विकासन्युज

स्वदेशी उत्पादनको वृद्धिमा जोड दिनु पर्दछ-चन्द्रप्रसाद ढकाल

पोखरा । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको वृद्धि गर्नुपर्ने बताएका छन् । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७४ लाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले सो भनाई राखेका हुन् । ४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नेपालको नीजि क्षेत्र तयार रहेको जानकारी गराएका छन् । मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको अनुभव नेपालको नीजि क्षेत्रले पनि गरेको बताएका छन् । आइएमई ग्रुप एक व्यवसायीक संस्था हो । यसले रेमिटेन्स, बैंकिंग, सूचनाप्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।  

चिसोका कारण आलु बालीमा रोग, करिब ४० देखि ५० प्रतिशतसम्म आलुखेती सखाप

इनरुवा । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताए । सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलुबालीमा डढुवा रोग देखिएको छ । किसानले ऋण काढेर लगाएको आलुखेतीमा पुसको पहिलो साताबाट शुरु भएको शीतलहरका कारण डढुवा रोग देखापरेको छ । किसानले रोपेको बीउसमेत उठ्न नसक्ने अवस्था छ । शीतलहरका कारण आलु सुक्ने, कम फल्ने, आलुको लहरा गल्नेलगायत लक्षण देखापर्न थालेको रफिद अन्सारीले बताए । जिल्ला कृषि विकास कार्यालयले कार्यक्रम बजेट स्थानीय तहमा गएका कारण प्राविधिक सहयोग मात्र गर्न सक्ने जनाएको छ । सुनसरीमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । चिसोका कारण करिब ४० देखि ५० प्रतिशतसम्म आलुखेती सखाप भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत दीपेन्द्र पोखरेलले बताए । रासस

मूल्य बढ्दा पनि सिमेन्ट र डण्डीको अभाव कायमै, उद्योगीले किन रोके आपूर्ति ?

