विकासन्युज

यस वर्ष जीवन बीमा कम्पनीको बजार ५० प्रतिशतले विस्तार हुन्छ-मनोजकुमार लाल कर्ण

यस वर्ष ९ वटा जीबन बीमा कम्पनीहरु सञ्चालनमा आएका छन् । त्यसमध्ये एक हो यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । असोज ६ गते सञ्चालनमा आएको यो कम्पनीको अधिकृत पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ । त्यसमा संस्थापकहरुको लगानी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ भने सर्ब साधारणको लागि ६४ करोड ५० लाखको सेयर निष्काशन गर्दैछ । प्रस्तुत छ बीमा बजारको विकास र लगानीको प्रतिफलबारे यूनियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णसँग गरिएको विकास वहस । मनोज कुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत–यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तपाईको आफ्नै समिक्षामा नयाँ कम्पनीहरुमध्ये यूनियन लाइफ कुन पोजिशनमा छ ? पहिलो, दोस्रो वा तेस्रो भन्नेतिर हामी छैनौ । हामी धेरै भन्दा धेरै मानिसको आर्थिक जीवनको सुरक्षा गर्न चाहान्छौं । हामीले ७ प्रकारका जीवन बीमा पोलिसी जारी गरिरहेका छौं । नयाँ पोलिसीहरु बनाउनेतर्फ काम भईराखेको छ । लघुबीमा, म्यादी बीमा, सावाधिक बीमा, बालबालिका बीमा, लिमिटेड पेमेन्ट पोलिसी सञ्चालनमा छन्, जुन बजारमा अरुले पनि ल्याएका छन् । त्यसबाहेक हामीले ‘मनिव्याक होल लाइफ पोलिसी’ ल्याएको छौं । यो पोलिसी पुरै नयाँ छ र अरु भन्दा धेरै फरक छ । ७० वर्षसम्म एक्सिडेन्टल कभर हुन्छ । ९९ वर्ष पुरा भएपछि फेरी हामी होल सम इन्स्योर भुक्तानी गर्छौ । सामान्यतय मानिसहरुको कति रकमको जीवन बीमा गर्छन ? पहिला १/२ लाख रुपैयाँ कुल बीमा रकमको मात्र जीवन बीमा हुन्थ्यो । अहिले १०/१५ लाख रुपैयाँको बीमा सामान्य भईसक्यो । ५० लाख, एक करोड, दई करोडको बीमा गर्ने अभ्यास पनि शुरु भईसक्यो । सामान्यतया अभिकर्ताले हजुवाको भरमा २ लाख वा ५ लाख वा १० लाखको बीमा गर्न सुझाव दिन्छन् । त्यो गलत तरिका हो । हुनुपर्छ के भने–वार्षिक आम्दानीको १० गुणासम्म कुल बीमाङ्कको बीमा गराउनु उपयुक्त हुन्छ । वार्षिक २ लाख आम्दानी गर्नेले २० लाखको बीमा गर्दा हुन्छ । वार्षिक ५ लाख आम्दानी गर्नेले ५० लाख रुपैयाँको बीमा गर्दा हुन्छ । ९ वटा नयाँ बीमा कम्पनीहरुको आगमनपछि बजारको विकास कसरी होला ? हालसालैको तथ्याङ्क अनुसार १० प्रतिशत नेपालीले जीवन बीमा गरेका छन् तर त्यो हल्का फुल्का बीमा हो । वार्षिक ५० हजार बचत गर्न सक्ने मान्छेले वार्षिक १० हजार रुपैयाँ प्रिमियम बुझाउने बीमा गरिरहेको छ । उसले आफ्नो क्षमता अनुसार बीमा गरेको छैन । ५ वटा रोटी खान सक्ने मान्छेलाई एउटा मात्र रोटी खान दियो भने ऊ भोकै हुन्छ । अहिले बीमा बजारमा यस्तै भईराखेको छ । त्यसैले म के भन्छु भने वास्तवमा २ प्रतिशतभन्दा बढी नेपालीले बीमा गरेकै छैनन् । बीमाको बजार विकास