विकासन्युज

अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन

चितवन । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ । विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा नेपालमा भित्र्याउने क्रम शुरु भएसँगै खसी बोकाको उत्पादन बढ्दो रहेको छ । अफ्रिकासँगै अष्ट्रेलियाबाट पनि उन्नत बोयर जातको बाख्रा र बोका ल्याउने क्रम बढेर गएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्ममा अहिले २८ वटा बोयर जातका बाख्रा र बोका अष्ट्रेलियाबाट ल्याइएको छ । विभिन्न पेशा र व्यवसाय संगालेका छ जनाले दुई वर्षअघि शुरु गरेको सो फार्ममा स्थानीय जातका बाख्रा रहेका छन् । तीन महिनाअघि उनीहरुले अष्ट्रेलियाबाट चारवटा बोका र २४ वटा पाठी भित्र्याएका हुन् । शिक्षक, प्राध्यापक, भेटेनरी डाक्टर, व्यापारी मिलेर उक्त फर्म सञ्चालन गरेका हुन् । फर्मका सञ्चालक रमेशचन्द्र आचार्यकाअनुसार अष्ट्रेलियाबाट २८ वटा बोका र बाख्रा फर्मसम्म आइपुग्दा करिब ५६ लाख रुपैयाँ खर्च भएको छ । यसलाई हेर्दा एउटा बाख्रालाई सरदर २ लाख रुपैयाँ खर्च भएको उनले बताए । फर्ममा क्रस गराई ५० प्रतिशत बोयर भएको एउटा बोका, जमुनापारी जातको एउटा बोका, क्रश गराई २५ प्रतिशत बोयर जातका २० वटा पाठापाठी छन् भने स्थानीय जातका ११५ वटा बाख्रा रहेको सञ्चालक आचार्यले बताए । स्थानीय खरी, जमुनापारी, बारबारी र तराई जातका रहेका छन् । बोयर जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने लक्ष्य फर्मले राखेको छ । फर्मका अर्का सञ्चालक डा विष्णु धितालकाअनुसार बोयर जातको बाख्रा सबै खाले हावापानीमा सजिलै घुलमिल हुनसक्दछ । रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ, भने शतप्रतिशत जुम्ल्याहा पाउने हुँदा नाफामूलक हुन्छ । दुई वर्षमा तीनपटक ब्याउने बताउँदै उनले पाठापाठीलाई तीनदेखि ६ महिनामा बिक्री गर्न सकिने बताए । एक दिनमा १५० देखि ३०० ग्रामसम्म तौल बढ्ने हुँदा खसी उत्पादनका लागि पनि यो जातको बाख्रा उपयुक्त हुने छ । एक वर्षमा एउटा खसी ८० केजीदेखि एक क्विन्टलसम्मको हुने बताइएको छ । समूहगत रुपमा शुरु गरिएको यो फर्म चार बिगाहा क्षेत्रफलमा फैलिएको छ । फर्मका अर्का सञ्चालक गणेश पौडेलकाअनुसार १० वर्षका लागि वार्षिक प्रतिकठ्ठा दुई हजार ५०० देखि तीन हजार ५०० सम्ममा विभिन्न व्यक्तिबाट जग्गा भाडामा लिइएको छ । मकै, चोक्कर, बोनमिल, क्याल्सियम नुन मिसाएर दाना तयार गरेर पनि बाख्रालाई खुवाउने गरिएको छ । जापानमा दुई वर्ष काम गरेर नेपालमै व्यवसाय गर्ने उद्देश्यका साथ फर्किनुभएका सोही समूहका अर्का सञ्चालक आशिश बमले बाख्रामा राम्रो आम्दानी हुने देखेपछि साथीभाइ मिलेर व्यवसाय थालेको बताए । एक हजार बाख्रा पुर्याउने लक्ष्यका साथ काम अगाडि बढेको उनले बताए । झण्डै ३० लाख रुपैयाँ खर्च गरेर सो समूहले ५ सय बाख्रा अट्ने अत्याधुनिक खोर निर्माण गरिसकेका छन् । टाट्नुबाट जुत्तो मल भूइँमा खस्ने हुँदा खोर सफा रहेको छ । यस अघि पिपिआर रोगका कारण ४० वटाभन्दा बढी बाख्रा मरेपछि औषधि छर्केर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाईएको छ भने फर्मभन्दा बाहिरबाट ल्याईएका बाख्रालाई बोका लगाउन दिईएको छैन । सबै बाख्रालाई पिपिआरको सुई लगाईएको छ भने सबैको बीमा गरिएकाले जोखिम कम रहेको संचालक आचार्यले बताए। सो समूहले हालसम्म करिब १ करोड १० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । आचार्यका अनुसार आफ्नै घरजग्गा धितो राखेर सहुलियत ऋण  ९६ लाख रुपैयाँ लिइएको छ भने बाँकी रकम सञ्चालकहरुले लगानी गरेका छन् । रासस  

