विकासन्युज

‘आइएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक, रोकायाले पाए १० लाख रुपैयाँ नगद

काठमाडौं । आइएमईले ल्याएको ‘आइएमई छक्का-पञ्जा’अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् । मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमाआधारित ‘लक्कीड्र’ बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकाया वा नीजले सिफारिस गरेका व्यक्तिले १० लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउने थापा भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता थापा वा नीजले सिफारिस गरेको व्यक्तिले ६ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरेका छन् । अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले यस्ता अफरहरुले कम्पनीको सेवा र कम्पनीका सेवाग्राहीहरूलाई नजिकमा ल्याउन ठूलो भूमिका खेलेको बताएका छन् । साथै, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले छक्का–पञ्जा अफरले आइएमईका सेवाग्राहीहरु र व्यवसायीक साझेदारहरुको सम्बन्धलाई पुनर्ताजकिकरण प्रदान गरेको बताउनुभयो । गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको यस कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ५ हजार ४० जना, पाक्षिक ‘लक्की ड्र’ मा ६ (छ ) र बम्पर ‘लक्की ड्र’ २ (दुई)जना पुरस्कृत भइसकेका छन् । यस कार्यकममा पैसा पठाउनु हुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्तिमा आधारित रही विजेता छनोट गरिएको थियो ।

बाढीले डुबाएको कृषि क्षेत्र स्थानीय सरकारको चासोमा परेन

काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादनमा (जीडिपी) २९ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा स्थानीय सरकारको चासो कम देखिएको छ । स्थानीय तहमा विनियोजित बजेटमा कूल बजेटको जम्मा २.४६ प्रतिशत कृषिमा र ०.५७ प्रतिशत पशुपन्छीमा छुट्टाएको राष्ट्रिय कृषक समूह महासंघको अध्ययनले देखाएको छ । जबकी पुरानो संरचना हुँदा १५ प्रतिशत अनिवार्य व्यवस्था थियो । सरकारी तथ्यांकअनुसार गत साउनमा आएको बाढीले कृषिमा ५ अर्बको र पशुपन्छीका क्षेत्रमा १० अर्बको क्षति पुगेको छ । महासंघले सर्वेक्षण अनुसार ७५३ स्थानीय तहमध्ये सातवटा प्रदेश समेट्ने ४४ वटा स्थानीय तहलाई नमुनाका रुपमा छनौट गरेको थियो । स्थानीय तहमा कृषि र पशुपन्छी क्षेत्रमा बजेट परिचालन र सदुपयोगको अवस्था अध्ययनबाट अधिकांश स्थानीय तहले यस क्षेत्रलाई संवेदनशिल रुपमा नलिएको प्रस्ट देखिएको छ । दीगो कृषि विकासका आयामहरु प्राथमिकतामा नपरेको विज्ञहरु बताउछन् । अधिकांश स्थानीय तहले रकम विनियोजन गरेपनि हालसम्म २९.५५ प्रतिशत मात्र कार्यान्वयनमा ल्याएको पाइएको छ । कर्मचारी व्यवस्थापन नहुनुले कृषि र पशुपंक्षी क्षेत्रमा ठुलो असर पर्ने देखिएको छ । बजेट अवधि पनि छोटो हुने देखिएको अध्ययनले देखाएको छ । गत बैशाख ३१ मा चुनाव सम्पन्न भएको स्थानीय तहमा हालसम्म कार्ययोजना समेत बनेको छैन । आर्थिक वर्ष १५ जेठमा पारित भएको र हालसम्म पनि विभिन्न कारणले प्रयोगमा नआउनाले स्थानीय तहमा खर्च प्रवृत्तिमा नकारात्मक असर पर्ने देखिएको छ । दिगो र नाफामूलक कृषिका लागि बहुसरोकारवाला निकायको सहभागिता हुनुपर्ने कृषि मन्त्रालयको निश्कर्ष थियो । यद्यपी स्थानीय तहले सो भन्दा बाहिर गएर बजेट निर्माण गरेको पाइएको छ । अध्ययन अनुसार ४४ स्थानीय तहमा जम्मा वडा रहेकोमा पशु सेवा र कृषि प्राविधिक गरी ४७ प्रतिशत मात्र प्राविधिक छन् । यसबाट केन्द्र तथा जिल्लामा प्राविधिक थुप्रने र स्थानीय तहमा प्राविधिक अपर्याप्त संख्यामा रहेको पाइयो । महासंघले नेपालको पुरानो स्थानीय निकाय संरचना अनुसार १५ प्रतिशत रकम अनिवार्य गर्नुपर्ने बाध्यकारी कानुनको आवश्यकता रहेको बताएको छ । त्यस्तै कृषि र पशुपन्छी क्षेत्रको बजेट रकमान्तर गर्न नपाइने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव पेश गरेको छ ।

माघ ११ देखि सुरु हुँदैछ सूचनाप्रविधिको कुम्भ मेला-क्यान ईन्फोटेक, अनलाईन टिकटमा २० प्रतिशत छुट

