नेपालमा पहिलो पटक नेपाल यार्न एण्ड टेक्सटायल एक्सपो
काठमाडौं । नेपाल धागो उत्पादक संघले नेपालमा पहिलो पटक नेपाल यार्न एण्ड टेक्सटायल एक्सपो सञ्चालन गर्ने भएको छ । यो मेला भदौ ३० गतेदेखि असोज ३ गते सम्म रानधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागेको छ । नेपालमा उत्पादित धागोबाट तयार गरिएको सामाग्रीहरु जस्तै कपडा, होजियरी, सर्टिङ-सुटिङ, निटिङ्ग आदि वस्तुहरुलाई एउटै छानामुनी समेटेर त्यसको प्रचार प्रसार एवं विक्री वितरण गर्ने तथा स्वदेशमा रहेको विभिन्न कपडा, होजियरी र निटिङ्ग उद्योगहरुको लागि आवश्यक पर्ने सम्पुर्ण ग्रे तथा रंगिन धागोहरुको जानकारी दिने उद्देश्यका साथ उक्त मेलाको आयोजना गर्न लागेको संघले जानकारी गराएको छ । साथै, आधुनिक प्रविधीका मेशीनरीहरु समेत प्रदर्शनिमा राखिएको हुंदा उद्योगिहरुलाई नयाँ प्रविधी तथा मेशिनरीहरुको जानकारीको थप अवसर प्राप्त हुनेछ । नेपाल धागो उत्पादक संघको स्थापना विसं २०५३ सालमा भएको र हाल संचालनमा रहेका उद्योगहरुमा रिलायन्स स्पिनिङ्ग, त्रिवेणी स्पिनिङ्ग, जय स्पिनिङ्ग तथा जगदम्बा स्पिनिङ्ग प्रमुख रहेका छन् । उक्त संघमा आवद्ध विभिन्न उद्योगहरुले हाल पोलिष्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र व्लेण्डेड रंगिन तथा सादा गरि हाल वार्षिक रुपमा करिब ४० हजार मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेको छ । कम्पनीका अनुसार उत्पादनको ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । विगत देखि भारतमा निर्यात गर्दै आएकोमा, ६÷७ वर्षदेखि तेश्रो मुलुकमा समेत निर्यात भइरहेको छ र वार्षिक रुपले निर्यात दरमा वृद्धि समेत भईरहेको कुरा धागो संघले जानकारी गराएको छ । स्वदेशमा कपडा उद्योगको विकास तीन दशक अगाडि देखि भएता पनि यसको विकासको लागि दुइ दशक अगाडिबाट धागो उद्योगको स्थापना तथा विकास भएको हो । नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरुबाट हाल कपडा, सर्टिङ-सुटिङ होजियरी, स्वेयटर, झुल आदि विभिन्न प्रकारको कपडा उत्पादनमा प्रयोग हुने धागोहरु उत्पादन भइरहेका छन् । यी धागो तथा कपडा उद्योगहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा करीब ५० हजार जनाको लागि रोजगारीको अवसर सृजना गरीरहेका छन् भने ३० प्रतिशत महिलाको संख्या रहेको छ ।
आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न आपूर्ति सचिवको सिफारिस
काठमाडौं । जग्गा खरिद प्रकरणमा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस गरेका छन् । संसदीय समितिले पेट्रोलियम भण्डारणका लागि नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै मन्त्रालयलाई कारबाही गर्न निर्देशन दिएको थियो । कारबाहीका लागि मन्त्रिपरिषधमा सिफारिस गर्ने मन्त्रालयले जानकारी दिएको छ ।सम्बन्धित निकायले छानविन गरी खड्कामाथि कार्वाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय अपचलन र अनियमितता भएको ठहर गरेको थियो । २ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको पाइएको छ । चलनचल्तीको भन्दा ४ गुणा बढी तिरेको समितिको ठहर छ । बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।
चाडपर्वका लागि नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा खुल्ने
चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले बताए । यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ । यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिनमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा सिमलताल, जुगेडी र रामनगरमा प्रहरी चौकी छन् । सडक जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ । समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको थापाले बताउनुभयो । कुरिनटारमा रहेको सशस्त्र प्रहरीले पनि सडकको सुरक्षाका साथै आवश्यक परेमा उद्धार गर्न तयारी हालतमा टोली राखेको छ । राजधानीबाट दशंै, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ । रासस
