‘होण्डा ह्विल अफ फरट्युन २’को विजेताले पाए एकदेखि १० लाखसम्मको नगद पुरस्कार
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किम “होण्डा ह्विल अफ फरट्युन २” को विजेताहरु घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत १० जना भाग्यशाली विजेताहरुले ह्विललाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् । बम्परमा सोहि कुपनबाट लक्की ड्र अन्तर्गत ह्विल अफ फरट्युन २मा सहभागी भई ह्विललाई घुमाएर चन्द्र कोइरालाले १० लाख रुपैयाँ, रमिला खत्रीले ४ लाख रुपैयाँ जितेका छन् । त्यसैगरी, प्रत्युस श्रेष्ठ, बिनोद महर्जन, देवकुमार श्रेष्ठ, बाबुराजा महर्जन, राम कृष्ण श्रेष्ठ र रोजिना शाक्यले १ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । यसका साथै, स्याकार ट्रेडिङ्ग कम्पनीले शिवराज सुबेदीलाई क्यान्सरद्धारा पीडित आफ्नो आमाको उपचारका लागि थप १ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । साथै, कम्पनीले अगामी दिनहरुमा यस्तै रोचक अफर र सेवाहरु ग्राहकहरु माझ ल्याउने लक्ष्य कम्पनीले लिएको छ ।
२ अर्ब ५७ करोडको एफपीओ आउँदै, प्रिमियर इन्स्योरेन्स र बुटवल पावरले पाए बोर्डको अनुमति
काठमाडौं । सेयर बजारमा दुई कम्पनीको कुल २ अर्ब ५७ करोड १५ लाख ७३ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ आउने भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र बुटवल पावर कम्पनी दुबैले सो मात्राको एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । बोर्डले सोमबार(आज) मात्रै यी दुबै कम्पनीलाई कुल ४७ लाख ४० हजार ५६५ कित्ता एफपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार प्रिमियर इन्स्योरेन्सले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । बोर्डले एनएमबी क्यापिटल मार्फत प्रिमियरकाे एफपीओ निष्काशन गर्न अनुमति दिएको छ । यस कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीले पनि प्रतिकित्ता ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ ।
२०१७ मा नेपाल भित्रिएका उत्कृष्ट १० स्मार्टफोनहरु, मूल्य र फिचर सहित
काठमाडौं । २०१७ को अन्त्य हुँदैछ । यो वर्ष नेपाली स्मार्टफोन बजारका लागि विशेष बनेको छ । सूचनाप्रविधीमा उत्साहपूर्ण मानिएको वर्ष २०१७ मा स्मार्टफोन तथा मोबाइलको राम्रो व्यापारसँगै नयाँ फिचरसहितका ब्राण्डेड स्मार्टफोनहरु यस वर्ष सार्वजनिक भएका छन् । विश्वविख्यात कम्पनीहरुले आकर्षक फिचर भएका नयाँ मोबाइलहरु प्रस्तुत गरेका छन् । कुन-कुन हुन् त २०१७ का १० उत्कृष्ट स्मार्टफोनहरु ? सामसङ ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लस यो स्मार्टफोन विश्व प्रसिद्ध सामसङ कम्पनीको सर्वाधिक महंगो उत्पादन हो । गत बैशाख २२ गतेदेखि कम्पनीले यसलाई बजारमा उपलब्ध गराएको थियो । ग्यालेक्सी एस८ को बजार मुल्य ८८ हजार ९ सय रुपैंयाँ पर्छ भने ग्यालेक्सी एस८ प्लसको मुल्य ९८ हजार ९ सय रुपैंयाँ पर्छ । यी