विकासन्युज

एक्साइड ब्याट्रीको पूर्वि क्षेत्रीय डिलर मिट सम्पन्न

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ सम्पन्न गरेको छ । साथै, कम्पनीले सोही कार्यक्रममा आफ्ना डिलरहरुलाई सम्मान गरेको छ । कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, विराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो र गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो । साथै, यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने कुरा कम्पनीका महा-प्रबन्धक सुरेशकुमार तिवारीले बताए ।

३ वर्षमा ५०० प्रतिशत नाफा बढ्ने प्राइम लाइफ इन्स्योरेन्सको प्रक्षेपण, इपीएस ५२ रुपैयाँ पुग्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा ५०० प्रतिशत बढाउने प्रक्षेपण गरेको छ । प्रईम आर्थिक वर्ष ०७६/०७७ मा नाफा ५ सय प्रतिशत बढाएर १ अर्ब ४ करोड ५३ लाख रुपैयाँ पर्याउने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवमा ३९ करोड ९८ लाख र आगामी आवमा ६५ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीले प्रक्षेपित वित्तीय विवरण आफैले तयार पारेको जानकारी दिएको छ । नाफा बढेपछि कम्पनीको ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५४ पैसा थियो । चालु आवमा घटेर २२ रुपैयाँ ४० पैसामा झर्ने छ । आगामी आवमा बढेर ३२ रुपैयाँ ६० पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा कम्पनीको आम्दानी १ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीले २६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढाएर ४२ करोड ५९ लाख र आगामी आवमा ७० करोड ८५ लाख रुपैयाँ पुग्ने देखिएको छ । यस्तै कम्पनीको संचित नाफा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीको संचित कोषमा ८० करोड ७६ लाख रुपैयाँ थियो । प्राइमले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । आगामी वर्षमा बढेर २ अर्ब रुपैयाँ पुग्ने प्राइमले जानकारी दिएको छ ।  

पोखरा फाइनान्सले शुरु गर्यो मोवाइल बैंकिङ्ग सेवा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो । यस सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन् । साथै, सोही दिन संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बीआईएम मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।

टीकापुर घटनाका अभियुक्त चौधरी अदालतमा उपस्थित

धनगढी । टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ ।-रासस    

शाइन रेसुङ्गाको थप ४ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले नवौं बर्ष पुरा गरी दशौं बर्षमा प्रवेश गरेको अवसरमा थप ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले शुक्रबारदेखि रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको बनकट्टी, मणिग्राम र बुटवल उपमहानगरपालिकाको बेलवास तथा सैनामैना नगरपालिकाको मुर्गियामा गरी उक्त ४ शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । बनकट्टी र मणिग्राम शाखा कार्यालयको नेपाल राष्ट्र बैक, सिद्धार्थनगर कार्यालयका निर्देशक अशोककुमार पौडेल, बेलवास शाखा कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदी र मुर्गिया शाखा कार्यालयको सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकले २१ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो । साथै, बैंकले १६ वटा आमा समुहसंग सीपमुलक तथा व्यवसायीक तालिम प्रदान गरि उद्यमी बनाउने सम्बन्धी समझदारीपत्र आदान प्रदान गरेको थियो । उक्त अवसरमा स्थानिय सामुदायीक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि ५ विद्यालयहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरी २१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो । साथै, ट्राफिक जनचेतना तथा दुर्घटना न्यूनीकरण र अनुगमनका लागी पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयलाई ४ थान साइकल, रोड डिभाइडर र ट्राफिक जनचेतनामूलक बोर्डहरु प्रदान गरेको थियो । बनकट्टी स्थित टिकुलीगढ स्वास्थ्य चौकीलाई बेड र बिश्रामका लागि वेटिगं चेयर प्रदान गरेको थियो ।  

होन्डाले ल्यायो नयाँ डब्लुआर – भी कार, मूल्य ४१ लाख

काठमाडौं । नेपालमा विभिन्न मोडेलका गाडीहरु बेच्दै आएको स्याकर ट्रेडिङ कम्पनीले विनसम रुनाबोट भेकल्स (डब्लु आर भी) नामकाे नयाँ मोडेलको गाडी नेपाली बजारमा ल्याएको छ । नयाँ सार्वजनिक गरिएको गाडीमा २२५५ एमएमकोे चौडाई ३९९९ एमएम लम्बाईको टायर प्रयोग गरिएको छ । साथै गाडीको बडी जमिन सतहबाट १८८ एमएम माथी रहेको छ । गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम प्रयोग गरिएको छ जसले तीब्र गतिमा पनि गाडीलाई सजिलै नियान्त्रणमा लिन सकिन्छ । गाडीमा आकर्षक देखिने सनरुफ र रेयर क्यामेरा प्रयोग गरीएको छ । ग्राहकले डिजल वा पेट्रोलबाट चल्ने गाडी छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । जुनसुकै होन्डाको स्वरुमबाट सो गाडीको बुकिङ गर्न सकिनेछ । कम्पनीले गाडीको बजार मूल्य ४१ लाख २५ हजार तोकेको छ साथै गाडीलाई फाइनान्सको सुविधाबाट पनि निकाल्न सकिनेछ ।  

नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने भएको छ । सेयरधनीलाई ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर र ८८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । नियामक बीमा समितिबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

झापा, दमकको औद्योगिक क्षेत्र स्थापना कार्य सुरु, मुआब्जा दावी गर्न जग्गाधनिलाई अनुरोध

काठमाडौं । प्रदेश नम्बर १ को झापा, दमकमा स्थापना हुने औद्योगिक क्षेत्रको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले जग्गा प्राप्ती सम्बन्धी सूचना निकाल्दै औद्योगिक क्षेत्रमा पर्ने जग्गाधनिहरुलाई मुआब्जा दावी गर्न अनुराेध गरेकाे हाे । उक्त औद्यागिक क्षेत्रभित्रको सिजुवा, दमक, राजघाट र मधुमल्ला हाल कमल गाउपालिका र दमक नगरपालिकाभित्र पर्ने ४३० जग्गाधनिहरुकाे जग्गा स्थानिय रुपले प्राप्त गर्नु पर्ने भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ । त्यसैले सम्बन्धीत जग्गाधनि, मोही लगायत व्यक्ति तथा कम्पनीहरुले मुआब्जा दावी गर्न आआफ्नो हकदैया वा भोगचलन सम्बन्धी सवुत प्रमाण सहित ३५ दिनभित्र रित पुर्वक निवेदन दमक नगरपालिका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दमक औद्योगिक क्षेत्रको जग्गा प्राप्ती सम्बन्धिक सम्पर्क कार्यालयमा सम्पर्क गर्न जानकारी दिएकाे छ । सरकारले संघीय संरचाना अनुसार सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना आनुसार धमाधम जग्गाको व्यवस्थापन अघि बढिरहेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश नं १ मा झापा दमकमा, प्रदेश नं २ मा सर्लाहीको मुर्तीया, ३ मा मकवानपुरस्थित हेटौंडाको मयुरधाम र चितवनको शक्तिखोर, प्रदेश नं ४ मा गोरखाको पालुङटारमा औद्योगीक क्षेत्र बनाउने तयारी गरिरहेको छ । त्यस्तै प्रदेश नं ५ मा रुपन्देही र दाङको लक्ष्मीपुर, प्रदेश नं ६ मा सुर्खेतको साताखानी र प्रदेश नं ७ मा कैलालीको लम्की , कन्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने मन्त्रालयको भनाइ छ ।