अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश
काठमाडौं । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेश गरिएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरे । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले भने, 'नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको हो ।' उनका अनुसार संवैधानिक व्यवस्थालाई मूर्तरूपमा कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण तथा व्यवस्थापनसम्बन्धी कानुन बनाउन आवश्यक छ । त्यसैले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी ऐनको तर्जुमा गर्नु बाञ्छनीय भएकाले विधेयक पेश गरिएको हो । विधेयकमाथि दुई जना राष्ट्रिय सभा सदस्यहरूले विरोधको सूचना दर्ता गरे पनि मन्त्री पाण्डेको प्रष्टिकरणपछि ती सूचनाहरू फिर्ता लिएका थिए ।
२६ अंकले घट्यो नेप्से, सीटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले बढेर २७९६ बिन्दुमा झरेको छ । आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, लुम्बिनी बिकास बैंकको २० करोड, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, बुटवल पावर कम्पनीको १९ करोड र शिवम् सिमेन्टको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह १.३२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.९४, विकास बैंक ०.७६, वित्त १.५३, जलविद्युत् १.२६, लगानी ०.६६, जीवन बीमा १.०६ र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतले घटेको छ । लघुवित्त १.४९, म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा ०.८१, व्यापार ०.८६ र अन्य समूह ०.६२ प्रतिशतले घटेको छ । आज सीटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
बजार हिस्सा घटेपनि १२.७९ प्रतिशत बढ्यो यति एयरलाइन्सको व्यापार
काठमाडौं । यति एयरलाइन्स लिमिटेडले ९ महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२५/२६ को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्ष सन् २०२३ मा एयरलाइन्स कम्पनीले ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२.७९ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार गरेको हो। यति एयरलाइन्सका अनुसार सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २००२ मा स्थापित यति एयरलाइन्स नेपालको सबैभन्दा पुरानो घरेलु एयरलाइन्समध्ये एक हो । कम्पनीसँग ७२ सिट क्षमताका ७ वटा एटीआर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये ६ वटा खरिद गरिएका हुन् भने एउटा भाडामा लिइएको कम्पनीले जनाएको छ । कम्पनीले घरेलु हवाई उद्योगमा १७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बजार हिस्सा घटेको देखिएको छ । सन् २०२३ जनवरी १५ मा कम्पनीको नाइनएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएपछि बजार हिस्सा घटेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीको बजार हिस्सा २१ प्रतिशत थियो । कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको मुख्य सेयर स्वामित्व रहेको छ । कम्पनीमा एशियन लाइफको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष समेत रहेका ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरलाइन्सको नेतृत्व गरिरहेका छन् । साथै कम्पनीमा चन्दा शेर्पा प्रबन्ध निर्देशक, नोर्बु छिरिङ शेर्पालाई उपप्रबन्ध निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सुभास सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २७.