दुई मोबाइल सेटहरु सामसङको हालसम्मकै सर्वाधिक महंगो र अत्याधुनिक फिचर समेटिएका मोबाइल हुन् । ग्यालेक्सी एस८मा ५ दशमलब ८ इन्चको स्व्रिmन छ भने ग्यालेक्सी एस८ प्लसमा ६ दशमलब २ इन्चको स्क्रिन रहेको छ । एस८ प्लसमा होम कीको साटो प्रेसर सेन्सर भएको सफट् की राखिएको छ । ठूलो स्क्रिन भए पनि यी मोबाइलहरुमा गोलाकार किनार र सिमेट्रिक साइडले एउटै हातले मोबाइल चलाउन सकिने सुबिधा रहेको छ । यी मोबाइलमा डिफेन्स ग्रेड सेक्युरिटी प्ल्याटफर्म, फिंगर प्रिन्ट, फेस रिकगिनसन(अनुहार चिन्न सक्ने क्षमता) लगायतका बायोमेट्रिक प्रबिधी जडान गरिएको आइरिस स्क्यानर पहिलो पटक राखिएको छ । एफ १.७ लेन्स जडान गरिएको ८ मेगापिक्सलका फ्रन्ट क्यामेरा, न्युन प्रकाश र उच्च प्रकाशमा पनि उज्यालो दिन सक्ने रिजोलुसन, अटोफोकस, फेसियल रिकगिनसन टेक्नोलोजी, फन स्टिकर र स्ट्याम्प पनि यसमा रहेका छन् । १० एनएम प्रोसेसरले २० प्रतिशत व्याट्री खपत कम गराउने कम्पनीले बताएको छ । यी मोबाइलमा आइपी६८ वाटर एण्ड डस्ट रेसिसटेन्स, हाइब्रिड ड्युअल सिम स्लट, २५६ जिबीसम्म् बडाउन मिल्ने ६४ जिबीको इन्टर्नल मेमोरी, चाँडै चार्ज हुने व्याट्री, सधैं अन हुने डिस्प्लेको बिशेषता यी मोबाइलमा पाइन्छ । ग्यालेक्सी एस८ मोबाइल मिडनाइट ब्ल्याक र म्यापल गोल्डमा उपलब्ध छन् भने एस८ प्लस कोरल ब्ल्यु भ्यारियन्टमा उपलब्ध छन् । हुवावेको नोवा आइ टु विश्वकै तेस्रो ठुलो मोबाइल कम्पनी हुवावेले बहुप्रतिक्षित नयाँ फोन नोवा आई टू नेपाली बजारमा भित्र्याएको थियो । यसको बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ रहेको छ । नोभा २ आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजिएस गोल्ड गरी दुई वटा कलरहरुमा उपलब्ध छ । यो स्मार्टफोनको ब्याट्री क्षमता ३३४० एमएच रहेको छ । यो मोबाइलको ५.५० ईञ्चको स्क्रिन साइज रहेको छ । कम्पनीका अनुसार यसको रिजोलूशन १०८०*२१६० पिक्सल रहेको छ । यो स्मार्टफोन १.७ गीगाहर्ज अक्टा(कोर प्रोसेसरको हाइसिलिकन किरिन ६५९ मोडलमा आधारित छ । यसको आन्तरिक स्टोरेज ६४ जिबिको छ भने ४ जिबिको र्याम रहेको छ । यसको स्टोरेजलाई २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ । १६ मेगापिक्सलको रियर क्यामरा रहेको यो मोबाइलको फ्रन्ट क्यामरा ९सेल्फि क्यामरा० १३ मेगापिक्सलको रहेको छ । यो एन्ड्रोइन ७.० भर्सनको अपरेटिङ सिस्टमबाट सञ्चालित छ । १५६.२०*७५*७.५० (लम्बाई, चौडाई र मोटाई) नापको यो मोबाइलको तौल १६४ ग्राम रहेको छ । लेनोभोका चार स्मार्टफोन गत २९ असारमा लेनोभो स्मार्टफोनले नयाँ चार स्मार्टफोनका मोबाइलहरु नेपाली बजारमा ल्याएको थियो । सार्वजनिक गरिएका मोडलहरुमाः लेनोभो के थ्री नोट, लेनोभो के फोर नोट, लेनोभो भाइव पी वान एम, र लेनोभो भाइव सी हुन् । कम्पनीका अनुसार लेनोभो के फोर नोटमा ५.५ इन्चको फूल एचडी डिस्प्ले छ भने यसमा ३ जीबी र्याम, १६ जीबी रोम र ३,३०० एमएएच ब्याट्री रहेको छ । यो १.