एनएमबिमाइक्रोफाइनान्सका शाखा प्रबन्धकलाई वित्तीय साक्षरता सम्बन्धि तालिम
काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले शाखा प्रबन्धकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतबार वित्तीय साक्षरता तालिमका उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कोनाजोले वित्तीय साक्षरता कुनै नौलो शब्द नभए पनि यसभित्रका विषयवस्तुहरु गहन रहेको कुरा वताए । उनले वित्तीय साक्षरताका विषयवस्तुहरु वचत, कर्जा, बिमा, विप्रेषण आदि रहेकोले यस बारेमा सवै ब्यक्ति तथा समुदायहरुले जान्नुपर्नेमा जोड दिए । वित्तीय साक्षरता सम्बन्धी तालिम सदस्यहरुलाई मात्र नभएर शाखा प्रबन्धक लगायत सबै तहका कर्मचारीहरुलाई अत्यावश्यक रहेको उनले बताए । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको गहनाको रुपमा रहेको वित्तीय अनुशासन र सुशासनलाई हर क्षेत्रमा कायम राख्नुपर्ने उनले बताए । कार्यक्रममा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका ८ जना कर्मचारीहरुका साथै २८ जना शाखाप्रबन्धकरुको उपस्थिति रहेको थियो । विभागीय प्रमुख खगेन्द्र तिम्सिनाले गरेका उक्त तालिममा सहभागीहरुलाई विभागीय प्रमुख डम्बर वहादुर श्रेष्ठले स्वागत गरे । उक्त तालिम पश्चात सबै शाखाप्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिलाई आफ्नो शाखा अन्तरगतका सदस्यहरुलाई तालिम प्रदान गर्न सक्ने गरी दक्ष वनाइने उद्धेश्य रहेको बैंकले जानकारी दिएको छ ।
युनाइटेड फाइनान्सले १९ प्रतिशत बोनस सेयर दिने, रणनीतिक सााझेदार भित्राउदै
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ । फाइनान्सले चुक्तपुँजी ८० करोड रुपैयाँ पु¥याउन बोनस सेयर वितरणको निर्णय गरेको हो । यस्तै भारतको कोचीस्थित मुथहुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्राउने भएको छ । मुथहुटलाई २० प्रतिशत अर्थात २१ लाख कित्ता सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । साझेदारी भित्राउन भएको छ ।
चक्रवर्ती हवी नर्सिङ कलेजद्वारा नियम विपरीत भर्ना, एकैदिन ९२ लाख रुपैयाँ संकलन
भक्तपुर । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी दुई लाख ५० हजार रुपैयाँ अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गराएको हो । कलेजका लेखा शाखाका विक्रम देउजाले एकदिनका लागि भर्ना खोलेको बताउँदै १ सय ३७ जना विद्यार्थीले आवेदन दिएकामा ३७ जनालाई भर्ना गरिएको र तीनवटा सिट छात्रवृत्तिका लागि राखिएको बताए । सिटिइभिटीसँग अनुमति नै नलिई कुन आधारमा भर्ना गरिएको भन्ने प्रश्नमा उनले यसबारे आफूलाई थाहा नभएको तर विगत दुई वर्षदेखि अदालतबाट अन्तरिम आदेस ल्याएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने गरेकाले यसवर्ष पनि सिटिइभिटीविरुद्ध अदालत जाने तयारी भएको बताए । कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहसँग यसबारे जानकारी लिन खोज्दा उनी राससको सम्पर्कमा आएनन् । कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गराएर ठगी गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै गुनासो पुगेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले तत्काल भर्ना रोक्न कलेजलाई निर्देशन दिएका छन् । पोखरेलले भने, “कलेजका प्रतिनिधिलाई बोलाएर तत्काल अवैधानिक भर्ना रोक्न मैले निर्देशन दिएको छु, भर्ना भएका विद्यार्थीले पैसा फिर्ता लान चाहेमा