१९ मिलियन अमेरिकी डलर ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले २ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ र ७.१९ मिलियन अमेरिकी डलरका दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तै, ७५ करोड ७३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि ए ३ रेटिङ र २ अर्ब ६४ करोड ६० लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
जीवन बीमकको ४३ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसाय सहरकेन्द्रित हुँदै गएको छ । यस्तो तथ्यांकले नै देखाउँछ । गत आर्थिक वर्षमा जीवन बीमा व्यवसायको आधा हिस्सा बागमती प्रदेशले ओगटेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०८१/८२ मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये बागमती प्रदेशमा मात्रै बीमा कम्पनीहरूले ८० अर्ब ३ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो कुल व्यवसायको ४३.९१ प्रतिशत हिस्सा हो । बीमा कम्पनीहरूले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशबाट गरेका छन् । गत आवमा कम्पनीहरूले लुम्बिनी प्रदेशबाट २८ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन बीमा कम्पनीहरूको कुल व्यवसायको १५.७५ प्रतिशत हिस्सा हो । कम्पनीहरूले तेस्रो धेरै व्यापार कोशी प्रदेशमा गरेका छन् । कम्पनीहरूको कुल व्यवसायको १२.२५ प्रतिशत हिस्सा कोसी प्रदेशमा देखिन्छ । समीक्षा वर्षमा कम्पनीहरूले कोशी प्रदेशबाट २२ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । समीक्षा वर्षमा कम्पनीहरूले गण्डकी प्रदेशबाट १८ अर्ब ४५ करोड ११ लाख रुपैयाँ, मधेश प्रदेशबाट १६ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ११ अर्ब १८ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जीवन बीमकको कुल व्यापारमा गण्डकीको हिस्सा १०.१२ प्रतिशत, मधेश प्रदेशको ८.९५ प्रतिशत र सुदूरपश्चिमको ६.१४ प्रतिशत रहेको छ । बीमा कम्पनीहरूको सबैभन्दा न्यून व्यापार कर्णाली प्रदेशबाट भएको छ । तथ्यांकअनुसार कुल व्यापारमा कर्णालीको हिस्सा २.८८ प्रतिशत हिस्सा रहेको छ । गत आवमा बीमा कम्पनीहरूले गण्डकी प्रदेशबाट ५ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
दोस्रो डिजिटल फ्रेमवर्क यही वर्षदेखि लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षदेखि दोस्रो डिजिटल फ्रेमवर्क लागू हुने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । त्यसको लागि डिएनएफ अन्तिम चरणमा पुर्याएको मन्त्री गुरुङको दाबी छ । २०७६ सालमा बनेको डिएनएफ धेरै अपूरो रहेको उनको भनाइ छ । मन्त्री गुरुङले डिएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने भनेर सम्झौता गरेको भएपनि ५८ पैसा समेत प्राप्त हुन नसकेको बताए । विश्व बैंकका प्रतिनिधिहरुसँग सम्पर्क गर्दा सम्पर्कमा नआएको बताए । सात महिनासम्म पनि विश्व बैंक सम्पर्कमा नआएपछि मन्त्रालयले पहल गरेको बताए । मन्त्रालयमा छलफल सकिसकेको र मन्त्रीपरिषद्बाट पास भएपछि चालु वर्षबाटै लागू हुने जानकारी दिए । मन्त्री गुरुङले भने, ‘दोस्रो डिजिटल फ्रेमवर्क नेपाल चालु आर्थिक वर्षदेखि लागू हुन्छ । डिएनएफ अन्तिम चरणमा पुर्याएका छौँ । २०७६ सालमा बनेको डिएनएफ पहिलो चरणमा बनेको थियो । यो धेरै अपूरो थियो । आइटी क्षेत्र त दिनदिनै यति धेरै फास्ट चेन्ज भइरहेको छ । यो वर्ष बनाएको पनि अर्को वर्ष संशोधन गर्नुपर्ने, सुधार गर्नुपर्ने हुन्छ । हाम्रो मन्त्रालयको छलफल सकिसकेको छ । क्याबिनेटबाट पास भएपछि यही वर्षबाट लागू हुन्छ ।’ मन्त्री गुरुङले नेपाल एआईको क्षेत्रमा धेरै पछि परेको बताए । चालु आ.व.मा फाइभजी काठमाडौं र पोखरा उपत्यकामा शुरु गर्ने बताए । यसले एआईको प्रयोगलाई समेत प्रभावकारी बनाउने जिकिर गरे ।
चिलीमा ७ करोड ४० लाख वर्ष पुरानो स्तनपायी जीवाश्म फेला
काठमाडौं । वैज्ञानिकहरूले चिलीको प्याटागोनियामा डायनासोरको समयमा बाँचेको साना मुसाको आकारको स्तनपायीको जीवाश्म फेला पारेका छन् । ‘येउथेरियम प्रेसर’को तौल ३० देखि ४० ग्राम (लगभग एक औंस) को थियो र माथिल्लो क्रिटेसियस कालमा करिब सात करोड ४० लाख पहिले बस्थे । यो दक्षिण अमेरिकाको यस क्षेत्रमा फेला परेको सबैभन्दा सानो स्तनपायी हो, जुन युगमा यो गोन्डवाना भनेर चिनिने महाद्वीपीय भू–भागको हिस्सा थियो । चिली विश्वविद्यालय र चिलीको मिलेनियम न्युक्लियस अनुसन्धान केन्द्रका प्रारम्भिक स्तनपायीहरूमा वैज्ञानिकहरूको टोलीको नेतृत्व गर्ने हान्स पुशेलले भने, ‘जीवाश्ममा एउटा दाँतसहितको बङ्गाराको सानो टुक्रा र अन्य दुई दाँतका मुकुट र जरा छन् ।’ यो खोज यस महिना बेलायती वैज्ञानिक पत्रिका प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बी मा प्रकाशित भएको थियो। अनुसन्धानकर्ताहरूले सान्टियागोबाट करिब तीन हजार किलोमिटर ९एक हजार आठ सय ६४ माइल० दक्षिणमा चिलीको म्यागालेन्स क्षेत्रको रियो डे लास लास चिनस उपत्यकामा यो जीवाश्म फेला पारेका हुन् । उनीहरूका अनुसार सानो मुसासँग मिल्दोजुल्दो भए पनि ‘येउथेरियम प्रेसर’ एक स्तनपायी थियो जसले प्लेटिपस जस्तै अण्डा दिएको हुनुपर्छ वा यसको बच्चालाई कङ्गारू वा ओपोसम जस्ता थैलीमा बोकेको हुनुपर्छ । यसको दाँतको आकारले यसको खानामा सम्भवतः अपेक्षाकृत कडा तरकारीहरू थिए भन्ने देखाउँछ । आफूसँग सहअस्तित्व भएका डायनासोरहरू जस्तै यो सानो स्तनपायी पनि क्रिटेसियस कालको अन्त्यमा करिब छ करोड ६० लाख वर्ष पहिले अकस्मात् लोप भयो ।
‘नेपालका विश्वविद्यालय सुध्रिसके, अब विद्यार्थीको माइन्डसेट सुधार्नुपर्छ’ {अन्तर्वार्ता}
काठमाडौं । प्लस टु पास भएका विद्यार्थी अहिले स्नातक तह अध्ययनका लागि कलेज छनोट गरिरहेका छन् । कतिपय विद्यार्थी भने विदेशका विश्वविद्यालयमा अध्ययनका लागि जाने तयारी गरिरहेका छन् । नेपाली विद्यार्थीको रोजाइ अहिले नेपालभन्दा बढी बाहिरका विश्वविद्यालयमा छ । के नेपालमा भएका शैक्षिक संस्थाले राम्रो शिक्षा दिन सकिरहेका छैनन् ? किन विद्यार्थीको रोजाइ विदेश बन्दै गएको छ ? यिनै विषयवस्तुसँग सम्बन्धित रहेर विकासन्युजका लागि इन्द्रसरा खड्काले लिबर्टी कलेजका प्राचार्य