वित्तीय विवरण पेश गर्न नेप्सेको आग्रह
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई लेखा परीक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूची तत्काल बुझाउन निर्देशन दिएको छ । स्टकले प्रकाशित गरेको सूचनामार्फत उक्त विवरण तत्काल बुझाउन निर्देशन दिएको हो । सूचीकृत सबै कम्पनीको संस्थापक र पब्लिक शेयरधनीको सूचीका साथै आव २०७३/७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सूचीकृत कम्पनीले लेखा परीक्षण नगरेको भए पनि अघिल्ला तीन वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीको वर्गीकरणका लागि उक्त विवरण माग गरेको जनाएको छ । उक्त विवरण आगामी माघ १० गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०५३ अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तीमा रु दुई करोड भएको, साधारण शेयरवालाको सङ्ख्या कम्तीमा एक हजार जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको भए त्यसको विवरणसमेत उल्लेख गर्न कम्पनीलाई आग्रह गरेको छ । कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई (क) वर्गमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । रासस
अल्फानजाईमी लाइफ साइन्स इन्डियाको उत्पादनहरु नेपाली बजारमा
काठमाडौं । भारतको ख्याति प्राप्त कम्पनी अल्फानजाईमी लाइफ साइन्स इन्डिया प्रा लिको नेपाल स्थित आधिकारिक विक्रेता अल्फान जाईमी लाइफसाइन्स नेपालद्धारा कम्पनीका उत्पादनहरु नेपाली बजारमा शुभारम्भ भएको छ । कम्पनीले विगत १२ वर्ष देखि विविध उत्पादनहरुमा प्रयोग हुने इन्जाइम्स(अर्गानिक स्टिमुलेट प्रडक्स) उत्पादन गर्दै आइरहेको छ । आइएसओ ९००१ः२००८, एफएसएसएआई, भेडिक अर्गानिक सर्टिफिकेट आदि प्राप्त कम्पनी आफ्ना उत्पादनहरु भारत, अफ्रिका, साउथ इन्ट एसियाली मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ । विशेष गरी कम्पनीद्वारा उत्पादित इन्जाइम्स चीनी उत्पादन, खाद्यतथा पेय पदार्थ प्रोशेसिङ, वेकरी, स्वास्थ्य, बायो फर्मास्युटीकल्स, कृषि, पशु पालन आदि क्षेत्रमा अर्गानिक तरिकाबाट उत्पादन बृद्धि गर्न प्रयोग गर्ने गरिन्छ । नेपाली बजारमा विशेष गरी चीनी कारखाना, पेय पदार्थ उत्पादक कम्पनी, औषधीजन्य उत्पादक कम्पनी, पशु खाद्य उत्पादक कम्पनी आदि क्षेत्रमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।
अघि बढ्यो भेरी बबई डाइभर्सन, ४८ मेगावाट विद्युत् उत्पादन गर्ने
काठमाडौं । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको भेरी-बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म एक हजार ५० मिटर सुरुङ खनि सकिएको छ । प्रमुख बस्नेतले टिबिएमको सफल परीक्षणपछि नेपालमा सुरुङ निर्माणका लागि अब परम्परागत प्रविधि प्रयोग गर्नु नपर्ने भएको छ । परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्छ । “मेशिनको प्रयोगपछि अब नेपालमा सुरुङ निर्माणका लागि टिबिएम युग शुरु भएको छ”, आयोजना प्रमुख बस्नेतले भने, “मेशिनको प्रयोग सफल भएको छ ।” भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि शुरु भएको हो । कूल १२ किलोमिटर लामो सुरुङ खन्ने अवधि २४ महिना राखिएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले सुरुङ खन्ने कार्य अगाडि बढेको जानकारी दिए । “अब हामी सुरुङ खन्ने कार्यलाई थप गति दिन्छौँ । तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण कार्य सम्पन्न हुने छ”, उनले भने । प्रदेश नं ५ र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरु क्रियाशील रहेको जानकारी दिँदै खनालले हालसम्म आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगतिसमेत २० प्रतिशत नै रहेको बताए । आयोजनाको कूल लागत रु १६ अर्ब ४५ करोड रहेको छ । सुरुङ निर्माणका लागि मात्रै रु १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । सुरुङ निर्माण अगाडि बढेपछि विद्युत् गृह निर्माणको कामसमेत शुरु हुनेछ । भेरीको पानीलाई बबई नदीमा झारेर सिँचाई तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो । हाल आयोजनामा दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार कार्यरत छन् । सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । पहिलो चरणमा सुरुङ निर्माण र दोस्रो चरणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखिएको छ । हालसम्मको प्रगति सन्तोषजनक एवम् उत्साहप्रद भएको टिप्पणी गर्र्दैआयोजना प्रमुख बस्नेत राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई आयोजनालाई नमूना बनाउने विश्वास व्यक्त गरेका छन् । सो आयोजनामा टिबिएम प्रयोग सफल भएपछि नेपालमा निजी क्षेत्रका ऊर्जा उद्यमीसमेत टिबिएम ल्याउने तयारीमा लागेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले यही पुस २१ गतेदेखि आयोजना गरेको हिमालयन हाइड्रो एक्पो र २०१८ मा समेत टिबिएम मेशिन प्रदर्शनीमा राखिनेछ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले टिबिएम मेशिनका बारेमा चासो राख्दै केही उद्यमी चीन पुगेको जानकारी दिएका छन् । रासस
कच्चा पदार्थ र ढुवानी भाडा बढेको भन्दै सिमेन्ट उद्योगीकाे मूल्य बढाउने चलखेल
काठमाडौं । कच्चा पदार्थ र ढुवानी भाडा बढेको भन्दै उद्योगीहरुले सिमेन्टको भाउ बढाउने चलखेल सुरु गरेका छन् । पुस लागेसँगै केहि प्रतिशत मूल्य बढाएका उद्योगीहरुले सिमेन्टको पुनः मूल्य बढाउने अभियान थालेका हुन् । ‘सिमेन्टको मूल्य बर्षमा ४।५ पटक घटबढ हुनु स्वभाविक हो, कच्चा पदार्थ र ढुवानी भाडा बढेकाले अहिले पनि सिमेन्टको मूल्य बढ्न सक्ने अवस्था देखिएको छ’, नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष समेत रहेका अर्घाखाँची सिमेन्टका कार्यकारी निर्देशक पशुपति मुरारकाले विकासन्युजसँग भने । उद्योगीहरुले मूल्य बढाउने चलखेल स्वरुप सिमेन्टको आपुर्ति नै रोकिरहेका छन् । भाउ नबढेसम्म सिमेन्ट आपूर्ति नगर्ने अडानमा उद्योगी रहेका छन् । ‘एक हप्तादेखि बजारमा नेपाली सिमेन्ट पाईरहेका छैनौं, मूल्य बढेपछि मात्रै बजारमा आउने उद्योगीहरुले भनिरहेका छन्’, राजधानीका एक निर्माण व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने । यद्यपी मुरारकाले भने, सिमेन्टको आपूर्ति बन्द नगरिएको दावी गरेका छन् । पुसयता मात्रै ‘पीपीसी’ सिमेन्टको मूल्य बढेर प्रतिबोरा कारखाना मूल्य ६७० देखि ७०० सम्म र ‘ओपीसी’ ७७० देखि ८०० सम्म पुगेको छ । दुई हप्तायता ढुवानी भाडामा बोराको ३०÷३५ प्रतिशत र क्लिङ्करको भाउ समेत बढेको मुरारकाको भनाइ छ । उद्योगीहरुका अनुसार अहिले सिमेन्टको माग बढ्ने सिजन हो । यो सिजनमा विगतदेखि नै सिमेन्टको भाउ बढ्दै आएको छ । साउन, भदौ जस्ता अफ सिजनमा भने, मूल्य घट्ने गरेको छ । उनीहरुका अनुसार अहिले नेपालमा मुलुक बाहिरदेखि करिब ७० प्रतिशत कच्चापदार्थ भित्रिदै आएको छ । अबको २ वर्षभित्र कच्चा पदार्थको लागि नेपाल आत्मनिर्भर हुने उनीहरुको दावी छ ।
हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन हुने
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारीले पुष २१ गते शुक्रबार विहान ११ बजे गर्ने आयोजकले जानकारी दिएका छन् । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ । राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ । विशेष गरी सीएमसी इटली, भोइथ जरमनी, क्रिष्टल इन्डिया, फ्लोभेल इन्डिया, भ्यापटेक बुलगरिया, म्याभेल सीजेच रिपब्लीक, बीएफएल इन्डिया, पावरचाइना चाइना, सीएसईसी चाइना जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने भएका छन् । दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ । एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन हुनेछन् । पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा बढी सेमिनार संचालन गरिने छ । हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ । उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार रुपैयाँ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् । नेपाल टनेलिङ एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल-भारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको टाइटल प्रायोजक जर्मनको भोओआइटिएच कम्पनी रहेको छ भने प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । उक्त एक्स्पोको अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एण्ड एयर लजिस्टिक प्रा ली र एनएमबि बैंक लिमिटेड रहेका छन् । तीन दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।
व्यवसायीले प्रधानमन्त्रीसँग भने-बैंकले ऋण दिएनन्, लगानी कसरी गर्नु ?
काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभाव संकटले अर्थतन्त्र विस्तारमा अवरोध गर्ने भन्दै यसको समधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री देउवालाई भेटी तरलताको कारणले उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेको थिए । तरलताको संकटले बैकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको व्याजदरमा उल्लेखनीय वृद्धि भई उद्योगको उत्पादन लागत बढेर उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएको जानकारी गराएको छ । परिसंघले कर्जाको ब्याजदर महंगिएपछि उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको अध्यक्ष शर्माले जानकारी गराएका थिए । यही अवस्था कायम रहे आगामी वर्ष मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने भन्दै सचेत समेत गराएको छ । अर्थतन्त्रको आकार बढे अनुरुपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई वान्छित सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैँक, अर्थ मन्त्रालय, नेपाल बैँकर्स एशोसियसनलगायतले उपयुक्त मौद्रिक उपकरण प्रयोगमा जोड दिए । प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासको लागि आफू कटिवद्ध रहेको र हाल देखिएको तरलताको समस्या सम्बन्धित सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
टाटा नेक्सनले पायो ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड
काठमाडौं । टाटा नेक्सनले एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८को उत्कृष्ट ‘सवकम्प्याक्ट एसयूवी’ अवार्ड पाएको छ । यस वर्ष टाटा मोटर्सबाट सबैभन्दा महत्वपूर्ण प्रक्षेपण रहेको नेक्सन भारतमा निमार्ण गरिएको सव-४ मिटर एसयूवी स्पेस क्षेत्रमा लन्च हुने पहिलो मोडेल रहेको छ । टाटा मोटर्सको प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बर, २०१७मा भारतमा लन्च गरेको थियो । टाटा नेक्सनमा रहेका केहि भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित रहेको छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूवी स्पेशको वर्गमा नयाँ आयाम ल्याएको छ । स्टाईलिङ्ग डुअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केहि नवीन र चाख लाग्दो स्टाईल तत्वहरुले यस कारको लक्स्र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ ईन्च एलोय व्हील जस्ता यस कारका महत्वपूर्ण विशेषताहरु हुन् । कारको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरिएर, उत्कृष्ट फिट र फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको छ । यस कारको दुई मुख्य विशेषता भनेकै यसमा रहेको ड्यास टप एच्डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ्ग मोड सिस्टम रहेको छ । टाटा मोटर्सले टाटा नेक्सनलाई नेपाली बजारमा चाँडै लन्च गर्ने लक्ष्य लिएको छ ।
बजार सामान्य अंकले बढ्दा ६३ करोडको सेयर कारोबार, सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्डको
काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । मंगलबारको नेप्से परिसूचक २.४४ अंकले उकालो लागेर १४३७ अंकमा पुगेको छ । मंगलबारको बजारमा कुल ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) बजारमा ४९ करोडको सेयर किनबेच भएको थियो । मंगलबार कुल १६६ कम्पनीको १२ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्ड बैंकको साँढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८० रुपैयाँ रहेको छ । सोमबार पनि यस कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस्तै, बैंकिङ १०, अन्य ४ र ट्रेडिङ समूह ०.०८ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१ अंकले राताम्मे भएको छ । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता एभरेष्ट बैंकको प्रमोटर सेयरको मूल्य भने ६.६ प्रतिशतले ओरालो लागेको छ ।