दिने र सिटिइभिटीविरुद्ध अदालत जान्छौँ भन्दै गएका छन् ।” यता सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले चक्रवर्ती हवि नर्सिङ कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरणसमेत नगरेको बताउँदै विद्यार्थीलाई भर्ना नगर्न सूचना जारी गरेको बताए । विद्यार्थी भर्ना भए त्यसको जिम्मेवार सिटिइभिटी नहुने बताउँदै उनले विगत दुईवर्ष अदालतको आडमा विद्यार्थी भर्ना गराए पनि यसवर्ष भने कलेज खारेज गर्ने प्रक्रिया अगाडि बढाउने बताए । कलेजले विगत दुईवर्ष पनि यसैगरी अवैधानिकरुपमा विद्यार्थी भर्ना गर्ने र अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थीको रजिस्ट्रेसन दर्ता गराउने गर्दै आएको थियो । सिटिइभिटीको नियमअनुसार हरेकवर्ष विद्यार्थी भर्नाअघि कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार ठीक भए÷नभएको, शिक्षक गुणस्तरीय भए÷नभएको, आफ्नै अस्पताल वा एकसय शय्याका अरु अस्पतालसँग प्रयोगात्मक शिक्षाका लागि अनुमति लिए÷नलिएको अनुगमन गरेर सिटिइभिटीको मापदण्ड पूरा गरेकालाई मात्रै विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गर्ने र नवीकरण गर्ने नियम छ । चक्रवर्तीले सिटिइभिटीका यी कुनै नियम पूरा नगरेको सिटिइभिटी सम्बन्धन महाशाखाका निर्देशक जीवनारायण काफ्लेले जानकारी दिँदै कलेजमा शिलबन्दी गरिने बताए । सिटिइभिटीले पनि कानूनी बाटो अवलम्बन गर्ने बताउँदै सदस्य सचिव वाग्लेले भने, “नर्सिङ कलेजको सम्बन्धन दिने, नवीकरण गर्ने अधिकार सिटिइभिटीसँग मात्रै छ, कि ऐन खारेज गर्नुपर्यो, हैन भने ऐन, नियम विपरीत विद्यार्थी भर्ना गर्ने र अदालतको आडमा स्टे अर्डर जारी गरे कलेज खारेजीको प्रक्रियामा अगाडि जान्छौँ ।” विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको स्टे अर्डरलाई मानेर विद्यार्थीको रजिस्ट्रेसन गरिए पनि यसवर्ष भने ऐन मिच्ने, १ सय शय्याको अस्पतालमा प्रयोगात्मक गर्न अनुमति नभएको, पूर्वाधार नपुगेको र नवीकरण नगरेकाले विद्यार्थीको रजिस्ट्रेशन नगर्ने अदालतले सिटिइभिटीको भनाइ छ । अदालतले सिटिइभिटी प्रशासन प्रमुख रमेश बखतीले चक्रवर्ती नर्सिङ कलेजले झुटो सूचना जारी गरेर जनमानसमा भ्रम फैलाउँदै विद्यार्थी भर्ना गराएको सुन्नमा आएको बताउँदै सिटिइभिटीले भर्ना नहुन सार्वजनिक सूचना नै जारी गरेकाले त्यसको जिम्मेवारी सिटिइभिटीले नलिने बताए । विद्यार्थी भर्ना गर्न आएका अभिभावक चाँगुनारायण नगरपालिका–९ का नकुल राउतले कलेजले विद्यार्थीलाई भर्नाको नाममा ठगी गरेको बताउँदै भर्ना भएका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने बताए । भर्ना भएका विद्यार्थी र उनका अभिभावकले कलेजमा दिनभर भेला भएर कलेजले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको बताउँदै रकम फिर्ता गर्न माग गरेका थिए । रासस ––––––
एप्पलले नयाँ आईफोन ८ मोडेल आज सार्वजनिक गर्दै
वासिङ्टन । अमेरिकाको एप्पल इंकले नयाँ उत्पादनको रुपमा आइफोन ८ आज सार्वजनिक गर्ने भएको छ । कम्पनीको दशौं वार्षिकोत्सवको अवसरमा एप्पलले आइफोन–८, आइफोन–८ प्लस र आइफोन– एक्स लञ्च गर्न लागेको हो । यसको मूल्य भने तय गरिएको छैन् । आईफोन ८ का लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ । आज सार्वजनिक हुने भनिएको सो आइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने छ । उच्चस्तरको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ । भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको आइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ। नेपाली समयअनुसार राती १० बजेर ४५ मिनेटमा विशेष समारोहका बीच स्टिभ जब्स थिएटरमा एप्पलले आफ्नो नयाँ आईफोन ८ सार्वजनिक गर्नेछ । छिट्टै नेपालमा आउने छ ।
