मञ्जुश्री फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । धितोपत्र बोर्डले मञ्जुश्रीलाई १ सय बराबर ५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन मञ्जुश्रीले ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।
३ लाख भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने
काठमाडौं । ३ लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने भएका छन् । २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि दोश्रो किस्ताका लागि आवेदन दिनै पर्ने व्यवस्थाका कारण तीन लाख भन्दा बढि भूकम्प पीडित दोश्रो किस्ता पाउनबाट बञ्चित भएका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २०७४ कात्तिक २९ गते बसेको प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति बैठकले पुस मसान्त भित्रै दोश्रो किस्ताका लागि आवेदन नदिए प्रक्रियाबाटै बाहिरीनुपर्ने निर्णय गरेको थियो । प्राधिकरण श्रोतका अनुसार २०७३ पुस मसान्त अघि ५ लाख भन्दा बढि भूकम्प पीडितले पहिलो किस्ता रकम लिईसकेका थिए । हाल पहिलो किस्ता लिनेहरुको संख्या ६ लाख ६९ हजार ५ सय ४२ पुगेको छ । हालसम्म करिब एक लाख ५० हजार भूकम्प पीडितले मात्रै दोश्रो किस्ता लिएका छन् । करिब ५० हजार ७ सय ९८ भूकम्प पीडितले दोश्रो किस्ता पाएका छन् । दोश्रो किस्ताका लागि आवेदन दिनेहरुको संख्या जम्मा २ लाख २० हजार ३ सय ९५ रहेको छ । प्राधिकरणको सो निर्णय नसच्चिए तीन लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता पाउने छैनन् । ‘पुननिर्माणको आफ्नै गति छ, समय सिमा पनि छ, पहिलो किस्ता लिएर घरको जग समेत नहाल्नेहरुलाई सधैभरी कुरेर बस्न सकिँदैन, त्यसैले सिमा तोकेर दोश्रो किस्ताका लागि आव्हान गरेका थियौं, सो अवधीमा धेरै प्रगति भएको छ’, प्राधिकरणका सहायक प्रवक्ता डा. भिष्म कुमार भुषालले विकासन्युजसँग भने । उनले वृद्ध वृद्धा मात्रै रहेको परिवार, अपांगता भएको परिवार र सरकारी ढिला सुस्तीका कारण दोश्रो किस्ताका लागि आवेदन दिन नपाएकाहरुका लागि भने सोच्न सकिने बताए । तर पैसा लिएर पनि घर निर्माणको कुनै काम अघि नबनाउनेहरुका लागि भने केहि गर्न नसकिने उनले बताए । ‘पैसा लिएर घर नबनाई सुतेर बस्नेहरुलाई प्राधिकरणले कुरेर बस्न सक्दैन्, यद्यपी अन्तिम पटकलाई भनेर थोरै समय थपिन पनि सक्छ, तर त्यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा पुनः निर्देशक समितिको बैठक बस्नु पर्छ’, प्रवक्ता भुषालले भने ।
ग्लोबल आइएमई बैंकको गुल्मीमा थप २ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि गुल्मीमा दुई वटा शाखा रहित बै्रकिङ सेवा सुरु गरेको छ । जिल्लको मुसीकोट नगरपालिकाको आँपचौर र भुवाचिदीमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । शाखारहित बैकिङ्ग सेवाहरुको समुद्घाटन मुसीकोट नगरपालिकाको मेयर सोमनाथ सापकोटाले उद्घाटन गरेका थिए । आँपचौरमा खोलिएको सेवाको लागि स्थानिय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि स्थानिय सागर सापकोटा व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । ग्लोबल आइएमईले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग पहुँच पु¥याउन ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर सेवा सञ्चालन गरिरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग, मोबाइल बैंकिंङ्ग, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
फोर्डको कारमा अधिक मूल्य निर्धारणा, तीन दिनभित्र प्रष्ट पार्न विभागको निर्देशन
