विकासन्युज

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ५१.१२ अर्ब रुपैयाँ, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति (एनबीए) ५१ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्मा बैंकहरूको गैरबैंकिङ सम्पत्ति ५१ अर्ब १२ करोड ४६ लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  चालु आवको असोजसम्ममा वाणिज्य बैंकहरुमा ४३ अर्ब २४ करोड ३३ लाख रुपैयाँ, विकास बैंकहरूको ४ अर्ब ८४ करोड २० लाख रुपैयाँ र फाइनान्स कम्पनीको ३ अर्ब ३ करोड ९२ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ ।  वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ । ग्लोबल आइएमईको ६ अर्ब ५ करोड ५९ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ ।  यस्तै, हिमालयन बैंकको ५ अर्ब ९३ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ४ अर्ब ४६ करोड रुपैयाँ, प्राइम बैंकको ४ अर्ब २५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३ अर्ब ८७ करोड रुपैयाँ, नबिल बैंकको ३ अर्ब ४५ करोड रुपैयाँ, कुमारी बैंकको २ अर्ब ५२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २ अर्ब १९ करोड रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, एनएमबि बैंकको १ अर्ब ७७ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब ६८ करोड रुपैयाँ, कृषि विकास बैंकको १ अर्ब ३४ करोड रुपैयाँ, सिटिजन्स बैंकको १ अर्ब २६ करोड रुपैयाँ, सानिमा बैंकको १ अर्ब ३ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ९५ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ७७ करोड २० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ६० करोड रुपैयाँ, एभरेष्ट बैंकको ५३ करोड ८५ लाख रुपैयाँ, नेपाल बैंकको २६ करोड ४२ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको २५ करोड रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । विकास बैंकहरूमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ज्योति विकास बैंकको रहेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार ज्योतिको १ अर्ब ७ करोड रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । यस्तै, गरिमा विकास बैंकको ६८ करोड २२ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५८ करोड २७ लाख रुपैयाँ, सांग्रीला डेभलपमेन्ट बैंकको ५२ करोड ८१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ४१ करोड ३१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३४ करोड ४ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २६ करोड ५४ लाख रुपैयाँ, एक्सल डेभलपमेन्ट बैंकको २६ करोड ३५ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २४ करोड ९५ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १५ करोड १९ लाख रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकको ११ करोड रुपैयाँ, सिन्धु विकास बैंकको ६ करोड २८ लाख रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको ६ करोड ११ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकको ३ करोड ६१ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको ८३ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ५१ लाख रुपैयाँ र सालपा विकास बैंकको ४५ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति रहेको छ । फाइनान्स कम्पनीहरूमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति गुडविल फाइनान्सको रहेको छ । गुडविलको ५२ करोड २९ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ४८ करोड रुपैयाँ, पोखरा फाइनान्सको ४१ करोड ४४ लाख रुपैयाँ, प्रोग्रेशिभ फाइनान्सको २५ करोड ११ लाख रुपैयाँ, बेस्ट फाइनान्सको २२ करोड रुपैयाँ, रिलायन्स फाइनान्सको २१ करोड रुपैयाँ, नेपाल फाइनान्सको १७ करोड ९० लाख रुपैयाँ, समृद्धि फाइनान्सको १७ करोड ३३ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । राष्ट्र बैंकका अनुसार गुहेश्वर मर्चेन्ट फाइनान्सको १५ करोड ८७ लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड १२ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १० करोड रुपैयाँ, सेन्ट्रल फाइनान्सको ८ करोड ३२ लाख रुपैयाँ, आईसिएफसि फाइनान्सको ५ करोड रुपैयाँ, मल्टिपर्पस फाइनान्सको २ करोड ५३ लाख रुपैयाँ, क्यापिटल मर्चेन्ट फाइनान्सको २ करोड रुपैयाँ र श्रीइन्भेष्टमेन्ट फाइनान्सको १ करोड ५३ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । 

सूर्यविनायक-धुलिखेल सडक निर्माण प्रगति ५० प्रतिशत

काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको  ७.५ मिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिए। निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गरे। उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे । सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गरे। दुवै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ०९ पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ६८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

