सरकारले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख अनुदान दिने
काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेकालाई बृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ७० वर्षदेखि दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई ५ वर्ष घटाएर ६५ वर्षमा झर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । सरकारले मासिक २ हजार रुपैयाँका दरले वृद्ध भक्ता दिदै आएको छ । बैठकले भुकम्प पीडितलाई घर बनाउन थप १ लाख रुपैयाँ अनुदान थप्ने निर्णय गरेको छ । हाल ३ लाख रुपैयाँ अनुदान पाएका भूकम्प पीडितले अब ४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । सरकारले दलित तथा विपन्न समूहका व्यक्तिले निजी व्यवसायवा कम्पनी दर्तामा सहुलियत दिने भएको छ । १ करोड पूँजीसम्मको ब्यवसाय गर्न चाहनेलाई निस्शुल्क तथा सो भन्दा बढी पूँजीको ब्यवसाय वा कम्पनी दर्तामा ५० प्रतिशत मात्र शुल्क लिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए । सरकारको यो निर्णयले सामाजिक सुरक्षा खर्च बढाउने भएको छ । सरकारले यो वर्ष ४५ अर्ब रुपैयाँ बढी सामाजिक सुरक्षा भक्ता वितरण गर्र्दै छ । ६५ वर्ष पुग्न साथ पाउने भएकाले जेष्ठ नागरिक थप हुन भक्ता लिनेको संख्या बढेर राज्यको दाइत्वमा समेत थप असर गर्ने छ । सुरुमा ७५ वर्षका लागि वृद्ध भक्ता दिने निर्णय गरेकोमा पछि घटाएर ७० र अहिले ६५ वर्षमा झरेको छ । यस्तै सरकारले भूकम्प पीडितलाई घर बनाउन पहिला २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेकोमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले १ लाख बढाएर ३ लाख पुर्याएको थिए । भुकम्प पीडितले अनुदान पाउन नसकेको गुनासो आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी १ लाख रुपैयाँ थपेका छन् । भूकम्प पीडित अनुदान बढेको र वृद्ध भक्ताको उमेर घटेकाले राज्यलाई खर्बौ रुपैयाँको आर्थिक बोझ थपिएको छ ।
माछापुच्छे बैंकद्वारा कम्बल बितरण
काठमाडौं । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडित ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ । बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिलादेखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका छन् । बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म ६४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत १३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ७९ स्थानबाट बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
एनआईबीएल क्यापिटलको निःशुल्क एसएमएस सेवा
काठमाडौं । एनआईबीएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालालाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाले आफ्नो शेयर कारोबारबाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । कम्पनीले हालसम्म १ लाख १४ हजार ९०० ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।
धितोपत्र बोर्डले रोक्यो सि-आस्वा, एक महिनापछि मात्र लागु हुने
काठमाडौं । सी-आश्वा प्रणाली एक महिनापछि मात्र कार्यन्वयनमा आउने भएको छ । धितोपत्र बोर्डले बुधबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिदै सी आश्वा प्रणाली एक महिनापछि मात्र लागु गर्न भनेको छ । बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो । सीडीएसले मंगलबारदेखि सीआस्वा लागु गरेको जानकारी गराएको थियो । बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिव २ हजार ५०० शाखाबाट नेपालभरी आस्वा लागु भैरहेकोमा ती संस्थाका शाखाहरुलाई सि—आस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले बताएको छ । यस्तै लगानीकर्तालाई सि—आस्वा रजिष्ट्रशन नम्बर प्राप्त गर्ने समय दिनुपर्ने व्यवहारिक पक्ष तथा लगानीकर्ता, आस्वा सदस्यतथा अन्य सम्बन्धित सरोकारवालाको गुनासालाई समेत दृष्टिगत गरी अनिवार्य रुपमा यस प्रणाली मार्फत दरखास्त दिन एक महिनाको समय उपलब्ध गराउन बोर्डले सीडीएसलाई भनेको छ । सी आस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने छ । सि आस्वामार्फात प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ । हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि आश्वाको सदस्यता लिएका छन् । सीडीएसले तुरुन्तै सि आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ । सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ ।
एक महिना भित्रै धरहराको ग्लोबल टेण्डर, काँचको पर्दामा लडेको धरहरा
काठमाडौं । आगामी एक महिनाभित्रै धरहराको ग्लोबल टेण्डर निस्कने भएको छ । धरहरा निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी एक महिनाभित्रै धरहराको निर्माणको टेण्डर आव्हान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । ‘डिजाइन अन्तिम चरणमा पुगेको छ, एक महिनाभित्रै ग्लोबल टेण्डर आव्हान गर्छाै’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले विकासन्युजसँग भने । धरहराको निर्माण लागत करिब ३ अर्ब हुने प्रक्षेपण गरिएको छ । आगामी २ बर्षभित्र धरहराको निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । नेपाल टेलिकमले धरहरा निर्माण प्रक्रियाबाट हात झिक्ने निर्णय गरेसँगै सरकारले प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । प्राधिकरणले पुरातत्व विभागको अगुवाईमा तयार पारेको डिजाइन तयार गरिरहेको छ । नयाँ धरहरामा टक्सार जमिन नपर्ने पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरि २८ रोपनीमा निर्माण हुनेछ । टक्सार विभागको १२ रोपनी जमिन भने धरहरामा नसमेटिने भएको हो । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ । ११ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । सुुन्धारा क्षेत्रलाई पुननिर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा सामान्य कफि सप, लाईब्रेरी जस्ता व्यवसाय भने सञ्चालन हुनेछन् । ढलेको धरहरा काँचको पर्दामा प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने योजना बनाएको छ । त्यसमा सर्वसाधारणले भित्रै प्रवेश गरेर हेर्न भने सक्नेछन् । मैँ बनाउँछु धरहरालाई ९ करोड तत्कालिन केपी ओली सरकारले सुरु गरेको मैँ बनाउँछु धरहरा अभियानमा हालसम्म ९ करोड रुपैयाँ संकलन भएको छ । त्यस बाहेक नेपाल टेलिकमले पुर्व प्रतिवद्धता अनुसार उपलब्ध गराउने एक अर्ब रुपैंयाँ पनि धरहरा निर्माणमा खर्च गरिनेछ ।
एमएडब्लु अर्थमुभर्स जेसीबीको नं १ डिलर बन्न सफल, सबैभन्दा बढी निर्माण उपकहरणहरुको बिक्री
काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नं १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स नं १ डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लुले दुई हजार एक सय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको बिक्री गरेको थियो । यो उपलब्धीसँगै एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामा सर्वोत्कृष्ट र विश्वमा दोस्रो सर्वोत्कृष्ट डिलर बनेको छ । एमएडब्लु जेसीबीको ‘क्लब २०००’ को पहिलो सदस्यसमेत बनेको छ । जेसीबी इन्डियाको कुनै पनि डिलरले एक वर्षमा दुई हजार वटा मेसिन विक्री गरेको यो पहिलो अवसर हो । जेसीबी इन्डियाले मंगलबार एक समारोहमा एमएडब्लुलाई यो सफलताका लागि सम्मान गरेको छ । कार्यक्रममा जेसीबी इन्डियाका सीइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरेका छन् । यसका साथै, एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर बिक्री गर्न सफल डिलरसमेत बनेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो । बेलायत, जर्मनी, अमेरिका, अस्ट्रेलिया र भारत लगायतका देशमा रहेका २२ वटा प्लान्टबाट जेसीबीले तीनसयभन्दा बढी प्रकारका निर्माण र हेभि उपकरणको उत्पादन गर्दै आएको छ । विश्वको तेस्रो ठूलो निर्माण उपकरण निर्माता जेसीबीका मेसिनहरु संसारको एकसय ५० वटा मुलुकमा प्रयोग गरिन्छन् । साथै, जेसीबीले आफूलाई चाहिने इन्जिन, एक्सल, च्यासिस, क्याबिन, हाइड्रोलिक र ट्रान्समिसन आफैंले उत्पादन गर्दै आएकाे छ भने ‘रिसर्च एन्ड डेभलपमेन्ट’को क्षेत्रमा वार्षिक लाखौं डलर खर्च गर्दै आएको छ ।
फेवा ताल संरक्षणको काम शुरु
पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पाहारिले फेवा ताल संरक्षणको काम शुरु भएको घोषणा गरेका छन् । पाहारिले बुधबार पोखरामा विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उक्त ताल संरक्षण गर्ने कुरा बताएका हुन् । फेवाको आकार बढाउने काम सपथ लिएको एक हप्तामा शुरु गर्ने बताएका पहारीले केहि पेपर र कानुनी प्रक्रिया शुरु भएको बताएका छन् । उनले स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारसँगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब पहिलेकै फेवा बनाउने बताए । साथै, उनले अब हुने प्रदेश संसद्को पहिलो बैठकमा आफुले फेवाताल संरक्षण सम्बन्धि अति जरुरि सार्बजनिक महत्वको प्रस्ताब दर्ता गर्ने बताएका छन् । सो प्रस्ताव दर्ता पछी अझ बढी काम गर्ने फराकिलो बाटो बन्ने बताउँदै कुनै राजनीतिक एवम् अन्य आग्रह पूर्वाग्रह बिना सो कार्य सम्पन्न गराएरै छाड्ने पाहारिले बताए ।
बैंकिङ प्रणालीमा तरलता कम भएपछि बिहीबार राष्ट्र बैंकले बजारमा ५ अर्ब पठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता कम भएपछि नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितो लिएर बजारमा थप पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर २२ अर्ब रुपैयाँमा झरेपछि बिहीबार पैसा पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारमा पठाउने पैसा बैंकको तरलता व्यवस्थापनलाई मात्र हो । यसलाई निक्षेपको रुपमा गणना गरेर कर्जा लगानी गर्न पाइन्दैन् । यसअघि राष्ट्र बैंकले ३ पटक गरेर ३५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैक तथा वित्तीय संस्थाले २८ अर्ब रुपैयाँ मात्र लिएका थिए । चालु आर्थिक वर्षको ६ महिनामा प्रकाशित बैंकको वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात ७९ प्रतिशत हारहारीमा पुगेको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएको छ । केही बैंकले कर्जा दिन बन्द गरेका छन् । बैंकले लगानीको तुलनामा निक्षेप बढाउन सकेका छैनन् । यस्तै अन्तर बैंक ब्याजदर बढेर ४.७ प्रतिशत पुगेको छ । एक साताअघि ३ प्रतिशतको हारहारीमा रहेको अन्तर बैंक ब्याजदर बढेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल भएपछि राष्ट्र बैंकले डेढ महिनादेखि रिपोमार्फत बजारमा पैसा पठाउन पाएको छैन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्रीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ । निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ ।