नबिल फाउण्डेसनद्धारा दोलखाको विद्यालयलाई कम्प्युटर वितरण
काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दोलखाको मेलुङ स्थित श्री कालिका नमुना माध्यमिक विद्यालयलाई २ थान नयाँ कम्प्युटर वितरण गरेको छ । नबिल बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सन्तोष भट्टराईले सो कम्प्युटरहरु विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामभरत तामाङलाई हस्तान्तरण गरेका छन् । सो विद्यालयमा दलित, जनजाती तथा कमजोर आर्थिक अवस्था रहेका विद्यार्थीहरु समेत अध्ययनरत छन् । नबिल फाउण्डेसनले विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुर्याएकोमा कालिका नमुना माध्यमिक विद्यालय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेको थियो । सो अवसरमा शाखा प्रबन्धक भट्टराईले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएकोमा खुसी व्यक्त गरेका छन् ।
युनाइटेड सिमेन्ट्सद्धारा धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । यस सिमेन्ट्सले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग प्रदान गरेको हो । साथै, सोही कार्यक्रममा युनाइटेड सिमेन्ट्सले एम्बुलेन्स सञ्चालनको निमित्त एक लाख एक हजार रुपैयाँपनि हस्तान्तरण गरेको छ । युनाइटेड सिमेन्ट्सको यो सहयोगले सो स्थानका बिरामीले समयमै उपचार प्राप्त गरी अकालमा ज्यान गुमाउनु नपर्ने हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले जानकारी गराए । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, यस युनाइटेड सिमेन्टले विगतमा पनि समाज प्रतिको उत्तरदायित्वलाई पुरा गर्ने हेतुले विभिन्न कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
सुरु भयो क्यान इन्फोटेक एक्स्पो, सञ्चारमन्त्री बस्नेतले गरे उद्घाटन
काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डमा यस वर्षको २४ औं ‘सुविसु क्यान इन्फोटेक एक्स्पो २०१८’ सुरु भएको छ । आज (बिहीबार) सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक्स्पोको उद्घाटन गरेका थिए । उनले एक्स्पो उद्घाटनको क्रममा सूचना प्रविधिको विकासविन देशको विकास सम्भव नहुने बताए । मुलुकको विकास गर्न सूचना तथा प्रविधि क्षेत्रको ठूलो महत्व रहने उनको भनाइ छ । ‘सूचना तथा सञ्चार प्रविधिको विकास गर्न सरकारले के गर्न पर्ने हो, त्यसको निम्ति सहयोग गर्नेछ,’ उनले भने ‘सरकारले विद्यार्थीहरुमाझ सूचना प्रविधि पुर्याउन ईलाइब्रेरीको स्थापना गर्ने तयारी गरिरहेको छ ।’ उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थित थियो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा संचार क्षेत्रको पछिल्लो नयाँ प्रबिधिहरु एकै छानामूनि राखिएको छ । आयोजनका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेको छ । ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलह १० गरी जम्मा २२२ स्टल राखिएको छ । त्यस्तै हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीसी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स लगायको प्रदर्शनी रहेका छन् । आयोजकले सर्वसाधारणको प्रवेश शुल्क रु १००, विद्याथीको लागि ५० रुपैयाँ तोकेको छ । टिकटको अनलाईन खरीदमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ। प्रदर्शनी माघ १६ गतेसम्म चल्ने आयोजकले बताएको छ ।
बैंकहरु पुगे सीसीडी रेसियोको डिलमा, कर्जा दिन नसक्ने