काठमाडौं । अहिले बजारमा सिमेन्ट र डण्डीको भाउ अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्य बढेको भन्दै निर्माण सामाग्री उद्योगी तथा व्यवसायीहरुले सिमेन्ट, डण्डी लगायतको भाउ ह्वात्तै बढाएको हो । मूल्य बढाउँदा पनि सिमेन्ट र रड लगायत निर्माण सामाग्रीको चरम अभाव रहेको निर्माण व्यवसायीहरुले बताएका छन् । कति बढ्यो भाउ ? निर्माण व्यवसायीहरुका अनुसार अहिले २ सय रुपैयाँसम्म प्रतिबोरा सिमेन्टको मुल्य बढेकोे छ । त्यस्तै प्रतिकिलो १५ देखि ३० रुपैयाँसम्म डण्डीको भाउ बढेको छ । बजारमा सिमेन्ट र डण्डीको भाउ बढेतापनि अहिलेको जस्तो निर्माण कार्यको महत्वपूर्ण सिजनमा निर्माण सामाग्रीको अभावको मार खाइरहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । किन रोकियो आपूर्ति ? महासंघका अध्यक्ष विष्णु भाई श्रेष्ठले पछिल्लो समय पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढेको मौका छोपेर सिमेन्ट उद्योगी तथा डण्डी व्यवसयीहरुले सिमेन्ट/डन्डी लगायत निर्माण सामाग्रीहरुको भाउ बढाएको आरोप लगाएका छन् । ‘अन्तर्राष्ट्रि बजारमा सिमेन्ट लगायतको कच्चा पदार्थको मूल्य बढेको छैन,’ उनले भने ‘भारतमा थोरै पेट्रोल र डिजेलको मूल्य बढेको छ । त्यसले खासै असर गर्दैन ।’ किनभने नेपालमै सिमेन्टको कच्चा पदार्थ करिब ७५ प्रतिशत उत्पादन हुनेगरेको उनको भनाइ छ । उनका अनुसार अहिले सिमेन्टमा ११५ रुपैयाँ भने डण्डीमा प्रतिकिलो १५ देखि ३० रुपैयाँसम्म बढेको छ । ‘साथै अहिले बजारमा ती सामाग्रीहरुको चरम अभाव छ,’ उनले थपे ‘निर्माण कार्यको लागि आवश्यक पर्ने ३० प्रतिशत मात्र सिमेन्ट र रड उपलब्ध छ ।’ ७० प्रतिशत अभाव रहेको उनले बताए । अहिले निर्माण कार्यको पिक आवरमा मौका छोपी उद्योगीहरुले कृतिम अभाव सिर्जना गरी कालोबजारी गरेको महासंघका अध्यक्ष श्रेष्ठले आरोप लगाए । बढेको मूल्य कायम रहने र यस्तै अभाव हुने हो भने समयमा निर्माण कार्यसम्पन्न नहुने उनको चेतावनी छ । त्यस्तै विकोइ विल्डर्स प्रालीका प्रबन्धक निर्देशक हुमनाथ कोइरालाले बजारमा मूल्य वृद्धि भएपनि सिमेन्ट, दण्डी जस्ता अत्यावश्यक निर्माण सामाग्री पाउन नसकेको दुखेसो गरे । ‘सिमेन्ट पूसयता मात्रै बोराको २ सय रुपैयाँसम्म बढेको छ । ढुवानीमा समेत बोरामा(हेटौंडा-काठमाडौं) ५० रुपैयाँ बढेको छ,’ उनले भने ‘त्यतिका मूल्य बढ्दा समेत सामान पाइएको छैन ।’ उनले मूल्य बढेसँगै निर्माण कार्यको लागत पनि करिब १५ प्रतिशत बढ्ने जनाए । काठमाडौं भ्यु टावर निर्माण गरिहेका सञ्चालक भैरव भेटवालले पनि केही हप्ता अघिसम्म दैनिक ५ गाडी सिमेन्ट आउने गरेकोमा अहिले मुस्किलले २ गाडी ल्याइएको बताए । सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थ बढेकोले सिमेन्टको भाउ बढाउन परेको बताए । ‘पहिले ७५ डलर पर्ने कच्चा पदार्थ अहिले ११५ डलर पुगेको छ,’ उनले भने ‘साथै ढुवानी भाडा पनि बढेको छ ।’ त्यस्तै उनले अघोषित रुपमा घन्टौै लोडसेडीङ हुने गरेको उद्योगहरुमा घोषित रुपमा ६ घन्टा लोडसेडिङ भइरहेकोले उद्योगहरुको लागत बढेकोले सिमेन्टको मूल्यमा असर परेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष वर्खा र हिउदमा सिमेन्टको मूल्य १०० रुपयाँ घटबढ हुने गर्छ । वर्खामा करिब सय रुपैयाँ कम हुन्छ भने हिउँदा सय रुपैयाँ मूल्य बढ्ने गरेको छ । सरकारी स्वामित्वका उद्योगहरुले समेत सिमेन्टको भाउ बढाएको छ । ‘दुई हप्ता अघिदेखि विरगन्जमा क्लिङकर आउन बन्द भएको छ,’ उनले भने ‘ क्लिङकर नआउने हो भने विरगन्ज क्षेत्रका सबै सिमेन्ट उद्योगहरु बन्द हुनेछ ।’

