नेप्से परिसूचक १४ सय अंक तल, उत्पादनमूलक बाहेक सबै समूह राताम्मे
काठमाडौं । मंगलबारको नेप्से परिसूचक १४ सय अंकबाट तल झरेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको परिसूचक मंगलबार झण्डै दोहोरो अंकले ओरालो लागेको छ । समग्रमा मंगलबारको परिसूचक ९.०५ अंकले झरेर १३९३.०४ अंकमा अडेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन कुल १५५ कम्पनीका ३२ करोड २६ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको २ करोड ९२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८७ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर र होटल समूह दोहोरो अंक अर्थात क्रमशः २९ र ३७ अंकले घटेका छन् । सो दिन उत्पादनमूलक समूह भने सोमबारको तुलनामा स्थिर रहेको छ । बजारमा सबैभन्दा बढी फष्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस संस्थाका लगानीकर्ताले मंगलबार मात्रै ५.४१ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् ।
आशा लघुवित्तको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार ३६ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्र चितवनको विरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावको समिक्षा, प्रगति र व्यक्तित्व विकासको विषयमा छलफल भएको छ । सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा, दिपेन्द्र खनाल, सुजित खतिवडा, अशोक कोईराला र सुशिल पौडेलले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका हुन् । कार्यक्रममा प्रभु मनी ट्रान्सफरका संजय थापाले वर्तमान स्थीतिमा ग्रामिण जनता समक्ष मनी ट्रान्सफरले दिएको सेवाको बारेमा समेत छलफल गरेका थिए ।
३ वर्षमा नाफा ३ सय प्रतिशत बढाउने नेको इन्स्योरेन्सको योजना
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आउदो ३ वर्षमा नाफा ३ गुणा बढाउने भएको छ । कम्पनीले आउदो आर्थिक वर्ष ०७६/०७७ मा नाफा ३ सय प्रतिशत बढाएर ५९ करोड ७० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा उसले २० करोड ८५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । चालु आवमा कम्पनीले नाफालाई बढाएर ३२ करोड ४१ लाख, आव ०७५/०७६ मा ४५ करोड ९ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण सार्वजनिक गरेको छ । कम्पनीको नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ७४ पैसा पुर्याउने लक्ष्य लिएको छ । गत आवमा कम्पनीको ईपीएस २९.२५, आगामी वर्ष २७.५६ र आव ०७५/०७६मा ३३.३४ रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ । यस्तै नेकोको आम्दानी पनि बढेर ३ वर्षमा ९६ करोड ४१ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गत आवमा कम्पनीले ३७ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढेर ५४ करोड ४३ लाख, आगामी वर्ष ७४ करोड ५६ लाख रुपैयाँ पुग्ने छ । जगेडा कोष बढेर ३३ करोड ३१ लाख रुपैयाँ पुर्याउने उसको लक्ष्य छ । यसैगरी नेकोले बीमा शुल्क आर्जन बढाएर १ अर्ब ४८ करोड रुपैयाँ पुर्याउने भएको छ । गत आवमा कम्पनीले ७४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चालु आवमा बढाएर ९४ करोड ९३ लाख र आगामी वर्ष ०७५/०७६ मा १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७१ करोड २८ लाख रुपैयाँ छ । आगामी ३ वर्षमा यसलाई बढाएर १ अर्ब ५५ करोड रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ । चुक्तापुँजी बढाउन नेकोले आउदो माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।
आइएमईका १० व्यवसायीक साझेदार युएई भ्रमणमा
काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १० व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । आइएमईले गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोबारका आधारमा आफ्ना साझेदारहरुलाई उक्त भ्रमण गराएको हो । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गीकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट एक/एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो । त्यस्तै, गत मंसिरमा आफ्ना दशजना व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुर पश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखी व्यापार प्रवद्धनात्मक कार्यक्रम अन्तर्गत दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो । यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका सहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आइएमई सेन्टर सञ्चालनमा ल्याएको छ । साथै, सातै वटा प्रदेश र ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिटेन्स सेवा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा, निर्माण लागत ३८ करोड रुपैयाँ
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिएका छन् । “दक्षिण एशियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा बनाउँदै अरु कसैले बनायो भने मात्र हो नत्र हामी नै हौँ पहिलो”, उनले भने । मुलुकको मौसमी सूचना प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन अत्याधुनिक भवन बनाइएको महानिर्देशक शर्माको भनाइ छ । चार रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनमा बढीभन्दा बढी सौर्य ऊर्जा प्रयोग गरिनेछ । ‘एयर टनेलिङ’ को व्यवस्था गरिने हुँदा यसले भवनको प्रत्येक कोठाको तापक्रम एउटै बनाउन मद्दत गर्छ । सामान्यतः वायुमण्डलमा तापक्रमको घटबढ असाध्यै धेरै हुन्छ । जमिनको पाँच/दश मिटर तलतिर जाँदा तापक्रमको भेरिएसन बिहान, दिउँसो र राति त्यति धेरै हुँदैन । महानिर्देशक शर्माले भने, “अहिले बनाउन खोजिएको जमीनको तापक्रम सबै कोठामा पुर्याइनेछ, किनकि त्यहाँको हावा धेरै तातो पनि नहुने, धेरै चिसो पनि नहुने हुँदा त्यो हावा माथि पठाउँदा कोठाको तापक्रम बाहिरको जस्तो नभएर चिसोमा तातो र तातोमा चिसो हुन्छ । यसले एयर कण्डिसन (एसी) लगाउन नपर्ने हुँदा ऊर्जा बचत हुने भएकाले हामीले वातावरणमैत्री भनेका हौँ ।” भवनमा मौसमी सूचना प्रवाह गर्न अत्याधुनिक मौसमी टिभी स्टुडियो, मौसमी उपकरण गुणस्तर मापनको प्रयोगशालालगायत अन्य थुप्रै प्रयोगशाला रहनेछ । विभागका अनुसार हाल भवनको करिब ४० प्रतिशत काम सकिएको छ । दशतले र पाँचतले दुई भवनमध्ये पाँचतले भवन ढलान भइसकेको छ । एक वर्षअघि शुरु भएको भवन निर्माण अबको करिब एक वर्षभित्रै सकिने महादिर्नेशक शर्माले बताए । नेपाली ठेकेदार कम्पनीबाटै निर्माण भइरहेको भवनको कूल लागत मूल्यअभिवृद्धि करसहित रु ३८ करोड हुनेछ । भवन बनेपछि विभागले हाल भाडामा प्रयोग गरिरहेको कामपा-१ नागपोखरीको केन्द्रीय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखालाई बबरमहलमै सारेपछि मौसमी गतिविधिसम्बन्धी सबै काम नयाँ भवनबाटै हुन्छ । विभागका हाल देशभर ठूला छ कार्यालय धरान, विराटनगर, नारायणगढ, पोखरा, सुर्खेत र नेपालगञ्जमा छन् भने १५ एकाइ कार्यालय छन् । विभागले मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित सुर्खेत, पाल्पा र उदयपुरमा अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया थालेको छ । मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभागले आगामी फागुनमा मौसम मापन गर्ने मौसमी बेलुन उडाउने तयारी गरेको छ । यसबाट विश्वको मौसम पूर्वानुमानलाई नेपालको तथ्यांक पनि प्रयोग गरेर सही मौसम पूर्वानुमान गरिनेछ । रासस
हिमालयन बैंकद्धारा पाटन दरवार क्षेत्रको पुनर्निर्माणमा १ करोड सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । २५औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्रष्टलाई सो मात्राको सहयोग प्रदान गरेको हो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहितकुमार रन्जितकारलाई ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण गरेका हुन् ।
५० प्रतिशत हकप्रद पछि फष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५० प्रतिशत हकप्रद सेयर पछि यस फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ।
सगरमाथा सेक्यूरीटीजकोे सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबारदेखि तीन दिन सगरमाथा सेक्यूरीटीज प्राइभेट लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त सेक्यूरीटीजकोे कारोबार रोक्का गरेको हो । बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस सेक्यूरीटीजको कारोबार खुला हुने छ ।