भएको देशमा ४० प्रतिशत नागरिकले बीमा गरेको हुन्छन् । हामीकोमा बीमा नै भएको छैन । धनीले पनि बीमा गरेको छैन, मध्यम वर्गले पनि बीमा गरेको छैन, गरिबले पनि बीमा गरेको छैन् । अब बजार विस्तार हुन्छ । नयाँ बीमा कम्पनीहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् । पुराना कम्पनीहरु पनि झन् बढी मिहेनतका साथ व्यवसायिक गतिविधि बढाएका छन् । सबैले शाखा विस्तार र अभिकर्ता परिचालनमा जोड दिएका छन् । कसरी आकर्षक पोलिसी बनाउने भन्नेमा ध्यान गएको छ । नयाँ होस् वा पुराना, सबै बीमा कम्पनीहरु बजार विस्तारमा लागेका छन् । यसले बजार विस्तार गर्न मद्दत गर्छ । २०२९ सालमा बीमा संस्थानले जीवन बीमा शुरु गर्यो । २०४६ सालमा नेशनल लाईफ इन्स्योरेन्स आएपछि बजारमा अलिकति परिवर्तन आयो । २०५८ सालमा नेपाल लाईफ, एलआईसी, एलिको (हालको मेटालाइफ) आउँदा बजारमा धेरै परिवर्तन आयो । २ वटा कम्पनी मात्र सञ्चालन भईरहेको बेलामा ३ वटा बीमा कम्पनी थपिदा माहौल नै छुट्टै बन्यो । २०६४ सालमा फेरी ४ वटा जीवन बीमा कम्पनी आए, एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र सूर्या लाइफ । त्यसले अर्कै आहौल बन्यो । २०७४ सालमा फेरी ९ वटा जीबन बीमा कम्पनी थपिए । यसले बीमा बजारमा छुट्टै तरङ्ग पैदा गरेको छ । अहिलेको माहौल विचित्र टाइपको छ । हरेक बीमा कम्पनीको दर्जनौ संख्यामा शाखा विस्तार गरिरहेका छन् । हालै बनेका नगरपालिकाहरुमा बीमा कम्पनीको शाखा खुल्दैछन् । अभिकर्ताहरु गाउँगाउँ पसेका छन् । गाउँगाउँबाट पैसा आउन थालेको छ । यस वर्ष जीवनबीमा तर्फ प्रिमियम ५० प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष १२ अर्ब प्रिमियम थियो, यस वर्ष १७ अर्ब रुपैयाँ प्रिमियम आउँछ । एक वर्षको ५०० करोड प्रिमियम थपिदैछ । यो ठूलो फड्को हो । तपाईको कम्पनीले कति प्रिमियम संकलन गर्छ ? त्यो नभनौं । हामी यति बीमा गराउँछौं भनेर अंकको कुरा अहिले गर्दैनौ । बीमा सबैले गर्नुपर्छ भन्ने सन्देश लिएर जान्छौं । हामी अरुको भन्दा बढी बीमा गर्छौ भनेर अहिले भन्दा पनि भन्दैनौ । किनकी १० देखि ४५ वर्ष पुराना कम्पनीहरु छन् । यद्यपी अरुको भन्दा राम्रो सेवा लिएर बजारमा गईरहेको छौं । करिव एक हजार अभिकर्ता परिचालन गरेका छौं । एक हजार जना अभिकर्ता सबै सक्रिय छन् ? अहिले त हामीले तालिम दिएर भर्खरै परिचालन गरेका छौं । ती मध्ये सबैले राम्रो गर्न सक्छन् भन्ने हुँदैन । बीमा अभिकर्ताको तालिम लिने हजारौ हुन्छन् तर पूर्ण रुपमा यसैलाई पेशा बनाएर काम गर्न कम हुन्छन् । अभिकर्ता बन्नेहरु मध्ये ५० प्रतिशत कामै गर्दैनन् । बाँकी ५० प्रतिशतलाई पनि नियमित रुपमा मोटिभेशन, रिफ्रेशमेन्ट दिन सकिएन भने सुतिहाल्छन् । बीमा अभिकर्ताको काम ‘टफ’ (कठिन) छ र सबैले यो काम गर्न सक्छन् भन्ने हुँदैन । नयाँ र पुराना बीमा कम्पनीको बजारीकरण गर्ने शैलीमा के कति फरक