काठमाडौं । वाणिज्य बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७८ प्रतिशत बढी रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ७ बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल बंगलादेश बैंकको सीसीडी रेसियो ७९.१३ प्रतिशत पुगेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको देखाएको छ । यस्तै नेपाल एसबीआई बैंकको ७७.३, मेगा बैंकको ७९.३७, लक्ष्मी बैंकको ७७.९३, सिटिजन्स बैंकको ७७.४, सानिमा बैंकको ७८.९९ र सिद्धार्थ बैंकको ७८.३३ प्रतिशत सीसीडी रेसियो पुगेको छ । निक्षेप नबढाइ थप कर्जा लगानी गरेमा वा ठुलो निक्षेप बाहिरिएमा बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्ने देखिएको छ । सबै बैंकले अहिले सीसीडी रेसियोको डिलमा पुगेको वित्तीय प्रतिवेदनले देखाएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकसंग पर्याप्त तरलता रहेको छ । बैंकले थप लगानी गर्ने अवस्था नरहेको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बताउछन् । “निक्षेप नबढाइ कर्जा लगानी गर्न नसक्ने अवस्थामा बैंक पुगेका छन्” उनले भने । विस्तारै निक्षेप पनि बढ्दै गएकाले लगानीयोग्य पुँजीको समस्या हट्दै जाने संकेत देखिएको उनी बताउँछन् । यस्तै, माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ पनि कर्जा लगानी गर्न नसकेको बताउछन् । निक्षेप परिचालन नबढेकाले थप कर्जा लगानी गर्न नसकिएको उनको भनाई छ । बैंकले लगानी गर्न नसकेको सानिमाका सीईओ भुवनकुमार दाहाल बताउछन् । सीसीडी रेसियोको डिलमा रहेको उनको भनाई छ । बजारमा कर्जाको माग अत्याधिक रहेकाले माग अनुसार दिन नसकेको दाहालको भनाई छ । एक महिनाको अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तै, अन्तर बैंक ब्याजदर बढेर ४.७ प्रतिशत पुगेको छ । एक साताअघि ३ प्रतिशतको हाराहारीमा रहेको अन्तर बैंक ब्याजदर बढेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल भएपछि राष्ट्र बैंकले डेढ महिनादेखि रिपोमार्फत बजारमा पैसा पठाउन पाएको छैन । बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि यसको असर सेयर बजारमा परेको छ । बैंकबाट ऋण लिएर ठुलो परिमाणमा सेयर किन्ने समूह चर्को ब्याजदरका कारण बजारबाट बाहिरिएको लगानीकर्ताको भनाई छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ । निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउदै छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितो लिएर बजारमा थप पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर २२ अर्ब रुपैयाँमा झरेपछि बिहीबार पैसा पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारमा पठाउने पैसा बैंकको तरलता व्यवस्थापनलाई मात्र हो । यसलाई निक्षेपको रुपमा गणना गरेर कर्जा लगानी गर्न पाइँदैन । यसअघि राष्ट्र बैंकले ३ पटक गरेर ३५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैंक तथा वित्तीय संस्थाले २८ अर्ब रुपैयाँ मात्र लिएका थिए ।
एनआईबिएल क्यापिटलले निशुल्क एसएमएस सेवा प्रदान गर्ने
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार(खरिद/बिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । यस क्यापिटलले हालसम्म १ लाख १४,९०० आफ्ना ग्राहकवर्गहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।
टियागो तथा टिगोरको माइलेज टेष्ट क्याम्प सम्पन्न, विजेतालाई १ वर्षसम्मको फ्रि इन्धन
