एसियन लाईफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत अर्थात ९ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनका लागि ५० लाख ८७ हजार रुपैयाँ छुट्टाईएको एशियनले जनाएको छ । नियामक बीमा समिति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ ।
विज्ञ अर्थमन्त्रीका काँधमा बामपन्थी सरकारका १७ महत्वकांक्षी योजना
काठमाडौं । विज्ञ अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेका डा. युवराज खतिवडाका काँधमा बामपन्थी सरकारका १७ वटा महत्वकांक्षी योजना आईपरेका छन् । मन्त्री खतिवडाले कार्यभार सम्हाल्ने वित्तिकै आफ्नो कार्ययोजना पेश गर्दा पनि बामपन्थी घोषणा पत्रमा उल्लेख गरिएका प्रतिवद्धता पुरा गर्ने बताएका थिए । खतिवडा आफैंले तयार पारेको बामपन्थी घोषणा पत्रमा २३४५ किलोमिटर लामो रेलमार्ग बनाउने उल्लेख छ । जसमा मेची–महाकली रेलमार्ग सम्पन्न गर्नेदेखि रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग पर्छन् । त्यति मात्रै नभएर उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने योजना पनि घोषणा पत्रमा खतिवडाकै विज्ञताले समावेश गराइएको थियो । समुद्रमा नेपाली ध्वजा बाहक पानी जहाज, मासिक पाँच हजार समाजिक सुरक्षा भत्ता, तीन बर्षभित्र उपत्यकामा विद्युतिय सवारी साधन मात्रै उपयोग गर्ने कार्ययोजना लागु जस्ता महत्वकांक्षी योजना पनि अब खतिवडाकै जिम्मेवारीमा परेका छन् । खतिवडाले २ बर्षभित्रै भैरहवा विमानस्थल र तीन बर्ष भित्र पोखरा विमानस्थल सञ्चालन तथा पाँच बर्षभित्र निजगढ विमानस्थल निर्माण सम्पन्न गर्न ठोस योजना तथा बजेट तर्जुमा गर्नुपर्नेछ । यस्ता महत्वकांक्षी योजना कार्यान्वयनका लागि संस्थागत क्षमता अभिवृद्धिका साथै वित्तिय श्रोत उपलब्ध गराउनु पनि खतिवडाका लागि कम चुनौती पुर्ण भने छैन् । यद्यपी खतिवडाले वैदेशिक सहयोग, निजी क्षेत्रको प्रोत्साहन, राज्यको अभिभावकिय भूमिका र कडा वित्तिय अनुशासनका माध्यमबाट बामपन्थी सरकारका पुर्व घोषित प्रतिवद्धता पुरा गराउने बताएका छन् । कार्यभार सम्हालेपछि आयोजीत स्वागत कार्यक्रममा राजश्व सचिव राजन खनाल र अर्थ सचिव शंकर कोइरालाले जर्जर अर्थतन्त्रको फेहरिस्ता सुनाईसकेपछि आफ्ना धारणा राखेका अर्थमन्त्री खतिवडाले भनेका थिए–‘संकटका बेलामा मानिसको क्षमताको पहिचान हुन्छ, जतिसुकै समस्या आएपछि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लाग्छ, अहिले देखिएका समस्या अल्पकालिन हुन, यीनलाई दिर्घकालिन बनाउनु हुन्न ।’ यी हुन खतिवडाका काँधमा आइपुगेका १७ महत्वकांक्षी योजना १) सरकार बनेको पहिलो बर्षमै महेन्द्र राजमार्गको समानान्तर र रसुवागढी काठमाडौं बिरगञ्ज जोड्ने ७६५ केभि क्षमताको प्रसारण लाइन निर्माण आरम्भ गर्ने । २) २ बर्षभित्र खाद्यान्नमा आत्म निर्भर र पाँच बर्षभित्र निर्यात गर्ने अवस्थामा पुर्याउने ३) पाँच बर्षभित्र सबै जमिनमा आधुनिक सिँचाई प्रणाली उपलब्ध गराउने । ४) फास्ट ट्रयाक चार बर्षभित्रै बनाउने, ५) पुर्व पश्चिम राजमार्गलाई पाँच बर्षभित्रै ६ लेन बनाउने, हुलाकी राजमार्ग राजमार्गलाई ४ लेन बनाउने । ६) मध्यपहाडी लोकमार्गलाई ५ बर्षभित्रै ४ लेन बनाउने । ७) मेची–महाकाली रेलमार्ग पाँच बर्षभित्रै सम्पन्न गर्ने । ८) रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने ९) काठमाडौं–बिरगञ्ज रेलमार्ग निर्माण अघि बढाउने, उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने १०) पाँच बर्षभित्रै निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गरिसक्ने । ११) २ बर्षभित्रै भैरहवा र ३ बर्षभित्र पोखरा विमानस्थल सञ्चालन गरिसक्ने । १२) समुद्रमा नेपाली ध्वजा वाहक पानी जहाज सञ्चालन । १३) राजश्वबाट सरकारी खर्चको ८० प्रतिशत भन्दा बढि व्यहोर्न सक्ने गरि करको दायरा र प्रशासन सुदृढ गर्ने । १४) २ बर्ष भित्र ७० प्रतिशत व्यवसायिक र प्राबिधिक शिक्षा दिने र ३० प्रतिशत विद्यार्थीले मात्रै गैर प्राबिधिक शिक्षा हासिल गर्ने व्यवस्था मिलाउने । १५) १५ बर्ष मुनिका बालबालिका र ६५ बर्षमाथीका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा । १६) सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याउने । १७) तीन बर्षभित्र काठमाडौं उपत्यकामा विद्युतिय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागु गर्ने ।
सेयर मार्केट कमप्लेक्समा भएको आगलागीबाट ५० लाखको क्षति
