खर्च घटेपछि शिवम् सिमेन्टको नाफामा २०५.८३ प्रतिशत उछाल, रिजर्भमा पौने ४ अर्ब रुपैयाँ
काठमाडौं । शिवम् सिमेन्टको गत आर्थिक वर्ष २०८१÷८२ खुद नाफा २०५.८३ प्रतिशत बढेर ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख ९६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ७० करोड ४० लाख ६० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको अन्य आम्दानी ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँ र कुल नाफा ६६.२९ प्रतिशत बढेर १ अर्ब ७२ करोड ९३ लाख ७८ हजार रुपैयाँ गरेको छ । समीक्षा वर्षमा कम्पनीको बिक्री लागत ९.४४ प्रतिशत घटेर ६ अर्ब ३ करोड ४९ लाख १७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीको बिक्री लागत ६ अर्ब ६६ करोड ४१ लाख २७ हजार रुपैयाँ थियो । कम्पनीको बिक्री लागत घटेपछि नाफा बढेको हो । कम्पनीको प्रशासनिक खर्च २१.४६ प्रतिशत बढेर २७ करोड ५१ लाख ३६ हजार रुपैयाँ, वितरण खर्च ३.६७ प्रतिशत घटेर ६५ करोड ५३ लाख ४६ हजार रुपैयाँ, वित्त लागत ७९.५० प्रतिशत घटेर १ करोड १ लाख ८६ हजार रुपैयाँ र कुल खर्च १.६६ प्रतिशत घटेर ९४ करोड ६ लाख ६९ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको चुक्ता पुँजी ८.५४ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ, सेयर प्रिमियम रिजर्भ ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य जगेडा कोष १०.४६ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ ।
साढे ३ अर्बमा बन्यो डाँडा खेत सवस्टेशनको पूर्वाधार
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडा खेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारण लाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडा खेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । ‘५१ रोपनीमा निर्माण भएको डाँडा खेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सवस्टेशन निर्माण हुन लागेको हो ।’ डाँडा खेतदेखि रघु गङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा ३ अर्ब ५७ करोड रुपैयाँमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ । ‘समग्रमा ७९.१७ प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘राहुघाटमा कमजोर भूबनावट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो ।’ १३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ । ४ वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रशारण लाइन र सवस्टेशनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सवस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सवस्टेशन बनाउन ६ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । निर्माण कम्पनीले पछिल्लो पटक केही दिनअघि भारतबाट करिब १ सय जना जनशक्ति ल्याएको छ । कूल ४ अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि १ अर्ब ५ करोड रुपैयाँ विद्युत् प्राधिकरण र ३ अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको ऋण लगानी छ । रघुगङ्गा गाउँपालिका-३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई १ करोड ५० लाख रुपैयाँ मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत ४ करोड ५० लाख रुपैयाँमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मङ्गले र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेका छन् । कूल ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बताएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलो खोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत् आपूर्ति गराउन थालेका हुन् ।
जलगदुल्लाको प्रक्रिया अघि बढ्यो, प्रवर्द्धक र निर्माण व्यवसायीबीच सम्झौता
रमेश लम्साल काठमाडौं । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । कूल १०६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए लगत्तै मार्ग प्रशस्त भएको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । उनले जगदुल्ला हाइड्रोपावर र जेसीई/एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी दिए । प्रवर्द्धक कम्पनी र जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माण सम्झौता भएको उनको भनाइ छ । प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन । दोस्रो पटकको सूचनामा २ कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीई/एएनके जेभी योग्य भएको हो । यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो । सो आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरण सम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार, नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने छन् । आयोजनामा एचआइडीसीएल र कर्मचारी सञ्चय कोषले समान ४/४ अर्ब रुपैयाँ लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्नेछ । आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ भने स्वपुँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णाली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला नेपालको पानी जनताको लगानी भन्ने मूल नाराका साथ स्थापना भएको हो । आयोजना स्थल नेपालगन्जबाट २३८ किलोमिटर टाढा रहेको छ । आयोजनाको बाँध स्थल जगदुल्ला गाउँपालिकाको हुरीकोटमा पर्दछ । जहाँ २३ मिटर अग्लो र ३८ मिटर लामो ब्यारेजको प्रस्ताव गरिएको छ । आयोजनाको क्याचमेन्ट एरिया ६३३.८३ वर्ग किलोमिटर रहेको छ । यस आयोजनाको विद्युत् गृह मुड्केचुला गाउँपालिकाको इल ४ मा भूमिगत रहने गरी डिजाइन गरिएको छ । जसको लम्बाइ ७७.