देवराज पनेरुसँग गरेको कुराकानीको सम्पादित अंश : लिबर्टी कलेजमा विद्यार्थीको चाप कत्तिको छ ? अहिले हाम्रो कलेजमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ । विद्यार्थी भर्नादर पनि राम्रै छ । बाहिर चलेको हल्लाजस्तो विद्यार्थी नपाएको अवस्था भने छैन । नेपाली विद्यार्थीको रोजाइमा विदेशका विश्वविद्यालय पर्न थालेका छन्, यसका कारण के-के हुन् ? तपाईंले भनेको कुरा केही हदसम्म ठीकै हो । विद्यार्थीहरूले स्वदेशभन्दा बढी विदेशका विश्वविद्यायलय रोजिरहेका छन् । तर त्यसको असर हाम्रो कलेजलाई त्यति धेरै परेको छैन । पहिले विदेशका लागि तयारी गर्ने तर पछि नेपाली कलेजमै भर्ना हुने चलन पनि छ । जस्तो गत वर्ष धेरै विद्यार्थी बाहिर जान खोजेपनि सफल भएनन् । पछि यहाँकै कलेजमा भर्ना भए । हाम्रै लिबर्टी कलेजमा पनि धेरै विद्यार्थी भर्ना भइरहेका हुन्छन् । उसो भए विदेशको प्रक्रिया सफल हुँदा छोडेर जाने क्रम बढ्दो छ हो ? त्यस्तो पनि हुन्छ । तर यो केही प्रतिशतमात्रै हो । यहाँ वास्तविकता यौटा हुन्छ भने बजारमा अर्कै हल्ला फैलिन्छ । तपाईंले भनेको कुरा पनि एक हदसम्म ठीकै हो । किनभने अमेरिका, अस्ट्रेलिया, जापान लगायतका धेरै ठाउँमा विद्यार्थी गएकै हुन्छन् । हामीले बाहिर गएका विद्यार्थीलाई हेर्नुभन्दा यहाँ भएका विद्यार्थीलाई बढी हेर्छौं । त्यसैले पनि होला हामीकहाँ आवश्यक सिट संख्यामा विद्यार्थी अपुग हुँदैनन् । ब्याचलर लेभलमा लिबर्टी कलेजमा के-के विषयहरू पढाइ हुन्छन् ? लिबर्टी प्रोफेस्नल होल्डिङ लिमिटेडको कलेज हो । यहाँ पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त कार्यक्रमहरू सञ्चालन हुन्छन् । अहिले हामीकहाँ बीसीएस आइटी, बीएचएम, बीबीए र बीबीए फाइनान्सका कार्यक्रमहरू छन् । १२ कक्षा पास गरिसकेको विद्यार्थी भाइबहिनीहरू अर्थात् जो क्वालिफाइड छन्, उनीहरूलाई हामी स्वागत गर्न तयार छौं । कुन कार्यक्रममा कति विद्यार्थी भर्ना गर्नुहुन्छ ? यो कार्यक्रम हेरेर तलमाथि हुन्छ । बीसीएस आइटीमा हामीले ४३ जनासम्म लिन्छौं । जहाँ विद्यार्थीको संख्या लगभग पुग्नै आँटेको छ । बीबीए र बीबीए फाइनान्समा भने भर्ना जारी नै छ । अब एक/डेढ महिनासम्म भर्ना जारी रहन्छ । बीएचएममा पनि ४३ र बीबीएमा ८६ जना विद्यार्थीको कोटा छ । जहाँ दुईवटा सेक्सनमा पढाइ हुन्छ र बीबीए फाइनान्समा पनि ४३ जना विद्यार्थीलाई हामीले पढाउन पाउँछौं । विद्यार्थीहरूको आकर्षण बढी कुन कार्यक्रममा छ ? विद्यार्थीको रुचि अहिले आइटीतिर बढी छ । बीसीएसआइटीमा लगभग विद्यार्थीको संख्या पुरा हुँदैछ । यसले पनि विद्यार्थीको रुचि आइटीमा बढी छ भन्न सकिन्छ । होटल म्यानेजमेन्टमा पनि आकर्षण राम्रो छ । अन्तिममा बीबीए र बीबीए फाइनान्समा देखिन्छ । तपाईंको कलेजले छात्रवृत्तिको व्यवस्था कसरी गरिरहेको छ ? एउटा त विश्वविद्यालयकै छात्रवृत्ति हुन्छ । यसमा १० प्रतिशत अनिवार्य दिनैपर्ने हुन्छ । अर्को मेरिट बेस्ड छात्रवृत्ति पनि हुन्छ । कुनै विद्यार्थीले थ्री पोइन्ट नाइन प्लस ल्याएको छ भने यस्ता विद्यार्थीलाई कलेजले रोज्छ । किनकि यस्ता विद्यार्थीले कलेजमा भ्यालु एड गर्छन् । दुर्गम क्षेत्र, विपन्न वर्गका विद्यार्थीलाई पनि हामीले छात्रवृत्ति