सानिमा बैंकले एकैसाथ खोल्यो ७ नयाँ शाखा
काठमाडौं । सानिमा बैंक लिमिटेडले एकैसाथ ७ नयाँ शाखाहरु खोलेको छ । बैंकले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । अमरगढी र टिकापुर शाखाको उद्घाटन बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार हरीवंश आचार्य र संचालक भरतबहादुर थापाले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै, तान्सेन शाखाको उद्घाटन ब्राण्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी)तथा संचालक भरतबहादुर थापाले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बैंकका संचालक भरतबहादुर थापाले ग्राहकवर्गको थप सेवा तथा सुविधाकालागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताएका छन् । साथै, उनले थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सवारी दुर्घटनाबाट छ महिनामा १०५ को मृत्यु, ट्राफिक व्यवस्थापनका सहकार्यको खाँचो
काठमाडौं । काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७४/०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् । उपत्यकामा आव २०६९/७० मा १४८, आव २०७०/७१ मा १४३, आव २०७१/७२ मा १३३, आव २०७२/७३ मा १६६ र आव २०७३/७४ मा १८२ जनाले ज्यान गुमाएका थिए । महाशाखाका प्रमुख सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउँछन् । “दुर्घटनामा कमी ल्याउन चालक स्वयं नै चनाखो हुनुपर्छ”, उनी भन्छन् । महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष रहेका छन् । यो आवको छ महिनामा ८१ पुरुष र २४ महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन् । जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । ट्राफिक व्यवस्थापनका सहकार्यको खाँचो महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । महाशाखाले गत माघ १७ देखि १९ सम्म चितवनको टाँडीमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको हो । कार्यक्रममा महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यातायात क्षेत्रको व्यवस्थापनका लागि व्यवसायीको ट्राफिक प्रहरीसँग सहकार्य आवश्यक रहेको बताएका छन्। “यातायात क्षेत्रको व्यवस्थापनका लागि हामी सबै एक ठाउँमा उभिनु जरुरी छ”, उनले भने । ट्राफिक र व्यवसायीको उद्देश्य राष्ट्र निर्माणका लागि भएकाले एकापसमा मिलेर अगाडि बढ्नुपर्ने उनले बताए । महासंघका नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले नेपालको ट्राफिक क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीको साथ र सहयोग रहने बताएका छन् । महासंघका महासचिव सरोज सिटौलाले काठमाडौंं उपत्यकामा सवारी साधनको अत्यधिक चाप रहेको भन्दै यसको व्यवस्थापनका लागि महासंघले ट्राफिक प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने स्पष्ट पारेका छन् । रासस
कतार एयरवेजले अष्ट्रेलियाको क्यानवेरामा उडान शुरु गर्ने, बी७७७ विमानमार्फत दैनिक सेवा