डलर मजवुत भएर १०५ रुपैयाँ नाघ्यो, नेपालमा महंगी बढ्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठासँग जोडिएको विमुद्रीकरण नीतिको भारतीय अर्थतन्त्रमा नकरात्मक प्रभाव देखिन थालेको छ । मोदीले नयाँ युगको आरम्भ भन्दै गत कात्तिक २९ गते मध्यरातमा अघि सारेको विमुद्रिकरण नीतिका कारण भारतीय अर्थतन्त्र खुम्चिन थालेपछि अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपालमा पनि देखिन थालेको हो । भारु कमजोर हुदै गएपछि यसको असर नेपाली मुद्रामा परेको हो । नेपाल राष्ट्र बैंकले बुधबार १ डलर बराबर १०५.१० रुपैयाँ बिक्री मुल्य निर्धारण गरेको छ । दशैअघि १ डलर बराबर १०४ रुपैयाँ ४७ पैसा पुगेको थियो । भदौमा बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ७४ पैसा थियो । झण्डै २ महिनाको अन्तरालमा नेपाली रुपैयाँ डलरसंग २ रुपैयाँ ३६ पैसा कमजोर भएको छ । डलर मजवुत भएपछि आयाति वस्तुको भाउ बढेर उपभोक्ता मूल्यवृद्धि गराउने छ । यस्तै भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बुधबारका लागि १ डलर बराबर ६५.५५ भारु बिक्री मूल्य तोेकेको छ । दशैंअघि आरबीआईले १ डलर बराबर ६४.८३ भारु बिक्री मूल्य तोेकेको थियो । विमुद्रीकरण नीतिको नकरात्मक प्रभावले भारु कमजोर हुदा यसको असर नेपाली बजारमा परेको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । आर्थिक वृद्धि सुस्त, निकासी व्यापारमा गिरावट र ब्याज दर बढेकाले भारतीय अर्थतन्त्र कमजोर हुदा डलर मजवुत भएको शर्माको तर्क छ । यस्तै पछिल्लो माहिना निर्यात घटेको उनले जानकारी दिए । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कमजोर हुन साथ यसको प्रभाव नेपाली रुपैयाँमा पर्ने गर्छ । डलर मजवुत हुदै गएपछि गत मंसिरमा १ डलर बराबर ७० भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । ०७४ असार मसान्तको तुलनामा २०७४ साउन मसान्तमा नेपाली रूपैयाँ डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर करिब स्थिर थियो । ०७४ साउन मसान्तमा १ डलर बराबर १०२.२९ रुपैयाँ पुगेको थियो । गत आर्थिक वर्षमा १ डलर बराबर औसत १०६.२१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३.२१ रुपैयाँ थियो । सन् २०११÷०१२ मा डलर औसत ८१ रुपैयाँ थियो । त्यसपछि डलर मजवुत हुदै १११ रुपैयाँसम्म पुगेको थियो । डलर मजवुत भएपछि मूल्य बढ्ने छ । आयातित बस्तुको महंगो पर्ने र यसले मूल्यवृद्धिमा चाप पार्छ । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट महंगो हुनुका विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि बढ्छ । डलर मजवुत हुदा वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाह बढ्ने छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा बढी हुन्छ । डलर मजवुत हुदा विदेशी पर्यटकलाई फाइदा हुन्छ ।  

मुस्ताङमा १३.६ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुँदै, साढे २ अर्बको लागत

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो । असोज अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी गरेको आयोजनाका साइट म्यानेजर सुदिप खड्काले बताए । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रशारण लाइन र दुईवटा सव स्टेशन बनाएको छ । चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । बेनी–जोमसोम सडकको टुकुचे खण्ड भन्दा करिब पाँच सय मिटरभित्र आयोजनाको विद्युतगृह छ । आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित छ । रु दुई अर्ब ५६ करोडको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक खड्काले जानकारी दिए । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेको भन्दा रु १२ करोड लागत बढेको कम्पनीले जनाएको छ । रासस

७२ लाख खर्चेर धौवादीको फलाम जाचिँदै, ८ महिनामा नतिजा

काठमाडौं । खानी तथा भूगर्भ विभागले नवलपरासीस्थित धौवादीमा रहेको खानीको फलाम जाँच्न ७२ लाख खर्चने भएको छ । विभागले चालु आर्थिक बर्षको बजेटबाटै धौवादी खानीको फलामको मेटालर्जिकल टेष्टका लागि ८० लाख बजेट पाएको थियो ।  विभागले भारतीय सरकारी कम्पनी नेशनल मेटालर्जिकल लेबोरेटोरिजमा फलामको मेटालर्जिकल टेष्ट गराउने प्रक्रिया अघि बढाएको थियो । २ चरणमा हुने मेटालर्जिकल टेष्टका लागि भारतीय कम्पनीले २० लाख र २५ लाख भारतीय रुपैंयाँ लाग्ने बताएको थियो । भारतीय कम्पनीले प्रस्ताव गरेको लागत बमोजिम नै परिक्षणको योजना बनाएको हो । तर भारतीय कम्पनीले सम्झौता(एमओयु) गर्नुपर्ने अडान राखेको छ । नेपालका अन्य खानीहरुको परिक्षण र उत्खननकै जिम्मा मागेपछि विभाग सतर्क भएको छ । ‘भारतले मेटालर्जिकल टेष्ट अघि एमओयु गर्नुपर्ने र अन्य खानीहरु समेत आफैंले टेष्ट र अन्वेषण तथा उत्खनन गर्नुपर्ने अडान राखेको छ ।’, खानी विभागका उप महानिर्देशक राम प्रसाद घिमिरले भने । मेटालर्जिकल टेष्टका लागि विभागले सिनियर डिभिजनल इञ्जिनियर कृष्णदेव झा र अर्का एक जना इञ्ज्निियरलाई जिम्मेवारी दिएको छ । झाले सोही भारतीय कम्पनीमा अध्ययन गरेका थिए । ‘मैले भारतको नेशनल मेटालर्जिकल लेबोरेटोरिजबाटै अध्ययन गरेको हुँ, त्यसैले त्यही टेष्ट गराउन सहज हुन्छ’, झाले भने । उनले पहिलो चरणको टेष्ट ४ महिनामा सकिने र त्यसको लागत २५ लाख भारतीय रुपैंयाँ हुने पनि बताए । त्यस्तो दोश्रो चरणको टेष्टका लागि पनि ४ महिना नै लाग्ने र त्यसको लागत २० लाख पर्ने उनले जानकारी दिए । भारतीय कम्पनीसँग सम्झौता भएको ८ महिनामा धौवादी खानीको फलामको गुणस्तर र उपयोगीताबाट तथ्य जानकारी प्राप्त हुने उनको भनाई छ ।धौवादीमा १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाईमा फैलिएको फलाम खानी छ । विभागले त्यहाँ १०६ मिटरसम्म ड्रिल गरेर फलामको नमुना संकलन गरिसकेको छ । २ हजार किलो नमुनालाई भारतीय ल्याबमा टेष्ट गराउने योजना विभागले बनाएको हो ।

१ करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम

काठमाडौँ, १७ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्वाचनका लागि तयार गरिएको अन्तिम मतदाता सङ्ख्या स्वीकृत गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए  । बैठकले स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार पुरुष मतदाताको सङ्ख्या ७७ लाख ७६ हजार ४९६ छ भने महिला मतदाताको सङ्ख्या ७६ लाख ५१ हजार ६५ रहेको छ । त्यसैगरी, तेस्रोलिङ्गी मतदाताको सङ्ख्या १७० रहेको आयोगले जनाएको छ । स्वीकृत मतदाता नामावलीअनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता छन् । डोल्पा जिल्ल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणवश यकिन हुन नसकेको जनाउँदै आयोगले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण प्राप्त भएपछि मतदाता नामावलीमा समावेश गरिने जनाएको छ । सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको छ । रासस

भारतबाट थप ५५ मेगावाट बिजुली आयात नहुने, लोडसेडिङ हटाउन विद्युत प्राधिकरणलाई चुनौती

काठमाडौं  । लोडसेडिङ हटाउन भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली आयात नहुने भएको छ । ढल्केबरमा २२० केभी क्षमताको सव–स्टेसन निर्माण गरिरहेको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) संग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेपछि थप बिजुली आयात नहुने भएको हो । थप बिजुली आयात नुहने भएपछि विद्युत प्राधिकरणलाई लोडसेडिङ मुक्त कायम राख्न चुनौती थपिएको छ । विद्युत प्राधिकरणले ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन निर्माण गरेर भारतको मुज्जफपुरबाट यो वर्ष २ सय मेगावाट बिजुली आयातको तयारी गरेको थियो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन १३२ केभीमा चार्ज गरेर १४५ मेगावाटसम्म बिजुली आयात भएको छ । यो वर्ष ४ सय केभी क्षमताको प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरेर आपूर्ति बढाउने प्राधिकरणको योजना थियो । प्राधिकरणले सीसीपीजीसंग ठेक्का तोडेको प्रवत्ता प्रवल अधिकारीले बताए । ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु नभएकाले थप बिजुली आयात नहुने उनले स्पष्टपारे । “यो वर्ष ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट २ सय मेगावाट बिजुली आयात गर्ने तयारी भएको थियो” अधिकारीले विकास न्युजसंग भने “ठेक्का तोडिएपछि थप बिजुली आयातको संभावना रहेन । यो वर्ष १४५ मेगावाट मात्र आयात हुने अवस्था आएको छ । सीसीपीजीसंग ढल्केबर, इनरुवा र हेटौडा गरी ३ वटा सवस्टेशन निर्माणको ठेक्का तोडिएको उनले जानकारी दिए । उनका अनुसार ३ वटा सवस्टेशनको काम रोकिएको छ । ढल्केबरमा ८० प्रतिशत काम सकिएको र २ महिनाभित्र सवस्टेशन सञ्चालनमा आउने थियो । टनकपुरमा १ सय एमबीए क्षमताको ट्रान्सफरमर जडान गरेर आयात बढाउन सकिने उनले बताए । अधिकारीका अनुसार त्यहाँ ५० एमबीएको ट्रान्सफरमर छ । यसअघि सीसीपीजीले ठेक्को तोड्ने भएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सव–स्टेशन निर्माण सक्न ४ बुदे निर्णय गराएका थिए । सिसिपिजीले सव–स्टेसन निर्माण १७ कात्तिक (३१ अक्टोबर २०१७) भित्र सक्ने प्रतिबद्धता जनाएको थियो । यो सव–स्टेसन बनेको भए भारतबाट थप ५५ मेगावाट अन्य स्थानबाट भन्दा सस्तो दरमा ल्याउन सकिने थियो । यो वर्षको हिउँदमा भारतबाट ४ सय ८० मेगावाटसम्म बिजुली ल्याउर्ने प्राधिकरणको तयारी थियो । प्राधिकरणले भरतपुर–बर्दघाट प्रसारणलाइनको ठेक्का तोडी करिब ३० करोड रुपैया“ बैक ग्यारेन्टी जफत गरेपछि सीसीपीजीका आयोजना प्रवन्धक गेङ जैलिङले प्राधिकरणलाई ठल्केबर सव–स्टेसनको काम आंशिक रुपमा रोकिएको जानकारी गराएका थिए । गत वर्ष प्राधिकरणले हिउ“दमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशिय प्रसारणलाईनमार्फत १४० मेगावाटसम्म बिजुली आयात गरेको थियो । गत वर्ष भारतबाट झण्डै ३८५ समेगावाट बिजुली आयात भएको थियो । सव स्टेसनका उपकरण सम्पूर्ण आइसकेका छन् । सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालन, बसबार कनेक्सन लगायतका काम बाँकी छन् । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव–स्टेसन निर्माण गर्न लागिएको हो । ढल्केबरमा सव–स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी बिजुली आयात भइरहेको छ । प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेकेदार तोकिएको समयका काम गर्न नसकेपछि चार पटकसम्म म्याद थप भइसकेको छ । यसले आयोजनाको लागत पनि बढाएको छ । प्रसारणलाइनको क्षमता बढाउदै लगेर सन् २०१९ सम्म ४ सय केभीमा चार्ज गर्ने योजना छ । आउदो हिउँदमा लोडसेडिग हटाउन भारतबाट ५८० मेगावाटसम्म बिजुली किन्ने योजना विद्युत् प्राधिकरणको छ । कुलेखानी आयोजनाको जलासय पनि नभरिने र सवस्टेशन नबनेका कारण ५५ मेगावाट बिजुली नआउने भएपछि माग व्यवस्थापन गर्न प्राधिकरणलाई जटिलता थपिएको छ ।    