दिएका हुन्छौं । जसलाई इन्क्लुजन क्याटेगोरीको छात्रवृत्ति भनिन्छ । अर्को इक्विटी क्याटेगोरीको छात्रवृत्ति पनि हामीले दिएका हुन्छौं । त्यस्तै, चेयरम्यानको अन्डरको छात्रवृत्ति भन्ने हुन्छ । कोही बोर्ड चेयरम्यानको रिफरल छात्रवृत्ति हुन्छ । यस्ता धेरै विद्यार्थी छात्रवृत्ति पाएर अध्ययन गरिरहेका हुन्छन् । विद्यार्थीले छात्रवृत्ति नपाएको गुनासो बेलाबखत सुन्ने गरिन्छ, यो कुरामा कत्तिको सत्यता छ ? स्कुलको केसमा यस्तो हुनसक्छ । तर, कलेजमा भने छैन । विश्वविद्यालयले लिने भनेको दश प्रतिशत हो, उसलाई हामीले दिनैपर्छ । उसले आफै परीक्षा पास गरेका विद्यार्थीहरू पठाउँछ, उनीहरूबाट हामीले फी लिन मिल्दैन । अर्को कुरा धेरै कार्यक्रम ओरिएन्टेसन प्रोग्रामहरू हुन्छन्, त्यसमा सैद्धान्तिक भन्दा धेरै व्यवहारिक कुरा सिकाउनुपर्ने हुन्छ । त्यसको लागि ल्याब आवश्यक पर्छ । अलिक बढी खर्च लाग्छ । यसमा हामीले छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीबाट रकम लिएका छैनौं । हामीले छात्रवृत्ति दिँदै आएका छौं । तपाईंको कलेजमा सञ्चालित विभिन्न कोर्स पढ्न विद्यार्थीले वार्षिक रूपमा कति शुल्क तिर्नुपर्छ ? अन्य कार्यक्रमभन्दा आइटीको कार्यक्रममा शुल्क अलि बढी लाग्छ । आइटीमा वार्षिक दुई लाखभन्दा केही बढी लाग्छ । बीएचएममा त्योभन्दा केही कमै लाग्छ । त्यस्तै, बीबीए र बीबीए फाइनान्समा पनि वार्षिक एक/डेढ लाखको हाराहारीमा खर्च हुन सक्छ । यसरी हेर्ने हो भने चार वर्षमा ७/८ लाख खर्च गर्न सक्यो भने सबै कार्यक्रमहरू पुरा हुन्छन् । बीएचएम कोर्समा सात लाखको हाराहारीमा खर्च हुन्छ । अन्य कोर्ष पुरा हुन पनि त्यही हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । यो खर्चमा विद्यार्थीले पढाइसँगै थप के पाउँछन् ? कुनै कोर्स पुरा गर्न ७/८ लाख लाग्छ भन्दैमा आत्तिनु हुँदैन । यो देखिने खर्चमात्र हो । हामीले विद्यार्थीलाई कोर्षको पढाइसँगै इन्टर्नसीपलाई बढी जोड दिएका छौं । धेरैजसो विद्यार्थीले कोर्स पुरा नगर्दै त्यो पैसा आफैले काम गरेर रिटर्न ल्याइसकेको हुन्छ । हामीले जापानिज भाषा पनि विद्यार्थीलाई सिकाएका हुन्छौं । जापानकै मान्छे आएर जापानिज भाषा सिकाउने र विद्यार्थीलाई जिरो कस्टमा जापान पठाएर इन्टर्नको व्यवस्था गरिरहेका छौं । उनीहरूलाई नेपालका फाइभ स्टार होटलमा इन्टर्नसीप गर्ने व्यवस्था गरेका छौं । अहिले तेस्रो वर्षमा अध्ययनरत ८ जना विद्यार्थीलाई जापानका होटलमा इन्टर्नसीपको लागि पठाएका छौं । विद्यार्थीले वार्षिक दुई लाख रुपैयाँ कमाइ रहनुभएको छ । यो दुई लाखले हामीलाई तिरेको पैसा दुई/तीन वर्षमै तिर्नसक्छ । जस्तो बीसीएस आइटीका लागि हामीले तीनवटा ल्याब बनाएका छौं । त्यो ल्याब फेरि हाम्रो मात्र होइन । हामीले इन्डस्ट्रीजसँग कोल्याब्रेसन गरेर बनाएको ल्याब हो । इन्डस्ट्रीको एक्सपर्ट नै आएर ल्याबमा मेन्टर गर्ने हो । विद्यार्थी भाइबहिनीले सुरुदेखि पनि कुनै प्रोटोटाइप, एप्सहरू डेभलप गर्ने केही छ भने गर्न सक्छन् । त्यहाँ मेन्टरसिप पाउँछ । इन्डस्ट्रीको मेन्टरसिप पाउँछ। बीसीएस आइटीमा दुई लाखभन्दा अलिकति बढी लाग्ला । ट्रेनिङको पैसा हामी लिँदैनौं । हामीले ट्रेनिङ दिइरहेका छौं । सेकेन्ड सेमेस्टरबाट नन–क्रेडिट ट्रेनिङ भनेर फुल प्याकेज दिएका छौं । त्यो ६ महिनाको हुन्छ । फेरि हप्तामा एक दिन दुई–दुई घण्टा लगाएर उनीहरूले ६ महिनाको ट्रेनिङ लिन्छन् । भनेपछि कलेजले पढ्दै कमाउँदैको प्रयास गरिरहनुभएको छ ? हो, हाम्रो मुख्य उद्देश्य भनेकै पढ्दै कमाउँदै हो । बीबीए, बीबीए फाइनान्समा पनि हाम्रो एनालाइसिससँग कोल्याब्रेसन छ । हाम्रो बैंकहरूदेखि लिएर धेरैसँग कोल्याब्रेसन छ । त्यहाँ हामीले पेड इन्टर्नसीप गराउँदै आएका छौं । हामी यसलाई लर्निङ एन्ड अर्निङ टुगेदर भन्ने गरेका छौं । लिबर्टी कलेजमा लर्निङ एन्ड अर्निङ टुगेदरको अपरच्युनिटी छ । तर नेपाली विद्यार्थीहरूले नेपालमा राम्रो र गुणस्तरीय शिक्षा नपाएको भन्दै विदेशका विश्वविद्यालय गइरहेका छन्, किन यस्तो भइरहेको छ ? खासमा हाम्रा शैक्षिक संस्थाहरूले दिएको शिक्षा विद्यार्थीहरूले बुझ्न नसकेको हो ? हाम्रो देशमा शिक्षा नराम्रो होइन । तर यहाँ विभिन्न विदेशी विश्वविद्यालयले हाम्रा विद्यार्थी भाइबहिनीहरूलाई मिठा–मिठा सपनाहरू देखाइरहेका छन् । त्यसको पछाडि नेपाली विद्यार्थी लागिरहेका छन् । अहिले नेपालका विश्वविद्यालयहरूले आफूलाई रिभाइज गरिरहेका छन् । हाम्रो पढाइ चाहिँ कमजोर होइन । यो बुझ्नु जरुरी छ । जस्तो लिबर्टी कलेज पोखरा युनिभर्सिटीको हो । उसले आफूलाई रिभाइज गरेको छ । बीसीएस आइटी जस्तो विषय पढाउन सुरु गरेको छ । त्यस्तै, अहिले बीबीए, बीबीए फाइनान्सको पनि करिकुलम परिवर्तन भएर आएको छ । बीएचएम पनि अपडेट भएको छ । सँगसँगै परीक्षा लिने र नतिजा निकाल्ने समय पनि मिलाएको छ । एकेडेमिक प्रोसेसमा पनि कमी आएन । त्यो पार्टमा हामीले अब दोष लगाउनुपर्ने कहीँ देख्दिनँ । बरु वदेशी संस्थाहरूबाट विद्यार्थीलाहरूलाई विभिन्न प्रलोभनमा पारिँदैछ । चार वर्षको अध्ययनले तपाईंको चालीस वर्षको करिअरलाई डिसाइड गर्छ । अहिले इजी या डिग्री मात्रै ओरिएन्टेसन भएर तपाईं यदि जानुभयो भने आफ्नो चालीस वर्ष ड्यामेज गर्दै हुनुहुन्छ । यो म दाबीका साथ भन्छु । तपाईं विदेशमा अध्ययन गरेर/गराएर नेपाल फर्किनुभएको व्यक्ति पनि हो । विदेशमा गएका नेपाली विद्यार्थीका अवस्था कस्तो देख्नुभएको छ ? एकदम दयनीय छ । नेपाली विद्यार्थी आफै काम गर्दै पढ्नुपर्छ । काम नगर्दा कलेजको शुल्क तिर्नदेखि बस्न खान समस्या पर्छ भने काम गर्दा पढाइ बिग्रन्छ । विदेशको प्याटर्न नै फरक छ । यदि कुनै विद्यार्थीले सय प्रतिशत स्कलरशिप पाएको छ भने जानुहोस् यो राम्रो अवसर हो । यदि कुनै विद्यार्थीले त्यस्तो पाएको छैन, हजार, वा पाँच सय पाउन्ड डलर दिन्छु भनेको छ भने नपत्याउनूहोस् । यो भनेको धोका हो । जानेबित्तिकै सबैभन्दा पहिले सर्भाइभलको प्रश्न आउँछ । सर्भाइभ कसरी गर्ने ? अनि पढ्नु मात्र छैन, सर्भाइभ पनि गर्नु छ । काम चाहियो। त्यसैमा भौंतारिन्छ । गर्दागर्दा छ महिना, एक वर्ष, डेढ वर्षमा उसले पढाइ चाहिँ छाड्नुपर्ने अवस्था आइरहेको छ । कि त अभिभावकले फुल पेमेन्ट गर्न सक्नुप¥यो । म बाहिर हुँदा पनि कतिपय विद्यार्थीलाई उद्दार नै गर्नुपर्ने आवस्था आएको थियो । ब्याचलर्सको विद्यार्थी अझ काँचो उमेरको हुन्छ । नेपालमा अहिले दुईवटा कुरा छ । एउटा आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीहरू उता गएर काममा बढी ध्यान दिँदा पढाइ बिग्रिएको छ । अर्को नेपालमा आर्थिक अवस्था राम्रो भएका विद्यार्थीहरू उता गएर झन् पढाइलाई छोडेर बिग्रेको अवस्था छ । यस्तो अवस्थामा हाम्रो अभिभावकहरू स्वयं विद्यार्थी र हाम्रो सरकारले के गर्नुपर्छ ? शत प्रतिशत छात्रवृत्तिमा कुनै विद्यार्थी जान्छ भने रोक्नु हुँदैन । यसमा जाने विद्यार्थी केही न केही तरिकाले त्यहाँ पनि राम्रै पढ्न सक्छन् । र आफ्नो राम्रो भविष्य पनि बनाउन सक्छ । त्यो करिअर नेपालको लागि पनि महत्वपूर्ण हुन्छ । त्यस्तो विद्यार्थी पछि गएर नेपाल फर्किने धेरै सम्भावना छ । अर्को नेपाली विश्वविद्यालयले विद्यार्थीलाई पढ्दै खेरि पनि केही न केही सपोर्ट हुने कामहरू गर्नुपर्यो । तर नेपालमा यस्तो भएन । नेपाल सरकारले पनि थोरै त्यसमा रेगुलेसन गर्नुपर्छ । नेपालमा अहिले हरेक कुरामा राजनीतिमात्र भएको पाइन्छ । नेपालको पछिल्लो समयको शैक्षिक अवस्था कस्तो देख्नुभएको छ ? शैक्षिक अवस्था नेपालको राम्रै छ । नेपालमा शिक्षा राम्रो छैन भन्ने भाष्य सिर्जना गर्नु गलत हो । एक वर्षमा यति लाख मान्छेले एनओसी लियो, नेपालमा विद्यार्थी पाउन गाह्रो भन्ने कुरा वास्तवमा जस्तो सुनिन्छ त्यो सत्य हुँदैन । एनओसी लिएका सबै विद्यार्थी विदेश जान्छन् भन्ने हुँदैन । मैले अघि पनि भनिसकेको छु– पछिल्ला केही वर्षयता नेपालका विश्वविद्यालय पनि सुध्रिएका छन् । अब विद्यार्थीहरूले माइन्डसेट सुधार्नुपर्ने अवस्था छ । यसमा शैक्षिक संस्था शिक्षक र तपाईंहरू जस्ता व्यक्तिले गर्नुपर्ने काम चाहिँ के हो? शैक्षिक संस्थाले विद्यार्थी भाइबहिनीहरूलाई खाली नलेज मात्रै दिएर करिकुलम मात्रै पढाएर हुँदैन । त्यो अनुसारको इन्फ्रास्ट्रक्चर, एकेडेमिक इकोसिस्टम जस्तो इन्डस्ट्रीसँग कोल्याबरेसन, नेटवर्किङ गराउने र त्यही अनुसारको स्किल इन्ह्यान्समेन्ट गर्ने एक्टिभिटिजमा इन्गेज गराउने काम गरिदिनुपर्यो । अनि शिक्षक साथीहरूले पनि आफूलाई हरेक कुरामा अपडेट राख्नुपर्यो । करिकुलमतिर अपडेट त गर्नैप¥यो, अर्कोतिर रिसर्चमा लाग्नुपर्छ । दोस्रो कुरा सबै शिक्षक साथीहरूले के बुझ्नुपर्छ भने हामीहरूले विद्यार्थीलाई नलेज डेलिभरी गर्ने होइन । विद्यार्थीलाई फ्यासिलिटेट गर्ने हो, मेन्टर गर्ने हो, इन्करेज गर्ने हो । मोडेल एन्ड मेथड अफ लर्निङ सिकाउने हो । त्यसको लागि आफू पनि अपडेटेड हुनुपर्यो। अब किताबमा भएको कुरा आएर फरर पढाएरमात्र काम हुँदैन । रिसर्च गरेर विद्यार्थिलाई पढाउने र पढाइएका कुरालाई व्यवहारमा लागु गर्न सिकाउनुपर्छ ।
थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम
काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । थलीस्थित सुपर सप्लायर्स प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो । खानेपानी, ऊर्जा तथा सिचाँइमन्त्री कृष्णकुमार तामाङ र लेमिनार टायल्सका निर्देशकद्वय श्याम खेतान र आशुतोश खेतानले संयुक्त रूपमा डिलर शोरूमको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै निर्देशक श्याम खेतानले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ रहेको र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीको दावी छ ।