समृद्धिको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ: प्रकाशमान सिंह
काठमाडौं। पूर्व उपप्रधानमन्त्री एवम् काठमाडौं क्षेत्र नं १ का प्रतिनिधि सभातर्फका नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले मुुलुकलाई आर्थिक समृद्धिमा लैजाने कामको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले मंगलबार साँझ नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरेको व्यवसायिक तथा बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् । उनले २०४६ सालमा लोकतन्त्रको पुनबहाली भएपछि आएको नेपाली कांग्रेसको बहुमतको सरकारले अबलम्बन गरेका आर्थिक उदारिकरणका कारण नेपालको औद्योगिक, व्यापारिक, जलविद्युत, सडक,शिक्षा,स्वास्थ्य हवाई यातायात, सञ्चार र पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए। उनले एमालेका सडक आन्दोलन र माओवादीका हिंसात्मक आन्दोलनका अवरोध नआएको भए नेपाली कांग्रेसले नेपालको विकास निकै माथिल्लो स्तरमा पुर्याइसकेको हुने पनि दावी गरेका छन् । उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले चुनेका प्रतिनिधिहरुले बनाएको संविधानले नेपालको राजनीतिक व्यवस्थाको टुंगो लगाइसकेको हुनाले अब आर्थिक विकासमा केन्द्रित हुन पार्टीलाई सहज हुने पनि बताएका छन्। कांग्रेस नेता सिंहले जनताको आर्थिक विकासको एजेण्डा नभएका दलहरु जनताका प्रतिनिधिले बनाएको संविधानको मर्म विपरीत कम्युनिष्ट शासन स्थापना गर्ने सपना देखेको आरोप पनि लगाए । नेता सिंहले मुलुकमा बढ्दै गएको भ्रष्टाचार जस्ता विकृति र विसंगति साना र नयाँ दलका प्रतिनिधिहरुले हटाउन नसक्ने जिकीर गर्दै भने,“ राजनीतिक परिवर्तन मात्रै होइन, नीतिगत परिवर्तन पनि साना र नयाँ पार्टीबाट संभव छैन। नारायणमान विजुक्छेजी २०४८ सालदेखि निरन्तर संसदमा प्रतिनिधित्व गरिरहनुभएको छ, चित्रबहादुर के.सी. पनि दुईपटक आइसक्नुभयो, उनीहरुले कुनै सुधार गर्न सकेका छैनन् । सुधारको कुरालाई पार लगाउन पनि ठूलै पार्टी चाहिन्छ ।” पूर्व उपप्रधानमन्त्री सिंहले आफू निर्वाचित भएर गएपछि यस क्षेत्रका मतदाताहरुको इमान्दारीपूर्वक सेवा गरेको पनि दावी गरेका छन् । उनले संविधान निर्माणको नेतृत्व गर्ने सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै राजधानीको पहिलो नम्बरको निर्वाचन क्षेत्रलाई विकसित, सुन्दर र नमूना बनाउने संकल्प लिएर आएको बताए। उनले निर्वाचन अभियान र घरदैलोको क्रममा १०७ बर्षीय आमाको समेत आशिर्वाद पाएकोले यो निर्वाचनमा अलग्गै उत्साह थपिएको उल्लेख गरेका छन् । कार्यक्रममा क्षेत्र नं १ को प्रदेशसभा ९क० का नेपाली कांग्रेसका उम्मेवार दीपेन्द्र श्रेष्ठ र (ख)का उम्मेद्वार सुरज लामिछानेले नेपाली कांग्रेसले युवालाई समेत जिम्मेवारी दिएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, पूर्वाधार विकास,आर्थिक समृद्धिको लागि नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष चूडाराज उप्रेतीले १० बर्षभित्र साम्यवादी शासन स्थापना गर्ने प्रचण्डको अभिव्यक्ति डरलाग्दो भएकोले यो निर्वाचनमा जसरी पनि नेपाली कांग्रेसलाई बहुमतमा पुर्याउन बुद्धिजीवीहरुले खट्न पर्ने बताए । शान्ति,सुशासन,विकास र समृद्धि नेपाली कांग्रेसबाहेक अरुले दिन नसक्ने भएकोले नेपाली कांग्रेसलाई जिताउनुपर्ने तर्क राखेका छन् । अन्य कुराले जनतालाई आकर्षित गर्न नसकेपछि कम्युनिष्टहरुले नक्कली राष्ट्रवादको विषय उचालेको उल्लेख गर्दै प्रतिप्रश्न गरे,“ सार्वभौमसत्ता सम्पन्न जनतालाई दुःख दिएर पनि राष्ट्र बलियो हुन्छ ?” उनले विदेशसंग सुहार्द सम्बन्ध बनाउने काम सरकारको कर्तव्यभित्रै पर्ने उल्लेख गर्दै जनताले पाएको