काठमाडौ । पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब ५० लाख रुपैयाँको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौं तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन । आगो नियन्त्रणमा लिन घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए भने काठमाडौँ उपत्यकाका चारवटा दमकल प्रयोग गरिएको थियो । सो संस्थाबाट उच्च शिक्षाको अध्ययन पूरा गरेका विद्यार्थीलाई विभिन्न मुलुकमा थप अध्ययनका लागि आवश्यक परामर्श तथा अध्यापनको कार्य गरिँदै आएको थियो । यस्तै एनआईसी बैंकको शाखालगायत केही कार्यलयमा पनि क्षति भएको छ । आगलागीबाट सीडीएस क्लियरिङ हाउस लिमिटेडमा भने क्षति भएन् । सीडीएसमा सेयर डाटा रहेको छ । रासस
सिरिया घटना निन्दनिय: नेता नेपाल
काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सिरियामा बढ्दै गएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । मंगलबार रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजित एक कार्यक्रममा नेता नेपालले सबै मानिसको समान बाँच्ने हक भएकाले जुनसुकै पक्षबाट भएपनि यस्ता कार्यहरुको अन्त्य हुनुपर्नेमा जोड दिए । नेपाल विभिन्न फुलको एउटै माला भएकोले जातिया भावना नभई नेपाली भावनाबाट अघि बढ्नु पर्ने बताए । स्ववियूद्धारा आयोजित फागुन ८ देखि सुरु भएको रचनात्मक सप्ताह आज सकिएको छ ।
कर्णाली प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या
सुर्खेत । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ ।संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको हो । कर्णाली प्रदेशका मन्त्रालय क्षेत्रीय निर्देशनालय रहेका भवनमा स्थापना गर्नुपर्ने अवस्था र क्षेत्रीय निर्देशनालयले पनि आफ्नो दैनिक कार्य सञ्चालन गर्नुपर्ने अवस्थाका कारण नयाँ संरचनाका मन्त्रालयले दैनिक कार्य सञ्चालनका लागि कठिनाइ भएको हो । पहिलो चरणमा मन्त्रालयका मन्त्री र सचिवको कार्य कक्ष सञ्चालन गर्न क्षेत्रीय कार्यालयका दुई कोठामा स्थापना गरिएको छ । नयाँ संरचनामा जान लागेका कारण केही समस्या आए पनि विस्तारै पूर्वाधार तयार भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहोराले बताए । सचिव बोहोराले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा मन्त्रालय तथा कर्मचारीको व्यवस्थापन छिटो भइरहेको समेत जानकारी दिए । क्षेत्रीय निर्देशनालयमा मन्त्रालय स्थापना गरी मन्त्री र सचिवको कार्यकक्ष स्थापना गरी दैनिक कामकाज शुरु गरिएको सचिव बोहोराको भनाइ छ । क्षेत्रीय निर्देशनालय व्यवस्थापन गर्दै मन्त्रालयलाई व्यवस्थित गर्दै लैजाने उनले बताए । संघीय सरकारले प्रदेशका मन्त्रालयमा खटाइएका कर्मचारी पनि आउने क्रम चलिरहेको सचिव बोहोराले जानकारी दिए। उनले हालसम्म प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयका गरी झण्डै ६० प्रतिशत कर्मचारी हाजिर भइसकेको समेत जानकारी दिए। क्षेत्रीय निर्देशनालय र मन्त्रालय एकै भवनबाट सञ्चालन गर्दा केही असहजता भएपनि त्यसलाई सहज बनाइँदै अगाडि बढ्ने उनको भनाइ छ । अबको एक डेढ हप्तामा मन्त्रालयमा फर्निचर व्यवस्थापनसहित मन्त्रालयका लागि खटिएका सबै कर्मचारी आफ्नो कामकाजमा आइपुग्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव बोहोराले जनाए । मन्त्रालयका लागि छोडिएका क्षेत्रीय कार्यालयको रङरोगन तथा कुर्ची टेबलको व्यवस्थापन गरिँदैछ । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा राखिएको भौतिक पूर्वाधार मन्त्रालयको भवनमा रङरोगन गरिँदैछ । कर्णाली प्रदेशका सातवटै मन्त्रालयको साइनबोर्ड राखिएका छन् । मन्त्रालय बनाइएका क्षेत्रीय कार्यालय हस्तान्तरण र मन्त्रालयका लागि खटाइएका कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णाली प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या भएको भौतिक पूर्वाधारमन्त्री खड्क खत्रीले बताए । क्षेत्रीय कार्यालय र मन्त्रालयका काम कारबाही एकै भवनबाट सञ्चालन हुँदा मन्त्रालयको फर्निचर तथा कार्यकक्ष व्यवस्थापन गर्न कठिनाइ भएको उनको भनाई छ । संघीय सरकारले प्रादेशिक सरकारको संरचनाको व्यवस्थापनमा चासो नदिएका कारण मन्त्रालय स्थापनामा जटिलता आएको छ । खटाइएका कर्मचारी प्रदेशका मन्त्रालयमा आइनपुग्नु र पूर्वाधार निर्माणका लागि क्षेत्राधिकार नतोकिनुनै व्यवस्थापन पक्षमा समस्याको रुपमा देखिएको छ । रासस
३ नम्बर प्रदेशको राजधानी सिन्धुलीको मरिन !