एमाले, माओवादी केन्द्र र नयाँशत्तिबीच चुनावी तालमेल गर्ने सहमति, एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र एउटै कम्युनिष्ट पार्टी गठन गर्नेसहित ३ दलबीच ६ बुँदे सहमति भएको छ । सहमतिमा केन्द्र र प्रदेशको दुबै चुनावमा तालमेल गर्ने र त्यसलगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । ३ वटै दलले चुनावलगतै एकिकृत कम्युनिष्ट पार्टी बनाउने उद्घोष समेत गरेका छन् । दलका प्रमुख नेताहरुले सहमतिलाई ऐतिहासिक भनेका छन् । सहमति गरेका पार्टीबीच एकआपसमा आरोप प्रत्यारोप नगर्ने सहमति भएको छ । यस्तै अन्य राजनीतिक दललाई पनि समेट्ने तयारी ३ दलको छ ।  

हुमन फाउन्डेशनको सहयोगमा १६ वटा मानव विद्यालय बन्दै, नेपाली विद्यार्थीको आर्ट कोरियामा प्रदर्शन

काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कलाको क्षेत्रमा काम गरिरहेको दक्षिण कोरियाली संस्था यूएम होङ गिल हुमन फाउन्डेशनले ९ जना नेपाली विद्यार्थीहरुलाई कोरियामा शैक्षिक भ्रमण गराउनुको साथै १३ जना नेपाली विद्यार्थीहरुले बनाएको आर्टहरु कोरियामा प्रदर्शन गराएको छ । सेप्टेम्बर १३ देखि १९ तारिकसम्म भएको उक्त शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरुले आर्ट प्रदर्शनीमा भाग लिनुको अतिरिक्त कोरियाका विभिन्न आर्ट संग्रालय, स्कूल, उद्योग, कोरियाका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका छन् । विरेथान्ती माध्यमिक विद्यालयका मानार्थ प्रधानाध्यापक तथा आर्ट टिचर कु ह्युन–किमले ती विद्यार्थीहरुलाई आर्ट सिकाएका थिए । उनी कोरियाको आर्ट विश्वविद्यालयको प्रध्यापक हुन् । नेपाल भ्रमणमा आउँदा नेपाली विद्यार्थीलाई कला र संस्कृतिको बारेमा पढाईदैन भन्ने जानकारी पाएपछि उनले स्वंसेवकको रुपमा विरेथान्ती माध्यमिक विद्यालयका विद्यार्थीलाई कला सिकाएका थिए । सिकाईमा आवश्यक सामाग्री जुटाउन फाउन्डेशनले सहयोग गरेको थियो । १५० भन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा गराई उत्कृष्ठ १३ विद्यार्थीको आर्ट कोरियामा प्रदर्शनी गरिएको र उनीहरु मध्ये ९ जनालाई कोरिया भ्रमणमा समेत लगेको सो संस्थाले जनाएको छ । भ्रमणको क्रममा विद्यार्थीहरुले अनुशासन, सहकार्य र एकता नै सफलताको सुत्र भएको कोरियाबाट