०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउन टेलिकमको अनुरोध
काठमाडौं । नेपाल टेलिकमले ०१२३४५६ र १२३४५६ जस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको छ । टेलिकमले सेवा ग्राहीहरुलाई एसएमएस पठाएर त्यस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको हो । पछिल्लो समय त्यस्ता नम्बरबाट आईरहेका फोन कलहरुका कारण उपभोक्ता ठगिने क्रम बढेको भन्दै टेलिकमले कल नउठाउन भनेको हो । त्यस्ता नम्बरबाट आएका फोनहरुले चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई उल्टै ठगि गरिरहेको टेलिकमले जनाएको छ । त्यस्ता फोन कल कहाँबाट र कसले गरिरहेको छ भन्नेबारे टेलिकमले अध्ययन गरिरहेको जनाएको छ ।
दिउँसो साढे १२ बजेसम्ममा ४० प्रतिशत मत खस्यो, सबैभन्दा बढी मनाङमा
काठमाडौं । आज साढे १२ बजेसम्ममा ४० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार देशभर संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, दिउँसो १२ः३० बजेसम्ममा औषतमा ४० प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
दोर्दी जलविद्युत कम्पनीको अग्राधिकार सेयर बिक्री खुल्ला, न्युनतम लगानी १० हजार
काठमाडौं । १२ मेगावाट क्षमताको दोर्दिखोला आयोजना बनाउन प्रवद्र्धक दोर्दिखोला जलविद्युत कम्पनी लिमिटेडले अग्राधिकार सेयर बिक्री खुला गरेको छ । कम्पनीले वार्षिक साढे ७ प्रतिशत प्रतिफल दिने गरी अग्राधिकार सेयर बिक्रि खुला गरेको हो । न्युनतम १ लाख रुपैयाँ लगानी गर्नुपर्ने छ । अग्राधिकार सेयरपछि संस्थापक वा साधारण सेयरमा परिवर्नत हुने कम्पनीले जनाएको छ । कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभपलमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ८४.९५ प्रतिशत स्वामित्व रहेको छ । यस्तै आयोजनामा सीईडीबी हाइड्रो फन्ड लिमिटेडको पनि लगानी रहेको छ । आयोजना निर्माणको अनुमानित लागत ब्याजसहित २ अर्ब २९ करोड रुपैयाँ छ । प्रतिफल १७ प्रतिशत छ । आयोजना वार्षिक ६ करोड ५४ लाख ४० हजार युनिट बिजुली बिक्री हुने छ । २०७६ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा लक्ष्मी बैंक, कृषि विकास बैंक, कैलास विकास बैंक र हालको महालक्ष्मी विकास बैंकबीच ऋण लगानी सम्झौता भएको छ । आयोजना निर्माण गर्न कम्पनीले विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) र नेपाल विद्युत प्राधिरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ । यही अन्र्तगतको युनिभर्सल पावर लिमिटेडले अग्राधिकार सेयरलाई संस्थापक र साधारणसेयरमा परिणत गरिसकेको छ । ११ मेगावाटको तल्लोखारे जलविद्युत आयोजना बनाउन युनिभर्सल पावरले अग्राधिकार सेयर निष्कासन गरेको थियो । युनिभर्सलेले हाल आयोजना निर्माण गरिरहेको छ । यहीअन्र्तगत ४.४ मेगावाटको राधी जलविद्युत आयोजना सञ्चालनमा आएको छ ।
एप्पलले ‘पट्याउन मिल्ने’ आइफोन ल्याउने भो ! प्याटेन्टका लागि दियो आवेदन
एप्पलको फोल्ड गर्न मिल्ने (पट्याउन मिल्ने) आइफोनको बारेमा सुन्न भएकै होला । यसअघि एप्पल र एलजि मिलेर फोल्डेबल आइफोन बनाउने हल्ला पनि चलको थियो । तर, यी हल्लाहरुलाई चिर्दै एप्पलले अमेरिकाको प्याटेन्ट एण्ड ट्रेड अफिसमा फोल्डेबल आइफोनको सम्बन्धमा आवेदन दिएको छ । एप्पलले अहिले प्याटेन्टका लागि मात्र आवदेन दिएको छ । यसको नामको बारेमा भने कुनै जानकारी आएको छैन । एप्पलको नयाँ आइफोन किताब जसरी नै खोल्ने र बन्द गर्न मिल्ने हुनेछ । प्याटेन्टले आवेदनमा राखेको डिजाइन अनुसार नयाँ आउने आइफोनमा दुई आइफोनहरुलाई एकैसाथ मिलाएको जस्तो भान हुनेछ । फोल्डेबल आईफोनमा फोल्डेबल डिस्प्लेको सिंगल सिट हुनेछ । यो प्याटेन्टमा डिस्प्ले, एलसीडी, माइक्रोएलइडी लगायत सबै फिचर्सका लागि आवेदन दिएको हो । फोल्ड गर्नमिल्ने आइफोनको चर्चा पहिलोपटक भने भएको होइन । एप्पल र एलजि मिलेर फोल्डेबल डिस्प्लेसहितको आइफोन बनाउने तयारी गरेको भन्ने हल्ला चलेको थियो । एप्पलले एलजि डिस्प्लेसहितको फोन प्रडक्सन यूनिटमा