बैंकिङ प्रणालीमा ७० अर्ब तरलता, राष्ट्र बैंकले बुधबार १ अर्ब उठाउदै
काठमाडौं । बजारमा अधिक तरलता (लगानीयोग्य पुंजी) भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो उपकरणमार्फत प्रतिस्पर्धाबाट तरलता प्रशोचन सुरु गरेको छ । राष्ट्र बैंकले बुधबार १ अर्ब रुपैयाँ बजारबाट प्रशोचन गर्ने भएको छ । बजारमा हाल ७० अर्ब रुपैयाँ तरलता रहेको राष्ट्र बैंकका प्रवत्ता नारयणप्रसाद पौडेलले बताए । बजारको अवस्था हेरेर राष्ट्र बैंकले पैसा खिच्न थालेको उनको भनाई छ । बजारमा तरलता रहेकाले बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न पुंजीको अभाव नभएको उनी बताउछन् । बजारमा तरलता बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले मुद्धति र साधारण निक्षेपको ब्याज दर घटाउन थालेका छन् । बैंकमा लगानी गर्न पर्याप्त पुंजी भएपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा, घरकर्जा, साना तथा मझौला व्यवसाय लगायत कर्जा योजना सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले क्षमता भन्दा बढी लगानी गर्दा गत आर्थिक वर्षको दोस्रो त्रैमाश सुरु हुदै बजारमा तरलताको अभाव भएको थियो ।
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
ललितपुर, २७ भदौ । अरुलाई नियमन गर्ने निकाय आफैंँले नियमको पालना नगरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँं रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन् । गत आवको असारसम्ममा ललितपुरका सबै सरकारी कार्यालयको बाँकी बक्यौता रकम १२ करोड २६ लाख ८९ हजार रहेको छ । बजेट नआएको भन्दै कार्यालयले वर्षमा एक पटक मात्रै बिल तिर्ने गरेका विद्युत् प्राधिकरण केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए। उनले महेन्द्र युवालय र पुरातत्व विभागअन्तर्गतको केन्द्रीय रसायन संरक्षण शाखाको लाइन काटिएको बताए। कार्यालयलाई पत्राचार गर्दा बेवास्ता गरेकाले लाइन काटिएको उनको भनाइ छ । मिटर जाँच भएको ६० दिनसम्म पनि महसुल नतिरे लाइन काट्ने व्यवस्था छ । सबै ग्राहकका लागि एउटै नियम भए पनि कार्यालयले सरकारी कार्यालयलाई महसुल तिर्न पहिले पत्राचार गर्दै आएको छ । सिंहले भने, “त्यसपछि पनि नतिरे लाइन काट्ने गरेका छौँ ।” महिनानैपिच्छे नतिर्दा यी कार्यालयको महसुल र जरिवाना गरेर धेरै रकम तिर्नुपर्ने हुन्छ । सोमबार र बिहीबार कार्यालयले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा सरकारी कार्यालयको बाँकी बक्यौता १२ करोड ११ लाख ४५ हजार रूपैयाँ थियो । प्राधिरकणको लगनखेस्थित केन्द्र र तीन वटा उप–केन्द्रअन्तर्गतका ग्राहक छन् । गृह मन्त्रालयअन्र्तगतका कार्यालयको रु तीन लाख ५२ हजार बक्यौता छ । कृषि मन्त्रालयको बाँकी बक्यौता रु एक लाख २८ हजार रहेको केन्द्रले जनाएको छ । सबैभन्दा बढी लगनखेल केन्द्रको रु १३ लाख ३३ हजार बक्यौता रहेको छ । रासस
सेयर बजारमा सुधार आएन, लगानीकर्ताको विश्वास गुम्दा २१ अंक घट्यो
