इसेवाले गैर कानुनी काम गरेको खुलासा
काठमाडौं । उदियमान युवा उद्यमी विश्वास ढकालको इसेवा कम्पनीले गैर कानुनी काम गरेको खुलासा भएको छ । ढकाल प्रबन्ध निर्देशक(एमडी) रहेको इसेवा नामक कम्पनीले भिओआइपीकै शैलीमा राजश्व छलि तथा नेपाली मुद्रा गैर कानुनी रुपमा विदेश पठाउँदै आएको रहस्य फेला परेको हो । इसेवाले भाइबर आउटको रिचार्जका लागि भन्दै लाखौं नेपाली मुद्रा गैर कानुनी रुपमा बिदेश पठाएको हो । इसेवाले भाइबर आउटको रिचार्जका नाममा गैर कानुनी कारोबार गरेको तथ्य फेला परेसँगै नेपाल दुर सञ्चार प्राधिकरणले असोज १० गते सार्वजनिक सूचना प्रकाशित गरेर भाइबर आउटको रिचार्ज नबेच्न भनेको थियो । तर इसेवाले त्यस अघि नै ३ महिनासम्म भाइबर आउटको रिचार्जमा लाखौं कारोबार गरिसकेको थियो । ‘इसेवाले भाइबर आउटको रिचार्ज गरेको थाहा पाएपछि नै हामीले सार्वजनिक सूचना निकालेर त्यस्तो नगर्न भनेका हौं’, दुर सञ्चार सेवा क्षेत्रको नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणको नियमन विभाग प्रमुख समेत रहेका निर्देशक विजय कुमार रायले भने । प्राधिकरणले भाइबर आउट मार्फत हुने फोन कललाई भिओआइपी सरह गैर कानुनी कारोबारे सूचिमा राख्दै आएको छ । यद्यपी इसेवाले ३ महिनासम्म गरेको गैर कानुनी कामबाट भने मुक्ति पाएको छ । इसेवाले ३ महिनासम्म भाइबर आउटको रिचार्ज गरेको देखियो, त्यस वापत कुनै कारवाही हुन्छ वा हुन्न ? भन्ने विकासन्युजको प्रश्नमा प्राधिकरणका निर्देशक रायले भने–‘उसले यस अघि राम्रो काम गर्दै आएको छ, त्यसले अबदेखि भाइबर आउटको रिचार्ज सेवा सञ्चालन नगर्ने सर्तमा उसलाई छाडेका छौं ।’ इसेवाका प्रबन्ध निर्देशक ढकालले पनि भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेको स्विकार गरे ।‘हामीले २ देखि ३ महिनासम्म भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेका हौं, प्राधिकरणले सूचना निकाल्नु भन्दा अघि नै हामीलाई जानकारी दिएको थियो र हामीले त्यस्तो सेवा बन्द गरिसकेका थियौं’, ढकालले विकासन्युजसँग भने । उनले भाइबर आउटको रिचार्ज सेवा सञ्चालनलाई ठुलो बिषय बनाउन नहुने दावी समेत गरे । नेपालमा भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई भिओआइपी जस्तै अबैध मानिन्छ । भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई प्राबिधिक भाषामा भाइबर आउट भनिन्छ र यसले राजश्व छल्नुका साथै नेपाली मुद्रा अनधिकृत रुपमा विदेशिन्छ । त्यसैले नेपालमा भाइबरका प्रयोग कर्ताहरुमाथी नेपाल दुर सञ्चार प्राधिकरणले निगरानी अघि बढाएको थियो । ‘भाइबरको प्रयोग गरेर इन्टरनेट कल मात्रै गर्न पाउने व्यवस्था छ तर भाइबारबाट मोबाइल र ल्याण्डलाइनमा समेत फोन गरिएको उजुरी परेपछि हामी चनाखो भएका हौं, यसले राजश्वमा नोक्सानी पुग्ने र नेपाली मुद्रा अनधिकृत रुपमा विदेशीन्छ’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने । उनले भाइबर आउट पनि भिओआइपी जस्तै अबैधानिक भएकाले सचेत रहन उपभोक्ताहरुलाई आग्रह पनि गरे । भाइबर आउटको रिचार्जका लागि विदेशमा पैसा पठाउनुपर्ने भएकाले पनि सबैले सचेत हुनुपर्नेमा जोड दिए । भाइबर आउट गरेमा विगो बमोजिमको जरिवाना र अधिकतम ५ लाखसम्म तिनुपर्ने कानुनी व्यवस्था रहेको छ । प्राधिकरणले तीन महिनासम्म भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेको इसेवालाई पहिले राम्रो काम गरेको भन्दै उन्मुक्ति दिएको हो । प्राधिकरणले मौखिक रुपमा भाइबर आउटको रिचार्ज सेवा बन्द गर्न आग्रह गरेर मात्रै सार्वजनिक सूचना निकालेको हो । इसेवाले यस अघि पनि अनधिकृत रुपमा नेपाल विद्युत प्राधिकरणको विल पेमेन्ट लगायतका सेवा सञ्चालन गरेर सेवाग्राहीसँग शुल्क असुल्दै आएको थियो । पछिल्लो पटक भने विद्युत प्राधिकरणले महशुल उठाउन इसेवा लगायतका कम्पनीसँग सेवा शुल्क नलिने सर्तमा सम्झौता गरेको छ।
राष्ट्र बैंकले डेढ अर्ब लगानी गर्दै, बैंक तथा वित्तीय संस्थासंग माग्यो प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको बचत रकम लगानी गर्ने भएको छ । एक वर्षे मुद्धती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आब्हान गरेको छ । रकम कात्तिक १ देखि लगानी गरी आउदो ०७५ असोज ३० गते फिर्ता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । असोज २२ गतेसम्म प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको छ । वाणिज्य बैंकमा १ अर्ब १८ करोड ४१ लाख, विकास बैंकमा २२ करोड २० लाख र वित्त कम्पनीका ७ करोड ४० लाख रुपैयाँ लगानी गर्ने केन्द्रीय बैंकले जनाएको छ ।
विद्युत् प्राधिकरणले ३ महिनामा गर्यो १०९ मेगावाट बिजुली खरिद सम्झौता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष सुरु भएयता ९ जलविद्युत आयोजनासंग १०९ मेगावाट बराबर विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । प्राधिकरणले न्युनतम ९६० किलोवाटदेखि ३७ मेगावाट क्षमताका आयोजनासंग पीपीए गरेको हो । पीपीए भएका यी आयोजना आउदो ७ वर्ष अर्थात ०७९ सम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ । ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना बाहेक सबै निजी लगानीमा निर्माण हुन लागेका हुन् । पीपीए भएपछि मात्र आयोजनाले बैंकबाट कर्जा पाउछन् ।माथिल्लो त्रिशुली ३ बी प्राधिकरणलको पनि ३० प्रतिशत लगानी हुनेछ । पीपीए हुनेमा नवलपरासीमा सूर्य पावर कम्पनीको ९६० किलोवाटको सोलार आयोजना पनि छ । पछिल्लो समयमा प्राधिकरणले सोलारको पीपीए खुला गरेपछि एक दर्जन बढी आयोजना बिजुली बिक्रीको लाइनमा छन् । पीपीए भएका अन्य आयोजनामा सप्तलाङखोला, २.५, करुवासेती ३२ मेगावाट, हाँडीखोला सुनकोसी ९९७ किलोवाट, पुवाखोला ४.९, माथिल्लो त्रिशुली ३ बी ३७, रुरुवाच्छु खोला १३.५, माथिल्लो मिदिमखोला ७.५ र सिद्धिखोला १० मेगावाट रहेका छन् । यी मध्ये ३२ मेगावाटको करुवासेती आयोजना आउदो ०७९ साल बैशाखमा सम्पन्न हुने भएको छ । माथिल्लो त्रिशुली ३ बी ०७८ को असोजमा सम्पन्न हुने प्राधिकरणले जनाएको छ । यसैगरी ३ महिनामा विभिन्न ३ जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १० मेगावाट बिजुली थप भएको छ । साउनदेखि यता पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ५.१ अपरमाई सी, द्रोनान्चल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ सय किलोवाटको ढुङेजिरी र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको साभाखोला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ३ वटै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । हालसम्म निजी लगानीबाट मात्रै ४५० मेगावाट क्षमताका ६३ आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निजी र सार्वजनिक गरी साढे २ सय मेगावाट प्रणालीमा थप हुने जानकारी दिएको छ । २०५ मेगावाट निजी क्षेत्र र ४५ मेगावाट प्राधिकरणले निर्माण गरेको चमेलिया र कुलेखानी सम्पन्न हुने छन् । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो । लक्ष्यमा रहेका आयोजना सम्पन्न भए यो वर्ष विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार २ सय मेगावाट नाघने छ । प्राधिकरणले यो वर्ष पनि लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन भारतबाट ४८० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यो वर्ष भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।
सेयर बजारमा दशैंको लक्की सेभेन प्रभाव, कारोबार भने १४ करोड मात्रै
काठमाडौं । निरन्तर घट्दै गएको सेयर बजार दशैपछि सुधार हुने संकेत देखिएको छ । दशैसकिए लगतै मंगलबार पहिलो दिन सेयर बजार खुल्दा झण्डै ७ अंकले बढेको छ । बजार बढेपछि नेप्से परिसुचक १ हजार ५५६ अंकमा पुगेको छ । मंगलबार बैकिङ, व्यापार, होटल, विकास बैंक, वित्त, जलविद्युत, बीमा सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार सामान्य वृद्धि भएपनि कारोबार कम भएको छ । मंगलबार १४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । इन्भेष्टमेन्टको प्रतिकित्ता ७६४ रुपैयाँमा ४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
पर्यटक प्रवेश शुल्क उठाउन शुरु
सल्लेरी, सोलुखुम्बु । खुम्बुपासाङ ल्हमु गाउँपालिकाले पर्यटक प्रवेश शुल्क उठाउन शुरु गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) कार्ड निषेध गर्दै उक्त गाविसले गाउँपालिकाले अक्टोबर १ तारिखदेखि नै शुल्क उठाउन थालेको हो । मौसम प्रतिकूल भएपनि पनि अक्टोबर एक तारिखका दिन हेलिकप्टरमार्फत आएका १०१ बाह्य पर्यटकबाट २ हजार रूपैयाँका दरले पर्यटक प्रवेश शुल्क लिइएको गाउँपालिकाले जनाएको छ । नेपाल पर्यटन बोर्ड र टानले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक २ हजार रूपैयाँ शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाएपनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका कुनै पनि काम नगरेकाले गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा अक्टोबर १ तारिखकै दिन मन्जोमा रहेको टिम्स कार्ड चेकपोष्टसमेत हटाएको गाउँपालिकाले जनाएको छ । यस कार्यबाट पर्यटक दोहोरो मारमा परेका छन् भन्दै पर्यटन व्यवसायी नाम्गेल शेर्पाले सो निर्णयले पर्यटकले विगतमा रु पाँच हजार ३९९ प्रवेश शुल्क बुझाउनुपर्नेमा अहिले रु सात हजार ३९९ बुझाउनुपर्छ । टान र पर्यटन बोर्डलाई टिम्स कार्ड वितरणको जिम्मा दिएको अवस्थामा गाउँपालिकाको निर्णयले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीको टिप्पणी छ । टानका महासचिव कर्ण लामाले गाउँपालिकाको यो अपरिपक्क निर्णयले गाउँपालिकालाई नै असर पर्ने हँुदा तत्काल निर्णय सच्चाउनुपर्नेमा जोड दिनुहुन्छ भने गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले भने संवैधानिक अधिकारको प्रयोग गर्दै आफूहरुले पर्यटक प्रवेश शुल्क निर्धारण गरेको बताए । रासस
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार, पुरस्कार राशी ११ लाख अमेरिकी डलर