३ गीगाहर्जको अक्टा कोर प्रोससरद्धारा संचालन हुन्छ । यसले फोरजी एल टी ई नेटवर्क सपोर्ट गर्दछ । यसको मूख्य विशेषता भनेको यसको पछाडिको भागमा रहेको फिंगरप्रिन्ट रिडर हो । यो फोनमा ड्यूल एलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको फेस डिटेक्सन, अटोफोकस रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट सूटर रहेको छ । उपभोक्ताले यो मोडलको खरिदमा एउटा निशुल्क भी आर हेडसेट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । लेनोभो के फोर नोटमा रहेको थिएटर म्याक्स फीचरले प्रयोगकर्तालाई ठूलो स्क्रीनमा हेरेको जस्तै अनुभव प्रदान गर्दछ । यसमा लेनोभो भीआर टेक्नोलोजी प्रयोग गरिएको छ जसले सिनेम्याटिक एक्सपेरियन्स दिन्छ । यो स्मार्टफोनमा हेरिने मूभिज, गेम्सलाई अझ आकर्षक र रोचक अनुभव लिएर भिआर हेडसेटका साथ हेर्न सकिन्छ । त्यस्तै कम्पनीले सराउण्ड साउण्ड अडियो सिस्टम प्रयोग गरेको छ जसले यसलाई अझ आकर्षक बनाएको छ । अर्को फोन लेनोभो के थ्री नोटमा १.७ गीगाहर्जको प्रोसेसर छ भने यसमा २ जीबी र्याम र १६ जीबीको रोम रहेको छ । यो स्मार्टफोनले ५.५ इन्चको एफ एच डी डिस्प्ले, २९०० एमएएच ब्याट्री प्रदर्शन गर्दछ । यसमा ड्यूल एलईडी फ्ल्याश सहित १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसमा विश्वको पहिलो डल्बि एटमोस भएको ड्यूल स्पीकर रहेको छ । कम्पनीका अनुसार लेनोभो भाइव पी वान एममा ५ इन्चको आइृपीएस डिस्प्ले छ र यो २ जीबी र्याम र १६ जीबी रोम सहित आउँछ । यसमा ४ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जसले टूजीमा ३६ घण्टासम्मको टक टाइम र थ्रीजीमा १६ घण्टासम्मको टक टाइम दिन्छ । यो फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । लेनोभो भाइव सी १.१ गीगा हर्जको क्वाड कोर प्रोसेसर, र १ जीबी र्याम तथा ८ जीबी रोमसहित आउँछ । यो फोनमा २,३०० एमएएचको ब्याट्री प्याक रहेको छ, जसले २६० घण्टासम्म निरन्तर फोन संचालन हुन्छ । यो स्मार्टफोनले फोरजी नेटवर्क पनि सपोर्ट गर्दछ भने यसमा ५ मेगापिक्सेलको रियर क्यामरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ । कम्पनीले जनाए अनुसार यी सबै मोडलहरुले एन्ड्रोयड ललीपप अपरेटिंग सफ्टवेयर सपोर्ट गर्दछ भने द्रूत र शक्तिशाली प्रोसेसर सहित आउँछन्, जसले ड्यूल स्ट्याण्डवाई सहितको ड्यूल सिम सपोर्ट गर्दछ । कम्पनीले लागू गरेको नयाँ मोडलको घोषणाका साथमा क्यास काउण्ट योजना पनि संचालनमा छ । लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्ट फोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जुन स्क्रयाच गरि स्योर शट पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म क्यास काउण्ट गर्ने अवसर पाउने कम्पनीले बताएको छ । ओटोको फ्रयांक ड्युअल ओटो फोन्सले यसपाली नेपाली बजारमा ओटो फ्रयांक ड्युअल सार्वजनिक गरेको थियो । यो मोबाइल बजारमा सुनौलो र कालो रंगमा उपलब्ध छ । यो भन्दा पहिले ओटोले मार्क सिरिज अन्तर्गत ओटो मार्क र ओटो मार्क २ बजारमा ल्याइसकेको छ । ओटो फ्र्यांक ड्युअल को फुलमेटल बडी, २.