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भ मेला क्यान ईन्फोटेक मेला सुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान महासंघ)ले आगामी माघ ११ देखि २४ औं संस्करणको क्यान ईन्फोटेक मेला आयोजना गर्दैछ । ६ दिनसम्म चल्ने मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्‍याउने क्यानले बताएको छ । “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० रुपैयाँ  र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । क्यानले माघ १४ गते आईतबारलाई विजनेश डे को रुपमा घोषणा गरेको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्ने क्यानले जानकारी दिएको छ । यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत प्रमुख आकर्षण बन्ने क्यानको दाबी छ । साथै टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछ । मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आमजनमानस माझ सुचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोलामा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीने क्यानले जानकारी दिएको छ । ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली  रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा.लि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी लिंक  गोल्ड स्पोन्सरहरु– हुवावे,  एम.आई. स्मार्ट फोन र महालक्ष्मी मोबाईल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन (नेपाल) प्रा.ली रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नबिन डिस्ट्रिब्युटर्स प्रा. ली रहेको छ । अफिसियलहरुमा बैंक– सन्राइज बैंक, ईन्स्योरेन्स– प्रडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु,  अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।

एनएमबि बैंकको दुई नयाँ शाखा धनुषाको बट्टेश्वर र ईलामको चुलाचुलीमा

काठमाडौं । एनएमबि बैंकले धनुषाको बट्टेश्वर र ईलामको चुलाचुलीमा गरी एकैसाथ दुई नयाँ शाखाहरु संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग पँहुच नपुग स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने रणनिती लिए बमोजिम मिति एनएमबि बैंकले नयाँ शाखाहरु संचालनमा ल्याईएको हो । उक्त शाखा सञ्चालन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सीले – “देशको बिभिन्न स्थानहरुमा बैंकको नयाँ शाखा संचालनले बैंकिङ्ग पँहुच नपुगेका स्थानीय निकायहरुमा समेत सरल बैकिङ्ग सेवा पुग्ने र सरल बैकिङ्ग सेवा पुर्याउँदै समृद्ध नेपाल प्रति बैंकले लिएको प्रतिबद्तालाई सार्थकता प्रदान गर्ने कुरामा हामी विश्वस्त रहेको छौं” बताए । नयाँ शाखाहरुको शुरुवात सँगै एनएमबि बैंककोे कुल ९३ शाखा ८७ एटिएम र ४ एक्टेन्सन काउन्टर पुगेको छ ।

पाटाले सन् २०३० मा ५० लाख पर्यटक भित्राउने

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्राउन ‘भिजन ५ मिलियन योजना’ सार्वजनिक गरेको छ । बुधबार पाटाको ४१ औं साधारणसभामा पाटाले सरकार र निजी क्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गरेको हो । पाटाले भिजन ५ मिलियन योजनालाई सार्वजनिक गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गरी पर्यटकलाई नेपाल ल्याउनका लागि पहलकदमी भूमिका समेत खेल्ने जनाएको छ । पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहश्राब्दीविकास लक्ष्यअनुरुप गुरुयोजना बनाएको हो । साधारणसभामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा पर्यटक भित्राउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए । ‘निजी क्षेत्रले मात्र काम गरेर हुँदैन त्यसका लागि सरकारले पनि पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारले अधिक पर्यटक भित्राउन पूर्वाधार निर्माणमा जोड दिएको छ,’उनले भने । निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम चाडो सके पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने न्यौपानेले बताए । ‘भारत र चीनका पर्यटकलाई लक्षित गरेर कार्यक्रम बनाउन सकेमात्र पनि ठूलो संख्यामा नेपालमा पर्यटक आउँछन्,’उनले भने । कार्यक्रममा राष्टिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले पर्यटनमार्फत मुलकको आर्थिक विकास संभव रहेकाले पूर्वाधार विकासमा नै जोड दिनुपर्ने बताए । पूर्वाधार विकासका लागि सरकार र निजीक्षेत्र मिलेर काम गर्नुपर्छ, उनले भने । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले पर्यटकीय संभावना बोकेका नयाँ गन्तब्यको खोजी गरी ब्यापक प्रवद्र्धनमा साझेदारिताकासाथ अघि बढाए योजनाले सार्थका पाउने बनाए । पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएकाले अब पर्यटनमा व्यापक लगानी र प्याकेजको आवश्यकता परेको बताए । ‘अब बन्ने सरकारले पनि सन् २०३० सम्ममा ५० लाखपर्यटक भित्राउने लक्ष्य राखेको छ हामीले पनि त्यहि लक्ष्यलाई भिजन बनाएका छौं,’उनले भने । साधारणसभाले पर्यटन व्यवसायी सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका सिइओ जोेशी, उपाध्यक्षमा नेपाल वायुसेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभुति चन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।  