कोरला नाकाको दसगजामा हाटबजार पूर्वाधार बन्दै, हिमपात, चिसो र हावाहुरीबाट मुक्त

काठमाडौं । नेपाल-चीन सिमाना उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरला नाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो । नेपाल-चीन कोरला नाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जगदीश जोशीले जानकारी दिए । उनले कोरलास्थित सीमा नाकामा हाटबजार निर्माणका लागि प्रारम्भिक सर्वे अध्ययन गरिएको उल्लेख गरे ।  ‘हाटबजार लागि सर्वे अध्ययन, लागत अनुमान र डिजाइनको काम सुरु गरेका छौँ । साथै स्थानीय जनप्रतिनिधि र हाटबजार चलाउने व्यापारीको धारणा बुझ्दै छौँ,’ उनले भने, ‘यसलाई कस्तो डिजाइनको बनाउने भन्ने अहिले यकिन भइसकेको छैन ।’ नेपाल–चीन उत्तरी कोरला नाका विसं २०८० कात्तिक २७ गते औपचारिक रूपमा उपल्लो मुस्ताङका नागरिकका लागि खुल्ला गरिएको थियो । सीमावर्ती क्षेत्रका स्थानीय नागरिकका लागि बाह्रै महिना कोरला नाकाको ढोका खुल्ला गरिएसँगै चिनियाँ मालसामान बिक्री गर्न अस्थायी रूपमा त्रिपाल टाँगेर हाटबजार सञ्चालन गर्दै आइरहेका छन् । नाका आसपास करिब २ दर्जन बढी नागरिकले हाटबजारमार्फत व्यापार सञ्चालन गर्दै आएका छन् । समुद्री सतहबाट ४ हजार ६२० मिटरको उचाइमा अवस्थित कोरला नाकामा हाटबजारका साथै स्थानीय युवालाई वैकल्पिक व्यापार व्यवसाय चलाएर आर्थिक जीविकोपार्जनमा योगदान पुगेको छ ।  नाकामा हाटबजार चलाउने स्थानीयका लागि भरपर्दो पूर्वाधार नहुँदा हिमपात, चिसो र हावाहुरीको सामाना गर्नुपर्ने वाध्यताको अन्त्य गर्ने उद्देश्यले पूर्वाधार निर्माणको पहल थालिएको जोशीले बताए ।  पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जोशीले कोरला नाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि विनियोजित बजेट अपुग हुने देखिएमा प्रदेश सरकारसँग थप माग गर्नुपर्ने आवश्यकता औंल्याए । विसं २०८१ कात्तिक १४ गते नेपाल–चीन सिमाना कोरलास्थित अध्यागमन कार्यालयको उद्‍घाटनमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाकामा अव्यवस्थित रूपमा सञ्चालन भएका हाटबजारलाई व्यवस्थित गर्ने बताएका थिए । त्यसपछि उनले नाकामा हाटबजार व्यवस्थापन गर्न आंशिक बजेट विनियोजन गरेका हुन् । प्रदेश सरकारबाट विनियोजित बजेट न्यून भएको स्थानीय सरोकार भएकाहरूको भनाइ छ । पछिल्लो समय कोरला नाका व्यापारिक केन्द्रका रूपमा मात्रै नभई पर्यटकीय गन्तव्यसमेत बनेको छ । नाकामा हुने अनुकूल मौसमका कारण दिनहुँ सयौं पर्यटक यहाँ पुग्ने गरेका छन् । गत ३० भदौदेखि यस नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै पर्यटकीय चहलपहल पनि बढेको स्थानीय बताउँछन् । नाकामा नेपाल पक्षबाट आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ पुग्ने पर्यटक तथा हाटबजार चलाएर बस्ने नागरिकलाई सास्ती हुँदै आएको छ । नाकामा खानेपानी, शौचालय र हाटबजारका स्टललगायत पूर्वाधार नहुँदा समस्या हुँदै आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाकामा पूर्वाधार निर्माणका लागि स्थानीय तह एक्लैले काम गर्न गाह्रो हुने भएकाले प्रदेश सरकारसँग समन्वय गरिएको उनको भनाइ छ ।