काठमाडौं । लगानीकर्ताको विश्वास गुम्दा मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार २१ अंकले बजार घटेर १ हजार ५०२ मा सीमित भएको छ । सोमबार साढे ३ अंकले समान्य बढेको सेयर बजार मंगलबार घटेको छ । सेयरको आपूर्ति बढेपछि पछिल्लो समयमा निरन्तर बजार घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि आकर्षक योजना ल्याउदा पनि बजारमा लगानीकर्ताको विश्वास बढ्न नसक्दा ओरालो लागेको हो । मंगलबार बैंकिङ, होटल, विकास बैंक, वित्तीय, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार ९७४ रुपैयाँमा कारोबार भएको छ । नेपाल लाइफको ३ करोड ५२ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार बजार घटेपछि कुल ५६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सरकारको कारण साल्ट ट्रेडिङ कर्पाेरेशन घाटामा
काठमाडौँ । सरकारको कारण पछिल्लो समय साल्ट टेडिङ कर्पाेरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ । सरकारको आग्रहमा भूकम्प पीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्काे मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पाेरेशनलाई करोडौँ घाटा हुन पुगेको हो । कर्पाेरेशनको ५५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईले पछिल्लो समय सरकारकै कारण कर्पाेरेशनले आर्थिक घाटा व्यहोर्नु परेको जानकारी दिए । उनले आगामी दिनमा यस्तो घाटा हुन नदिन मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र काम गर्न सुझाव दिए । दैनिक उपभोगका वस्तु नुन, चिनी, रसायनिक मललगायत वस्तु कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको छ । नौ महिनासम्म पुग्ने नुन कर्पाेरेशनले मौज्जाद छ । कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनले आगामी दिनमा आफ्नो कामलाई विविधिकरण गर्ने जानकारी िदइन् । कर्पाेरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पाेरेशनले सरकारको निर्देशनमा काम गर्दै आएको बताए । रासस
सिटिजन्स बैंकको ६२औं शाखा मकवानपुरको मनहरीमा
काठमाडौं । सिटिजन्स बैंकले ६२औं शाखा मकवानपुरको मनहरीमा उद्घाटन गरेको छ । आइतबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकिङ्ग कारोवारको सरुवात गरेका छन् । सो अवसरमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरेको जानकारी िदएकाे छ । मनहरी शाखाको उद्घाटन सँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई यस बैंकको ६२ वटा शाखा, ५९ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साथै, ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु िदनुकाे साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने लगायतका सुविधाहरु उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । देशको विभिन्न क्षेत्रका ग्रहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको जानकारी दिएको छ ।
