विकासन्युज

ग्लोबल आइएमई बैंकको ५० औँ शाखारहित बैकिङ्ग सेवा डडेलधुरामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ५० औ शाखारहित बैकिङ्ग सेवा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा सुरु गरेको छ । उक्त स्थानमा सुरु गरिएको सेवाको लागि स्थानिय नारायणदत्त अवस्थीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

यती एयरलाइन्सद्धारा यात्रु सेवाको लागि प्रयोग नहुने विमान क्यानलाई हस्तान्तरण

काठमाडौं । यति एयरलाइन्सले आफुसँग भएको यात्रु सेवाको लागि प्रयोग नहुने बीएई प्रणालीको जेटस्ट्रिम ४१ (सिरियल नं. ४१०१७) लाई हस्तान्तरण गरेको छ । एयरलाइन्सले भैरहवा स्थित गौतमबुद्ध विमानस्थलअन्तर्गतको उद्धार तथा अग्नि निवारणको दैनिक अम्यास प्रयोजनार्थ उक्त विमान हस्तान्तरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण नेपालले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने बताईएको छ । यस्ता विमानप्रयोग गरि प्रदानगरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुहरुलाई फाइदा पुग्नेमा यति एयरलाइन्स विश्वस्त छ । मंसिर ११ गते एक औपचारिक कार्यक्रमकाबिच उक्त विमान हस्तान्तरण गरिएकाे हाे । यति एयरलाइन्सका ग्राउण्ड ह्याण्डलीङ्ग मेनेजर अंकुर जंग राणाले गौतमबुद्ध विमानस्थल ना.उ.कार्यालयका प्रमुख शिशिल चित्रकारलाई उक्त विमान हस्तान्तरण गरेका हुन् । उडान कार्यका अतिरित्त यति एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानकालागि सधै सक्रिय र प्रतिबद्ध रहेको छ । यस भन्दा पहिले नेपालमा कुनै पनि निजी विमान कम्पनीद्धारा यस्ता विमानहरु सार्वजनिक हितकालागि हस्तान्तरण गरेका थिएनन् ।

सेयर बजार दोहोरो अंकले उक्लियो

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको नेप्से परिसूचक बुधबार भने १०.१२ अंकले उकालो लागेर १५२३ अंकमा पुगेको छ । बजारमा अघिल्लो दिनको तुलनामा परिसूचकमा वृद्धि भएता पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन(सोमबार) ६५ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार(आज) जम्मा ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम करिब ८ करोड रुपैयाँले घटि हो । चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर किनबेच भएको छ । सो दिन यस कम्पनीको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ रहेको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका १० समूहमध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी अन्य समूहको परिसूचक ३४.४१ अंकले उकालो लागेको छ । उता, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बीमा र उत्पादनमूलक समूहको परिसूचक राताम्मे भएका छन् । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ८ प्रतिशत कमाएका छन् ।

चुनाव लगत्तै तराईका बाढी पीडितलाई एकमुष्ठ २५ हजार राहत

काठमाडौं । सरकारले आगामी मंसिर २१ गतेको निर्वाचन लगत्तै तराईका ४१ हजार ६ सय २६ बाढी पीडित परिवारलाई एक अर्ब ४० करोड ६५ हजार रुपैंयाँ वितरण गर्ने भएको छ । सरकारले तराईका बाढी पीडितलाई तत्कालिन राहत स्वरुप १५ हजार र जाडोमा न्यानो कपडा खरिदका लागि थप १० हजार रुपैंयाँ उपलब्ध गराउन लागेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी पीडितलाई राहतको १५ हजार र न्यानो कपडा खरिद गर्न थप १० हजार रुपैंयाँ एकमुष्ठ उपलब्ध गराउनेछ । ‘मन्त्रि परिषदले प्राधिकरणको अगुवाईमा रकम वितरण गर्ने भनेको छ, हामीले बजेटका लागि अर्थ मन्त्रालयमा लेखि पठाएका छौं, निर्वाचन लगत्तै वितरण आरम्भ हुन्छ’, प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । गत साउनको बाढी तथा डुबानका कारण ४१ हजार ६ सय २६ परिवार पुर्णरुपले विस्थापित भएका थिए भने १८ जिल्लाका १ सय ३४ को मृत्यु भएको थियो । गत कात्तिक ६ गतेको मन्त्रिपरिषद बैठकले बाढी तथा डुवान प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनर्निर्माणको समन्वय गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने गरी बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना गठन गरेको थियो । अब सोही समितिले चुनावपछि बाढी तथा डुबान पीडितलाई राहत तथा न्यानो कपडाका लागि रकम उपलब्ध गराउनेछ । बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले देखाएको थियो ।

नेपाल सेवा लघुवित्तले एक करोड ८० लाखको आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणको लागि एक करोड ८० लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । लघुवित्तले मंसिर ७ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।

डिप्रोक्स लघुवित्त विकास बैंकले १६ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत गरी १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणा कम्पनीको मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६१ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ७० करोड नाघ्ने कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंकबाट अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर(एयूडी)खाताखोली उक्त कारोबारको शुरु गरेको हो । यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने छ । साथै, अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

अन्तर बैंक ब्याजदरको सीमा नाघेपछि राष्ट्र बैंकले १० अर्ब बजारमा पठाउदै

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ पठाउने भएको छ ।अन्तर बैंक ब्याजदर कम भएपछि केन्द्रीय बैंकले बजारमा हस्तक्षेप गर्न रिपोमार्फत मंगलबार बजारमा पैसा पठाउन लागेको हो । बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलताको कमी हुन गएपछि तत्काल तरलतको समस्या समधान गर्न १० अर्ब रुपैयाँ थप रकम बजारमा पठाउन लागेको हो । १४ दिन अवधिको रिपोको ब्याज दर ५ प्रतिशत रहेको छ । रिपोको रकम मंसिर २६ गते फिर्ता हुने केन्द्रीय बैंकले जनाएको छ । अहिले बजारमा १६ अर्ब रुपैयाँ हारहारीम तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।