डेरी एशोसिएशनको एजेन्डा, भवन निर्माणदेखि प्रतिपरिवार गाई उपलब्ध गराउनेसम्म

काठमाडौं । नेपाल डेरी एसोशिएसनको १९ औं वार्षिक साधारण सभा एवं ७ औं राष्ट्रिय महाधिवेशन संघारमा आइपुगेको । उक्त सभामा मुलुकमा दुधको माग पुरा गर्न र किसानहरुलाई व्यवसायमा टिकाई राख्न भुकम्प प्रभावित क्षेत्रमा प्रतिपरिवार एक गाई वा भैंसी उपलब्ध गराने प्रस्ताव गर्ने भएको हो । सो प्रस्ताव पुनर्निमाण प्राधिकरण समक्ष राख्ने एशोसिएशनका अध्यक्ष सुमित केडियाको भनाइ छ । त्यस्तै, सभामा नेशनल डेरी रिसर्च इन्स्टिच्युटको स्थापना नेपालको पहिलो डेरी स्थापना भएको काभ्रेको नाला, टुसालमा गर्न पर्ने प्रस्ताव समेत गरिने भएको छ । एशोसिएशनका अनुसार बाँकी प्रस्तावहरुमा स्वच्छ दुध उत्पादनको लागि कृषकसँग सहकार्य गर्ने, दुधको उपभोग बढाउन आर्मी र पुलिसको रासनमा स्वदेशी दुध, दुग्धजन्य पदार्थ अनिवार्य गरिनुपर्ने रहेको छ । साथै, एशोसिएशनको भवन निर्माण, घरेलु, साना, मझौला र ठूला डेरी उद्योगहरुको लागि स्तरोन्नतीको लागि पहल गरिने लगायतका प्रस्तावहरुहरु पनि राखिने बताइएको छ । अहिले मुलुकमा १५ अर्वभन्दा बढी दुग्ध क्षेत्रमा उद्योग स्तरको लगानी रहेको छ । ४८ लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ । जसमा ४ लाख ५० हजार कृषक परिवार यस क्षेत्रको रोजगारीमा आवद् छन् भने २० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाइरहेको एशोसिएशनले जनाएको छ ।

करेण्ट मनोरञ्जन मेला पुस २९ गते झापामा हुँदै

काठमाडौं । करेण्ट तयारी चाउचाउ, यशोदा फुड्स प्रालि अन्तर्गतको ब्राण्डले करेण्ट मनोरञ्जन मेलाको आयोजना गर्ने भएको छ । मेला सुगम पेट्रोल पम्प बिर्तामोड झापामा पौष २९ गते दिउँसो १२ बजेदेखि सञ्चालन हुने आयोजकले बताएका छन् । मेलामा प्रवेश निःशुल्क गरिएको छ । मेलामा प्रसिद्ध लोकप्रिय गायकहरु राजेश पायल राई, सविन राई तथा गायिका मिलन अमात्य र डिल्ली फोम्बोको साथ बिमोक्स ब्यान्डले आफ्नो रोचक प्रस्तुति पस्कने विज्ञप्ति मार्फत जानकारी दिइएको छ । साथै, लोकप्रिय हाँस्य कलाकार जितु नेपाल, श्रीकृष्ण लुईंटेल र एभरेष्ट क्रु लगायत अन्य थुप्रै कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक प्रस्तुतिका साथ सहभागिलाई मनोरञ्जन प्रदान गर्नेछन् । मेलामा उपस्थितहरुको मनोरञ्जनका लागि मेला स्थलमा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि समेतको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

धुर्मुस-सुन्तली फाउन्डेशनद्धारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण

राजविराज । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस-सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्धारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताए । तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्याङ्केट वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । यस्तै शीतलहरबाट प्रभावित सप्तरीको विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए । सप्तरीमा चिसोबाट मृत्यु हुनेको सङ्ख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म आठ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । रासस

हिमालयन बैंकद्धारा ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकालाई सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तथा बैंकको २५औं वार्षिकोत्सवको सन्दर्भमा नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त चिल्ड्रेन होमका २१ जना बालबालिकाहरुलाई लुगा (ट्रयाक सुट) तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् ।  