दुःखमा रमाउने नेताहरु राष्ट्रवादी हुन नसक्ने बताए । कार्यक्रममा प्राध्यापक गुणनिधि न्यौपानेले लामो समय बामपन्थी रहनु भएका प्रा चैतन्य मिश्रले एक लेखमार्फत “साह्रै नै माओवादी भइएछ,सोभियतवादी भइएछ, माक्र्सबाद पढिएछ र गाँजा खाइएछ” भनेर पश्चातापपूर्ण अभिव्यक्ति दिएकोले कम्युनिष्टहरुको नाराको पछाडि नलाग्न बुद्धिजीवीहरुसंग आग्रह गरेका छन् । कार्यक्रममा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष केशवानन्द गिरीले सिंह जत्तिको इतिहास भएको, राजनीतिमा खारिएको,अनुभवी र योग्य उम्मेद्वार पाउनु काठमाडौं क्षेत्र नं १ को सौभाग्य हो भन्दै उनलाई विजयी गराउन आग्रह गरेका छन्। भेलालाई संबोधन गर्दै नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलाले विभिन्न जातजाति र भूगोलमा बसेको नेपालीलाई भड्काउने दलहरु राष्ट्रवादी हुन नसक्ने बताउँदै भने,“राष्ट्रलाई कमजोर बनाउने पार्टी र तिनका नेताहरु राष्ट्रवादी हुन सक्दैनन।” कार्यक्रममा नेपाल वार एशोसियसनका अध्यक्ष शेरबहादुर के।सी।ले कम्युनिष्टका विरुद्धमा लोकतन्त्रवादीहरु एक हुनु पर्ने बताउँदै यो निर्वाचन पछि कम्युनिष्टहरुको पतनको दिन आउने भविष्यवाणी गरेका छन् । कार्यक्रममा प्रजातन्त्रवादी कानून व्यवसायी संघका अध्यक्ष भरत खरेल, प्रशासन तथा व्यवस्थापन केन्द्रका अध्यक्ष डिल्लीप्रसाद शिवाकोटी, नेपाल सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाल, नेपाल इञ्जिनियर्स एशोशियसनका अध्यक्ष हरेराम श्रेष्ठ, नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्ति श्रेष्ठ र नेपाल प्राध्यापक संघका खुमा शर्माले पनि यो निर्वाचन लोकतन्त्रवादी र कम्युनिष्टहरुको बीचको जनमतसंग्रहको रुपमा आएकोले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाउन आग्रह गरेका थिए । प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राजेन्द्र गौतमले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन जनक मल्लले गरेका हुन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे १० लाख घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले बुधबार चावहिलस्थित अम्बे अपार्टमेन्टबाट महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो । मंगलबार साँझ नयाँवानेश्वरस्थित इन्द्रणी फुडल्याण्डबाट विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल नायब सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेल र केसीको बयानका आधारमा महानिर्देशक पाण्डेलाई अख्तियारले बुधबार बिहान निवासबाटै पक्राउ गरको हो । अधिकृत पौडेल र नायव सुब्बा केसीलाई मंगलबार साँझ पक्राउ गरेको विभागका सुचना अधिकृत तथा निर्देशक मोहन अधिकारीले बताए । विकास न्युजसंग कुरा गर्दै अधिकारीले भने “पाण्डे सर आज कार्यलय आउनु भएको छैन, मैले पनि पक्राउ परेको सुनेको छु ।” म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता समेत विभागबाट रोक्का राखेकोमा सर्वोच्च अदालतबाट रोक्का फुकुवा गरी नियमानुसार काम गर्न दिनु भनि आदेश भईसकेको अवस्थामा शाखा अधिकृत पौडेल र नायव सुब्बा केसीले रोक्का फुकुवा नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा १० लाख रुपैयाँ घुस लिदालिदै पक्रिएको अख्तियारले जनाएको छ । घुस लेनदेन सम्बन्धी विषयमा विभागका महानिर्देशक पाण्डेको समेत संलग्नता प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको आधारमा हिरासतमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । महानिर्देशक पाण्डलेले मंसिरदेखि अवकास पाउदै थिए ।