काठमाडौ। फोर्डको १. ५ लिटर क्षमताको पेट्रोलबाट चल्ने इकोइकोस्पोर्ट गाडीकाे मूल्यमा कैफिएत भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत रामेशकाजी श्रेष्ठको नेतृत्व गएको अनुगमन टोलिले फोर्डको गाडी इकोस्पोर्टमा कैफियत भेटेको हो । टोलिले मंगलबार काठमाडौं स्थित फोर्डको आधिकारीक बिक्रेता जिओ अटोमोबाइल्स प्रालि थापाथलिमा अनुगमन गरेको थियो । अनुगनको क्रममा उक्त ‘एचआर–६४६०० इञ्जीन भएको गाडीको मूल्य सूचिमा भ्याटबाहेक २२ लाख ५८ हजार रुपैयाँ रहेकोमा करबाहेक २४ लाख ८६ हजार रूपैयाँमा बिक्री गरेको फेला पारेको थियो । साथै सोही गाडीको बिक्री मूल्य २८ लाख २३ हजार रुपैयाँ राखेर ३ लाख ३६ हजार रुपैयाँ छुट दिएको पाइएको छ । ती सम्पूर्ण रकमको बारेमा सोध्दा कम्पनीले प्रष्ट पार्न नसकेपछि तीन दिनभित्र प्रष्ट लिखित जवाफ विभागमा पेश गर्न अनुगमन टोलीका संयोजक श्रेष्ठले निर्देशन दिए । ‘ग्राहकहरुको उजुरिको आधारमा पछिल्लो समय विभागले विभिन्न गाडी बिक्रेता कम्पनीहरुको अनुगमन तिब्र पारेको छ,’ उनले भने ‘यो अभियानलाई निरन्तरता दिने छौं ।’ उनले कैफियत भेटिएको गाडी कम्पनीहरुको विभिन्न चरणमा अनुसन्धान गरिने बताए । ठगि गरेको स्पष्ट प्रमाण जुटेमा सिधै प्रहरी प्रशासनमा अनुसन्धानको लागि फाइल दर्ता गराउने उनको भनाइ छ ।
अरुण फाइनान्सको सञ्चालकमा तीन जना चयन
काठमाडौं । अरुण फाइनान्स लिमिटेडको सञ्चालकमा तीन जना चयन भएका छन् । गत पुस २७ गते सम्पन्न संस्थाको २१औँ वार्षिक साधारणसभाले फाइनान्सको सञ्चालकमा अम्बिका प्रसाद पौडेल, प्रकाश तिवारी र लिलानाथ ढकाललाई चयन गरेको हो ।
अन्नपुर्ण संरक्षण क्षेत्रमा ६.६ मेगावाटको गाच्र्याङ्ग खोला जलविद्युत आयोजना बन्ने
काठमाडौं । अन्नपुर्ण संरक्षण क्षेत्रको ८.२६ हेक्टर जमिन प्रयोग गरी गाच्र्याङ्ग खोला जलविदुयत आयोजना निर्माण हुने भएको छ । सिटिजन हाइड्रोपावर प्राइभेट लिमिटेडले कास्कीमा ६.६ मेगावाट क्षमताको गाच्र्याङ्ग खोला जलविदुयत निर्माण गर्न लागेको हो । आयोजनाको विद्युतगृह कास्कीको नामार्जुन गाउँ विकास समितिमा हुनेछ । विद्युतगृह २० मिटर लम्बाई, १० मिटर चौडाई र १० मिटर उचाई हुने कम्पनीले जनाएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ को दफा ६ बमोजिम वातावरणीय प्रभाव मुल्याङ्ककनको लागी सूचना समेत जारी गरेको छ । सूचना अनुसार आयोजनाबाट कास्की जिल्ला साबिककोे नामार्जन गाउँ विकास समिति प्रभावित बन्नेछ । सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा संस्थाको ठेगानामा पुग्ने गरी लिखित राय तथा सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ ।
नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार मात्रै नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएकाे छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४५ रुपैयाँ रहेको छ ।
सानिमामाई हाइड्रोपावरको सेयर मूल्यमा निरन्तर गिरावट, यस्तो छ कारण
काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य निरन्तर घट्दै गएको छ । सेयर मूल्य घट्दै गएपनि दुई सातादेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सबैभन्दा बढी सेयर कारोबार सानिमामाईको नै भइरहेको छ । गत वर्षको चैतको दोस्रो साता सानिमाको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २३९ रुपैयाँ पुगेको थियो । त्यसपछि सेयर मूल्य लगातार घट्दै आएको छ । मूल्य समायोजन भएपछि १ हजार १०५ बाट घटेर ६१५ मा झरेको थियो । मूल्य समायोजनपछि लगानीकर्ताले झण्डै २ सय रुपैयाँ गुमाएका छन् । गत पुस १८ गते प्रतिकित्ता ५ सय रुपैयाँमा कारोबार भएको सानिमाको सेयर मूल्य लगातार घट्दै गएर मंगलबार प्रतिकित्ता ४२३ रुपैयाँमा झरेको छ । गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी जलविद्युत आयोजनामा लगानी गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । कम्पनीले गत आवमा २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट लगानीकर्ताले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि कम्पनीले १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । सबैभन्दा बढी कारोबार भएपनि यस हाइड्रोको सेयर मूल्य भने निरन्तर ओरालो लागेको छ ।