काठमाडौं । प्रदेश नम्बर ३ को राजधानी हेटौँडा नरहने भएको छ । प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री केशब स्थापीतले हेटौँडाको विकल्प खोजि भैरहेको बताएका हुन् । केहि दिन अघि धादिङमा आयोजीत एक कार्यक्रममा मन्त्री स्थापीतले हेटौँडाको विकल्प खोजी भैरहेको र सिन्धुलीको मरिन गाउँपालिकाबारे छलफल अघि बढेको बताएका हुन् । ‘हेटौँडाको विकल्प खोज्छौं, जग्गाको भाउ बढ्ने भएकाले ठाउँको नाम भन्दिन्, हामी अध्ययन गरिरहेका छौं’, मन्त्री स्थापीतले भने । उनले सिन्धुलीको मरिन गाउँपालिकामा सरकारी स्वामित्वमा ठुलो जमिन रहेको बताउँदै सोही ठाउँमा प्रदेश मुकाम सार्न सकिने संकेत गरेको श्रोतले बतायो । हाल कायम रहेको अस्थाइ राजधानी हेटौडा पायक नपर्ने भन्दै नयाँ ठाउँमा प्रदेशको राजधानी सार्नुपर्ने अडानमा स्थापित रहेका छन् । सडक सञ्जाल जोडिएको मरिन सदरमुकाम सिन्धुली र सर्लाहीको लालवन्दीबाट नजिक रहेको छ ।
बुटबल पावरको एफपीओ किन्ने आज अन्तिम दिन, के होला ५४ करोड ?
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को १ अर्ब ५० करोड रुपैयाँको थप निष्कासन (एफपीओ) मात्र बिक्री भएको छ । अझै ५४ करोड ४५ लाख रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । एफपीओ निष्कासन समय आज मंगलबार बैंकिङ समयपछि सकिदैछ । प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले बीपीसीको ५४ करोड रुपैयाँ भन्दा बढीको एफपीओ किन्नुपर्ने छ । बिक्री नभएका एफपीओ ८ वटा अण्डरराइटरले सकार्नुपर्ने बीपीसीका वित्त विभागका भाइसप्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । निष्कासनको समय १ दिनमात्र बाँकी भएकाले बिक्री हुने संभावना कम रहेको उनले जानकारी दिए । बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । बिक्री नभएको एफपीओ एनएमबीलगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्ड गरी ८ संस्थाले खरिद गर्नुपर्ने छ । सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । संगठित संस्थाले पनि बीपीसीको एफपीओ खरिद गरेनन् । सबैमा १० कित्ताको मनोवैज्ञानिक असर देखिएको एनएमबीले जनाएको छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।
आरम्भ माइक्रोफाइनान्सको आईपीओ आजदेखि बिक्रीखुला, १ हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज मंगलबारदेखि बिक्री खुला भएको छ । संस्थाको १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन भएको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागुन २१ र ढिलोमा २९ गते हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि बढीमा १ हजार कित्ता आईपीको लागि दरखास्त दिन पाइने छ । कुल निष्कासनको ३ प्रतिशत अर्थात ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्कासनको ५ प्रतिशत अर्थात १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्टाइएको छ । आईपीओ निष्कासपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ हुने छ । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । संस्थाको आईपीओ अनलाईन वा बैंक तथा वित्तीय संस्था दुबैमा गएर भर्न सकिने छ । धितोपत्र बोर्डले पुस २० गते आईपीओ निष्कासन गर्न आरम्भलाई अनुमति दिएको थियो ।