हुन्छ ? सबैले मार्केटिक गर्ने तरिका उस्तै हो । अभिकर्तालाई प्रोत्साहित गर्ने, ठाउँठाउँमा शाखा खोल्ने, राम्रो बीमा पोलिसी बनाउने । हामीले २५ वटा शाखा खोलिसकेका छौं । नयाँ कम्पनीका लागि नेटर्वक विस्तार गर्न समय लाग्छ, कम्पनीको सञ्चालन विधि र प्रणाली बनाउन समय लाग्छ । ब्राण्डिङ गर्न केही समय लाग्छ । पुराना कम्पनीले भन्दा नयाँ कम्पनीले बढी मिहेनत गर्नैपर्छ । बैंकले जस्तै बीमा कम्पनीहरुले ब्रान्चलेस सर्भिस दिन सक्दैनन् ? सक्दैन । पहिला जनता बैंकमा जान्थे । अहिले बैंक जनताको घरमा जान्छन् । पहिला बैंकहरु न्यूरोडमा एउटा शाखा भयो काठमाडौंमा भईहाल्छ भन्ने सोच्दथे । अहिले न्यूरोडमा मात्र भएर पुगेन, कालिमाटीमा पनि चाहियो, ठमेलमा पनि चाहियो, कान्थिपथमा पनि चाहियो, थापथालीमा पनि चाहियो, चोकचोकमा चाहियो । काठमाडौंमा एउटै बैंकको शाखा १५/२० खुलेका छन् । नेपालगञ्जमा शाखा खोलेर धनगढीको विजनेश आउँदैन । विराटनगरमा शाखा खोलेर विर्तामोडको विजनेश आउँदैन । ‘मेरो बीमा गर्नु छ’ भनेर ग्राहकले बीमाको अभिकर्तालाई खोज्दै हिड्ने वा बीमा कम्पनीको शाखामा जाने दिन कहिले आउँला ? अमेरिकामा वा बेलायतमा जस्तो बीमा कम्पनीको वेवसाईट हेर्ने, प्रडक्ट फिचर हेर्ने, अनलाइनबाट फारम भर्ने र कार्डबाट प्रिमियम पेमेन्ट गर्ने सिस्टम नेपालमा बन्ने धेरै समय लाग्छ । यसको लागि धेरै लामो समय लाग्छ । अमेरिकामा वा बेलायतमा जस्तो बीमा कम्पनीको वेवसाईट हेर्ने, प्रडक्ट फिचर हेर्ने, अनलाइनबाट फारम भर्ने र कार्डबाट प्रिमियम पेमेन्ट गर्ने सिस्टम नेपालमा बन्ने धेरै समय लाग्छ । अहिले हामीले जति विज्ञापन गरे पनि, जति शाखा विस्तार गरे पनि बीमा गर्न मान्छे बीमा कम्पनीमा आउँदैन । अभिकर्ताले ‘बीमा गर्नुहोस्, बीमा गर्नुहोस्’ भन्दै मान्छेलाई १० चोटीसम्म भन्नै पर्छ । १० पटक गएपछि मात्र बीमा गर्छ । कोही कोही यस्ता व्यक्ति हुन्छन्–‘त धेरै पटक आइस्, तेरो लागि मैले यति बीमा गरिदिएँ’ भन्छन् र बीमा गर्छन । अहिलेकाे समयमा स्वेच्छिक बीमाको अभ्यासबारे सोच्दै नसोचौं । यस कम्पनीले साधारण सेयर कहिले निष्काशन गर्छ ? २ अर्ब १५ करोड अधिकृत पुँजी भएको कम्पनी हो यूनियन लाइफ । त्यसमा संस्थापकहरुको लगानी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्छौं । सम्बन्धित निकायले स्वीकृत दिएमा यसै वर्ष साधारण सेयर निष्काशन गर्छौं । साधारणसभाबाट निर्णय भईसकेको छ । कम्पनीका लगानीकर्ताका लाभांश कहिले पाउन सक्छन् ? अहिले भन्न सकिदैन । कम्पनी गत वर्ष पनि नाफामा छ, यस वर्ष पनि नाफामा जान्छ । सेयर पुँजी मुद्दती खातामा राखेका छौ । केही राम्रा कम्पनीको अक्सन सेयरमा लगानी गरेका छौं । कम्पनीलाई निरन्तर नाफामा लैजान सकिन्छ । तैपनि लगानीकर्ताले छोटो अवधिमा लाभांशको आश गर्नु भएन । जीवन बीमा कम्पनीमा लगानी गर्नु भनेको दीर्घकालिन लगानी हो ।

एनआईसी एसिया बैंकले १ अर्बको ग्रोथ फण्ड माघ २ गतेदेखि निष्कासन गर्ने

काठमाडौं । एनआईसी एसिया बैंकले एनआईसी एसिया ग्रोथ फण्डको निष्कासन आउदो माघ २ गतेदेखि गर्ने भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई ग्रोथफण्ड निष्कासन गर्न लागेको हो ।   लगानीकर्ताले ग्रोथ फण्डका लागि न्युनतम १ सय र अधिकतम २० लाख ईकाइसम्मलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । ग्रोथ फण्डको अवधि ७ वर्ष रहेको छ । एनआईसी एसिया बैंकको म्युचल फण्ड अन्र्तगत सञ्चालन हुने ग्रोथ फण्डको कोष प्रवन्धकमा बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेको छ । ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म हुने छ । ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख कित्ता बिक्रीका लागि खुला गरिएको छ । न्युनतम बिक्री हुनुपर्ने इकाइ ५ करोड रहेको छ । आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट इकाई खरिद गर्न पाइने व्यवस्था गरिएको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ । खुदनाफा वितरण र संचित नाफा पुनः लगानी गर्ने योजना रहेको बैंकले जनाएको छ । हालै बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो ।

यसरी बन्दैछ काठमाडौंमा १२ तले भ्यु टावर, ४ सय कामदार निर्माणमा

काठमाडौं । गत वर्ष माघदेखि काठमाडौंको पुरानो बस पार्कमा निर्माण सुरु गरिएको काठमाडौं भ्यु टावरको काम तिब्र गतिमा भइरहेको छ ।     अहिले भ्युटावर निर्माण तिब्र गतिमा भइरहेको सञ्चालक भैरव भेटवालले बताए । ‘द्रुत गतिमा निर्माण कार्य अघि बढिरहेको छ,’ उनले भने ‘अबको दुई वर्षपछि काम सिध्याउछौं ।’उनको अनुसार औपचारिक रुपमा चार महिना अघिदेखि काम सुरु भएको हो । हालसम्म कुनै रोकावट आएको छैन । ‘अहिले दिन र राती गरी ४ सय जना कामदार काममा खटिएका छन्,’ उनले भने ‘हालसम्म १ हजार १ सय पाइलीङ गर्न पर्नेमा आधा (साढे पाँच सय) सकिएको छ ।’ त्यस्तै कुल ३८० मिटर शेयरवाल निर्माण गर्न पर्नेमा ६० मिटर लागिसकेको छ । कम्पनीको अनुसार अहिले भ्यु टावर निर्माण कार्यका लागि ३ म्यैट मेसिन, ४ क्रेन, २ भ्याकु, १२ टिपर लगायतका सम्पूर्ण ठूला÷साना मेसिनहरु सञ्चालन भइरहेको छ । ‘अहिलेसम्म ६१ करोड रुपैयाँ खर्च भइसकेको छ,’ कम्पनीका सञ्चालक भेटवालले भने । टावर निर्माण आरम्भ गर्नका २०७३ बैशाखमा पुरानो बसपार्कलाई खुल्ला मञ्चमा सारिएको थियो । बसपार्क सारिएको ८ महिनापछि टावर निर्माण आरम्भ गरिएको होे ।   काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिसँग सार्वजनिक निजी साझेदारीको मोडलमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । टावरको उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए । पुरानो बसपार्कले चर्चेको २३ रोपनी ५ आना ३ पैसा २ दाम जामिनमा काठमाडौं टावर निर्माण गर्ने सम्झौतामा उल्लेख छ । तर महानगरपालिकाले निर्माण अनुमति भने १२ तल्लाका लागि मात्रै दिएको छ । कुल जमिनमध्ये ४० प्रतिशत भागमा टावरको निर्माण हुने जनाइएको छ । बाँकी ६० प्रतिशत जमिनमा गार्डेन निर्माण गरिनेछ । २०६८ सालको असोजमा निर्माण अनुमति प्रदान गर्दा २९ तल्लो सो भवनको लागत १ अर्ब ८७ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको थियो । त्यसपछि सो मुल्यमा ४० प्रतिशत लागत बढ्ने अनुमान गरिएको छ । भवन निर्माणका लागि ३ वर्ष अवधि तोकिएको छ ।

