विकासन्युज

भोया अटोमोबाइलमा डोङफेङ मोटर ग्रुपले बढायो लगानी

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ । डोङफेङ र भोयाबीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम) ले भोयामा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ । पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९.६९ प्रतिशत स्वामित्व पाउनेछ।  डीएफएएमको ३.३० प्रतिशत हिस्सा हुनेछ र बाँकी १७.०१ प्रतिशत अरू सेयरधनीले राख्नेछन् । यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ । भोया डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको यसले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ ।  यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ । नयाँ पूँजीलाई अनुसन्धान र विकास, उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ ।  डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो । 

एक वर्षमा निर्जीवन लघु बीमकको व्यवसाय तेब्बरले बढ्यो

काठमाडौं । एक वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूको व्यवसाय उल्लेखनीय वृद्धि भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार निर्जीवन लघु बीमकले ९५ करोडभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । समीक्षा वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूले ३ लाख ७९ हजार ४३८ बीमालेख जारी गरी ९५ करोड ३८ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गर्न सफल भएका हुन् ।  यो गत आव २०८०/८१ को तथ्यांकअनुसार २२३.७ प्रतिशत अर्थात् ३.२४ गुणा बढी हो।  प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आवमा निर्जीवन लघु बीमा कम्पनीहरूले २९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आवमा १ लाख १ हजार ७४४ बीमालेख जारी गरी कुल २६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।  अघिल्लो आवमा कम्पनीले ४९ हजार ४७३ बीमालेख जारी गरी १० करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । एक वर्षमा कम्पनीको व्यवसाय १५४.७३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने लघु निर्जीवन बीमा कम्पनीमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले समीक्षा वर्षमा ९९ हजार १३५ बीमालेख जारी गरी २४ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन गत आवको तुलनामा १७६.९६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । तेस्रो धेरै व्यापार स्टार माइक्रो इन्स्यारेन्स कम्पनीले भित्र्याएको छ । समीक्षा वर्षमा स्मार्ट माइक्रोले १ लाख २ हजार ४९६ बीमालेख बिक्री गरी कुल २२ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  अघिल्लो आवमा कम्पनीहरूले ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थिए । गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा २३०.५६ प्रतिशतले वृद्धि भएको छ ।  ट्रस्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा गत आवमा ५५४.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ३ करोड २७ लाख रुपैयाँको व्यवसाय भित्र्याएको ट्रस्ट माइक्रोले गत वर्षमा २१ करोड ४२ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गरेको छ । 

दीपल एस ०५ यसै साता सार्वजनिक हुने

काठमाडौं । दीपल एस ०५ यसै साता सार्वजनिक हुने भएको छ । नेपालका लागि दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले दीपलको एसयूभी एस ०५ सार्वजनिक गर्न लागेको हो । दीपल एस ०७ को सफलतापछि एस ०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिष्कृत एसयुभी नेपालमा आउन लागेको हो ।  विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस ०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एइडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउने कम्पनीले जनाएको छ । एस ०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभाष दिलाउनेछ ।  यसमा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङ्सन र वान टच न्याप मोड सहितको सहितको क्विन को–पाइलट रहेको छ ।  यसका दुवै सिट वेलकमिंग छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ । नयाँ एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिंग कन्फिडेन्सलाई बढाउनेछ ।  साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउँछ । त्यसैगरी, नयाँ एस ०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ ।   

रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित काठमाडौं महानगरको सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।  सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो ।  यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो । रवीन्द्र ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।  सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए।  उनले भने, ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।’ ढाँटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि हासिल गरेका हुन् ।  यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटरसमेत बने ।   यस्तै, महानगरले प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ ।   त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग पराजय बेहोरेको थियो । 

सिटिजन्स बैंकद्वारा मधेश लिडरसिप सेमिनार सम्पन्न, कर्जा-निक्षेपमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सिटिजन्स बैंकले मधेश प्रदेशमा शाखा–प्रबन्धक र अन्य सहकर्मीहरूका लागि 'मधेश लिडरसिपः ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स' शीर्षकमा सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति थियो । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो छलफल भयो । बैंकले यस्तै कार्यक्रम अन्य प्रदेशमा पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म सिटिजन्स बैंकले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड थियो। निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भई कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो । खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात ८१.९१ प्रतिशत कायम रहँदा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत रहेको बैंकले जनाएको छ।

निजामती विधेयक प्रकरण : सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् ।  खतिवडाले कुलिङ पिरियडमा आफ्नो कुनै स्वार्थ नभए पनि उच्च नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरे ।  उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै  राजीनामा दिएको बताए ।   

