मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक मंगलबार (आज) पौने पाँचबजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । चारबजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
करार, अस्थायी र ज्यालादारी कर्मचारीले गरे अर्थ मन्त्रालय घेराउ
काठमाडौं । सरकारले करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेपछि प्रभावित कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारको निर्णयको विरोध गर्दै करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूले मंगलबार (आज) अर्थ मन्त्रालय घेराउ गरेका हुन् । आन्दोलनकारीहरूले करार अवधि नथप्ने निर्णय तत्काल फिर्ता लिन, रोजगारीको निरन्तरता सुनिश्चित गर्न तथा आफूहरूको सेवासम्बन्धी माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । अर्थ मन्त्रालय परिसरमा भेला भएका कर्मचारीहरूले सरकारको निर्णयले हजारौं कर्मचारीको रोजगारी संकटमा परेको भन्दै नाराबाजीसमेत गरेका थिए । उनीहरूले लामो समयदेखि विभिन्न सरकारी निकायमा काम गर्दै आए पनि एकपक्षीय रूपमा सेवा समाप्त गर्ने निर्णय अन्यायपूर्ण भएको बताएका छन् । सरकारले हालै करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने नीति अघि बढाएपछि कर्मचारीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका कारण केही समय अर्थ मन्त्रालय आसपासको क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।
मोरङ उद्योग व्यापार संघलाई आईसीसीको सदस्यता, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर
काठमाडौं । मोरङ उद्योग व्यापार संघ (एमसीसीआई) अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल च्याम्बर अफ कमर्स (आईसीसी) को सदस्य बनेको छ । आईसीसीको सदस्यता प्राप्त गर्ने नेपालकै पहिलो उद्योग–वाणिज्य संघ बनेसँगै नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । संघका अनुसार आईसीसी सदस्यतापछि नेपाली उद्योगी तथा व्यवसायीले विश्वव्यापी व्यापारिक सञ्जाल, अन्तर्राष्ट्रिय मञ्च, नीति निर्माणसम्बन्धी छलफल तथा विभिन्न व्यापार प्रवर्द्धन कार्यक्रमहरूमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउनेछन् । संघका अध्यक्ष अनुपम राठीले आईसीसी सदस्यताले नेपाली उद्योग तथा व्यवसायका लागि नयाँ अवसर सिर्जना गरेको बताए । उनका अनुसार यसबाट निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षित गर्ने, अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी जानकारी प्राप्त गर्ने तथा विश्वस्तरीय व्यापारिक साझेदारी विस्तार गर्न सहयोग पुग्नेछ । आईसीसीमार्फत नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक भेटघाट, बी–टु–बी कार्यक्रम, तालिम, सेमिनार, वेबिनार तथा विभिन्न अनुसन्धानमूलक प्रतिवेदन र व्यापारसम्बन्धी सामग्रीमा पहुँच पाउने संघले जनाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार विवाद समाधानका लागि आईसीसीका मध्यस्थता तथा विवाद समाधान सेवासमेत उपयोग गर्न सकिने उल्लेख गरिएको छ । अध्यक्ष राठीले आईसीसी सदस्यता मोरङ उद्योग व्यापार संघका लागि मात्र नभई समग्र नेपाली निजी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, निर्यात वृद्धि गर्न र नेपालको व्यापारिक पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मंगलबार (आज) अपरान्ह ४ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।
सेयर बजारमा १६४ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार समान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २५७६ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १६४ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३८३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत केबीएल डिभेन्चरको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै १० प्रतिशत एनआइएमबी डिभेन्चरको ३९ करोड र ७ प्रतिशत नेपाल एसबीआईको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १२ वटा उपसमूहको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.०९ प्रतिशत, डेभलपमेन्ट बैंक ०.२९ प्रतिशत, फाइनान्स ०.५१ प्रतिशत, होटल तथा पर्यटन ०.०८ प्रतिशत, हाइड्रो ०.२७ प्रतिशत र व्यापारको १.४७ प्रतिशतले बढेको छ ।
सरकारी विज्ञापनको एकद्वार प्रणाली खारेज गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ खारेज गर्ने आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त प्रणाली कार्यान्वयन गर्ने सरकारी निर्णय बदर गर्ने आदेश दिएको हो । सरकारले सरकारी विज्ञापनलाई एकीकृत प्रणालीमार्फत प्रकाशन गर्ने व्यवस्था लागू गरेको थियो । उक्त निर्णयविरुद्ध सञ्चार क्षेत्रबाट असन्तुष्टि व्यक्त हुँदै अदालतमा रिट निवेदन दायर गरिएको थियो । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले रिट दायर गरेका हुन् । रिटमा विज्ञापनमा कार्टेलिङ गर्न नपाइने, विज्ञापन बोर्डको अधिकार खोस्न नपाइने, विज्ञापन ऐन र नियमावलीमा समानुपातिक विज्ञापन पाउने मिडियाको अधिकार रहेको लगायतका दावी गरिएको थियो । सर्वोच्चको आदेशसँगै सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार प्रणाली कार्यान्वयन गर्ने सरकारी निर्णय निष्क्रिय भएको छ । अदालतको पूर्ण पाठ सार्वजनिक हुन बाँकी नै छ ।
संसद बैठकमा केही बेर बसेर बाहिरिए रवि-बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन शाह मंगलबार प्रतिनिधिसभा बैठकमा एक्कासि उपस्थित भए पनि केही बेर कसेर संसद् भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँगै संसद् बैठकमा पुगेका थिए । प्रधानमन्त्री शाह र रवि बैठकमा छोटो समय मात्रै बसेर बाहिरिएका हुन् । उनले संसद्मा कुनै सम्बोधन गर्ने वा अन्य कार्यसूची नरहेको संसद् सचिवालयले जनाएको छ । यसअघि जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह संसद् बैठकमा नियमित रूपमा उपस्थित भएका थिएनन् । त्यसयता लगातार अनुपस्थित रहेका उनी मंगलबार अचानक संसद् भवन पुगेपछि सांसदहरूको ध्यान उनीतर्फ केन्द्रित भएको थियो । पछिल्ला केही बैठकमा प्रधानमन्त्री अनुपस्थित रहँदै आएको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको र बैठक छल्ने प्रवृत्ति देखिएको भन्दै उनीहरूले निरन्तर प्रश्न उठाउँदै आएका थिए । यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको आजको उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिए पनि उनी छोटो समयमै बैठकबाट बाहिरिएपछि त्यसले थप चासो बढाएको छ । उता, रास्वपा सभापति लामिछानेले भने प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी गरेका छन् ।
स्वाभिमान लघुवित्तको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा अर्याल
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन भएका छन् । संस्थाको नवौं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले अर्याललाई अध्यक्ष चयन गरेको हो । संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिमा देवीदत्त जवाली, गिरिराज पाठक र कुश सुधन सिंह चयन भएका छन् । सिंह प्राइम कमर्सियल बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक हुन् । नवनिर्वाचित सञ्चालक समितिले संस्थाको आगामी रणनीति, सुशासन तथा वित्तीय सेवा विस्तारमा केन्द्रित भएर काम गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।