एसबिआई बैंकको अध्यक्षमा सुजितकुमार बर्मा चयन

काठमाडौं । नेपाल एसबिआई बैंकको ४१८ औँ संचालक समितिको बैठकले समितिको अध्यक्षमा सुजितकुमार बर्मालाई चयन गरेको छ । बैंकको हालै बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बर्मालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मतीबाट चयन गरेको हो । अध्यक्ष बर्मा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही बैंकका संसारभर विभिन्न मुलुकहरुमा रहेका बैकिङ्गसँग सम्बन्धित मामिला हेर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवि नेपालले अध्यक्ष बर्मालाई गर्भनरको सचिवालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, निर्देशकहरु रमण नेपाल, बमबहादुर मिश्र र रामहरी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

सिमेन्टको भाउ नौं सय नाँघ्यो, रडको भाउ पनि बढ्दै

काठमाडौं । पछिल्लो समय सिमेन्ट र रडको भाउ बढेको छ । भाउ बढ्नाले भुकम्प पीडितलाई भवन पुनर्निर्माण गर्ने कार्यमा झनै पीडा थपिदिएको छ । सिमेन्ट उद्योगी तथा व्यवसायीहरुले भारतबाट भित्रिने सिमेन्टको कच्चा पदार्थकाे भाउ बढेकोले सिमेन्टको मूल्य बढेको बताएका छन् । उपभोक्तावादीहरुले भने, भुकम्प पीडितहरुको भवन पुनर्निर्माण कार्यलाई लक्षित गरेर बढी नाफा कमाउने दाउमा उद्योगी व्यवसायीहरुले अत्यावश्यक सिमेन्ट तथा रडको मूल्य बढाएको आरोप लगाएका छन् । अहिले पुनर्निर्माण कार्य चलिरहेको समयमा सिमेन्ट र रडको भाउ बढ्नाले मुख्यगरी भुकम्प पीडितहरुको ढाड सेकिएकोे छ । केही महिनाअघिदेखि सिमेन्टमा बोराको २०/३० रुपैयाँ गर्दै भाउ निरन्तर बढीरहेको छ । जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठकले भारतमै सिमेन्टको कच्चापदार्थ (क्लिंकर) बढेकोले कम्पनीले सिमेन्टको भाउ बढाउन परेको बताए । ‘मंसिरबाट निरन्तर सिमेन्टको मूल्य २०/३० रुपैयाँको दरले बढीरहेको छ,’ उनले भने ‘पछिल्लो समय बोरामा (५० किलो) ३० रुपैयाँ बढेको छ ।’ उद्योगमा अहिले ओपीसी सिमेन्टको मूल्य ८५० छ भने, पीपीसीको मूल्य ७३० रुपैयाँ रहेको छ । उनका अनुसार ८/९ वर्षको अबधिमा अहिले सिमेन्टको भाउ सबैभन्दा महङ्गो भएको छ । ‘अहिले भारतबाट आउने कच्चापदार्थको मूल्य ५० प्रतिशत बढेको छ’, उनले थपे ‘उद्योगहरुमा कच्चा पदार्थको अभाव छ । रक्सौलबाट आउन सकेको छैन । उद्योगहरुबीच कच्चापदार्थ तानातानको अबस्थामा छ ।’ त्यस्तै ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडाले माग बढेकोले मूल्य पनि बढ्न गएको बताए । ‘पुसयता सिमेन्टको माग करिब २५ प्रतिशतले बढेको छ,’ उनले भने ‘जसकारण मूल्यमा समेत प्रतिबोरा ३० रुपैयाँ बढेको हो ।’ उनका अनुसार युनाइटेड सिमेन्टको उद्योग मूल्य ८९० रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ प्रमुख केशब अर्यालले पनि पछिल्लो समय सिमेन्ट(ओपीसी) को मूल्य बढेर ९१० रुपैयाँ पुगेको बताए । यद्यपी राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमिल्सिनाले भुकम्प पीडितका घरहरुको पुनर्निर्माण गर्न पर्ने हालको अवस्थामा उद्योगीहरुले पीडितलाई लक्षित गरेर बढी नाफा कमाउने दाउमा जताभावी उद्योगी तथा व्यवसायीहरुले सिमेन्ट तथा रडको भाउ बढाएको आरोप लगाए । ‘हप्ता दश दिनमा सिमेन्ट र रडको मूल्य २ देखि ३ सय रुपैयाँसम्म बढेको छ,’ उनले भने ‘कुनै पनि वहानामा उद्योगी व्यवसयीहरुले त्यसरी मूल्य बढाउन पाउदैनन् ।’ पछिल्लो समय बढेको सिमेन्ट र रडको भाउले सरकारको लाचारीपन प्रष्ट देखिएको उनको बुझाइ छ । आपूर्ति मन्त्रालयले ती निर्माण समाग्रीहरुको मूल्य नियमन् गर्न पर्ने माग उनको छ । सरकारले मूल्य बढ्नको बास्तविकता पत्ता लागाई भुकम्प पीडितहरुलाई राहत प्रदान गर्न पर्ने उपभोक्तावादीहरुको ठहर छ ।