स्टकहोम । सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ । मानिसको शरीरले पनि बिहान घाम उदाउँदा, दिउसो र साँझ अथवा घाम अस्ताउँदा के कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा उनीहरुको अनुसन्धान केन्द्रित रहेको थियो । तीन जना अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार बिजेताका रुपमा घोषणा गरिएको उक्त समितिले सोमबार जनाएको छ । वैज्ञानिकहरू जेफरी सि.हल, माइकल रोजब्यास र माइकल डब्ल्यु.याङ्ले ‘सकार्डियन रिदम’ बारे गहन अनुसन्धान गरेका थिए । उनीहरुको यो संयुक्त अनुसन्धानका लागि यस पुरस्कार पनि संयुक्त रुपमा दिइएको छ । ‘सकार्डियन रिदम’ भनेको मानव शरीरले काम गर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विधा हो । यसबाट मानव स्वास्थ्यमा सुधार र यस विषयमा आगामी दिनमा गरिने अनुसन्धानका लागि ठूलो योगदान दिने नोबेल पुरस्कार समितिले जनाएको छ । उनीहरुको अनुसन्धानअनुसार मानव शरीरले समयअनुसार आफ्नै घडी (बायोलोजिकल क्लक) का आधारमा चल्ने गर्दछ । यसैका कारण राति मानिसलाई निद्रा लाग्छ भने बिहानीको समयको पनि शरीरको घडीले नै जानकारी दिन्छ र निद्राले छोड्छ । यस बायोलोजिकल क्लकले मानिसको मनको भाव (मुड), तापक्रम र विभिन्न हर्मोनहरुको अवस्थाको बारेमा पनि निर्धारण गर्ने गर्छ । पुरस्कार छनोटसम्बन्धी नोबेल समितिका सदस्य जुलिन जिराथले सोमबार स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा भने – यस चिकित्साशास्त्रतर्फको यस बर्षको यो अनुसन्धान महत्वपूर्ण हो यस अनुसन्धान र ती बैज्ञानिकहरु नोबेल पुरस्कार प्राप्त गर्न योग्य छन् । यस अनुसन्धानबाट मानिस निकै टाढाको यात्रामा रहेका बेला पनि एक महादेशदेखि अर्काे महादेशमा जादा समयमा पर्ने फरक र परिवर्तित समयका कारण शरीरले थाहा पाउने चाललाई यसले सहज बनाउने छ । त्यस्तै जहाजको लामो यात्राका क्रममा पनि शरीरलाई ‘जेट ल्याग’ हुने जस्ता शारीरिक प्रतिक्रियाको मापनमा पनि यो अनुसन्धानले सहयोग गर्ने र यसले मानवको स्वास्थ्य समृद्धिमा सहयोगी सिद्ध हुने पनि जिराथले जानकारी दिए । यो शारीरिक चाल मानिसमा मात्र नभएर बोटबिरुवा, प्राणी तथा अन्य जैविक वस्तुहरुमा पनि देखिने गरेको उनीहरुको अनुसन्धानबाट पत्ता लागेको उल्लेख छ । यो पुरस्कारको राशी ११ लाख अमेरिकी डलर छ । रासस
स्थानीय तहमा अझै बैंक पुगेनन, ४ घण्टासम्म हिड्नु पर्ने वाध्यता
काठमाडौं । स्थानिय तहमा बैंक नपुगेपछि दुर्गम जिल्लामा वित्तीय कारोबार गर्न कठिनाई भएको छ । सरकारले जेठ २९ गते गठन भएका सबै स्थानिय तहमा वाणिज्य बैंकको एउटा शाखा हुने गरी सेवा विस्तार गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई भनेको थियो । नेपाल राष्ट्र बैंकले पनि यसका लागि प्रक्रिया अघि बढाए पनि अझै १४ दुर्गम जिल्लाका अधिकाँश स्थानिय तहमा बैंक पुग्न सकेका छैनन् । हिमाली र दुर्गम पहाडी जिल्लाका स्थानिय तह छन । जिल्ला सदरमुकाममा बैंक भएपनि गाउँमा छैनन् । तेह्रथुमका तीन स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र फेदाप गाउँपालिकामा अझै पनि बैंक खुलेका छैनन् । बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिलाई समस्या भएको छ । निर्वाचनपछि सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । अझै पनि बैंकको