१ लाखसम्मका सहकारी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी

काठमाडौं । सरकारले सहकारीमा १ लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो ।  सानो रकम फसेका पीडित नागरिकलाई चक्रीय कोष बनाएर रकम फिर्ता कार्यविधि निर्माण गरी अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृति प्राप्त भएपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयका सह प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए ।  उनका अनुसार पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने छ । अर्थ मन्त्रालयले निश्चित रकम बिउ पुँजीका रूपमा चक्रीय कोषमा जम्मा गर्नेछ । त्यसबाट समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइने छ । ती सहकारी लिलाम गरी आएको रकम पुनः सोही कोषमा जम्मा गर्दै आर्थिक स्रोत व्यवस्थापन गरिने छ । पीडित बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । देशभर करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती सहकारी तीन तहका सरकार मातहत अलग अलग दर्ता रहेकाले नियमनमा समस्या छ । पीडितले आफ्नो रकम फिर्ता पाउन तथा ठगी गर्ने सञ्चालकलाई कारबाहीको माग गर्दै आएका थिए । समुदायमा सहकारीको आदर्श तथा सिद्धान्तमा आधारित भएर सहकारी सदस्यको हितमा क्रियाशील सहकारी संस्थाहरूले राम्रो प्रगति गरेका छन् भने सिद्धान्त विपरीत बचत सङ्कलन गरी कर्जा प्रवाह गर्ने अधिकांश सहकारी समस्यामा छन् ।

विजयपुर खोलामा ‘गिर्डर लन्चिङ’ सुरु, पृथ्वी​​​​​​​राजमार्ग ४ घण्टा बन्द

काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने पोखराको विजयपुर खोलामाथि निर्माणाधीन पुलमा आजदेखि ‘गिर्डर लन्चिङ’ (पुललाई अड्याउन प्रयोग गरिने निदाल) सुरु भएको छ । मुग्लिन-पोखरा सडक आयोजना पश्चिम खण्डले राजमार्ग स्तरोन्नतिको काम गर्दै आएको छ । सोही आयोजनाअन्तर्गत विजयपुर खोलामा पक्की मोटरेबल पुल निर्माण भइरहेको हो । उक्त आयोजनाका प्रमुख कृष्णबहादुर कुँवरले सोमबारदेखि पुल क्षेत्र बाहिर तयार पारिएका गिर्डरलाई पुलमाथि राख्ने कार्य (गिर्डर लन्चिङ) सुरु भएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म दैनिक ४ घण्टा सडक बन्द गरेर काम भइरहेको हो । आयोजना प्रमुख कुँवरले भने, ‘पहिलो दिन एउटा गिर्डर राखिएको छ । मङ्सिर ११ गतेसम्म १५ वटा राख्ने योजना अुनसार आजदेखि काम हुनेछ । सकभर कम ट्राफिक जाम होस् भनेर दैनिक चार घण्टा सडक बाटो बन्द गरेर काम भइरहेको छ ।’ विजयपुर खोलाको पुल अबको २ महिनाभित्रमा निर्माण सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ ।  ‘गिर्डर राखेपछि पुलको स्लाब ढलान र दुवैतिरको सडक ढलान बाँकी छ । २ महिनाभित्रमा सबै काम सकिन्छ,’ कुँवरले भने ।  एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-मुग्लिङ सडक आयोजनाको पश्चिम खण्डमा पोखराको सेती नदी र विजयपुर खोलामाथि कङ्क्रिट र फलाम प्रयोग गरेर पुल निर्माणको चरणमा छ । आयोजना प्रमुख कुँवरले राजमार्गमा सवारीसाधनको चापले पुलको काममा कठिनाइ हुने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । मुग्लिन-पोखरा सडक आयोजनाले दुई पाङ्ग्रे तथा साना सवारीसाधनका लागि बूढी बजारबाट बेल चौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउस चोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । उक्त आयोजनाअन्तर्गत पश्चिम खण्डको पोखराबाट तनहुँको जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको प्रमुख कुँवरले जानकारी दिए ।

उद्योगी व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ । ४ महिनामा आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएको उनले बताए ।  ४ महिनामा ४ अर्ब २३ करोड ६८ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको यो कार्यालयले ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको छ । यो लक्ष्यको २७.३ प्रतिशतले बढी र लक्ष्यको १२७.३ प्रतिशत सङ्कलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए ।  ‘गत आवको तुलनामा राजस्व सङ्कलन ५१.५ प्रतिशतले वृद्धि भएको छ । चारै महिना हामीले लक्ष्य हासिल गरेका छौँ,’ उनले भने ।  राजस्व सङ्कलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२.६ प्रतिशत रहेको उनले जानकारी दिए ।  ‘मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ । तर ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ,’ कर अधिकृत  पोख्रेलले भने ।  आव २०८१/८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म ३ अर्ब ५६ करोड २ लाख ६१ हजार रुपैयाँ सङ्कलन गरेको थियो । राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ । कार्यालय अन्तर्गतका उद्योगी-व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको प्रमुख कर अधिकृत पोख्रेलले बताए । आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन् ।

सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सोलु हाइड्रोपावरले आज मंसिर ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो ।  स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले मंसिर २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।