टाटा नेक्सनको बुकिङ्ग पुस २४ गतेदेखि सुरु, २५ हजारमा कार बुक गर्न पाइने

काठमाडौं । टाटा मोटर्स्ले बोल्ड र स्पोर्टी एसयूवी टाटा नेक्सनको बुकिङ्ग यही पुस २४ गतेदेखि नेपालमा आफ्नो अधिकृत डिलरहरु मार्फत शुरु गर्दैछ । यस कारलाई नेपाली २५ हजार रुपैयाँमा ग्राहकवर्गहरुले बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ । शहरहरुका लागि सहज र उत्कृष्ट मानिएको यस टाटा नेक्सनमा कारमा हुनु पर्ने सबै विशेषताहरुलाई समावेश गरेको छ । उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको यस टाटा नेक्सन ‘इम्प्क्याट डिजाइन’ दर्शनमा आधारित टाटा मोटर्स्को चौथो उत्पादन हो । टाटा मोटर्स्का ईण्टरनेश्नलबिज्नेस हेड-प्यासेन्जर भेकल, सुजन रोयका अनुसार, “इण्डिया अटो एक्सपो २०१४मा पहिलो पटक प्रदर्शनमा आएको टाटा नेक्सन त्यो बेला देखि नै चर्चाको विषयबन्न सफल भएको थियो । पृथक स्टाईलिङ्ग र तारिफ योग्य विशेषताहरुले टाटा नेक्सन यूवा ग्राहकहरुको लागि शहरी क्षेत्रमा उत्कृष्ट सावित हुनेछ । नेक्सनाको साथ, हामीले नेपालमा तिव्र गतिले बढ्दै गरेको एसयूवी वर्गमा नयाँ बेन्चमार्क तय गरेका छौं र कार विशेषज्ञहरुबाट आएको प्रतिक्रियाहरुले पनि हामीलाई निकै उत्साह प्रदान गरेको छ । हाम्रो परिवर्तित रणनीतिको अनुरुप, हाम्रो लक्ष्य भनेकै बजार साझेदारीमा सुधार ल्याउनुका साथै बजारमा आफ्नो उत्पादनहरु छिटो भित्राउनु हो जसका लागि हामीे थपफोकस र ऊर्जाको साथ काम गरिरहेका छौं । टाटा नेक्सनप्रतिको तपाईंहरुको प्रतिक्रिया देखेर हामी निकै प्रशन्न भएका छौं र यसको बढ्दो मागलाई मध्यनजर गर्दै चाँडै नै यसको बुकिङ्ग नेपालमा सुरु गरेका छौं।”