काम लिएर चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परेको छ । यस्तै म्याग्दीको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण,स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य भएका छन् । बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम आउन बाध्य भएको बताउछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता रहेको छ । राष्ट्र बैंकले पनि वाणिज्य बैंकलाई दुई महिनाभित्र ३५२ वटा स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)मा शाखा विस्तार गर्न भने पनि हालसम्म दुर्गम जिल्लामा बैंक पुगेका छैनन् । स्थानीय तहका लागि सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत २ खर्ब २५ अर्ब रुपैयाँ विनियोजन गरेको । सो रकम स्थानीय तहको संचित कोषमा सोझै निकासा गर्ने व्यवस्था गरिएको र स्थानीय तहले संचित कोष खाता ‘क’ वर्गको बैंकमा मात्र खोल्न सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था कार्यान्वयन गर्नको लागि स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा अनिवार्य भएको छ । ७५२ स्थानीय तह मध्ये हालसम्म ३९२ वटा स्थानीय तहमा मात्र ‘क’ वर्गको बैंक शाखा भएको र ३५२ वटा स्थानीय तहमा अझै ‘क’ वर्गका बैंक पुगेका थिएनन् । प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ३५, प्रदेश नम्बर ३ मा २७, प्रदेश नम्बर ४ मा ३२, प्रदेश नम्बर ५ मा ४०, प्रदेश नम्बर ६ मा २५ वटा र प्रदेश नम्बर ७ मा ३९ वटा शाखा खोल्न प्रस्ताव गरिएको छ । ४११ वटा मध्ये अधिकांश गाउँपालिका निकै दुर्गममा छन् । अधिकांशमा सडक सुविधा, बैंको कार्यालय राख्न उपयुक्त भवन जस्ता भौतिक संरचनाका साथै बिजुली, टेलिफोन, इन्टरनेट र सुरक्षाको अभाव देखिएको छ । जसका कारण बैंकका शाखा खोल्न निकै अप्ठेरो देखिएको छ । संघले २५० वटा शाखा खोल्नका लागि प्रस्ताव गरेको छ । नयाँ शाखा खुलेपछि ६०० वटा स्थानीय तह अर्थात ८० प्रतिशत जनतामा बैंकिङ पहुँच पुग्नेछ ।
कर्मचारीको दशैंः एक दिने टिकादेखि ह्विस्कीको चुस्कीसम्म
काठमाडौं । दशैं पर्वले सिंगो नेपाली समाजलाई जोड्ने प्रयास गरिरहेको छ । आर्थिक गतिबिधि र चहलपहलले दशैं अब हिन्दुहरुको मात्रै चाड नभएर सबै नेपालीहरुको साझा पर्वका रुपमा विकास भैरहेको छ । नेपालकै पनि बिभिन्न ठाउँमा दशैं मनाउने तौर तरिका फरक छन् । यस्तो छ पाँच जना सरकारी कर्मचारीहरुको दशैं योजना दशैंमा हल्का चुस्कीः निरज गिरी, प्रवक्ता, नेपाल धितोपत्र बोर्ड मेरो मावली पनि काठमाडौंमै छ । ससुराली पनि यतै छ । बुवा आमा सबै जना काठमाडौंमै हुनुहुन्छ । हामी दशैंमा मान्न २० जना जति भेट हुन्छौं । हाम्रो परिवार अझै पनि संयुक्त परिवार नै हो । बुवा आमाको हातबाट टिका र आशिर्वाद लिन्छौं । पुर्णिमाको दिन बाहेक सबै दिन हामी टिका लगाउने र आशिर्वाद दिने काममा व्यस्त हुन्छौं । मलाई सेकुवा साह्रै मन पर्छ । साथी भाई भेट्दा हल्का चुस्की पनि लगाइन्छ । दशैंमा पनि आफन्तजनसँग बसेर एक दुई पेग लगाउँछु । कुन ब्राण्डको पिउने भन्ने त्यस्तो बिशेष रोजाई छैन् । टिका एक दिन मात्रै लगाइन्छः राजुरमण पौडेल, निर्देशक, बीमा समिति यसपालीको दशैं काठमाडौंमै मनाउने हो । नवमीको दिनदेखि मात्रै दशैं सुरु हुन्छ । आमा र दाईको हातबाट टिका लगाउने हो । मेरी