लक्ष्मी बैंक र भारतको एक्सिस बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । लक्ष्मी बैंक र भारतको एक्सिस बैंक बीच रेमिट्यान्स सम्झौता भएको छ । मंगलबार सम्पन्न उक्त सम्झौता अन्तर्गत एक्सिस बैंक मार्फत पठाइएको रकम नेपाल स्थित लक्ष्मी बैंकको जुन सुकै शाखाबाट नगद भुक्तानी लिने सकिने छ । साथै, खातामा सोझै रकमान्तरको माध्यमबाट रेमिटान्स प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले आफनो संचित रकम सजिलै र सुरक्षित तरिकाले नेपाल पठाउन सक्नेछन् । त्यसैगरी, लक्ष्मी बैंकबाट सर्वसाधारणहरुले वैंकको जुनसुकै शाखाबाट प्रिपेड कार्ड मार्फत आफुले चाहेको १६ प्रकारका विदेशी मुद्रामा प्रिपेड कार्ड सटही गर्न सक्ने व्यवस्था गरिएको छ । सो सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट बैकका नायब प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले र भारत स्थित एक्सिस बैंकका तर्फबाट अशोक गौतम, एज्क्यिूटिभ भि.पी वित्तिय संस्था समूह र निरज सिन्हा, सिनियर भि.पी. अन्तराष्ट्रिय रिटेलले काठमाडौमा एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।
नेविसंघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत भएका छन् । नेवि संघको विधानबमोजिम त्रिपाठीलाई मंगलबार महामन्त्रीमा मनोनीत गरिएको नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ । युवा नेता त्रिपाठीले यसअघि नेवि संघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हाली सकेका छन् । रासस
ब्याजदर करिडोर लागु, राष्ट्र बैंकले बुधबार १५ अर्ब बजारबाट उठाउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज दर करिडोर लागु गरेको दिन बुधबार बजारबाट १५ अर्ब रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट सो रकम उठाएको हो । ३ प्रतिशत भन्दा फरक ब्याज दर प्रस्ताव नगर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । २ साताका लागि उठाइएको रकम आगामी मंसिर १३ गते परिपक्व हुने छ । केन्द्रीय बैंकले बजारमा बढी भएको तरलता प्रशोचन गर्न लागेको हो ।हाल बैकिङ प्रणालीमा २० अर्ब बढी तरलता रहेपछि बुधबार ठुलो रकम बैंकिङ प्रणालीबाट प्रशोचन गर्न लागेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् । चालु आर्थिक वर्षको मौद्रिक नीति लागु भएको ४ महिनापछि केन्द्रीय बैंकले ब्याज दर करिडोर लागु गरेको हो । तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने मौद्रिक नीतिमा करिडोरको व्यवस्था गरिएको थियो । ब्याजदर करिडोर लागु गर्न दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्यविधि गभर्नरले स्वीकृत गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ ।
ज्योति विकास बैंकको नयाँ शाखा हेटौडामा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मकवानपुर जिल्लाको हेटौडा बजारमा विस्तार गरेको छ । बैंकले उक्त स्थानमा थप शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख, निर्देशक रबिन्द्र महर्जनले गरेका थिए । विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले बैंकिङ सेवा क्षेत्रलाई शहरी एवं ग्रामिण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने बताए । साथै, उनले मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिदै आएको बताए । हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलब्ध गर्दै आएको छ । हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड पुगेको छ । गत आवको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्ने बैंकले जनाएको छ ।
ट्रेडमार्क नपाएपछि हिमालयन डिष्टिलरीका रोयल स्ट्याग र बेलेन्डर्स प्राइड मदिराको उत्पादन बन्द
