सुक्खा पहिराले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
काठमाडौं । सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइन खोलास्थित सडक खण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केही बेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जानकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
१४० मेगावाटको तनहुँ जलविद्युतको प्रगति ४३.५ प्रतिशत, प्रदेश सरकारले सहजीकरण गर्ने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको निरीक्षण गर्दै उनले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । आयोजना निर्माणका क्रममा आइ पर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । उनले तनहुँ जलविद्युत् आयोजनाले देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज-१’ अन्तर्गत बाँध निर्माणस्थल र ‘प्याकेज-२’ अन्तर्गत विद्युत् गृहको निरीक्षण गरेका थिए । उनलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मको कार्य प्रगतिका बारेमा जानकारी गराए । प्याकेज-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो । यसको हालसम्मको प्रगति ४३.५ प्रतिशत रहेको छ । भण्डारीका अनुसार प्याकेज-२ अन्तर्गतको विद्युत्भित्र संरचनागत कार्य सम्पन्न भई उपकरण जडान भइरहेको छ । यस अन्तर्गत भूमिगत विद्युत् गृहमा ६७ र ‘प्याकेज-३’ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । उनका अनुसार आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ५० करोड ५० लाख अमेरिकी डलरमध्ये एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार,नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
इलाममा २ वटा बेलिब्रिज निर्माण, लागत कति ?
काठमाडौं । इलाममा एक वर्षमा दुइवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवा खोला र जोगमाइ खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई-तिल्केनी सडक अन्तर्गत माइजोगमाई गाउँपालिका-४ र इलाम नगरपालिका-१० जोड्ने जोगमाइ खोला र केचना-कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो । जोगमाइ खोलामा १ करोड ९१ लाख २१ हजार ६३२ रुपैयाँ लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो भने पुवा खोलामा १ करोड ४३ लाख ७६ हजार २९७ रुपैयाँ लागतमा ४८.६ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो । सोही आर्थिक वर्षमा सक्ने गरी सम्झौता भएको कल्भर्ट निर्माणाधीन अवस्थामा छ । केचना-कञ्चनजङ्गा सडक अन्तर्गत ठाडे खोलामा १ करोड ८५ लाख ७ हजार ५३८ रुपैयाँ लागतमा डबल सेल बक्स कल्भर्ट निर्माण भइरहेको छ । कृष्ण/डाइमन/अभ्युदय जेभीले निर्माणको जिम्मा पाएको कल्भर्ट सम्झौता अवधिमा सम्पन्न नभएपछि एक पटक म्याद थप गरिएको घिमिरेले जानकारी दिए ।
आरविवि मर्चेन्टका २ म्युचुअल फण्डको लाभांश घोषणा, ३६ करोड रुपैयाँ नगद
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्गले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीको सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आरविवि म्युचुअल फण्ड १ का इकाईधनीलाई करसहित २० प्रतिशतका दरले २५ करोड रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीलाई १३ प्रतिशतका दरले १९ करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ गरी कुल ३५ करोड ९९ लाख ९५ लाख ५०७ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि भदौ ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा अघिल्लो दिनसम्म कायम इकाईधनीले उक्त लाभांश प्राप्त गर्न सक्नेछ ।
फेदीखोलाले साढे १७ करोड रुपैयाँको आईपीओ बिक्री गर्ने
काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा ४.३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ । आयोजना निर्माण सम्पन्न गर्न ९४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण ४ करोड रुपैयाँ लागत वृद्धि भई ९८ करोड रुपैयाँ लाग्ने भएको छ । आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात् ४८ करोड रुपैयाँ स्वपुँजी सेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए । साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँमा १० करोड रुपैयाँ थप गरी ७० करोड रुपैयाँ पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँको सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ । त्यसैगरी, साधारणसभाले वन्डर्स इनर्जी (खिम्ती घ्वाङ्गखोला ९ मेगावाट) मा ५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै (इर्खुवा खोला जलविद्युत् आयोजना १५ मेगावाट)मा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको मुख्य लगानीमा २०९० सालभित्रमा कम्तीमा एक सय मेगावाट क्षमताको आयोजना अगाडि बढाउने निर्णय गरेको छ । साथै कम्पनीको नियमावली कम्पनीमा पाँच जना सञ्चालक रहनेमा अगामी चार वर्षे कार्यकालका लागि संस्थापक चन्द्रप्रसाद बास्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ ।