छोरी र भतिज विदेशमा छन् । परिवारका बाँकी सदस्य सबै भेला हुन्छौं । म तास फिटिक्कै खेल्दिन् । अलि अलि ह्विस्कीको चुस्की लगाउँछु । एक दुई पेग भए पुग्छ । मात्तिने गरि पिउँदिन् । स्पेशल ब्राण्ड पनि छैन् । मासुको आइटम मन पर्छ । बिशेष गरि खसीको मासुमा मेरो रोजाईमा पर्छ । हामी एक दिन मात्रै टिका लगाउँछौं । यो पश्चिम नेपालको चलन हो । म काठमाडौं आएको त २० बर्ष भयो तर पनि दशैंको टिका लगाउने चलन भने अझै पनि एक दिन नै कायम छ । रक्सी नखाएको डेढ दशक भयोः राजेन्द्र पण्डित, सहायक प्रवक्ता, नेपाल राष्ट्र बैंक म फुलपातिको दिन दशैं मान्न पुख्र्याैली घर तनहुँ आएँ । हाम्रो परिवारमा दशैं मनाउन ११ जना जम्मा भएका छौं । बुवा आमाको हातबाट टिका लगाउने हो । हामी दशमीको दिन मात्रै टिका लगाउँछौं । बरु त्यो दिन राती १२ बजेसम्मै टिका लगाउँछौं तर एकादशीबाट टिका लगाउने चलन छैन् । म टिका लगाएर एकादशीकै दिन काठमाडौं फर्कने योजनामा छु । मलाई गाउँका उत्पादन मन पर्छ । लोकल खसिको कबाब मलाई मन पर्ने आइटम हो । काँक्रोको अचार भनेपछि हुरुक्कै हुन्छु । रोलरोटी पनि मलाई असाध्यै मन पर्छ । मैले रक्सी नखाएको १७ बर्षपछि भैसक्यो । बरु साथीभाइहरुको समुह पुगेन भने म्यारिज र कल ब्रेक खेल्न भने तयार हुन्छु । दशैंमा उत्पात पढ्ने योजना छः प्रकाशभक्त उपाध्याय, सिडिई, रेल विभाग यसपालीको दशैं काठमाडौंमै मनाइन्छ । मेरो खुट्टामा समस्या छ, आराम गरिरहेको छु, त्यसकारण दशैंमा चितवन झरिन्न । बुवाको हातबाट टिका र आशिर्वाद थापिन्छ । हामी तनहुँबाट चितवन झरेका हौं, त्यसकारण हाम्रो टिका एक दिन मात्रै हुन्छ । टाढाबाट आफन्तलाई मात्रै टिकाको भोली पल्ट पनि टिका लगाइदिन्छौं नत्र दशैंको टिका एक दिन मात्रै लगाउने चलन छ । मलाई कबाव साह्रै मन पर्छ । रक्सी खान्न । तास त मैले जीवनमै समाएको छैन् । यसपाली खुट्टाले साथ दिएको छैन, त्यसैले दशैंमा उत्पात पढ्ने योजना छ । मलाई फुर्सदको समय पढ्न मन लाग्छ । त्यसैले यसपालीको दशैं भनेको पढेरै बिताउने योजना छ । परिवारसँग टिका लगाउने, भेटघाट गर्ने अनि मज्जाले पढेर बस्ने योजना बनाएको छु । रक्सी खान्न, ससुराली पनि जान्नः मिनप्रसाद अर्याल, प्रवक्ता, नेपाल दुर सञ्चार प्राधिकरण मेरो घर गोरखा हो । फुलपातिका दिन गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ मा रहेको पुख्र्यौली घर आएँ । बुवासहित हाम्रो घरमा १८ जनाको भेट हुन्छ दशैंमा । श्रीमति र छोरीसहित ३ जना हामी काठमाडौंबाट जान्छौं । बुवाकै हातबाट दशैंको टिका थापिन्छ । म माछा मासुमा खासै रुचि राख्दिन् । दुध, घ्यु, पनिर जस्ता आइटममा अलि बढि नै रुचि छ । म रक्सी पनि खाँदिन र तास, कौडा खोल्ने बानी पनि छैन् । साथी भाईको अनुरोधमा पनि म तास खेल्दिन् । ससुराली धनकुटा भएकाले यसपाली दशैंमा ससुराली जाने कार्यक्रम पनि छैन् । टिकाको भोली पल्टै काठमाडौं फर्कन्छु । ससुरालीको पनि काठमाडौंमा घर चैँ छ । पुर्णिमाको दिनसम्ममा ससुरालीबाट कोहि काठमाडौं आउनु भयो भने टिका लगाउन चैँ जान सक्छु । तर दशैंमा धनकुटामा ससुराली जाने कार्यक्रम भने छैन् । गोरखा पुगेका बेला त्यहाँ सूचना प्रबिधीको अवस्था, नागरिकको गुनासो र सुलभ तथा गुणस्तरिय सेवा कसरी दिन सकिन्छ भन्नेबारे केहि छलफल गर्ने कार्यक्रम पनि बनाएको छु ।