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले रोयल स्ट्याग र बेलेन्डर्स प्राइड ब्राण्ड मदिराको ट्रेडमार्क अधिकार नपाएपछि नेपालमा उत्पादन बन्द भएको छ । भारतको प्रेन रिकार्ड कम्पनीले हिमालयनसंग गरेको सम्झौता नवीकरण नगरेपछि रोयल स्ट्याग र बेलन्डर्स प्राइडको उत्पादन बन्द भएको हो । ट्रेडमार्क नदिएपछि भारतीय कम्पनीसंग विवाद भइरहेको हिमालयनले जनाएको छ । अहिले ट्रेडमार्क अधिकारका लागि अदालतमा मुद्धा चलेको हिमालयनले जनाएको छ । उत्पादन बन्द भएपछि आम्दानीमा असर परेको कम्पनीले जनाएको छ । यस्तै बजारमा ल्याइएको रोयल ट्रेजर ब्राण्डको बिक्री पनि लक्ष्य अनुसार नहुदा आगामी दिनमा कारोबारमा असर गर्ने कम्पनीले जानकारी दिएको छ । सन् १९९५ देखि रोयल स्ट्याग र पछिल्लो समयमा ब्लेन्डर्स प्राइड ब्राण्डको ह्विस्की नेपालमा उत्पादन तथा बिक्री वितरण हुदै आएको थियो । दुबै ब्राण्डका ह्विस्की नेपाली बजारमा निकै रुचाईएको थियो । ब्राण्ड अधिकार नपाएपछि हिमालयनले अहिले रोयल ट्रेजर ह्विस्की, गोल्डेन ओक र आइला ब्राण्डको ह्विस्की मात्र उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । विदेशी कम्पनीले ट्रेडमार्क अधिकार नदिएपछि कम्पनीका लगानीकर्ता र उपभोत्ताको हितका लागि भनेर कानुनी उपचारमा गएको हिमालयनले जनाएको छ । रोयल ट्रेजरको र गोल्डेन ओकको बिक्री सोचेअनुसार नभएको कम्पनीले जनाएको छ । यस्तै नयाँ ब्राण्ड गोल्डेन ओकको पनि अन्य कम्पनीले नक्कल गरी न्युन गुणस्तरको मदिरा उत्पादन गरी बिक्रीमा आएपछि यसको असर बजारमा परेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा हिमालयनले २ करोड ४६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४३ लाख ८० हजार रुपैयाँ नोक्सान ब्योहरेको हिमालयनले पहिलो त्रैमाशमा भने नाफा गरेको छ । गत वर्ष कम्पनील ३ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत असारको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएर ६ रुपैयाँ ३८ पैसा पुगेको छ । गत असारमा प्रतिसेयर आम्दानी १० रुपैयाँ थियो । ३ महिनामा हिमालयनले ३४ करोड ७३ लाख रुपैयाँको मदिरा बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा १ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ मदिरा बेचेर आम्दानी गरेको थियो । हिमालयनमा ६२ प्रतिशत संस्थापक र ३८ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । कम्पनीको वार्षिक मदिरा उत्पादन क्षमता १ करोड १७ लाख ६० हजार लिटर छ ।
कुचो किन्न बोलपत्र प्रक्रिया अगाडि बढ्दै
काठमाडौं । महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौंको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छैन । काठमाडौं महानगरपािलकाले तत्काल बु्रमर(यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौंको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले बु्रमरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्रको गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताए । उक्त यन्त्र ल्याउनका लागि पुनःबोलपत्रको प्रक्रिया अघि बढिसकेको बताइएको छ । प्रमुख शाक्यले कामपाको वातावरण विभागलाई निर्देशन दिँदै भने, “सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै स्थानमा धुुलोसमेत सफा गर्न आवश्यक छ ।” यसैबीच कामपाले एक हप्ताभित्र सक्ने गरी त्रिपुरेश्वर, सुनधारा, नयाँ सडक, रत्नपार्कलगायत स्थानका सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली जग्गामा हरियाली बनाउन रुखबिरुवा रोप्ने काम तीव्र रुपमा अघि बढिरहेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नयाँ निर्माण र दोस्रो चरणमा निर्माण भइसकेका स्थानमा मर्मत गरिने छ । रासस