सिकेको बताए । ‘कामको सम्मान गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, अनुशाशित हुनुपर्छ, सहयोगी बन्नुपर्छ, सहकार्य र एकता नै बल हो भन्ने तथ्य हामीले कोरियाबाट सिकेका छौं’ भ्रमण सकेर काठमाडौं फर्केका विद्यार्थी प्रदीप आचार्यले भने । कास्की जिल्लााको विरेथान्ती माध्यमिक विद्यालयका आइतसुबा विक, अञ्जना सुनार, अलिशा तामाङ, अर्जुन राई, विशाल चापाई, मेनुका तामाङ, नविन परियार, प्रदीप आचार्य, पुजा परियार, सविता परियार, शोभा परियार, सिर्जना राई र ताप्लेजुङ जिल्लाको मायम माध्यमिक विद्यालयका यमबहादुर सेन्चुरीले बनाएका आर्टहरु प्रदर्शन गरिएको हुमन फाउन्डेशनले जनाएको छ । यूएम होङ गिल हुमन फाउन्डेशनले नेपालमा १६ स्थानमा स्कूल निर्माण गरिरहेको छ । होङ गिलले विश्वका अग्ला १६ शिखर चढेको संस्मरणमा नेपालमा १६ वटा विद्यालयहरु बनाउने घोषणा गरेको छ । यो संस्थाले सन् २००९ देखि नै विद्यालयहरु निर्माणमा थालेको हो । हालसम्म १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको, ३ वटा विद्यालय निर्माण भईरहेको र एउटा भवन निर्माणको लागि उपयुक्त स्थान खोजी भईरहेको उक्त संस्थाका नेपालस्थिति कन्ट्री डाइरेक्ट चोङ क्वाङ सिकले जानकारी दिए । यो संस्थाले ‘ड्रिम्स एण्ड होप फर दी चिल्ड्रेन अफ हिमालयज’ परियोजना अन्तरगत हुमन स्कूलहरु बनाउदै आएको छ । यसअन्तरगत विद्यालयहरुको भवन निर्माण, शिक्षक, स्टेशनरी, स्कलरशिप, अन्य शैक्षिक सामाग्रीमा समेत सहयोग गर्दै आएको छ । यस संस्थाले हिमाली क्षेत्रमा ‘हिमालय मेडिकल केयर, हिमालय भोलुन्ट्री सर्भिस, होप्स प्लान प्रोजेक्ट समेत सञ्चालन गर्दै आएको छ । यूएम होङ गिल हुमन फाउन्डेशन क्याप्टेन यूएम होङ गिलको नाममा स्थापना भएको अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । क्याप्टेन गिल कोरियाली नागरिक हुन् । उनले सन् २००७ अघि नै ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् । क्याप्टेन गिलले सगरमाथाको सफल आरोहण सन् १९९८ मा गरेका थिए । उनले साहासिक पर्वतारोहण गरेको, शिक्षा र मानवताको क्षेत्रमा योगदान गरेको भन्दै कोरिया सरकार र विभिन्न संस्थाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको २१ वटा सम्मान तथा पुरस्कार पाएका छन् ।