कोशी र बागमतीमा भारी वर्षा हुने, जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भाग र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा तराई भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई र पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस वर्ष साढे २ हजार सहकारीमा अनुगमन गर्ने नेफ्स्कूनको घोषणा
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नेफ्स्कूनद्वारा २४ सय साकोसको स्थलगत सुपरीवेक्षण गर्ने घोषणा गरेको छ । शनिबार ३८औं स्थापना दिवस एक समारोहमार्फत संघले विभिन्न २ हजार चार सय वटा बचत तथा ऋण सहकारी संस्था (साकोस) को स्थलगत सुपरीवेक्षण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो । संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघको अवस्थाबारे प्रस्तुति दिँदै ‘स्क्यान’ नामक नयाँ अनुगमन कार्यक्रममार्फत यो योजना कार्यान्वयन गरिने बताए । यसका लागि संघले कुल १ सय ८७ कर्मचारीमध्ये ६८ जनालाई अनुगमन कार्यमा मात्रै खटाएको छ । गत वर्ष ७०० संस्थाको सुपरीवेक्षण गरिएकोमा यस वर्ष यसलाई बढाएर २४ सय पु¥याई नियामक निकायमा प्रतिवेदन बुझाइने उनले जानकारी दिए । उनका अनुसार संघको सेयर पुँजी १ अर्ब ५० करोड, सदस्य बचत २० अर्ब, ऋण लगानी २२ अर्ब र कुल लगानी २३ अर्ब ७० करोड रुपैयाँ नाघेको छ । नेफ्स्कूनले देशभरका ५९ जिल्लामा ३९ जिल्ला संघमार्फत सेवा दिइरहेको छ भने हाल ३६ वटा जिल्ला कार्यालयलाई बढाएर यसै वर्ष भक्तपुर र कीर्तिपुर जस्ता स्थानमा समेत गरी ४० पु¥याउने लक्ष्य राखेको छ । डा. सापकोटाले सहकारी अभियानको सुदृढीकरणका लागि सरकार र नियामक निकायसमक्ष तीनवटा मुख्य अपेक्षा राखिएको बताए । उनका अनुसार समुदायमा आधारित सहकारीलाई प्रवद्र्धन गर्न स्पष्ट सुपरीवेक्षण क्षेत्र तोकेर नियामक निकायको शीघ्र व्यवस्था गरिनुपर्ने, गैर–बैंकिङ सम्पत्ति ६ महिनाभित्र बिक्री गर्नुपर्ने हालको कानुनी व्यवस्थालाई परिमार्जन गरी जोखिम व्यवस्थापनमा आधारित प्रणाली विकास गर्नुपर्ने, संघले सञ्चालन गरेको ‘स्क्याम’ अनुगमन कार्यक्रमलाई नियामक निकायले समेत वैकल्पिक प्रणालीको रूपमा ग्रहण गरी सहकार्य गर्नुपर्ने अपेक्षा नेफ्स्कूनले गरेको छ । नेफ्स्कूनले सदस्यको बचत सुरक्षा, सुशासन प्रवद्र्धन, साझा प्रविधिको विकास र स्थिरीकरण कोषलाई आफ्नो मुख्य दृष्टिको रूपमा अघि बढाएको छ । साथै, संघले काठमाडौंमा ‘स्वर्ण प्राविधिक भवन’ निर्माण गरिरहेको पनि जानकारी दिइएको छ । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको सुशासन र पारदर्शितामा जोड दिँदै सरकार अभियानसँग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा विभिन्न विधामा पुरस्कार तथा सम्मान वितरण गरिएको थियो । यस वर्षको नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार बुडोल सामुदायिक साकोस, रुपन्देहीले प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय स्तरको ‘नेफ्स्कून उत्कृष्ट व्यवस्थापक (सुपर सीईओ) पुरस्कार’ सामुदायिक विकास साकोस रुपन्देहीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीलाई प्रदान गरिएको छ । यस्तै, नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार नेफ्स्कून पूर्वसञ्चालक ताराबहादुर काफ्ले, नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान नेफ्स्कूनका पूर्वसञ्चालक सोमराज खनिया, नेफ्स्कून पत्रकारिता पुरस्कार कारोबार राष्ट्रिय दैनिककी कौशिला कुँवर, उत्कृष्ट जिल्ला संघको पुरस्कार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देही, प्रदेशस्तरीय उत्कृष्ट साकोसहरूमा सुदूरपश्चिमको मोहना लालझाडी, कर्णालीको डिग्रे साईकुमारी, लुम्बिनीको लेकाली स्वावलम्बन, गण्डकीको हातेमालो, बागमतीको स्रोत परिचालन, मधेशको कामगढी र कोशीको महाभारतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सम्पत्ति शुद्धीकरण निवारणमा सहकारी क्षेत्रको भूमिका र दायित्वबारे विशेष प्रस्तुति दिएका थिए । उनले नेपाल हाल ‘ग्रे लिस्ट’ को जोखिममा रहेको उल्लेख गर्दै सहकारी संस्थाहरूले सदस्य पहिचान शंकास्पद कारोबारको रिपोर्टिङ र राष्ट्रिय परिचयपत्रसँग आबद्धता जस्ता कानुनी प्रावधानको अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए । निर्देशन पालना नगर्ने संस्थालाई ५ करोड रुपैयाँसम्म जरिवाना हुन सक्ने चेतावनी समेत उनले दिए ।
नेपाली विद्यार्थीका लागि भारतको चण्डीगढ युनिभर्सिटीले ल्यायो ९.४० करोडको छात्रवृत्ति
काठमाडौं । नेपालका प्रतिभाशाली एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि भारतको चण्डीगढ युनिभर्सिटीले छात्रवृत्ति दिने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यसबारे जानकारी दिएको हो । विश्वविद्यालयले नेपालका विद्यार्थीका लागि इण्डो–नेपालमैत्री स्कलरसिप शुभारम्भ गरेको जनाएको छ । यो छात्रवृत्ति कोष ९.४० करोड रुपैयाँको रहेको चण्डीगढ विश्वविद्यालयका चान्सलरका सल्लाहकार प्रोफेसर डाक्टर आरएस बाबाले बताए । नेपाल–भारतमैत्री सम्बन्धको ७५ औँ वर्षगाँठको अवसरमा यो छात्रवृत्ति दिन लागेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएकै कारण गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यबाट छात्रवृत्ति दिएको बताए । आफूहरूले दिने शिक्षा अमेरिका, बेलायतको सरह भएको दाबी गरे ।