सुरु भयो नयाँ नोट छाप्ने प्रक्रिया, ग्लोबल टेण्डरबाट खोजिँदै कम्पनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि प्रक्रिया सुरु गरेको छ ।नयाँ नोटको डिजाइन, छाप्ने र आपूर्ति समेतको कामका लागि बैंकले विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेण्डर) अघि बढाएको छ । पहिलो चरणमा कम्पनी छनौटका लागि पुर्वयोग्यता छनौट (पिक्यु) का लागि प्रस्ताव आब्हान गरेको छ । केही श्रेणीका नोटको डिजाइन समेत परिवर्तन हुने राष्ट्र बैंकले जनाएको छ । पुराना नोटलाई क्रमश विस्थापन गर्दे लैजान केन्द्रीय बैंकले नयाँ नोट छाप्नका लागि ठेक्कापट्टाको काम सुरु गर्न लागेको हो । पिक्युबाट छनौट भएका कम्पनीले मात्र नोटको डिजाइन, छाप्ने र आपूर्तिको कामका लागि हुने ग्लोबल टेण्डरमा भाग लिन पाउने छन् । यसअघि पिक्युका लागि प्रस्ताव आब्हान गर्दा सन्तोषजनक प्रस्ताव नपरेपछि रद्ध गरे पुनः आब्हान गरेको हो । आउदो अक्टुबर २७ सम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले भनेको छ । केन्द्रीय बैंकले ५, १०, २०, ५०, १००, ५०० र १००० दरका ७ श्रेणीमा नयाँ नोट छाप्नका लागि पिक्यु गरेको जनाएको छ । यति नोट छाप्ने भनेर निश्चित नभएको राष्ट्र बैंकका एक अधिकारीले बताए । “अहिले नै यति नोट छाप्ने निर्णय भएको छैन” उनले भने “कम्पनी छनौटपछि आवश्यकता अनुसार यसको प्रक्रिया सुरु हुने छ ।”उनका अनुसार यसको समय अवधि २ वर्षको हुने छ । मुलुकमा सेक्युरेटी प्रेस नहुदा राष्ट्र बैंकले विदेशबाट नोट छापेर ल्याउने गरेको छ । नोट छपाइमा मात्रै अर्बो रुपैयाँ विदेशिने गरेको छ । लगानी बोर्डले नेपालमै नोट छपाइ गर्नका लागि ठुलो लगानीमा सेक्युुरिटी प्रेस राख्ने तयारी गरेको छ ।
किसान बंगुरपालनतर्फ आकर्षित
नुवाकोट । जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ । उक्त संख्या बर्सेनि बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयमा बंगुरपालनको लागि ६२ वटा फार्म दर्ता भएको कार्यालयका पशु विकास अधिकृत डा चन्द्रविक्रम कुँवरले जानकारी दिए । “बंगुरपालन फस्टाउँदै गएको छ । दर्ता नगरी धेरै किसानले बंगुरपालन गर्दै आएका छन्,” उनले भने । निम्न आयस्तर भएका नागरिकको उत्थानका लागि सरकारले सहकारीमार्फत बंगुरपालनमा अनुदान दिँदै आएको छ । खाद्य सुरक्षा र आयआर्जनका लागि बंगुरपालन कार्यक्रमअन्तर्गत सूर्यगढी गाउँपालिका–३ फँलाटेको अग्रसर कृषि सहकारी संस्थाले बंगुरपालनका लागि सरकारले दिएको अनुदान किसानलाई वितरण गर्दै आएको अध्यक्ष निशा अधिकारीले बताए । उक्त सहकारीले २ वर्षदेखि बंगुरपालनका लागि कृषकलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारद्वारा प्राप्त रकम सहकारीले जिल्लाका विभिन्न ठाउँमा परिचालन गरिरहेको छ । हालसम्ममा १ सय २० जनालाई दुई-दुई वटा बंगुर र खोरका लागि सहकारीले ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको अधिकारीले बताए । बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०/४० कृषकलाई अनुदान रकम प्रदान गरेको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्ने सो संस्थाले जनाएको छ । रासस
पर्वतका एक सय विपन्न परिवारलाई घर निर्माण
पर्वत । पुख्र्यौली पेशाले हातमुख जोर्न धौ–धौ, टहराको बास, आकाशबाट परेको पानी चुहिएर लत्ताकपडा र अन्नपात सबै भिजेर बालबच्चा जोगाउनै मुस्किलजस्ता पीडा भग्दै आएका बिहादी–१ बाच्छाको माझी समुदाय आजभोलि फुरुङ्ग छ । कमजोर आर्थिक अवस्थाका कारण लामो समयदेखि कष्टपूर्ण जीवनयापन गर्दै आएको माझी समुदाय नयाँ घर पाएपछि दंग परेको हो । जनता आवास कार्यक्रममार्फत १० घरपरिवार माझी घर निर्माणका लागि सहयोग पाएपछि खुशी हुँदै अहिले धमाधम घर निर्माणमा कस्सिएका छन् । आफूहरुको पीडा देखेर सरकारबाटै घर निर्माणमा सहयोग भएकामा खुशी लागेको उल्लेख गर्दै दीपक माझीले भने, “आफूले कमाएर घर निर्माण गर्ने धेरै परको कुरा थियो, दैनिक नदीमा माछा मारेर परिवारको छाक टार्नै मुस्किल थियो तर हाम्रो मर्म बुझेर सहयोग गरेकोमा धन्यवाद दिन्छु ।” गत वैशाखदेखि घर निर्माण गर्न थाल्नुभएका उनले आफूले पाउने तीन किस्ताको रकम पाइसकेको जानकारी दिैँदै बताए, “अब छानो हाल्ने र झ्याल, ढोकाको काम बाँकी छ त्यसपछि शौचालय बनाउन थाल्छु ।” स्थानीय माझी बस्तीकी विमला माझी पनि कम्ती खुशी छैनन् । “घर बनाउन सहयोग पाउँदा धेरै खुशी छौँ” उनले भने, “टहरामा बस्नुपर्दा निकै सास्ती भोग्नुपरेको थियो, घर निर्माण गर्न पैसा दिए पछि बिहानदेखि कस्सिएर आफ्नो घर आफैँ निर्माण गर्न जुटेका हौँ ।” दीपक र विमलाजस्तै बाच्छाका रामबहादुर माझी, डिलकुमारी माझी, डिलबहादुर माझी, सपना माझी, राजमान माझी र टीका माझीलगायतले घर निर्माणका लागि सहयोग पाएका हुन् । घर निर्माणमा सहयोग पाएका यी सबै परिवार जीर्ण टहरोमा बस्दै आएका थिए । “आफ्नो सम्पत्तिले पुरानो टहरो मर्मत गर्नसक्ने अवस्था पनि थिएन” रामबहादुरले भने– “अहिले बल्ल सरकार भएको अनुभूति भएको छ ।” उनले वर्षौंदेखि कष्टपूर्णरूपमा बस्दै आए पनि गुनासो राख्ने ठाउँसमेत नपाएको बताए । बाच्छाका समाजसेवी सेवकनाथ आचार्यले जनता आवास कार्यक्रमले वास्तविक पीडितलाई समेटेको बताए । “माझीको पीडा देखिरहेका थियौँ तर केही गर्नसक्ने अवस्था थिएन” उनले भने, “जनता आवास कार्यक्रममा आएको जानकारी पाएपछि माझी बस्तीमा ल्याउन पहल पहल गर्यौँ ।” घर निर्माणका लागि उनीहरुले जम्मा कर कटाएर २ लाख ३३ हजार रुपैयाँ पाउनेछन् । समन्वय समितिले घरको जग हाल्दा पहिलो किस्तादेखि निर्माण सम्पन्न गर्दासम्म जम्मा रकमलाई चार किस्तामा वितरण गर्ने व्यवस्था मिलाएको छ । पहिलो किस्ता ५२ हजार रुपैयाँ, दोस्रो किस्ता ६३ हजार रुपैयाँ तेस्रो किस्ता ७३ हजार रुपैयाँ र चौथो किस्तामा बाँकी सबै रकम प्रदान गर्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिले जनाएको छ । चौथो किस्ता भने शौचालय निर्माणपछि मात्रै जिल्ला समन्वय समितिले उपलब्ध गराउनेछ । जिल्ला समन्वय समितिमार्फत पर्वतका आर्थिक रुपमा विपन्न र गरिब परिवारलाई १ सय वटा घर निर्माण गर्ने योजनाअनुरुप बाच्छाका १० घरपरिवार माझीले सहयोग पाएको जनता आवास कार्यक्रम पर्वतका संयोजक अर्जुनप्रसाद जोशीले बताए । पर्वतको बिहादी–२ बाच्छा, महाशिला–६ फलामखानी, फलेबास–६ देवीस्थान, फलेवास–१ कार्कीनेटा, कुश्मा–२ खुर्कोट, कुश्मा–१३ खौलालाकुरी, कुश्मा–१४ आर्थरडाडाखर्क र मोदी–१ भुकताङ्लेमा गरी विपन्नलाई १०० वटा घर निर्माणका लागि जनता आवास कार्यक्रम सञ्चालन गरिएकोे छ । रासस