रुसी सेनाले विदेशी कपडा लगाउन नपाउने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सन् २०२६ देखि देशको सशस्त्र सेनाका लागि विदेशी निर्मित कपडा र सम्बन्धित उपकरण खरिदमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । ‍आदेशअनुसार सन् २०२६ जनवरी १ देखि रुसी सशस्त्र बलका लागि सबै बर्दी र अन्य कपडा वस्तुहरू रुसी कम्पनीहरूले उत्पादन गर्नुपर्नेछ भने उत्पादन सुविधाहरू देशभित्र अवस्थित छन् । सन् २०२७ सम्ममा कपडा र बुनेको सामग्रीहरू घरेलु रूपमा निर्माण गरिनु पर्ने आदेशमा उल्लेख छ ।   यो उपायको उद्देश्य सेनाको आवश्यकताका लागि विदेशी निर्मित कपडा र सामग्रीको खरिदलाई पूर्ण रूपमा बहिष्कार गर्नु रहेको आदेशमा भनिएको छ । सैन्य कपडा, बर्दी, प्रतीक चिह्न, भित्री वस्त्र, ओछ्यान, विशेष कपडा, जुत्ता, उपकरण र सेनेटरी वस्तुहरू समावेश छन् । त्यस्ता आपूर्तिहरू रुसी राज्य रक्षा आदेश प्रणाली मार्फत खरिद गरिन्छ ।  

फर्जी ‘नेप्से एआई’ एप डाउनलोड गर्दा ‘२८ लाख ६१ हजार’ रुपैयाँ गायब

काठमाडौं । हरि शर्मा (नाम परिवर्तित)ले सामाजिक सञ्जाल फेसबुक चलाइरहेका थिए । उनको मोबाइलमा एउटा विज्ञापन आयो- सेयर बजारको विश्लेषण अब नेप्से एआई एपबाटै गर्न सकिन्छ । पुँजी बजारमा सेयर कारोबार गरिरहने उनलाई सेयर विश्लेषण गर्ने एप भेटेपछि दङ्ग परे । एपबाटै सेयर विश्लेषणसम्बन्धी जानकारी पाउने भएपछि उनी एप डाउनलोड गरेर इन्स्टल गर्छन् ।  तर, एप चलाउन नपाउँदै छाँगाबाट खसे झैं हुन्छन् । एप इन्स्टल गरेपश्चात उक्त एपमा रिमोट सेसन खुल्नासाथ जोन डोइको मोबाइल स्क्रीन ब्लाङ्क भयो । केही समयपछि उनको मोबाइलमा रहेका विभिन्न बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ गायब भयो । साथै, जोन डोइको मोबाइलमा रहेका सबै डाटा तथा एप समेत मेटियो । लगत्तै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा घटनाको विवरण जानकारी गराए ।  केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा ‘नेप्से एआई’ नामको एप डाउनलोड गराउन प्रेरित गर्ने भ्रामक सूचना तथा विज्ञापनहरू आइरहेका छन् । फर्जी एपमार्फत सेयर बजारको विश्लेषण गरी ‘अत्यधिक नाफा’ दिने भनी झुक्याएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले सजग रहन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आग्रह गरेको छ । सीआईबीका अनुसार यो एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा रिमोट सेसन खोलिन्छ र त्यसपछि बैंक खातामा रहेका सबै रकम एकछिनमै चोरी गरी अन्यत्र ट्रान्सफर गरिन्छ । साथै पीडितको डिजिटल उपकरणको सम्पूर्ण डेटासमेत मेटाइने तथा प्रमाण नष्ट गरिने घटनासमेत यसमा जोडिएको सीआईबीले जनाएको छ ।  यस्ता खालका दर्जनौं ठूला घटना र उजुरीहरू परेको सीआईबीले जनाएको छ । जसले नेपाली नागरिकलाई ठूलो आर्थिक जोखिममा पारेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक युवराज खड्काले बताए ।  सीआईबीले नागरिकहरूलाई यस्ता क्रियाकलापबाट बच्नका लागि विभिन्न सावधानीहरू अपनाउन अनुरोध गरेको छ । सीआईबीले आफ्नो पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्न, सामाजिक सञ्जालमा आएका अपरिचित लिंक वा एपलाई डाउनलोड नगर्न, टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, अनधिकृत व्यक्तिहरुलाई एनीडेस्क, टीमभ्यूअरजस्ता रिमोट एक्सेस एप मार्फत आफ्नो मोबाइल वा कम्प्युटरको पहुँच नदिन र एप डाउनलोड गर्दा केवल आधिकारिक एप स्टोरहरू (गुगल प्ले स्टोर, एप्पल एप स्टोर) बाट मात्र डाउनलोड गर्न अनुरोध गरेको छ ।