काठमाडौं । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापक विस्तार योजनातथा अष्ट्रेलियामा थप यात्रु ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले क्यानबेरन्सलाई दोहा स्थित हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआईए)को माध्यमबाट व्यापक वैश्विक सञ्जालसंग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे । ‘अष्ट्रेलियामा हाम्रो पाँचौ गणतव्यका रुपमा क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौँ । नयाँ उडान सेवाले अष्ट्रेलियन यात्रुहरुलाई थप सहजता उपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिट मार्फत हाम्रो वैश्विक सञ्जालद्वारा ब्यापक गणतब्यको छनोटका लागि समेत सघाउनेमा हामी विश्वस्त छौँ’, कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले भने । क्यानबेरामा सञ्चालित नयाँ उडान तालिकाले अष्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रति हप्ताभन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजले आफ्नो बोइङ बी७७७विमानमार्फत क्यानबेराकालागि दैनिक उडान सेवा उपलब्ध गराउने छ । बी७७७द्धारा बिजनेस क्लास मार्फत ४२ फ्ल्याटबेड सिट र ईकोनोमीक्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । दोहा-क्यानबेरा उडान तालिका दैनिक दोहादेखि सिड्नी क्यूआर छुट्ने-७ः५५ पुग्ने-६ः२५+१ सिड्नीदेखि क्यानबेरा क्यूआर९०६ छुट्ने- ७ः२५ पुग्ने- ८ः३५ क्यानबेरादेखि सिड्नीक्यूआर९०७ छुट्ने-१३ः४५ पुग्ने – १४ः४५ सिड्नीदेखि दोहाक्यूआर९०७ छुट्ने – १५ः५५ पुग्ने- २३ः३०
राजश्व तिर्न र भुक्तानी लिन जानुपर्ने वाध्यता सकियो, अब घरमै बसेर तिर्न र लिन सकिने
काठमाडौं । के तपाईं सरकारलाई कर तिर्न चेक बोकेर बैंक धाइरहनु भएको छ ? सरकार भुक्तानी लिन सरकारी कार्यालय गइरहनु भएको छ ? अब चिन्ता नलिनुस्, विद्युतीय प्रणालीबाट (इलोक्ट्रोनिक पेमेन्ट सिष्टम) बैंक नै नगई चेक नलिइ भुक्तानी दिन र लिन सकिने भएको छ । सरकारले आउँदो वैशाख १ गतेदेखि राजश्व संकलन र भुक्तानी विद्युतीय ई पेमेन्टमार्फत गर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबाट गरिने भुक्तानी र राजश्व संकलन विद्युतीय प्रणालीबाट हुने निर्णयमा हस्ताक्षर गरेका छन् । आउँदो वैशाखदेखि सरकारलाई राजश्व तिर्न र सरकारबाट भुक्तानी गर्न भौतिक रुपमा बैंकमा उपस्थित हुनु नपर्ने अर्थ मन्त्रालयका प्रवत्ता तथा सहसचिव अर्जुनप्रसाद पोखरेलले बताए । मन्त्रीस्तरिय निर्णय आगामी ०७५ सालदेखि लागु हुने उनले जानकारी दिए । पोखरेलका अनुसार करदाताले आफनो कम्प्युटर, ल्यापटप र मोवाइलबाट सिधै सरकारलाई राजश्व भुक्तानी गर्न सक्ने छन् । यस्तै सरकारी कार्यालयबाट भुक्तानी लिनका लागि बैंकको खाता नम्बर दिएपछि सम्बन्धित कार्यालयबाट सिधै भुक्तानी आदेश भई सम्बन्धित कार्यालयको खातामा रकम जम्मा हुने छ । यो व्यवस्था लागु भएपछि कर तिर्न र भुक्तानी लिन धाउनु पर्ने अवस्थाको अन्त्य भई समयको पनि वचत हुने छ । “अब चेक लिएर वा बैंकमा गएर वित्तीय कारोबार गर्नुपर्दैन” उनले भने “आफनो क्रेडिट कार्ड, डेविट कार्ड भए पीएसओ मेसिनमार्फत भुक्तानी गर्न सकिने छ ।” विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेविट कार्डमार्फत पिएसओ मेशिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ ।
नकुहिने प्लाष्टिक उत्पादकलाई प्रतिबन्ध लगाउने: मन्त्री पण्डित
भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताएका छन् । नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अब आयात हुने सामानको ल्याव परिक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनको दावी छ । उनले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताएका छन् । हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारीधनी र कर्मचारीलाई समेत कारवाही गरिने उनले बताए । त्यस्तै, वातावरणको ख्याल नगरि कानुन मिच्दै निश्चित ब्यक्तिले फाईदा लिई रहेको ईट्टा भट्टाहरुलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउन लागेको मन्त्री पण्डितले बताए । विश्वकै पाँचौ फोहर राजधानीका रुपमा परिचित काठमाडौंलाई अबको एक बर्षमा माक्समाण्डुबाट काठमाडौं बनाउने तर्फ अग्रसर रहेको बताउँदै उनले हाल उपत्यका भित्र २०, ४० रुपैयाँँमा प्रयोग भईरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भईरहेको र उपत्यकाको वातावरण अनुुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको बताएका छन् । वातवरण प्रदुषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरुलाई समेत कारवाहीको गरिरहेको र अन्यलाई समेत कारवाही गरिने उनको दावी छ । साथै, उनले एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरि वातावरण बिग्र्रानेहरुलाई कारवाहीको दायरमा ल्याउने र आवश्यकता अनुसार सरकारले कानुनी दायरमा रहेको उद्योगलाई वातावरण मैत्री उद्योगको विकास तर्फ लाग्ने जानकारी दिएका छन् । उनले फोहोर गर्नेलाई समाज स्तरबाटै कारवाही गरिनु पर्ने भन्दै सभ्य र सफा समाज निर्माणमा स्वयम आफ्नो भूमिका सम्झे मात्र सफाई अभियानले सार्थकता पाउने उनको भनाई छ । सञ्चारकर्मीहरुको जिज्ञासालाई पूणता दिँदै उनले मन्त्री मण्डलको विस्तार ढिलाई हुनुमा थोरै मन्त्रालय र धेरै आकांक्षीहरु रहेकाले अब हप्तादिन सम्ममा मन्त्री मण्डलले पूर्णता पाउने जानकारी गराएका छन् । सरकारमा समाजवादी फोरमको समेत सहभागी हुने बताउँदै तत्कालै संबिधान संसोधन नभए पनि समयको आवश्यकता अनुसार संसोधनको प्रक्रिया अघि बढ्न सक्ने मन्त्री पण्डितको टिप्पणी छ ।
पाटन जेसीजको ‘न्यानो अभियान’ अन्तर्गत दलित बस्तिमा कम्बल र ब्ल्याङ्केट वितरण
काठमाडौं । पाटन जेसीजले सुरू गरेको ‘जेसिज न्यानो अभियान’ले आफ्नो लक्ष्य पूरा गरेको छ । चिसो तथा शीतलहरका कारण तराईमा विपन्नवर्गका मानिसहरू प्रभावित भइरहँदा नेपाल जेसीजका चारवटै क्षेत्रमा पुगी, क्षेत्र ‘क’मा मलगंवा जेसीजसँगको सहकार्यमा पाटन जेसीजले पासवान बस्तीमा पुगेर दलित बस्तिमा कम्बल र ब्ल्याङ्केट वितरण गरेका थिए । त्यसैगरि पाटन जेसीजले क्षेत्र ‘ख’मा हेटौंडा जेसिसको सहकार्यमा हेटौंडास्थित ॐ वृद्धाश्रमको सञ्चालनमा सहयोग पुर्याउने हेतूले वृद्धाश्रमलाई नगद सहयोग समेत गरेको थियो । क्षेत्र ‘ग’ मा खुमलटारस्थित मञ्जुश्री वृद्धाश्रममा रहेका वृद्धाहरुलाई स्विेटर बितरण गरेका थिए । क्षेत्र ‘घ’मा गैडाकोट जेसिसको सहकार्यमा नेपालको सीमान्तृक कुमाल बस्तीको उत्थानको लागि त्यहाँका वृद्धहरुलाई नगद सहयोग गरेका थिए । ‘विपन्न समुदाय र अशक्त मानिसहरूलाई गरिने सहयोगलाई हामीआफ्नो जिम्मेवारी ठान्छौं । यस्ता सामाजिक कार्यक्रमहरू हामी आगामी दिनहरूमा पनि गर्नेछौं’, न्यानो अभियानको समीक्षा गर्दै पाटन जेसीजकी उपाध्यक्ष ‘जेसीज न्यानो अभियान’की कार्यक्रम संयोजक जेसी रोजिना थापाले भनिन् । अभियानका समीक्षा गर्दै पाटन जेसीजका अध्यक्ष जेसी सुमन श्रेष्ठ भन्छन्, ‘देशको विभिन्न भागमा रहेको जेसीजका शाखाहरूसँग समन्वयगर्दै मानव सेवामा योगदान गर्नु नै हाम्रो उद्देश्य हो । यसका शाखाहरूलाई अझै विस्तार गर्दै हामी सामाजिक सरोकारका विषयहरूमा मानिसहरूसँग अझै धेरै अन्तरक्र्रिया, सहयोग र सेवा आदनप्रदान गर्न चाहन्छौं ।’ अध्यक्ष श्रेष्ठले अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायका साथै जेसीजका सबै पदाधिकारी र जेसी सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि यामाहा स्कुटर
