विकासन्युज

मौरीपालन आम्दानीको नयाँ बाटो, वार्षिक ३० लाख रुपैयाँ कमाइ हुने

मोरङ । तपाईले गाईभैँसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली-३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गरेका छन् । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उनले चराउँदै आएका छन् । तोरी नफुल्ने समयमा समेत उनले जंगलमा लगेर मौरी चराउने गरेका छन् । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आएका छन् । खडानन्द खनालका अनुसार चार बिगाहामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको उनी बताउँछन् । पहिले तोरीमा लाइ लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकको भनाइ छ । मौरी ल्याएपछि आफूले तोरीमा विगत चार/पाँच वर्षदेखि कुनै पनि कीटनाशक औषधिको प्रयोग नगरेको र बिगाहामा २० मनदेखि २२ मनसम्म तोरी उब्जनी हुने गरेकोसमेत खनालको भनाइ छ । २०६० सालदेखि मौरीपालनमा लागेका यमनाथ शुरुका दिनमा चार घारबाट मौरीपालन शुरु गरेका हुन् । अहिले २०० घारसम्म पाल्न सफल भएका छन् । उनले एक घार बराबर ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् । वार्षिकरुपमा २०० घारबाट पाँच हजार केजी अर्थात् (५० क्विन्टल) मह वार्षिक उत्पादन हुन्छ भने ३० लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेको समेत पाठकको भनाइ छ । पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको महप्रति केजी ६०० रुपैयाँको दरले बिक्री वितरण गर्ने गरेको उनले सुनाएका छन् । उनले उत्पादन गरेको महको बजार मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, बिर्तामोड, धरानमा बिक्रीका लागी पठाउने गरिएको पाठकको भनाइ छ । उहाँ मात्र होइन थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि उत्तरी मोरङका कृषक मौरीमा लगानी गर्न हौसिएका छन् । मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ-भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायीकरुपमा मौरी पालन हुँदै आएको छ । मौरीपालनले एकहजार घार मौरीबाट वार्षिक २० रुपैयाँलाख अम्दानी भएको व्यावसायिक मौरीपालक कृषकको भनाइ छ । मोरङमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ । व्यवसायको शुरुको वर्ष नै एक घार मौरीबाट वार्षिक रु २० लाख आम्दानी गर्न सकिने मेलिफेरा मौरीपालन सहकारी संस्थाका संस्थापक सदस्य सूर्य कटुवालको भनाइ छ । बहुसंख्यक गाउँका शैक्षिक बेरोजगार युवा पैसा कमाउने चक्करमा भौतारिइरहेको अवस्थामा उनीहरुको यो कार्य प्रेरणाको स्रोत नै बनेको छ । बर्खा र हिउँद महिनामा भने मौरीबाट आम्दानी हुँदैन । मौरी अन्य किरामध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यहाँ पालिने मौरी धेरैजसो कठ्यौरी जातका हुन् । रासस

दिगो संरचना निर्माणका लागि अवलम्वन गर्नुपर्ने

काठमाडौं । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गरेको छ । सिमेन्टले उक्त जानकारी प्रदान गर्न पौष १४ गते शुक्रबार बागडोलको बेखाज पार्टी भेन्युमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलर वर्गहरुको सहभागिता रहेको थियो । जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ । कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ । साथै, आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेको छ ।

महिनामा २ पटक मूल्य बढाउँदा पनि निगमको दैनिक घाटा पौने एक करोड

काठमाडौं । नेपला आयल निगमले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाटै पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित विधिद्धारा निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा १/१ रुपैयाँ मूल्य बढेको छ । बढेर ती इन्धनको मूल्य क्रमशः १०२, ७९, ७९ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेर रू. १३७५ पुगेको छ । आन्तरीक हवाई इन्धनमा ३ रुपैयाँ बढेर रू. ९० भने, बाह्रय हवाई इन्धनमा हजार लिटरमा ५० डलर बढेर ९ सय डलर पुगेको छ । मुल्य समायोजन गरेपनि निगमलाई दैनिक करिब ८८ लाख रुपैयाँ घाटा भइरहेको जनाएको छ । निगमका प्रवत्ता विरेन्द्र गोइतले बताए अनुसार अहिले निगमलाई मासिक २६ करोड ४० लाख रुपैयाँ घाटा छ । त्यसको आधारमा दैनिक निगमलाई ८८ लाख रुपैयाँ घाटा भएको देखिएको हो । “भारतले तय गरेको मूल्य अनुसार निगमले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ । यद्यपि केही समयअघिको चाडपर्व, स्थानिय, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लगायतको कारणले बीचमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सकिएन,” उनले भने “त्यसको प्रभाव अझैसम्म निगमलाई परेको छ ।” उनका अनुसार स्वचालित विधिबाट पनि निश्चि मापदण्डसम्म मात्र मूल्य बढाउन सकिन्छ । जसकारण घाटै खाएर भएपनि अहिले निगमले मूल्य समायोजन गरिरहेको हो । “अहिले डिजलमा प्रतिलिटर २ रुपैया ७१ पैसा भने, एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २०८ रुपैया २ पैसा घाटा छ,” प्रवक्ता गोइतले भने ।

वैशाखमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने

काठमाडौं । आगामी वैशाख तेस्रो साता ‘१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले महोत्सव आयोजना गर्न लागेको हो । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने नारा रहेको महोत्सव वैशाख १४ देखि १८ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ । आयोजकले मेलाको माध्यमबाट लघु, घेरेलु तथा साना उद्योग सम्बन्धमा ज्ञान, सीप आदान प्रदान हुने बताएको छ । महासंघले विगतदेखि नै राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ । यसअघि १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिसकेको छ । गत वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा रुपान्तरण गरेको हो । प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता हुने जनाइएको छ । २५० वटा स्टल रहने भनिएको सो महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने तथा पाँच करोडभन्दा बढीको प्रत्यक्ष कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । त्यस्तै, महोत्सवमा लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव गरिने बताइएको छ ।

एनआईसी एसियाको ऋण पत्रमा उच्च ब्याजदरको प्रभाव, २ अर्ब १७ करोडको मात्रै आवेदन

काठमाडौं । एनआईसी एसिया बैंकको ‘एनआईसी एशिया डिबेन्चर  २०८१/८२’ मा उच्च ब्याजदरको प्रभाव देखिएको छ । बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपमा उच्च ब्याजदर अफर गरेपछि एनआईसी एसिया बैंकको दीर्घकालिन ऋण पत्रमा लगानीकर्ता अनिच्छुक देखिएका हुन् । बैंकले ९ प्रतिशत ब्याजदरमा ७ बर्षका लागि ३ अर्बको ऋणपत्र निष्काशन गरेको थियो । प्रति कित्ता १ हजार दरका ३० लाख कित्त ऋण पत्रका लागि चाँडोमा पुस १३ देखि १७ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था थियो । तर सो अवधीमा जम्मा २ अर्ब १७ करोड मूल्य बराबरको ऋणपत्रका लागि मात्रै आवेदन परेको छ । ‘चाँडोमा आवेदन गर्न भनिएको मितिमा २ अर्ब १७ करोडको आवेदन परेको छ, अब ढिलोमा आवेदन गर्न सकिने दिनसम्म कुर्नुपर्ने भएको छ’, नविल इन्भेष्टमेन्टका मर्चेण्ट बैंकिङ प्रमुख अनोज थापाले भने । अब बैंकले ढिलो गरि आवेदन दिन सकिने मिति अर्थात पुस २७ गतेसम्म आवेदक पर्खनुपर्ने भएको छ । बाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपामा १३ प्रतिशतसम्म पुर्याएपछि एनआईसी एसियाको ऋणपत्रमा कम आवेदन परेको हो । थप सामाचार एनआईसी एशिया बैंक ऋणपत्रमा लगानी गर्दा हुने पाँच फाइदा

२० प्रतिशत बोनस पछि जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार यस कम्पनीको सो मात्राको बोनस पछिको सेयरको मूल्य समायोजन गराएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १९७५ रुपैयाँ रहेको थियो ।

कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस १७ गते बसेको बैंकको साधारण सभाले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै, बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा पनि बार्षिक ६ प्रतिशतका दरले हुने नगद लाभांश दिने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ ।

उपत्यकामा नयाँ शहरः २ हप्तापछि सुरु हुँदैछ डीपीआर निर्माण

काठमाडौं । भक्तपुर र ललितपुरको १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डिपिआर निर्माण २ हप्तापछि सुरु हुने भएको छ । नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखालीका अनुसार भक्तपुर र ललितपुरको नयाँ शहरको डिपिआर बनाउने कम्पनीसँग आगामी १० दिनभित्रै सम्झौता हुँदैछ । ‘प्रारम्भिक छनौटमा परेका कम्पनीहरुले विस्तृत योजना बुझाएका थिए, त्यसको अध्ययन सम्पन्न गरेर सम्झौताको चरणमा पुगेका छौं’, खोखालीले विकासन्युजसँग भने । ती कम्पनीहरुसँग १० दिन भित्र सम्झौता गरेर डिपिआर अध्ययनको काम आरम्भ हुन लागेको हो । आयोजनाले ललितपुर र भक्तपुरमा १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डीपीआर बनाउन ११ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेको थियो ।उत्कृष्ठ प्राबिधिक क्षमता, वित्तीय प्रस्ताव, कामको अनुभव लगायतका विवरण पेश गरेर अब्बल ठहरिएको कम्पनीलाई डिपिआर निर्माणको जिम्मेवारी दिन लागिएको हो । नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । नयाँ शहर निर्माणका लागि तोकिएको क्षेत्रमा जमिनको कित्ताकाट र नयाँ भवन निर्माणमा रोक लगाईसकिएको छ । काठमाडौं आग्नेय भक्तपुरमा मात्रै निर्माण हुने यो शहर १० हजार रोपनीम फैलिएको हुनेछ । यसको पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ ।दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । काठमाडौं नैऋत्य १० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । ठुलो शहरको काम पनि अन्तिम चरणमा एक लाख रोपनी क्षेत्रफलमा फैलिने नयाँ शहरको डिपीआर बनाउने कम्पनी छान्न भने अझै करिब एक महिना लाग्ने इञ्जिनियर खोखालीले बताए ।