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा तीन वर्ष अघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा शुरु गरेको छ । विसं ०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यो निजीस्तरमा पूर्वान्चलकै ठूलो अस्पताल हो । मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको अस्पताल ३०० शय्याको छ । २२ बिगाहा क्षेत्रफलमा फैलिएको मेडिकल कलेज सञ्चालनका लागि झण्डै ५ अर्ब रूपैयाँ भन्दा बढी लगानी गरिएको छ । अस्पतालमा यसअघि १५ शय्या आइसियुका थिए । बिरामीको चापलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित अस्पतालले आइसियु सेवा विस्तार गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए। उनले भने , “दैनिक ८०० बिरामीले ओपिडीमा मात्रै सेवा लिन्छन् जटिल प्रकारका बिरामीका लागि आइसियु अपुग थियो र हामीले सेवा विस्तार गरेका हौँ ।” पचास शय्या आइसियु सेवासहित अस्पतालमा ३८ शय्या एनआइसियु, २५/२५ पिआइसियु तथा एचडियुका शय्या छन् । आइसियु सेवा सञ्चालनका लागिमात्रै एनेस्थेसिया विशेषज्ञ डा राजु श्रेष्ठको नेतृत्वमा ६ जना विशेषज्ञ डाक्टर कार्यरत रहने आइसियु उद्घाटन समारोहमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उहाँले अस्पतालका दुई आइसियु शय्यालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार अतिविशिष्ट बनाइने बताए । अस्पतालमा ७२ जना विशेषज्ञ डाक्टर कार्यरत रहेको जानकारी गराइएको छ जसमा छ–छजना महिला रोग विशेषज्ञ र एनेस्थेसिया, न्यूरो सर्जन तीन, अर्थाेपेडिक छ, मेडिसिन पाँच, नाक, कान, घाँटी रोग विशेषज्ञ तीन, दन्तरोग तीन, म्याग्जिलोफेसियल तीनलगायत रहेको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताउनुभयो । ७७१ जनाले प्रत्यक्ष रोजगारी पाएको अस्पताल सञ्चालन यता पूर्वका पाँच लाखभन्दा बढीले सेवा लिइसकेका छन् । अस्पतालमा क्यान्सरको समेत उपचार शुरु भएपछि पूर्वका सर्वसाधारण अस्पतालको सेवाप्रति खुशी छन् । यहाँका सर्वसाधारण क्यान्सरको उपचारका लागि यसअघि भरतपुर क्यान्सर अस्पतालसहित काठमाडौँ र भारतका विभिन्न अस्पतालमा जाने गरेका थिए । भारतको मेदान्त हस्पिटलसँग सहकार्य गर्दै अस्पतालले क्यान्सरको उपचार शुरु गरेपछि एक वर्षमा झण्डै ५० जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताउछन् । १.५ टेस्ला पावरको एमआरआई मेसिन भएको बिएण्डसी हस्पिटलले क्यान्सर रोगको विश्वस्तरीय उपचारकै लागि भर्खरै मात्र ३० करोड रूपैयाँ पर्ने रेडियोथेरापी मेशिन अमेरिकाबाट खरिद गरेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताए । रेडियोथेरापी मेसिन समुद्री मार्ग भएर आउँदा झण्डै डेढ महिना लाग्ने र त्यसपछि अस्पतालमा रेडियोथेरापी सेवासमेत शुरु गरिने उनकाे भनाइ छ । सो मेशिनका लागि अलग्गै भवनमा बंकर बनाएर राख्नु पर्ने र त्यसलाई प्रयोग गर्नका लागि मेदान्तमा कार्यरत अंकोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ) डा वीरेन्द्र यादव बिएण्डसी अस्पतालमा आइसकेको प्रसार्इंले बताए । बिएण्डसीको मापदण्ड पूरा छ यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख गिरिराज सुवेदीले बिर्तामोडमा सञ्चालित बिएण्डसी हस्पिटलले मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पूरा गरेको बताएका छन् । यो अस्पताल पूर्वमै सुविधासम्पन्न र विशेषज्ञ चिकित्सक कार्यरत रहेको पाएँ, उनले भने । पूर्वका बासिन्दाले आफ्नै ठाउँमा यत्तिको प्रविधियुक्त अस्पतालमा आएर सेवा लिन सक्लान् या नसक्लान् त्यो भने भन्न सकिँदैन, सर्वसाधारणको मर्मलाई बुझेर यो अस्पतालले सेवा प्रदान गरोस् अस्पताल सञ्चालकलाई मेरो आग्रह छ, सुवेदीले भने । रासस