५ डि कर्भस्क्रीन, पछाडी सोनीको आइएमएक्स लेन्सको दुईवटा क्यामेराको साथै फिंगरप्रिन्ट सेन्सरको कारण १० हजार भन्दा तलका फोनहरुमध्य उत्कृष्ट फोन बन्ने विश्वास कम्पनीले राखेको छ। ओटो मार्क २ सिरिजपछि, ओटो फोंन्सले फेरी पनि आफ्नो स्मार्टफोंन्सका साथ विविध तथा उत्कृष्ट अनुभव दिन फ्रान्क सिरिज बजारमा उपलब्ध गराएको कम्पनीको भनाई रहेको छ । ५ इन्चको २.५ डि कर्भस्क्रीन रहेको ओटो माहजुरले फ्र्यांक ड्युअल एचडी आइपिएस डिस्प्लेको सुबिधा पाउन सकिनेछ । यो फोनको विशेषता भनेकै यो फोनको बलियो स्क्रीन रहेको छ । अन्य फोनहरु भन्दा यो फोनको स्क्रीन बलियो र मजबूत रहेको ओटो फोन्सको दाबी छ । सामान्यरुपमा हातबाट झर्दा पनि यो फोनको स्क्रीन सजिलै नफुट्ने भएकोले यो फोनलाई कम्पनीले ‘टफ फोन’ भनेर बजारमा सार्बजनिक गरेको छ । यो फोनको फुल मेटलबडीले प्रयोगकर्तालाई प्रीमियम फोनको अनुभव दिनेछ । बलियो फोनको साथ साथै यो फोनमा हजुरले अहिले बजारमा चलिरहेको ड्युअल क्यामेराको प्रवृत्तिको सुबिधा पनि रहेको कम्पनीले जानकारी दिएको छ । यो फोनको पछाडी दुइवटा क्यामेरा, एउटा क्यामेरा ८ मेगापिक्सल र अर्को क्यामेरा २ मेगापिक्सलको रहेको छ । यी क्यामेरामा सोनीको आइएम एक्स लेन्सको प्रयोग गरिएको छ । अगाडीको सेल्फी क्यामेरा चाँही २ मेगापिक्सलको रहेको छ । ओटो फ्रयांक ड्यूअल एन्ड्रोइडको नोगटको साथै १.३ गिगाहर्ज मिडिया टेक ६५८० क्वाड कोर प्रोसेसर बाट परिचालित छ । ओटो फ्रयांक ड्युअल १६ जिबिको रोम र १ जिबिको र्योम ले सुसज्जित छ १६ जिबिको रोम ६४ जिबिसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । माइक्रोम्याक्सको क्यु ३००१ र क्यु३३०१ यो माइक्रोम्याक्सले नयाँ उत्पादन क्यु ३००१ र क्यु३३०१ नेपाली बजारमा ल्याएको थियो । क्यु ३००१ र क्यु३३०१ दुबै बोल्ट सिरिजको स्मार्टफोनकारुपमा सार्वजनिकगरिएको हो । स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो। क्यु ३००१मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ । यो फोनमा ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा र सेल्फीकालागि २ मेगापिक्सेलको क्यामरा रहेको छ ।यसमा ४.० इन्चको एफडब्लूभीजीए डिस्प्ले रहेको छ । यो फोन ३जी सपोर्ट गर्दछ भने १,४०० एमएएचको ब्याट्रीका साथमा उपलब्ध छ ।यसको अधिकतममूल्य ५ हजार ६० रुपैयाँ छ । क्यु ३३०१ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ, जसले गर्दा यो फोन तिब्र संचालन हुन्छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ । यसमा ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामरा रहेको छ । यो फोन थ्रीजी सपोर्ट गर्दछ भने १,६५० एमएएचको ब्याट्रीका साथमाउपलब्ध छ । यो फोनको आर्कषकता कायम गर्नका साथै फोनको अधिक सुरक्षाकालागि निशुल्क पारदर्शि ब्याक कभर छ । यसको अधिकतममूल्य पाँच हजार ७ सय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।