समृद्धिको आधारः अप्टिकल फाइबर मार्फत इन्फरमेशन सुपर हाइवे

काठमाडौं । संसारभर ई कमर्श, ई एजुकेशन जस्ता नयाँ अवधारणाको विकास तिब्रगतिमा भैरहेको छ । यसलाई विकास र समृद्धिको नयाँ आधारका रुपमा पनि व्याख्या गरिन्छ । नेपालले पनि ई कमर्श र ई एजुकेशन मार्फत समृद्धि प्राप्त गर्ने अभियानलाई द्रुतगतिमा अघि बढाएको छ । आगामी २ वर्षभित्रै देशभर देशैभर उच्च क्षमताको अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न हुँदैछ । यसले डिजिटल नेपाल निर्माणको आधार तयार गर्नेछ । नेपाल दुर सञ्चार प्राधिकरणले ९ अर्ब ८९ करोड रुपैंयाँ खर्च गरेर डिजिटल नेपाल निर्माणको आधारका रुपमा इन्फरमेशन सुपर हाइवे तयार गर्न काम अघि बढाईसकेको छ । प्राधिकरणले मध्य पहाडी लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी बाडफाँट गरिसकेको छ । त्यस्तै ७५ वटै जिल्ला सदरमुकामहरुले ४८ कोर क्षमताका अप्टिकल फाइबर बिछ्याइदैछ । प्राधिकरणले नेपाल टेलिकमलाई ४ अर्ब ८८ करोड(कर बाहेक) को अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी दिएको छ । टेलिकमले १, २ र ३ नम्बर प्रदेशमा अप्टिकल फाइबर बिछ्याउनेछ । टेलिकमले आफ्नो भागमा परेको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन टेण्डर प्रक्रिया अघि बढाईसकेको छ । युटिएलले २ अर्ब १ करोडमा प्रदेश ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी पाएको छ । प्रदेश ६ र ७ मा स्मार्ट टेलिकमले ३ अर्ब ९४ करोडको ठेक्का हात पारेको छ । यी तीनै कम्पनीहरुले ठेक्का पाएको २ बर्षभित्र अप्टिकल फाइबर बिछ्याईसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ‘टेलिकमले ठेक्का प्रक्रिया अघि बढाएको छ, अरु कम्पनीले भने काम सुरु गरिसकेको बताएका छन, ठेक्का पाएको २ बर्षमा काम सक्नुपर्ने व्यवस्था छ’, प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने । जिल्ला सदरमुकामहरुमा २४ वा ४८ कोरका अप्टिकल फाइबर जडान हुनेछन् । सरकारी स्कुल, उच्च मावी र माबीमा ५१२ केबिपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सुबिधा पुर्याउन दोश्रो चरणको काम पनि अघि बढिसकेको उनले बताए । १८ वटा प्याकेजमध्ये ४० वटाको सम्झौता भैसकेको छ । ३५ वटा प्याकेजको टेण्डर डकुमेन्ट तयार भैरहेको प्रवक्ता अर्यालले जानकारी दिए । २०१६ को ग्लोबल आइसीटी इन्डेक्समा नेपाल १४२ औं स्थानमा रहेको छ । आगामी २ बर्षपछि यसमा उल्लेख्य सुधार गर्ने योजना बनेको पनि उनले बताए । ग्लोबल आइसीटी इन्डेक्समा दक्षिण कोरिया पहिलो नम्बरमा रहेको छ । अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएपछि डीजीटल नेपाल निर्माणको अभियानमा उल्लेख्य सहयोग पुग्ने पनि उनले बताए । ‘आइसीटी पोलिसी, टेलिकम पोलिसीहरुले शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटनमा आईसीटीको उपयोग गरेर समद्धिको ढोका खुल्ला गर्न सकिन्न भन्ने स्थापित भैसकेको छ, अब हामी पनि त्यहि बाटोमा अघि बढिसकेका छौं’, अर्यालले भने । दिगो विकासका लक्ष्य पुरा गर्न पनि आइसीटीलाई उपयोग गर्नैपर्ने अवस्था रहेको अर्यालले बताए ।