८० मिटर, चौडाई १४ मिटर, मोटाई ३३.४५ मिटर रहनेछ । त्यहाँ ३५.५ मेगावाट क्षमताको तीन वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन रहनेछ । विद्युत् उत्पादन गरिसकेपछि पानीलाई ३३० मिटर लामो ५ मिटर चौडाई र ५ मिटर अग्लो टेलरेसमार्फत पुनः जगदुल्ला नदीमा नै पठाइनेछ । उत्पादित विद्युत्लाई १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रस्तावित बाफीकोट सवस्टेशनमा जोड्ने गरी डिजाइन गरिएको छ । कम्पनीले आयोजना सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन गर्नेछ । कम्पनीको अधिकृत पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने कम्पनीको तत्काल जारी पुँजी ७ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीको संस्थापक सेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत, कर्णाली प्रदेश सरकारको ५ प्रतिशत, स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपाकिाको १ प्रतिशत रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश नगरेको अवस्थामा जगदुल्ला निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा २०८० वैशाख २७ गते हस्ताक्षर भएको हो । आयोजनाले ६२३.३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो । रासस
ग्लोबल आइएमई बैंकको लाभांश क्षमता १४.११ प्रतिशत, नाफा ६ अर्ब २० करोड रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ८५ करोड ६३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १४.११ प्रतिशत देखिन्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५० करोड ६७ लाख १८ हजार रुपैयाँ मात्रै थियो । ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २४ अर्ब २१ करोड लाख ५ हजार हजार रुपैयाँ रहेको छ । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशत बढेर ३ अर्ब २२ करोड २० लाख ४० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेर २१ अर्ब २७ करोड ६४ लाख ३१ हजार रुपैयाँ, सञ्चालन नाफा २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड ५ लाख ७८ लाख रुपैयाँ छ । गत वर्ष बैंकको निक्षेप संकलन १२.९५ प्रतिशत बढेर ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख ३८ हजार रुपैयाँ र कर्जा लगानी ११.४६ प्रतिशत बढेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ खर्ब ८७ अर्ब ४५ करोड ५८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब ४२ करोड ४५ लाख १९ हजार रुपैयाँ लगानी गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६.९९ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । अघिल्लो वर्ष ४.१७ प्रतिशत रहेको खराब कर्जा बढेर ४.८७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ९.६१ प्रतिशत रहेको छ ।
प्रभु बैंकको नाफा ९६५.४० प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १ अर्ब भन्दा बढी
काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ९६५.४० प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशत घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ८९ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १५.८१ प्रतिशत बढेर २ अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.२७ प्रतिशत घटेर १० अर्ब ५७ करोड २६ लाख ३२ हजार रुपैयाँ, सञ्चालन आम्दानी ६०.८२ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत रहेको देखिन्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ५२ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १२.१८ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ र कर्जा लगानी ४.२१ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ४ करोड ५५ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २०.९५ रुपैयाँ बढेर २३.१२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २.१७ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९.६० गुणा छ । अघिल्लो वर्ष ४.९४ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९६ प्रतिशतमा पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १४.९५ प्रतिशत रहेको छ ।
देशभर मनसुन सक्रिय रहने, यी पाँच प्रदेशमा मुसलधारे वर्षा हुने
काठमाडौं । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक/दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सागर डिष्टिलरीले आज साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
भोया अटोमोबाइलमा डोङफेङ मोटर ग्रुपले बढायो लगानी
काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ । डोङफेङ र भोयाबीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम) ले भोयामा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ । पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९.६९ प्रतिशत स्वामित्व पाउनेछ। डीएफएएमको ३.३० प्रतिशत हिस्सा हुनेछ र बाँकी १७.०१ प्रतिशत अरू सेयरधनीले राख्नेछन् । यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ । भोया डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको यसले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ । यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ । नयाँ पूँजीलाई अनुसन्धान र विकास, उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ । डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो ।