विकासन्युज

सामसङ नेपालको ‘वार्म विन्टर अफर’ सार्वजनिक, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा विशेष छुट र क्यासब्याक

काठमाडौं । सामसङ नेपालले ‘वार्म विन्टर अफर’ सार्वजनिक गरेको छ । यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ । अफरअन्तर्गत ग्राहकहरूले वाशिङ मेसिन र रेफ्रिजिरेटरमा विशेष छुट, क्यासब्याक र सरल फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्राएर, फ्रन्ट लोड, एफटीएल र एसएटीएल मोडेलहरूमा अधिकतम २३ हजार रुपैयाँसम्म इन्स्ट्यान्ट क्यासब्याक रहेको छ । त्यसैगरी, सिंगल डुअर, डबल डुअर र साइड बाइ साइड सामसङ रेफ्रिजेरेटर्समा १७ प्रतिशतसम्म क्यासब्याक रहेको छ । सामसङका वाशिङ मेशिन र रेफ्रिजिरेटरमा रहेको डीआईटी  मोटरमा २० वर्षको वारेन्टी उपलब्ध छ र सबै मोडल निःशुल्क इन्स्टलेसन गरिन्छ । साथै सामसङको इन्स्टाफाइनान्स सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्पमा घरेलु सामानहरू किन्न सक्छन् । पुराना सामसङ उपकरण अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत सिधै एक्सचेन्ज गर्न सक्ने सुविधा पनि उपलब्ध छ ।

गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आइतबार देशभर बृहत सामाजिक कार्यक्रम आयोजना गर्दै ८ स्थानमा रक्तदान र १९ स्थानमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको हो । रक्तदान कार्यक्रम सुनसरी, पर्सा, चितवन, काठमाडौं, कास्की, म्याग्दी, रुपन्देही र बाँकेमा सञ्चालन भएको थियो, जसबाट कुल ६०२ युनिट रगत संकलन भएको बैंकले जानकारी दिएको छ । यसै अवसरमा देशभरका विद्यालयमा शैक्षिक सामग्री, पोशाक, पानी फिल्टर मेसिन वितरण गरिएको थियो । साथै स्वास्थ्य चौकी र वृद्धाश्रममा सरसफाइ र खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । शनिबार बैंकले 'स्वस्थ जीवनशैलीका लागि खेलकुद' नाराका साथ गरिमा रोड रेड प्रतियोगिताको दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न गरेको थियो, जसमा हजार भन्दा बढी धावकको सहभागिता रहेको थियो । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई प्राथमिकतामा राखी वार्षिक रूपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

बैंकको संस्थापक सेयर बिक्रीसम्बन्धी नीति पुनरावलोकन गर्दै राष्ट्र बैंक

काठमाडौं । गत जेठ ३० गते पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राख्यो । बैंकको उक्त सेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ११८.८८ रुपैयाँका दरले ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँमा खरिद गर्‍यो । हबिब बैंकलाई हिमालयनमा रहेको संस्थापक सेयर बिक्री गर्न करिब साढे ४ महिना समय लाग्यो । यसबीचमा हबिबले संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गर्‍यो । बैंक सञ्चालक समितिबाट स्वीकृत गरायो । र, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्‍यो । जसले गर्दा हबिबलाई आफ्नो सेयर बिक्री गर्न कम्तिमा साढे ४ महिना समय लाग्यो । यदि सहज रुपमा खरिदकर्ता भेटिएको थिएन भने हबिबलाई सेयर बिक्री गर्न अझै समय लाग्ने थियो । संस्थापक सेयर बिक्री गर्न हबिबलाई मात्रै यति धेरै समय लागेको होइन । अन्य बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले पनि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्नुपर्याे भने कम्तीमा ३ महिना लामो प्रक्रिया नै अपनाउनुपर्ने हुन्छ । ग्लोबल आइएमई बैंकका कम्पनी सचिव विष्णु बाँस्कोटाका अनुसार हाल कायम व्यवस्था बमोजिम संस्थापक सेयरधनीले सेयर बिक्री गर्न चाह्यो भने सेयर बिक्रीको सूचना निकालिदिन भन्दै बैंकमा अनुरोध गर्नुपर्छ । निवेदन दिएपछि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई राखेर ३५ दिने सार्वजनिक सूचना निकाल्नुपर्ने हुन्छ । ‘बिक्रीका लागि निवेदन आएपछि सुरुमा इच्छुक संस्थापक सेयरधनीले खरिदका लागि आवेदन दिनु होला भनेर ३५ दिने सूचना निकालिदिन्छ । यदि बिक्रीकर्ता सेयरधनी आफैले खरिदकर्ता खोजेको छ भने ३५ दिने सूचनाले काम गर्छ । यदि संस्थापक सेयरधनीले खरिद गर्ने इच्छा गरेनन् भने अन्य सर्वसाधारण लगानीकर्ताका लागि फेरि अर्काे ३५ दिने सूचना निकाल्नुपर्छ,’ उनले भने, ‘संस्थापक सेयरधनी हुनका लागि नेपाल राष्ट्र बैंकले निश्चित सीमा तोकेको छ । कालोसूचीमा नरहेको, कर तिरेको लगायत कागजातहरू पेस गरेपछि बैंकको सञ्चालक समितिले निर्णय गरेर बिक्री र खरिदकर्ताले आ-आफ्नो ब्रोकर कम्पनीमार्फत कारोबार गराउँछन् ।’  उनका अनुसार संस्थापक सेयर खरिदबिक्री प्रक्रिया लामो छ । दोस्रो बजारमा पब्लिक सेयर खरिदबिक्री भइरहेको जस्तो संस्थापक सेयर कारोबार नहुने गरेको उनले बताए । संस्थापक सेयर कारोबारका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने, सम्बन्धित संस्थाको सञ्चालक समितिले स्वीकृति दिएको हुनुपर्ने लगायत झण्झटिलो प्रक्रिया रहेको उनको भनाइ छ । कानुनी व्यवस्थामा संशोधन गरेर सेयर कारोबारमा सहजीकरण गर्न आवश्यक रहेको उनले बताए । ‘संस्थापक सेयरको मूल्य पनि कम हुन्छ र खरिद गर्ने मान्छे पनि कम हुन्छन् । खासमा एउटै संस्थाको संस्थापक र साधारण गरी दुई थरी सेयर नै नहुनुपर्ने हो । किनकी विदेशतिर सबै सेयर एउटै प्रकृतिको हुन्छ र पब्लिक सेयर सरह कारोबार भइरहेको हुन्छ । तर, हाम्रोमा पब्लिक र प्रमोटर भनेर दुई किसिमको सेयर छुट्याएको छ,’ उनले भने, ‘साथै संस्थापक खरिद बिक्री प्रक्रियामा नियामकले कडाइ गरेको छ ।’  उनका अनुसार यदि बिक्री र खरिदकर्ता आपसी सहमति गरेर आउँछन् भने ३५ दिने सूचना आवश्यक छैन । बिक्री र खरिदकर्ताबीच नेगोसियसन गरेको संस्थापक सेयर ७ दिन भित्रमा सम्पन्न हुने गरी कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए । अहिलेको व्यवस्था अनुसार एउटा संस्थापक सेयर बिक्रीका लागि कम्तिमा ३ महिना समय लाग्ने गरेको उनको भनाइ छ । ‘कानुनले सेयरलाई चल सम्पत्ति भनेको छ । तर, चल सम्पत्ति सरह कारोबार हुन पाएको छैन । आफ्नै सम्पत्ति बिक्री गर्न झण्झट छ । त्यसैले सुन बिक्री गरे सेयर बिक्री प्रक्रिया पनि सहज हुनुपर्छ । फटाफट खरिदबिक्री हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने । महालक्ष्मी विकास बैंकका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय संस्थापक सेयर र सर्वसाधारण सेयर गरी दुई थरी सेयर संरचना राखेर असमान व्यवहार गरिएको बताउँछन् । नीतिगत व्यवस्थामा परिवर्तन गरी एउटै किसिमको सेयर कायम गर्नुपर्ने उनको धारणा छ । ‘प्रमोटर र पब्लिक सेयरका विषयमा बाफियाले एउटा भन्छ तर राष्ट्र बैंकले रोकेर राखेको छ । के अब सधैं थुनिराख्ने हो त । विभेद हुन दिनु भएन नि । बैंकिङमा लगानी गर्ने पनि एउटा नागरिक नै हो । कर तिरेर कमाएको पैसा बैंकमा लगानी गरेको हो । बैंकको जस्तो फिट एण्ड प्रपर टेस्ट अरू कुनै संस्थामा हुँदैन । वैध स्रोतबाट कमाएको लगानी बैंकमा गरिएको हो । यति पारदर्शी हुँदा पनि सहज रूपमा बाहिरिन दिनुपर्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदबिक्री प्रक्रियामा सहजीकरण गर्ने गरी काम भइरहेको बताउँछन् । संस्थापक सेयर बिक्री सम्बन्धित बैंकबाटै हुने गरी कानुनी व्यवस्था गर्न लागेको उनको भनाइ छ ।  ‘सकेसम्म रिटेल कामहरू केन्द्रीय बैंकबाट नहोस् भन्ने छ । जसमध्ये सेयरको ट्रान्सफरको काम पनि हो । हामीले एउटा गाइडलाइन बनाएर बैंकको कम्पनी सचिवमार्फत गर्न सकिने कामहरू राष्ट्र बैंकमा आउन नपरोस् । राष्ट्र बैंकमा आएर फलानो सेयर ट्रान्सफर भयो, फलानोको सेयर ट्रान्सफर भएन भनेर गुनासो गरिरहेका छन्,’ उनले भने, ‘राष्ट्र बैंकमा आएर १० थरि कुरा हुन्छन् । त्योमध्ये कति ट्रान्सफरबेल हो, कति होइन ? आफै हेरेर काम गर्न सकिने व्यवस्था हुँदैछ ।’ 

आँखाको नयाँ यात्रा, तीन धार एकीकृत हुँदै बन्यो ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’

काठमाडौं । लामो समयदेखि स्वतन्त्र धार र वैकल्पिक राजनीतिका स्वरहरूसँग सम्बन्धित तीन समूह एकीकृत हुँदै ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नामको नयाँ राजनीतिक शक्ति औपचारिक रूपमा जन्मिएको छ ।  राजधानीको राष्ट्रियसभा गृहमा आइतबार आयोजित एकता–घोषणा कार्यक्रमका बीच उक्त दलको जन्म भएको हो । यो एकतामा नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेर आएका सन्तोष परियारसहितका नेताहरू सहभागी भएका छन् ।  कार्त्तिक २८ गते नै ती तीन धारबीच एकता गर्ने सैद्धान्तिक सहमति बनेपछि अन्ततः संगठनात्मक संरचना र राजनीतिक मार्गचित्रसहित नयाँ पार्टी घोषणा गरिएको हो । नयाँ बनेको पार्टीले नेसपाले प्रयोग गर्दै आएको आँखा चिन्हलाई नै आफ्नो आधिकारिक चुनाव चिह्न स्वरूप कायम गर्ने निर्णय गरेको छ ।  पार्टीमा एकल अध्यक्षको सट्टा ७ सदस्यीय अध्यक्ष मण्डलको व्यवस्था गरिएको छ । पार्टीका नेताहरूका अनुसार यो संरचनाले सामूहिक नेतृत्व, पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने लक्ष्य बोकेको छ ।

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या

काठमाडौं । विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् ।  गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान ल्याएका झण्डै २०० कन्टेनर केरुङ नाकामै थन्किएको बताउँछन् । 'दसैँका लागि साउनमा चीनबाट आयात गरिएको सामग्री अझै केरुङ नाकामै अलपत्र छन्, नाकामा सामान रोकिँदा समस्यामा परिएको छ', उनले भने । सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाको कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो । सङ्घका पूर्वअध्यक्ष श्रेष्ठ केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरुले महङ्गो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयत गर्नुपरेको बताउँछन् । कोरोला नाकामा भने सामान ढुवानीका सवारीसाधनलाई प्रवेशमा कडाइ गरेको छ । उक्त नाकामा दैनिक चार/पाँच ढुवानीका सवारीले मात्र चीन प्रवेशका लागि पास पाउँदै आएको व्यवसायीको गुनासो छ । हाल उक्त चिसो मौसम सुरु भएपछि उक्त नाका बन्द रहेको छ । कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाडौं ल्याउनुपर्ने बाध्यता छ । कोरोला नाका चिसो बढेकाले गाडी ‘स्टार्ट’ गरेर राख्नुपर्ने बाध्यताले गर्दा तेल समेत धेरै खर्च हुने गरेको व्यवसायी बताउँछन् । केरुङ नाका चाँडो खोल्नसके सामान आयतमा सहज हुने व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्की नेपाल चीन जोड्ने दुई ठूला नाका राम्रोसँग सञ्चालनमा नआउँदा सामान आयतमा समस्या परेको बताउँछन् । 'मुख्य नाका बन्द हुँदा बैकल्पिक नाका प्रयोग गरेर सामान ल्याउँदा सामानको मूल्यसमेत बढ्न जान्छ, तत्काल नाका खुलाउन सरकार पहल गर्नुपर्यो”, उनी भन्छन् । चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, सवारी साधनको पार्टस्लगायत आयात हुँदै आएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल तातोपानी नाकाबाट अपेक्षाअनुसार सामान भित्रिने नसकेको बताउँछन् । 'केरुङ नाका सञ्चालन हुँदापनि तातोपानी नाकाबाट दैनिक २५ देखि ३० कन्टेनर सामग्री भित्रिने गरेको थियो, हाल उक्त नाका बन्द छ तर तातोपानी नाकाबाट सामान भित्रिने कन्टेनर बढ्नुको सट्टा घटेको छ', उनी भन्छन् । वर्षात्को समयमा मुलुकका विभिन्न भागमा बाढीपहिरो जाँदा अरनिको राजमार्ग पनि रोकिएको थियो । पछिल्लो समय चीनबाट नेपाल भित्रिएका सामग्रीमध्ये झण्डै ८० प्रतिशत फलफूल रहेको भन्सार कार्यालय तातोपानीले जनाएको छ । तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन् । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला केरुङ नाका सञ्चालन नभएपनि तातोपानी नाका हुँदै चीनबाट नेपालमा सामान भित्रिरहेको बताउँछन् । 'चिसोको कारण कोरोला नाकाबाट सामान आउन सकेको छैन, तातोपानी नाकाबाट दैनिक ३०/३५ कन्टेनर सामान भित्रिरहेको छ', उनी भन्छन् । रासस

ट्यारिफको मार अमेरिकी उपभोक्तामा, उत्पादन सुस्त हुँदा अर्थतन्त्रमा खतरा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष राष्ट्रपति चुनावका क्रममा अमेरिकालाई महान बनाउने वाचा गरेका थिए । चुनाव जितेपछि उनले विश्वका अधिकांश देशमाथि उच्च ट्यारिफ (शुल्क) लगाइदिए । तर अब यसको असर अमेरिकामै परिरहेको देखिन्छ । नोभेम्बर महिनामा अमेरिकाको म्यान्युफ्याक्चरिङ क्षेत्र (सामान उत्पादन) सुस्त भयो । यो पछिल्ला चार महिनामध्ये सबैभन्दा कम हो । यसको मुख्य कारण बढ्दो ट्यारिफ हो, जसले वस्तुहरू महंगा बनायो र उपभोक्ताले खरीद कम गरे । यसले अमेरिकामा मन्दीजस्तै अवस्था निम्त्याएको छ ।  रोयटर्सका अनुसार यस अवस्थाकै कारण बजारमा नबिकेका वस्तुको थुप्रो लाग्दै गएको छ, जसले देशको समग्र आर्थिक वृद्धि सुस्त हुने डर बढाएको छ । एसएन्डपी ग्लोबलका अनुसार अमेरिकाको म्यान्युफ्याक्चरिङ पीएमआई (पर्चेजिङ मेनेजर्स इन्डेक्स) अक्टोबरमा ५२.५ बाट घटेर नोभेम्बरमा ५१.९ पुगेको छ । नयाँ अर्डरमा ठूलो गिरावट आएको छ भने तयार वस्तुको स्टक ऐतिहासिक स्तरमा पुगेको छ । एसएन्डपी ग्लोबल इन्टेलिजेन्सका क्रिस विलियमसनका अनुसार म्यान्युफ्याक्चररहरू नयाँ अर्डरको सुस्त वृद्धि र स्टक बढ्दो स्तरका कारण चिन्तामा छन् । उनले यदि माग फेरि बढेन भने उत्पादन झनै कमजोर हुनसक्ने चेतावनी दिए । रोयटर्सका अनुसार उपभोक्ताहरू अब लामो समय चल्ने म्यान्युफ्याक्चरिङ वस्तु किन्न हिच्किचाइरहेका छन् । युनिभर्सिटी अफ मिशिगनले गरेको सर्वेक्षणमा खरीद गर्ने क्षमतामा ठूलो गिरावट देखिएको छ । सर्भेले उपभोक्ताहरू महँंगो मूल्य र घट्दो आम्दानीबाट निरन्तर दबाबमा रहेको बतायो । ट्यारिफले आयात खर्च बढाएकाले न्यून र मध्यम आय भएका परिवारमाथि थप बोझ परिरहेको उल्लेख छ । हालै सेयर बजारमा आएको गिरावटले खर्चमा अगाडि रहने धनी अमेरिकीहरूको भरोसामा पनि धक्का पुगेको छ । अर्थशास्त्री सुंग वोन सोनका अनुसार कम आय वर्गले खर्च बढाउने सम्भावना छैन । साथै बजारको अनिश्चितताले धनी वर्गको खर्च पनि घटाउनेछ, विशेष गरी अवकाशप्राप्त नागरिकहरूको । फ्याक्ट्री क्षेत्र सुस्त भए पनि समग्र व्यवसायिक गतिविधि भने बलियो देखिएको छ । अमेरिकाको कम्पोजिट पीएमआई आउटपुट इन्डेक्स ५४.८ मा पुगेको छ, जसलाई सेवा क्षेत्रले मजबुत बनाएको हो । सेवा क्षेत्रको पीएमआई ५५.० मा पुगेको रोयटर्सले जनाएको छ ।

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु, २ वर्षभित्र सम्पन्न हुने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।      गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढीपहिरोले  सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।      क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनःनिर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो ।      ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । 'पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ', योगेशले भने ।      उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित)मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ ।      यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई  एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।      क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनःनिर्माणका लागि जापानले दुई अर्ब ६३ करोड बराबर रुपैयाँको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।      कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताए । उनले भने, 'निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्याथी पुनःनिर्माण थालिएको हो ।' क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।       जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।      उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस  

एनपिएलले कीर्तिपुरमा आर्थिक गतिविधि बढ्यो, व्यवसायीलाई भ्याइनभ्याइ

कीर्तिपुर । कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । पहिले दिनमा मानिसहरुको सामान्य चहलपहल हुने गरेको भएपनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ । यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपिएल) ।      यही मङ्सिर १ गतेदेखि क्रिकेटको महाकुम्भ अर्थात एनपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ । जहाँ हजारौँ दर्शक क्रिकेटको साक्षी बन्न पुग्न थालेका छन् । एनपिएलका लागि जाने दर्शकहरु कीर्तिपुरबासीका लागि आर्थिक आर्जनको माध्यम बनेका छन् ।      खास गरी मौलिक नेवारी खाना, कृषि उपज र हस्तकला सामग्रीको बजारीकरणका लागि एनपिएल सहयोगी बनेको उनीहरुको बुझाइ छ । कीर्तिपुरको प्रसिद्ध लहना नेवारी रेस्टुरेन्टमा पनि ग्राहकको भीड बढेको सञ्चालक राजमान महर्जनले बताए । 'पोहर साल हरेक दिन जसो जित्ने टोलीका समर्थकहरुले रेष्टुरेन्ट भरिएको हुन्थ्यो, यसपाली पनि संख्या बढ्दो छ', उनले भने । कीर्तिपुरमा रहेका ८० वटा रेस्टुरेन्टमध्ये अधिकांशमा नेवारी परिकार पाइन्छ ।      रेष्टरेन्टहरुले पनि ग्राहक बढाउनका लागि ठूलो स्क्रिनमा खेल देखाउन थालेका छन् । ससः नेवारी रेस्टुरेन्टका प्रवन्धक रिजन महर्जन एनपिएल कीर्तिपुरको व्यवसाय बढाउने माध्यम भएको बताए । 'हामीले बिक्री गर्ने परिकारमा सकेसम्म स्थानीय उत्पादन नै प्रयोग गर्छौ, परिकारसँगै हामीले पराल र मकैको खोस्टाबाट बनेका हस्तकलाका सामग्री पनि प्रदर्शनीका लागि राखेका छौँ,' उनले भने । उक्त रेष्टुरेन्टले एनपिएल अवधिभर खानामा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।