विकासन्युज

पाँच बर्षमा केरुङ-काठमाडौं रेलवे बनाउने योजना काल्पनिक हुनः डा. रामशरण महत

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी पाँच बर्षभित्र केरुङ–काठमाडौं रेलवे निर्माण गर्ने योजना काल्पनिक भएको बताएका हुन् । सोमबार नेपाल उद्योग बाणिज्य महासंघले राजधानीमा आयोजना गरेको अबको संकल्प, आर्थिक समृद्धि नामको कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले पाँच बर्षभित्र केरुङ–काठमाडौं रेलवे निर्माण गर्ने योजना काल्पनिक भएको र त्यो सम्भव नहुने बताएका हुन् । ‘पाँच बर्षमा केरुङ–काठमाडौं रेलवे बनाउने भन्ने योजना छ, अझै त्यसलाई बढाएर पोखरा र लुम्बिनीसम्म लैजाने भनिएको छ, यी काल्पनिक योजना हुन, सम्भव छैनन्’, डा. महतले भने । उनले नेपालका राजनीतिज्ञहरुले काल्पनिक योजना अघि सारेर भाषणवाजीमै अल्झिएको आरोप समेत लगाए । ‘नेताहरुले महत्वकांक्षी योजना बनाउनु पर्छ, तर ती योजना भाषणमा मात्रै सिमित बन्नु हुन्न, तर हामी कार्यान्वयनको कुनै योजना नभै भाषण मात्रै गरिरहेका छौं’, डा. महतले भने । उनले भाषण गर्न सजिलोे हुने तर काम गर्न कठिन हुने भन्दै सम्भव हुने खालका योजना मात्रै भाषणमा समेटिनुपर्नेमा पनि जोड दिए । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत सुधार्न नसक्नेहरुले पाँच बर्षमा केरुङ–काठमाडौं रेलवे निर्माण गर्ने सपना बाढ्नु नै आश्चर्यजनक भएको पनि बताए ।

नेपाल बङ्गलादेश बैंकको १५ प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई आइतबार सम्पन्न कम्पनीको २३औँ साधारणसभाले सो मात्राको लाभांश पारित गरेको हो । साभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । सोही साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम तथा सर्वसाधारण सेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेल आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । साथै, सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष पनि चयन गरिएको छ । १२ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी ८ अर्ब ०८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । साथै, बैंकले सो अवधिमा ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप र ३७ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यसैगरी, बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।

हाथवे इन्भेष्टमेन्टको नयाँ भवन लैनचौरमा, सुचिकृत कम्पनीको शेयरमा लगानी गर्ने

काठमाडौं । आइएमई समुहद्धारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नयाँभवन लैनचौरको भवनहाथवे कम्प्लेक्समा सारेको छ । यस कम्पनी सोमबारदेखि उक्त स्थानमा सरेको हो । नयाँभवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरेका छन् । स्थापनाको छोटो समयमा नै पुँजी बजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ । पुँजी बजारका अलवादीधकालीन लगानीका रुपमा रियलस्टेट, हाईडोपावर, विमाब्यवसाय जस्ता क्षेत्रहरुमा समेतलगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेका एनबी इन्स्योरेन्स कम्पनी र अरुण फाईनान्स लि. को शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलता पुर्वक संचालनमा ल्याएको छ । उद्घाटनको अवसरमा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजि क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए । नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी(ओभर द काउन्टर) मार्केटमा सुचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत शेयर खरिद बिक्री गर्न सक्ने छन् । साथै, कम्पनीको ५० रुपैयाँ प्रतिकित्ता शेयर १२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

सेयर बजारमा ३९ करोडको कारोबार, ग्रीन डेभलपमेन्टको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि

काठमाडौं । सोमबारको सेयर बजारमा ३९ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ घटि हो । आइतबारको बजारमा ४५ करोड बराबरको सेयर कारोबार भएको थियो । सोमबार १६० कम्पनीका ११ लाख ४६ हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा कारोबार रकम सँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से सोमबार ६.५६ अंकले झरेर १४६९ अंकमा अडेको छ । बजार राताम्मे हुँदा पनि ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । अघिल्लो दिनको तुलनामा आज यस कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशत अर्थात प्रतिकित्ता ४६ रुपैयाँ बढी कमाएका छन् । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ रहेको छ । यस कम्पनीले सेयरधनीमाझ ४०० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति पाइसकेको छ । सोमबार अन्य समूहको परिसूचक बाहेक बाँकी समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९ अंकले ओरालो लागेको छ । अन्य समूहको परिसूचक भने सामान्य २.८९ अंकले उकालो लागेका छन् ।

डीडीएकाे भन्दा स्वाप रेसियाे बढी भएपछि मेगाको विशेष साधारणसभामा विवाद

काठमाडौं । सम्झौता विपरित चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) मा  सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) आएपछि मेगा बैंकको वार्षिक साधारणसभामा विवाद भएको छ । मेगाले टुरिजम् डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अघि बढेपछि तयार भएको डीडीएमा स्वाप रेसियो ९१.९७ प्रतिशत भएपछि विवाद बढेको हो । डीडीएअघि नै मेगाले टुरिजमसंग ९५ मा स्वाप रेसियो कायम गर्ने सम्झौता गरेको थियो । सेयर सदस्यहरुले स्वाप रेसियो डीडीए अनुसार हुनुपर्ने अडान लिएका छन् । मेगाले सोमबार टुरिजमसंग मर्जरमा जान विशेष साधारणसभा बोलाएको छ । विहान ११.३० बजे बोलाइएको साधारणसभा विवादका कारण दिउसो ३ बजे सम्म अगाडि बढ्न सकेको छैन । बैंकका सेयरधनी तथा लगानीकर्ताले डीडीएको प्रतिवेदन अनुसार मर्जरमा जानु पर्ने बताएका छन् । तर पदाधिकारी तथा संचालकहरु सम्झौता अनुसार अघि बढ्नु पर्ने पक्षमा छन् । यता मेगाका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह मर्जमा जानुपर्ने अडानमा रहेका छन् । मेगाले ६५ प्रतिशत हकप्रद निष्काशन गरेपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै टुरिजमले पनि साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउने भएको छ ।  

ग्रीन डेभलपमेन्ट बैंकलाई ४०० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्रीन डेभलपमेन्ट बैंकलाई ४०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई मंसिर ३ गते १ बराबर ४ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ४०० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ ।

वामपन्थी सरकार बनेपछि रक्सौल-अमलेखगञ्ज पाइपलाईन खारेज : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलगतै बन्ने वामपन्थी गठवन्धनको सरकारले रक्सौल अमलेखगन्ज पाइपलाइन सम्झौता रद्ध गर्ने बताएका छन् । पाइपलाइन सम्झौतामा भएका कतिपय विषय मुलुकहितमा नभएको बताउदै उनले सकेसम्म सच्याउने र नभए सम्झौता खारेज गर्ने जानकारी दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाइपलाइन संरचना बनेपछि भारतबाट १५ वर्षसम्म पेट्रोलियम पदार्थ किन्नुपर्ने वाध्यकारी सम्झौता राष्ट्रहित विपरित भएको दावी गर्दे सम्झौता रद्ध गर्ने बताएका हुन् । ‘मलाई त्यस्तो सम्झौता भएको छ जस्तो लाग्दैन, त्यस्तोे सम्झौता भएकै हो भने हामीलाई मान्य हुन्न, हामी नाका बन्दी लगाउँदा पनि नलाग्ने गरि देश बनाउन चाहान्छौं, आफ्नै घाँटीमा पासे लगाउने काम गर्दैनौं, त्यस्ता सम्झौता सच्याइन्छ’, ओलीले भने । नेपाल र भारतबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ३९ किलोमिटर पाइपलाइन नेपाल भूभागमा निर्माण गरिनेछ भने दुई किलोमिटर भारतीय भूमिमा पर्नेछ । निर्माण आरम्भ भएको ३० महिनामा पाइपलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कुल ४ अर्ब ४० करोड नेपाली रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि नेपालले एक अर्ब २० करोड र भारतले ३ अर्ब २० करोड लगानी गर्नेछन् । पाइपलाइनले पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत आयात गर्नेछ भने हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत आयात गर्नेछ । तर नेपालले आगामी १५ वर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नुपर्नेछ ।