बजार सामान्य अंकले ओरालो, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

काठमाडौं । बिहीबारको सेयर बजार सामान्य ०.५९ अंकले ओरालो लागेर १५२० अंकमा अडेको छ । बजारमा ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीको १४ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७२ रुपैयाँ रहेको छ । सामान्य अंकले ओरालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सको सेयर मूल्य क्रमशः ९.७६ र ९.७४ प्रतिशतले बढेको छ । बिहीबार होटल समूहको परिसूचक सबैभन्दा बढी २७ अंकले राताम्मे भएको छ । त्यस्तै, हाइड्रोपावर र बीमा समूहको परिसूचक क्रमशः २३ र २० अंकले राताम्मे भएका छन् । उता, अन्य समूहको परिसूचक भने १३ अंकले उकालो लागेको छ ।

साँसद नवराज सिलवाललाई कार्वाही गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले साँसद नवराज सिल्वालले तत्कालिन प्रहरी नायव महानिरिक्षक (डीआईजी) हुदा बुझाएको विवरण त्रुटीपुर्ण भएको ठहर गर्दे थप अनुसन्धान गरी कार्वाही गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले त्रुटी देखिएको भन्दै कार्वाहीका लागि आदेश दिएको हो । सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद हुन् । सर्वोच्चले सिलवालको बढुवा विवाद सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण त्रुटिपूर्ण भएको ठहर गरेको हो । सर्वोच्चले लोकसेवा आयोग लगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन सिलवालले कसरी पाए ? भन्ने प्रश्न उठाउँदै सर्वोच्चले सो विवरण केरमेट गरी अदालतमा प्रस्तुत गरेको विषयमा अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको हो । गत भदौ २७ गते फैसला सुनाएको थियो । सोको पूर्णपाठमा सर्वोच्चले गोप्य रहने कार्यसम्पादन फरक पार्ने कार्यमा संलग्न सबैलाई अनुसन्धान गरी दोषीलाई कारबाही चलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतका नाममा आदेश जारी गरेको छ । फैसलाको पूर्णपाठमा सिलवालले आफू प्रहरी प्रमुख हुनका लागि नक्कली कार्यसम्पादन मूल्यांकन पेश गरेको ठहर गरिएको छ ।

अब बाबुराम भट्टराई पनि स्वतन्त्र, विवेकशिल साझाले सांसद नपाउने

काठमाडौं । कुनै बेला मुलुककै सबै भन्दा ठुलो राजनीतिक दलको दोश्रो बरियताको नेता हुँदै प्रधानमन्त्री बन्न सफल भएका डा. बाबुराम भट्टराई अब स्वतन्त्र सांसदमै सिमित भएका छन् । डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले समानुपातिक तर्फ ३ प्रतिशत मत नपाउने पक्का भएसँगै अब उनी स्वतन्त्र सांसदको हैसियत लिएर संसद भवन प्रवेश गर्नेछन् । स्वतन्त्र सांसदलाई संसदिय दलको कार्यालय, कर्मचारी र सवारी साधनको सुबिधा हुन्न । यस अघि एक सिटे दलहरुले पनि संसदिय दलको कार्यालय, कर्मचारी र सवारी साधनको सुबिधा प्राप्त गर्दै आएका थिए । प्रत्यक्ष तर्फ १ सिट र समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाउने दलले मात्रै दलिय हैसियतमा संसदमा प्रतिनिधित्व गर्न पाउँछन् । नयाँ शक्तिका संयोजक डा. भट्टराईले प्रत्यक्षमा निर्वाचन जितेको भएपनि उनको दलले ३ प्रतिशत मत भने ल्याउन नसक्ने स्पष्ट संकेत देखिएको छ । अब उनलाई व्यवस्थापिका संसदमा स्वतन्त्र सांसदको हैसियतमा व्यवहार गरिनेछ । बाबुरामसहित नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङदेन पनि स्वतन्त्र हैसियतकै सांसद हुनेछन् । यी सांसदको पार्टीहरुले पनि समानुपातिक तर्फ ३ प्रतिशत मत पाउन नसक्ने स्पष्ट भैसकेको छ । त्यस बाहेक माओवादी केन्द्रसँग बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका छक्क बहादुर लामा पनि स्वतन्त्र सांसद नै रहनेछन् । साँझ ५ः १५ बजेसम्म बिभिन्न राजनीतिक दलहरुले समानुपातिक तर्फ प्राप्त गरेको मतको विवरण उता, यस पटक राष्ट्रिय पार्टी, अर्काे पटक देशको नेतृत्व भन्दै चुनावमा होमिएको विवेकशिल साझा पार्टीले भने संसदमा प्रतिनिधित्व नै गर्न नपाउने भएको छ । विवेकशिल पार्टीले प्रत्यक्ष तर्फ पनि सिट जित्न सकेन भने समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन् । एमाले, काँग्रेस, माओवादी, संघिय फोरम र राजपाले मात्रै थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाउने अवस्था सृजना भएको छ ।