काठमाडौं । नेपालकालागि टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले डाइन्यामिक ह्याच् ब्याक टियागो र स्टाईल ब्याक टिगोरका लागि सफलतापूर्वक माइलेज टेष्ट क्याम्प सम्पन्न गरेको छ । उक्त मालेज टेष्टका क्रममा सहभागीहरुले जावलाखेल, सुन्धारा, लैन्चौर, महाराजगंज, बुढानिलकण्ठ, बालुवाटार, नक्साल, ज्ञानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर हुँदै धुलिखेलसम्म करिब ६० कि.मि. भन्दा बढीकोे यात्रा गरेका थिए । शनिबार सम्पन्न उक्त प्रतिस्पर्धामा आत्मराम ढकालले टियागोमा २३.१७ कि.मि.प्रति लिटरको सर्वाधिक माइलेज प्राप्त गरी विजयी भएका थिए भने विश्वराज पंगेनी २१.८६ कि.मि. प्रति लिटर का साथ उप–विजेता बन्न सफल भएका छन् । त्यसैगरी, सेडानको वर्गमाश्री भरत शर्मा पौडेलले टाटा टिगोरमा सर्वाधिक २१.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गरी विजयी भएका थिए । दुवै वर्गका विजयीहरुलाई १ वर्षसम्मको फ्रि इन्धनबाट सम्मानित गरिएको थियो भने टियागोका उप–विजेतालाई ९ महिनासम्मको फ्रि इन्धन उपहार स्वरुप उपलब्ध गराईएको थियो । सिप्रदी ट्रेडिङ्गका सिइओ राजनबाबु श्रेष्ठ र टाटा मोटर्स्का कन्ट्री म्यानेजर अजितनारायण सिंहले संयुक्त रुपमा यस माइलेज टेष्ट क्याम्पलाई शुरुवात गरेका थिए । उक्त कार्यक्रममा ३० जनाभन्दा बढी टियागो तथा टिगोरका चालकहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा टाटा मोटर्स्का कन्ट्री म्यानेजर अजितनारायण सिंह भन्छन्, “हाम्रो उत्पादनहरुले यति राम्रो प्रदर्शन गरेर ग्राहकहरुको आकांक्षा पूरा गर्न सकेकोमा हामी निकै खुसी छौं । हाम्रो उत्पादनहरुमा हामीले सधैं क्वालिटी र प्रभावकारी माइलेजलाई नै प्राथमिकता दिंदै आएका छौं र आज सम्पन्न यस माइलेज टेष्ट क्याम्पले हाम्रो उत्पादनप्रतिको हाम्रो प्रतिबद्धतालाई सावित गरेको छ ।” त्यसैगरी, कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका सिइओ राजनबाबु श्रेष्ठले भने, “यस्तो इभेन्ट आयोजनाले हाम्रो र ग्राहकबीचको नाता थप प्रगाढ हुने कुरामा हामीविश्वास राखेका छौं, यसका साथै ग्राहकहरुको चाहनालाई ध्यानमा राखी अझ उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । ”
बढी बिजुली चोरी बाराको कलैया र कम काठमाडौंमा, यी हुन् बढी बिजुली चोरी हुने क्षेत्र
काठमाडौं । सबैभन्दा बढी बिजुली चोरी बाराको कलैयामा हुने गरेको पाइएको छ । कलैयामा कुल आपूर्तिको ५४.३८ प्रतिशत बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तयार पारेको नयाँ चुहावट प्रतिवेदनले देखाएको छ । सबैभन्दा कम बिजुली चोरी काठमाडौको रत्नपार्क वितरण केन्द्रमा देखिएको छ । रत्नपार्क वितरण केन्द्रमा बिजुली चुहावट १.२२ प्रतिशत मात्र छ । कलैया वितरण केन्द्रमा सबैभन्दा बढी चोरी देखिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । प्राधिकरणले चोरी र चुहावट नियन्त्रणको अभियान थालेको उनले जानकारी दिए । अधिकारीका अनुसार यो तथ्यांक मंसिरसम्मको हो । उद्योग भएका क्षेत्रमा बढी बिजुली चोरी हुने गरेको प्राधिकरणले जनाएको छ । तराईमा सडक बत्ति दिउसो बलिरहने, हुक लगाएर चोरी हुने गरेको छ । यस्तै रौतहटको गरुडामा कुल आपूर्तिको ४७.८३ र सोही जिल्लाको चन्द्रनिगाहपुरमा ४७.२६ प्रतिशत चोरी हुने गरेको पाइएको छ । बढी बिजुली चुहावट हुनेमा तुल्सीपुर वितरण केन्द्रमा ३९.३४, रंगेली वितरण केन्द्रमा ३७.७८, सिन्धुपाल्चोकमा ३३.९०, अछाममा ३२.५०, काभ्रेमा ३२.३३, इलाममा २८.१५, गुलरियामा २६.६६, बेल्बारीमा २४.२५, दमकमा २१.१ र अनारमुनीमा २१.७५ प्रतिशत, महेन्द्रनगरमा २०.३० र प्युठान वितरण केन्द्रमा २०.