४ वर्षपछि चिलिमे हाइड्रोपावरले ४ आयोजनाबाट वार्षिक १ अर्ब लाभांश पाउने

काठमाडौं । निर्माणधिन ४ जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछिको वर्षदेखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक १ अर्ब रुपैयाँ बढी थप लाभांश पाउने भएको छ । हाल निर्माणधिन १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, १४ मेगावाटको सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेन आयोजनाबाट २७० मेगावाट बिजुली बिक्री गरेर सो रकम बराबर लाभांश पाउने कम्पनीका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । उनका अनुसार यी आयोजना आउँदो ३ वर्षदेखि बिजुली उत्पादन गर्नेछन् । आयकर (कर्पोरेट ट्याक्स) का कारण केही वर्ष सेयरधनीलाई दिने लाभांश घटेपनि ४ वर्षपछि आयोजनाले बिजुली उत्पादन गरेको वर्षदखि वर्षेनी १ अर्ब रुपैयाँको हाराहारीमा लाभांश प्राप्त गर्ने उनको भनाई छ । बैकको कर्जा घट्दै गएपछि लाभांश बढ्दै जाने उनको भनाई छ । “पहिलो वर्ष चिलिमेको समेत गरी १ अर्ब रुपैयाँ हाराहारीमा लाभांश पाउने अनुमान गरिएको छ” उनले भने । सरकारले जलविद्युत आयोजनालाई १५ वर्षसम्म आयकर छुट दिएको छ । चिलिमेको आयकर छुट सुविधा यो वर्षदेखि सकिदै छ । आगामी आर्थिक वर्षदेखि सरकारलाई आयकर बुझ्नुपर्ने भएपछि आम्दानी घटेर यसको असर लाभांशमा परेपनि केही वर्षपछि सहायक कम्पनीबाट प्राप्त हुने लाभांशले सेयरधनीलाई दिने प्रतिफल बढ्ने उनको भनाई छ । आगामी वर्षदेखि कम्पनीले नाफाको २० प्रतिशत आयकर तिर्नुपर्ने छ । चिलिमेको नाफा ९० करोड रुपैयाँ छ । चिलिमेले आगामी आर्थिक वर्ष ०७५/०७६ देखि संचित कोषमा रहेको ५ अर्ब २१ करोड ५३ लाख रुपैयाँ बोनस सेयरको रुपमा वितरण गर्ने भएको छ । कम्पनीले संचित कोषको रकम एकैपटक नभई वर्षेनी १५ प्रतिशतका दरले सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने छ । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ छ । चिलिमेले आव ०६०/०६१ देखि बिजुली उत्पादन थालेको हो । चालु आवमा गरेको नाफाबाट मात्र चिलिमेका सेयरधनीले राम्रो लाभांश पाउने छन् । चालु आवमा पनि चिलिमेको लाभांशमा गिरावट आएर २५ प्रतिशतमा झरेको छ । चिलिमेले ४० प्रतिशतसम्म लाभांश दिएको छ । ५८५ मेगावाटको दुई आयोजना बनाउने चिलिमेले सहायक कम्पनीमार्फत ५८५ मेगावाट क्षमताका २ ठुला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । चिलिमेलाई ऊर्जा मन्त्रालयले ४२० मेगावाटको बुढीगण्डकी प्रोक र १६५ मेगावाटको बझाङमा रहेको सेती नदी ३ जलविद्युत आयोजनाको सर्वेक्षण गर्न अनुमतिपत्र (लाइसेन्स) दिएको हो । चिलिमेले अध्ययन गरेपछि आयोजनाको क्षमता विस्तार हुने छ । आयोजना अन्य ४ वटा आयोजनाको जस्तै सहायक कम्पनी बनाएर निर्माण गरिने श्रेष्ठले जानकारी दिए । यस्तै, चिलिमेले टावर निर्माण गर्ने भएको छ ।