काठमाडौं । नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ । नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको १ नम्बरमा राखेका हुन् । ‘हामीले भर्खरै स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटरप्रति ग्राहकको रुचीबारे एउटा बृहत अनुसन्धान गरेका थियौं,’ मिडियारिचका निर्देशक मिरेश अधिकारीले भने, ‘यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं ।’ उनले स्कुटरप्रति नेपालीको हेराइमा आमुल परिवर्तन आएको पनि बताए । ‘पहिले स्कुटरलाई फिमेल राइडको रुपमा लिइन्थ्यो अहिले यसलाई पुरुषले पनि प्रयोग गर्छन् ।’ यसै अवसरमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सम्पूर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यो हाम्रोलाई ठूलो उपलब्धीको कुरा हो । यामाहा ब्रान्डप्रति ग्राहकले दिनु भएको विश्वास, स्नेह र साथको हामी हृदयदेखि आभारी छौं,’ उनले भने, ‘हामी जे गर्छौं ग्राहकको सुविधा अनि सन्तुष्टीका लागि गर्छौं । हामीबीचको यो सम्बन्ध अबिरल र अटुट रहोस् भन्ने कामना गर्न चाहन्छु ।’ एमएडब्लुले सन् १९७५ बाट यामाहाका मोटरसाइकल र ६ वर्षअघिबाट स्कुटरलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ । यसैबीच, यामाहाले आजैबाट ‘एसस्कुटर’ नामको अभियान सुरु गरेको छ । मानिसहरुको दैनिकी सहज बनाउन स्कुटरले निर्वाह गरेको भूमिकालाई कदर गरेर एमएडब्लुले यो अभियान थालेको हो । किन चाहिन्छ ‘स्टाइल’ र ‘कम्फोर्ट’ ? स्कुटर विशेषगरी युवापुस्ताले रुचाउने साधन हो र यो फिमेल भेहिकल भन्दा पनि ‘युनिसेक्स्युअल भेहिकल’ बनिसकेको छ । आजकलका टिनएजर आफ्ना स्टाइलप्रति निकै सचेत छन् । त्यसैले त आफ्नो स्टाइलसँग म्याच हुने साधन उनीहरु रुचाउँछन् । मिस नेपाल २०१७ निकिता चन्दक स्टाइललाई फेसनसँग मात्र होइन कन्फिडेन्स यानि आत्मविश्वाससँग जोडेर हेर्ने गर्छिन । ‘जो स्टाइलिस देखिन्छ उनै सबैभन्दा कन्फिडेन्ट हुन्छन् । कन्फिडेन्स विनाको फेसन फेसन हुँदैन,’ उनले भने । त्यसैगरी, ‘कम्फोर्ट’ भनेको आराम हो । र आरामको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसँग हुने हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण अवाल बताउँछन् । ‘स्कुटर आरामदायी भएन भने यात्रा तनावपूर्ण हुन्छ र तनावपूर्ण यात्रा सुरक्षित कदापी हुन सक्दैन,’ डा. अवालले भन्छन् । उनका अनुसार स्कुटर चलाउँदाखेरि बडी पोजिसन राम्रो भएन भने हाडमा असर गर्छ । उनले भने ‘बडी पोजिसनिङ राम्रो भएन भने ढाड दुख्ने र कम्मर दुख्ने समस्या निम्तिन सक्छ । र यो समस्या दीर्घकालीन समेत हुनसक्छ ।’
एनसीसी बैंकले खोल्यो पोखराको बिरौटामा शाखा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडले कास्कीको लेखनाथ नगरपालिका १७ मा शाखा बिस्तार गरेको छ । शाखाकाे उद्घाटन महानगरका प्रमुख मानबहादुर जीसीले गरेका हुन् । कार्यक्रममा जीसीले बैंकले विधि र विधानलाई आत्मासाथ गरेर अगाडी बढ्दा सफल हुने बताएका छन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओमप्रसाद गौचन लगायतले शुभकामना व्यक्त गरेका थिए ।