सानिमा क्यापिटलले डीम्याट खाता खोल्दा शुल्क नलिने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्दा लाग्ने शुल्क हटाएको छ । सानिमाले डीम्याट खाता खोल्दा लिदै आएको ५० रुपैयाँ शुल्क हटाएको जानकरी दिएको छ ।कर्मचारी सञ्चय कोषमा रकम वचत गरेका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि यो छुट दिएको सानिमाले बताएको छ । निकट भविष्यमा सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका साधारण शेयर (आईपीओ) निष्काशन हुने र सोमा आवेदन गर्नका निमित्त डिम्याट खाता अनिवार्य रहेको जानकारी सानिमाले दिएको छ । शेयर आवेदनका लागी आवश्यक डिम्याट खाता सानिमा बैंकको देशैभरी रहेका कुनै पनि शाखा कार्यालय तथा सानिमा क्यापिटलबाट सहज रुपमा खोल्न सकिनेछ ।

अब नेपालमै हुँदैछ साइबर क्राइमको इन्स्योरेन्स, धमाधम पोलिसी बनाउँदै बीमा कम्पनी

काठमाडौं । अब नेपालमै साइबर क्राईमको इन्स्योरेन्स हुने भएको छ । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक भएपछि नेपाली बीमक कम्पनीहरुले नै साइबर क्राइमको इन्स्योरेन्स गर्ने प्रक्रिया अघि बढाएका थिए । हाल नेपाल इन्स्योरेन्स कम्पनीले साइबर क्राईम सम्बन्धी इन्स्योरेन्स पोलिसी नै बनाएर बीमा समितिलाई बुझाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले साइबर क्राइम इन्स्योरेन्सको पोलीसी बनाएर बीमा समितिमा पेश गरिसकेको बताए । ‘हामीले साइबर क्राइम सम्बन्धी इन्स्योरेन्सको पोलिसी बनाएर बीमा समितिलाई बुझाई सकेका छौं, समितिले अनुमति दिएपछि नेपालमा पहिलो पटक साइबर इन्स्योरेन्स पोलिसी कार्यान्वयनमा आउँछ’, प्रमुख कार्यकारी अधिकृत शाहले भने । बीमा समितिले पनि साइबर क्राइम सम्बन्धी जोखिमको इन्स्योरेन्स गर्ने प्रक्रिया अघि बढेको बताएको छ । ‘अधिकांश निर्जीवन बीमा कम्पनीहरुले साइबर क्राइम इन्स्योरेन्सको पोलिसी बनाउन थालेका छन्, समितिसँग पटक पटकको छलफलपछि साइबर क्राइम इन्स्योरेन्स पोलिसी बनाउन लागिएको हो’, बीमा समितिका निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने । उनका अनुसार साइबर क्राइम सम्बन्धी विदेशी विदेशी विज्ञले नेपाली इन्स्योरेन्स कम्पनीको उपल्लो नेतृत्वलाई साइबर क्राइम इन्स्योरेन्स सम्बन्धी प्रस्तुति समेत दिएका थिए । सिइओ शाहले अघि भने–‘नेपाल इन्स्योरेन्सले नै बैंकर्सहरुलाई प्रेजेन्टेशन दिएको हो, साइबर क्राइमको बीमा सम्भव छ, जोखिम हस्तान्तरण सम्भव छ भन्ने स्थापित गरेरै छाड्छौं ।’ शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले पनि साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स पोलिसी बनाउने प्रक्रिया अघि बढाएको बताए । उनले विभिन्न देशहरुमा भैरहेको साइबर क्राइम सम्बन्धी बीमा पोलिसीको अध्ययन गरेर आगामी एक डेढ महिनाभित्र नतिजा आउने गरि काम गरिरहेको पनि जानकारी दिए । हालसम्म नेपालमा साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स गर्ने व्यवस्था नै थिएन् । विभिन्न बीमा कम्पनीले तयार पारेको पोलिसीको अध्ययन तथा एक्चुरी गरेर साइबर क्राइम सम्बन्धी इन्स्योरेन्स पोलिसी कार्यान्वयनमा ल्याउने समितिका निर्देशक पौडेलले बताए ।