५४ प्रतिशत चुहावट हुने गरेको छ । कलैया वितरण केन्द्रमा कुल ३ करोड ५५ लाख २५ हजार युनिट बिजुली आपूर्ति भएकोमा १ करोड ९३ लाख १९ हजार रुपैयाँ युनिट बिजुली चुहावट भएको छ । यस्तै गरुडा वितरण केन्द्रमा कुल ३ करोड २२ लाख ४५ हजार युनिट बिजुली आपूर्ति भएकोमा १ करोड ५४ लाख २४ हजार युनिट बिजुली चुहावट भएको छ । यस्तै चन्द्रनिगाहपुर वितरण केन्द्रमा १ करोड २३ लाख ६४ हजार आपूर्ति भएकोमा ५८ लाख ४३ हजार युनिट युनिट चुहावट भएको छ । तुल्सीपुर वितरण केन्द्रमा १ करोड २९ लाख १७ हजार युनिट आपूर्ति भएकोमा ५० लाख ८५ हजार युनिट चुहावट भएको छ । अछाम वितरण केन्द्रमा कुल १ करोड ३६ लाख ६२ हजार युनिट बिजुली आपूर्ति भएकोमा ३६ लाख ९२ हजार युनिट चोरी भएको छ । रंगेली वितरण केन्द्रमा १ करोड २६ लाख ३६ हजार युनिट बिजुली आपूर्ति भएकोमा ४७ लाख ७३ हजार युनिट चुहावट भएको छ । काभ्रे वितरण केन्द्रमा २ करोड ९६ लाख ५४ हजार युनिट आपूर्ति भएकोमा ९५ लाख ८६ हजार युनिट बिजुली चुहावट भएको छ । सिन्धु वितरण केन्द्रमा ७० लाख १२ हजार युनिट बिजुली आपूर्ति भएकोमा २३ लाख ७७ हजार युनिट चुहावट भएको छ । राजधानीमा सबैभन्दा कम चुहावट भएको छ । काठमाडौंमा औसत ८ प्रतिशत मात्र चुहावट हुने गरेको छ । राजधानीको रत्नपार्क वितरण केन्द्रमा १ करोड १६ लाख ४९ हजार युनिट बिजुली आपूर्ति भएकोमा १४ लाख २० हजार युनिट मात्र चुहावट भएको छ । क्षेत्रगत रुपमा हेर्दा विराटनगर क्षेत्रिय कार्यलयमा १४.६५, जनकपुरमा ३४.३६, हेटौडामा १३.९१, काठमाडौमा ८, पोखरामा ११.५३, बुटवलमा १४.१४, नेपालगञ्जमा १५.४० र अत्तरियामा १५.२९ प्रतिशत चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले गत मंसिरसम्म कुल २ अर्ब ७० करोड ४४ लाख ६७ हजार युनिट बिजुली आपूर्ति गरेकोमा ४० करोड युनिट चुहावट भएको छ । यो कुल आपूर्तिको १४.८० प्रतिशत हो । गत असारसम्म बिजुली चुहावट २२.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा घटाएर २० प्रतिशतमा झार्ने विद्युत प्राधिकरणको योजना छ । आउँदो ३ वर्षभित्र बिजुली प्रणालीमा हुने चुहावट घटाएर १५ प्रतिशत कायम गर्ने प्राधिकरणको योजना छ । वितरण प्रणालीमा हाल भइरहेको चुहावट १६.८२ प्रतिशतबाट घटाएर १३.८ प्रतिशतमा झार्ने प्राधिकरणको योजना छ । चुहावटका कारणले गर्दा मात्रै विद्युत प्राधिकरणले वार्षिक ५ अर्ब रुपैयाँ बढी नोक्सान व्यहोर्दै आएको छ ।
अब मोबाइलमा पैसा सकिए पनि फोन काटिँदैन, टेलिकमले ल्याउँदैछ निर्ब्याजी सापटी योजना
काठमाडौं । फोन गर्दा गर्दै पैसा सकिएर फोन काटिने समस्याबाट हैरान हुनु भएको छ ? चिन्ता नगर्नुस, अब पैसा सकिएर तपाईले मोबाइलमा कुरा गर्न नपाउने दिन सकिए । किनकी नेपाल टेलिकमले अब तपाईको खातामा स्वतः पैसा राखिदिने छ, त्यो पनि निर्ब्याजी । टेलिकमले आगामी एक महिना भित्रै निर्ब्याजी सापटी योजना कार्यान्वयनमा ल्याउँदैछ । त्यसका लागि टेलिकमका प्रिपेड मोबाइल फोन प्रयोगकर्ताहरुले एक पटक सापटी योजनामा आवद्ध हुनु पर्नेछ । त्यसपछि कुनै पनि समयमा फोन गर्दा गर्दै पैसा सकिएर लाइन काटिने समस्या आउने छैन् । ‘सापटी योजनामा आवद्ध भएपछि इन्टरनेट चलाउँदा चलाउँदै र फोन गर्दा गर्दै पैसा सकिएर काटिने अवस्थाको अन्त्य हुनेछ, टेलिकमले निश्चित रकम स्वतः खातामा राखिदिनेछ’, टेलिकमका एक उच्च अधिकारीले भने । उनले त्यसरी प्राप्त हुने रकमको सिमाबारे भने छलफल भैरहेको जानकारी पनि दिए । ‘कति रकमको सापटी सुबिधा दिने भन्नेबारेमा छलफल जारी छ, केहि प्रबिधी पनि ल्याइँदैछ, आगामी एक महिनाभित्र हाम्रा उपभोक्ताले सापटी योजनाको उपयोग गर्न पाउनेछन्’, ती अधिकारीले भने । व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई निर्ब्याजी सापटी योजना तत्काल सञ्चालन गर्न निर्देशन दिएको थियो । समितिको सोही निर्णय बमोजिम कम्पनी सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।