फेसबुकले लण्डनमा खोल्यो नयाँ कार्यालय, ८ सय जना कर्मचारी माग
लण्डन । सामाजिक सञ्जाल कम्पनी फेसबुकले आज बेलायतको लण्डनमा नयाँ कार्यालय खोलेको छ । यहाँ कम्पनीको अमेरिकाबाहिरकै सबैभन्दा ठुलो इञ्जिनियरिङ सेन्टर हुनेछ । कम्पनीको यो कार्यालय शहरको पश्चिमान्त क्षेत्रको अक्सफोर्ड सडकको नजिक छ । यसमा करीब ८ सय वटा तहका लागि जागिरको अवसर पनि खुल्दैछ । जसको आधा क्षेत्र इञ्जिनियरिङसँग सम्बन्धित छ । फेसबुकले १० वर्षपहिले यहाँ दर्ता गरेको थियो । कम्पनीका अनुसार नयाँ कार्यालयमा स्थानीय स्तरबाट अर्को वर्षसम्म २३ सय जना कर्मचारी भर्ना गर्नेछ । कम्पनीका उपाध्यक्ष (यूरोप, पश्चिमी एशिया तथा एशिया) निकोल मेन्डलशनले ब्रिटेनको प्रेस एसोसिएशनलाई भने, ‘पछिल्लो एक दशकमा यो देश फेसबुककव यात्राको निकै ठुलो हिस्सा बनेको छ । अब हामी ब्रिटेनका लागि अझै अधिकरुपमा प्रतिबद्ध छौं ।’
सेयर बजार दोहोरो अंकले ओरालो, दुई समूहबाहेक सबै समूह राताम्मे
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको करिब आधा घण्टा उकालो लागेको नेप्से परिसूचक त्यसपछिको कारोबारमा भने ओरालो लागेको हो । सो दिन बजार बन्द हुँदा नेप्से परिसूचक १०.९० अंकले ओरालो लागेर १५२६.७७ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । १५७ कम्पनीको कारोबार भएको सोही दिनको बजारमा जम्मा ५४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा जम्मा १० लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा दुई समूहको बाहेक अन्य बाँकी ८ समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०४ अंकले ओरालो लागेको छ । उता होटल र उत्पादनमूलक समूहको परिसूचक भने क्रमशः १८.९३ र ५.३५ अंकले उकालो लागेका छन् । सोमबार जम्मा १० समूह कारोबारमा आएका थिए । बजारमा सबैभन्दा बढी यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ५.२७ प्रतिशत गुमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७६ रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ७१ रुपैयाँ घटी हो ।
रौतहट ४ मा डा. बंशिधर मिश्र ९ हजार मतले अगाडी
काठमाडौं । रौतहटको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेदवार डा. बंशिधर मिश्र करिब ९ हजार मतले अगाडी देखिएका छन् । केहि समय अघि सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेदवार डा. मिश्र ८ हजार ८ सय ८९ मतले अगाडी देखिएका हुन् । यो निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाका लागि एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य डा. बंशिधर मिश्र उम्मेदवार छन् । प्रदेश क मा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ भने ख मा एमालेको उम्मेदवार रहेका छन् । यो क्षेत्रमा बाम गठबन्धनको मत ३० हजार ७ सय ७९ रहेको छ भने लोकतान्त्रिक गठबन्धनको जम्मा २१ हजार ८ सय ९० मत मात्रै