लगानी गरेको छ, जुन सन् २०२० सम्ममा तयार हुनेछ । एप्पल फोल्डेबल ओएलइडी डिस्प्ले स्मार्टफोनलाई बाजारमा सन् २०२१को आसपासमा सार्वजनिक गर्ने सम्भावना रहेको छ । मिडिया रिपोर्टका अनुसार एप्पलले सामसङ डिस्प्लेलाई प्रयोग गरेर फोल्डेबल डिस्प्ले बनाउदैन । किनभने कम्पनीलाई टेक्निक लिक हुने आशंका छ । ठुला मोबाइल कम्पनीको ‘होडबाजी‘ सामसङले पनि फोक्सिबल फोनमा काम गरिरहेको छ र यसको नाम ‘ग्यालेक्सी एक्स’ दिइएको छ । सामसङले यो उपकरणलाई आगामी वर्षको एउटन इलेक्ट्रोनिक प्रदर्शनीका बखत सार्वजनक गर्ने जमर्को गरेको छ । एप्पल र सामसङबाहेक एलजिले पनि फ्लेक्सिबल डिस्प्लेका काम गरिरहेको छ । दक्षिण कोरियाली कम्पनीले सन् २०१५ मा डिस्प्लेको प्याटेन्टका लागि आवेदन दिइसकेको छ । माइक्रोसफ्टले पनि गोप्य ढंगबाट ‘टु इन वन’ उपकरणको तयारी गरिरहेको छ। यसले डिभाइस फोन तथा ट्याबलेट दुवैको काम गर्नेछ । यसबाहेक चिनियाँ कम्पनी ओप्पो पनि फोल्डेबल फोन लन्च गर्ने तयारीमा छ ।
म्याग्दीमा मतदान शुरु, ११२ वर्षका भण्डारीद्वारा मतदान
म्याग्दी । म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षका खड्कबहादुर भण्डारीले मतदान गरेका छन् । जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् । म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना चुनावी मैदानमा उत्रिए पनि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
राधी विद्युत कम्पनीले पुसको पहिलो साता ७ करोड ६४ लाखको आईपीओ निष्कासन गर्ने
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित राधी विद्युत कम्पनी लिमिटेडले पुसको पहिलो साता सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डबाट गत कात्तिकको पहिलो साता आईपीओ निष्कासन गर्न स्वीकृति पाएकोमा केन्द्र र प्रदेशको निर्वाचनले गर्दा ढिलोमा पुसको पहिलो सातासम्म आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले विवरणपत्र तयार पारिसकेको छ । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड(लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । यस्तै पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो । ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । शेयर निष्कासन गर्न आवेदन गरेको पाँच महिनापछि बोर्डबाट स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ ले गत असारबाट विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाटको माथिल्लो माई पनि सञ्चालनमा छ ।
मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
काठमाडौँ । मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ । चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसकेका तथा अहिले मतदान कार्य शुरु भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिए । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ । पहिलो चरणको निर्वाचनमा दुई हजार ९१९ मतदानस्थल र चार हजार ४६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हँुदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ । नेपालको संविधान, संघीयता र गणतन्त्र कार्यान्वयन गर्ने सिलसिलामा यो निर्वाचन हुन लागेको हो । मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुयाउन अपिल गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागको मतपत्र–१ मा तथा प्रदेशसभाका लागि मतपत्र–२ भएका चिह्नमध्ये आफूलाई मन परेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने छ । रासस
निर्वाचनको सम्पूर्ण तयारी पूरा, उत्साहका साथ मतदानमा सरिक हुन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले पहिलो चरणमा भोलि मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनु भई मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हँुदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ भने आइतबार सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ । रासस