कोका–कोलाको दशैं र तिहारको मेगा अफरमा बाइक जित्ने मौका
काठमाडौं । कोका–कोला नेपालले मेगा दशैं तिहार उपभोक्ता प्रबद्र्धन अभियान ‘मन खोलौं कोकसँग ’ योजना बजारमा ल्याएको छ । कोका–कोलाले उपभोक्तालाई आकर्षित गर्न याे याेजना ल्याएकाे हो । उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर कोका–कोलाले यस अघि पनि विभिन्न किसिमका उपहारहरु जित्ने अवसर प्रदान गरेको थियो । यो वर्ष, कोका–कोलाले यसभन्दा अघि नभएको योजना ल्याएकाे छ । साथै, यो अभियान भदौ २० देखी शुरु भएर असोज ३० गतेसम्म हुने कम्पनीले जानकारी दिएको छ । यो वर्षको अभियान मोटरबाईक जित्ने विशेष अवसरका साथ आएको छ । यसमा एउटा टिभीएस स्ट्राइकर १ सय २५ सीसी प्रत्येक दिन जित्न सकिने छ । यो अभियान अन्तरगत अन्य आकर्षक पुरस्कारहरु, दैनिक ४ वटा एलजी एलईडी टिभीहरु र १०० रुपैयाँको मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिक रुपमा ४०० जनाले जित्न सक्नेछन् । यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नु पर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । अन्य बिस्तृत जानकारीहरु राष्ट्रिय दैनिकहरुबाट प्रदान गरिने कम्पनीले जनाएको छ । कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर लिन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले भने,‘यो वर्षको सबैभन्दा प्रतिक्षारत समयमा हामी आईपुगेका छौं, हाम्रा उपभोक्ताहरुले गत वर्ष निकै मनपराउनु भएको सम्बन्ध विषयको अभियान ‘मन खोलौं कोकसंग ’, यो वर्ष फेरी आएको छ, जसले तपाईलाई आफ्नो मनपर्ने मानिससंग उत्सवमय अवसर प्रदान गरेको छ । ’
सहरी क्षेत्रमा नगद र ब्याज अनुदानमा सोलार जडान सुरु, वैकल्पिक ऊर्जा माग्यो प्रस्ताव
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले राष्ट्रिय ग्रीडबाट बिजुली सेवा पाएका सहरी क्षेत्रका बासिन्दालाई पनि सोलार जडान गर्ने योजना ल्याएको छ । केन्द्रले काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा अुनदान तथा सरल ब्याज दरमा कर्जा सहितको सौर्य ऊर्जा प्रणाली जडानका लागि मंगलबार प्रस्ताव आब्हान समेत गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि सहरी सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्नका लागि अनुदान र कर्जाको व्यवस्था गर्ने बजेटमा उल्लेख भएअनुसार केन्द्रले प्रस्ताव मागेको हो । सरकारले विद्युतभार कटौती (लोडसेडिङ) हटाउन सौर्य सोलार ऊर्जा अनुदान योजना ल्याएको हो । यो वर्षका लागि १ हजार ५ सय घरमा मात्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने केन्द्रले जानकारी दिएको छ । पहिला आउनेलाई पहिलो प्राथमिकता (फस्ट कम फस्ट सर्भिस) आधारमा अनुदान रकम भुक्तानी हुने केन्द्रले बताएको छ । २ सय वाट पीक वा सो भन्दा ठुलो प्रणाली जडान भएपछि एकमुष्ठ २० हजार रुपैयाँ जडान अनुदान खर्च केन्द्रले उपलब्ध गराउने छ । यस्तै ५ सय वाट पिक वा सो भन्दा ठुलो प्रणाली जडानमा सरल कर्जाको व्यवस्था गरिएको छ । जसअनुसार घरायसीका लागि ७५ प्रतिशतसम्म ब्याजमा अनुदान र औद्योगिक प्रयोजनाका लागि ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । सिभिल बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबाट सरल कर्जा उपलब्ध हुने केन्द्रले जानकारी दिएको छ । यो योजना आर्थिक वर्ष ०७०/०७१ देखि सुरु गरिएको हो । घरको छानमा सोलार प्रविधि जडान गरिने छ । पछिल्लो समयमा सडक बत्ति, घरयासी प्रयोजनमा सोलार प्रविधि जडान प्रभावकारी रुपमा अघि बढेको छ ।
नेपाली सेनाले १५० जना अधिकृत क्याडेटका लागि भर्ना खुलायो, असोज २४ सम्म आवेदन दिनुपर्ने
काठमाडौं । नेपाली सेनाले १५० जना अधिकृतका लागि जागिर खुलाएको छ । सेनाको जंगी अड्डाले अधिकृत क्याडेटमा १३ जना महिला, २२ जना आदिवासी जनजाती, १९ मधेशी, १० जना दलित, ३ जना पिछडिएको क्षेत्र र खुलातर्फ ८३ जनाका लागि जागिर खुलाएको छ । भदौ २७ देखि असोज २५ गतेसम्म जागिरका लागि निवेदन दिनुपर्ने अड्डाले जानकारी दिएको छ । प्रमाणपत्र योग्यता पुग्नेको उमेर न्युनतम १८ देखि २१ र स्नातक पास गरेकाको उमेर बढीमा २४ वर्ष हुनुपर्ने छ ।
मंगलबारबाट नयाँ १० को नोट चलनचल्तिमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याएको छ । बैंकले मंगलबारदेखि साविकको आकार तथा रंगमा ल्याउन लागेको छ । साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।
जनरल फाइनान्सको हकप्रद सेयर बिक्री खुला
काठमाडौं । जनरल फाइनान्स लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशतका दरले १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १५ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । फाइनान्सले चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पु¥याउनु पर्ने वाध्यकारी अवस्था आएपछि हकप्रद सेयर निष्कासन गरेको हो । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको फाइनान्स नयाँ लगानीकर्ताको प्रवेशपछि पुनः सञ्चालनमा आएको छ ।
एनआईसी एसियाले होम लोन योजना ल्यायो
काठमाडौं । तपाई घर बनाउन वा किन्न पैसा छैन, अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले आकर्षक ब्याज दरमा प्रिमियम होम लोन योजना ल्याएको छ । हामी साथ दिने छौ तपाइको सम्पन्नतामा पुरा हुनेछ तपाइको घर सपना भन्ने नाराकासाथ बैंकले होम लोन योजना ल्याएको छ । बैंकले ब्याज दर भने खुलाएको छैन् ।
नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बेच्दै, न्युनतम् मूल्य ३ हजार ५०
काठमाडौं । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम ३ हजार ५० रुपैयाँमा बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ । सोमबार कोषको सेयर प्रतिकित्ता ३ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो । सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक व्यक्ति सहभागी हुन नपाउने बैंकले जानकारी दिएको छ । ३ हजार ५० रुपैयाँ भन्दा कम मूल्य पेश गर्नेलाई बोलकबोलको मूल्यमा सहभागी नगराइने बैंकले जनाएको छ । बोलकबोलमा भाग लिनेले न्युनतम् १० हजार कित्ता प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र असोज २४ गते खोलिने बैंकले जनाएको छ ।
नेपाल ग्रामीण विकास बैंकको एफपीओ बिक्री खुला, १ सय मा पाइने, न्युनतम् ५० कित्ता भर्नुपर्ने
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ । दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ । एफपीओ निष्कासन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० गतेसम्मलाई तोकिएको छ । चुक्तापुँजी बढाउन बैंकले एफपीओ निष्कासन गरेको हो ।