रहेको छ । यो क्षेत्रमा मधेशवादी गठबन्धनको मत भने जम्मा ८ हजार ७ सय ८४ मात्रै रहेको छ । रौतहटको उत्तरी भेग समेटेको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका डा. मिश्र र लोकतान्त्रिक गठबन्धनका देवी प्रसाद तिमल्सिनाबिच नै प्रतिष्पर्धा हुने बताइँदै आएको छ । तर बाम गठबन्धनका डा. मिश्र करिब ९ हजार मतले अघि रहेसँगै यस गठबन्धनका कार्यकर्ताले भने जित सुनिश्चित रहेको बताउँदै आएका छन् । डा. मिश्र आफैं मधेशी मुलका हुन भने उनले पहाडी मुलकी श्रीमति विवाह गरेका छन् । आफु मधेश र पहाडलाई जोड्ने सेतु भएको बताउँदै डा. मिश्रले मत माग्दै आएका छन् ।
एक्सेल डेभलपमेन्ट बैंकको १९ औं शाखा मोरङ्को उर्लावारीमा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं शाखा मोरङ् जिल्लाको उर्लावारी नगरपालिका अन्तर्गत उर्लावारी बजारमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन सोमबार(आज) उर्लावारी नगरपालिकाका नगरप्रमुख खडग फागो र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका हुन् । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको उर्लावारी बजारमा ग्राहककै रोजाइको माध्यम अर्थात एबीबीएस, एसएमएस,आईपीएस, अनलाइन क्लिएरिङ तथा मोवाईल बैंकिगं, रेमिट्यान्स सेवा लगायतका अधिकांश बैंकिङ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालयबाट प्रदान गरिने बैंकले जनाएको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्का विभिन्न २२ स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, चालु आवमा आफ्नो कार्यक्षेत्रभित्रका थप केहि ठॉउहरुमा शाखा विस्तार गर्ने लक्ष्य समेत लिएर कार्य सम्पादन गरिरहेकोे बैंकले जनाएको छ ।
५ वर्षभित्रै दाङमा बन्दैछ बहुउद्देश्यीय सुविधासम्पन्न रंगशाला, डिपिआरको काम अन्तिम चरणमा
दाङ । दाङको बेलझुण्डीमा सुुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला बन्ने भएको छ । मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि सम्भावित खेलस्थल निरीक्षणका लागि यहाँ आउनु भएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहलले पाचँ वर्षभित्रै बेलझुण्डीमा सुविधा सम्पन्न बहुुउद्देश्यीय रंगशाला बन्ने गरी काम थाल्ने बताएका छन् । जिल्लाको खेलकुद विकास र विस्तारका लागि बहुउद्देश्यीय रंगशाला निर्माणको गुरुयोजना बमोजिम डिपिआरको कार्य अन्तिमचरणमा पुगेकाले अब छिट्टै निर्माण प्रक्रिया शुरु हुने उनले बताए । सचिव दाहलले बेलझुण्डीको १५ बिगाहा जमिनमा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान, चारसय मिटर ट्र्याकभित्र फुटबलको अभ्यास खेलमैदान, आन्तरिक खेलका लागि बहुउद्देश्यीय कर्बड हललगायतका भौतिक संरचना निर्माणका लागि डिपिआरको काम भइरहेको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले आठाैं राष्ट्रिय खेदलकुदलाई लक्षित गरी डिपिआरको कामसँगै बजेट निकासा तत्काल अगाडि बढाउन आग्रह गरे । रासस