधान गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको उद्योगी व्यवसायी प्रतिनिधिमण्डलसंगको मंगलबार भएको भेटमा निजी क्षेत्रका समस्या तत्काल समधान गर्ने बताएका हुन । “समस्या के हुन ? कहाँ समस्या छन ? सबै लिखित रुपमा लिएर आउनुस म सबै समधान गर्ने छु” उनले भने “अब उद्योगी व्यवसायीको समस्या रहदैनन् ।” आफु प्राविधिक नभएको भन्दै उनले उद्योग क्षेत्रको विकासका लागि रचनात्मक सुझाव दिन व्यवसायीलाई अनुरोध गरेका थिए । व्यवसायीले मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा योगदान १५ बाट घटेर ५ प्रतिशतमा सीमित भएकाले यसलाई बढाउनका लागि सहयोग गर्न अनुरोध गरेका थिए । उद्योगले दिने सुविधा अर्थ मन्त्रालयलले रोक्ने गरेको भन्दै व्यवसायीले अन्तर मन्त्रालय समन्वय गर्न मन्त्री यादवको ध्यानकर्षण गराएका थिए ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबाट सी-आस्वा सेवा प्रदान
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अनलाइन मार्फत धितोपत्र लगानी गर्न सकिने सी-आस्वा सेवा प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन गर्दा अनिवार्य रुपमा सी-आस्वा प्रणालीमार्फत सेयर आवेदन गराउने व्यवस्था गरेसँगै ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले उक्त सेवा शुरु गरेको हो । यो व्यवस्था लागू गरेपछि सार्वजनिक निष्काशनको दरखास्त संकलन गर्ने कार्य व्यवस्थित र सहज हुने छ भने यसबाट सेवाग्राहीलाई सार्वजनिक निष्काशन हुँदा धितोपत्रमा लगानी गर्न घरमै बसी सेवा दिन सकिने छ । हाल सञ्चालनमा रहेका ३२ वटै शाखा कार्यालय बाट सी-आस्वा रजिष्ट्रेशन फारम भरी रजिष्ट्रेशन नम्बर प्राप्त गर्न सकिने बैंकले जनाएकोे छ ।