विकासन्युज

प्रधानमन्त्रीको भ्रमणमा नेपालगञ्ज-दिल्ली उडान मुद्दा राख्नुपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई केन्द्रित गरी नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज काठमाडौंमा सर्वपक्षीय छलफल भएको थियो । सो छलफलमा राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । उनीहरुले नेपालगञ्ज-दिल्ली सिधा उडानले समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने धारणा राखे । सन् २०१८ मा नेपालगन्जदेखि दिल्ली बुद्ध एयरले सिधा उडान सञ्चालन गरेको थियो । तर, उडान सुरु गरेको एक महिनापछि भारतीय अधिकारीहरूले ‘स्लट’ उपलब्ध गराउन नसकेपछि उडान स्थगित भएको थियो ।  त्यसयता बाँके, बर्दियासहित पश्चिम नेपालका जनप्रतिनिधि लगायतले स्थगित उडान पुनः सञ्चालनको माग गर्दै आएका छन् । नेपालगञ्ज–दिल्ली उडानमा भारतीय पक्षले पनि चासो दिएको सम्बद्ध अधिकारीको भनाइ छ । नेपालगञ्ज–दिल्ली सिधा उडान हुँदा नेपाललाई मात्र नभई भारतीय पक्षलाई पनि फाइदा पुग्ने विज्ञहरूको भनाइ छ । उडान स्थगित हुनेमा भारतीय पक्षको सुरक्षा चासो भएकाले सुरक्षाको क्षेत्रका आशंका हटाइ भारतीय पक्षलाई प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीमार्फत विश्वास दिलाउनुपर्ने विज्ञहरूको सुझाव छ । छलफलमा पश्चिम नेपालका प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो । सांसद सञ्जय गौतम, डा धवलशमशेर राणा, शक्ति बहादुर बस्नेत, सूर्य ढकाल, महेश्वर जङ्ग गहतराज, दीपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खान लगायतले नेपालगञ्ज-दिल्ली सिधा उडानमा प्रतिबद्धता जनाउँदै होस्टेमा हैंसे गर्न तयार रहेको बताए ।  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, महासङ्घका पूर्व अध्यक्ष भवानी राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालगञ्ज-दिल्ली सिधा उडानले पुग्ने फाइदाबारे उल्लेख गर्दै यसका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।  पश्चिम नेपालमा आकर्षक पर्यटक गन्तव्यका साथै विभिन्न जडीबुटी, कृषि उत्पादन तथा ऊर्जा क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क बहादुर धामीले सिधा उडानका लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिए ।  सांसद सञ्जय गौतमले नेपालगन्जको भौगोलिक, सांस्कृतिक र आर्थिक क्षमता उच्च रहेकाले सिधा उडान विकासको महत्त्वपूर्ण चरण हुने बताए । सांसद अब्दुल खानले नेपालगन्जलाई पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा अग्रणी आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सांसद धवल शमशेर राणाले भने, ‘जुन दिन नेपालगञ्ज-दिल्ली सिधा उडान सुरु हुन्छ, त्यही दिन कर्णाली र सुदूरपश्चिमको कायापलट हुनेछ ।’ सांसद शक्ति बहादुर बस्नेतले आवश्यक पूर्वाधार र नीतिगत सहयोगका लागि पूर्ण समर्थन जनाए । 

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।  कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । ​​​​हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा(चिप्लेढुङ्गा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।

बुङ्गल हाइड्रोको आईपीओमा स्थानीयले आजसम्म लगानी गर्न पाउने

काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओमा स्थानीयले आजसम्म लगानी गर्न पाउने भएका छन् । गत असार २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै बुङ्गल हाइड्रोको रजिस्टर्ड कार्यालय धोबी घाट ललितपुर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुङ्गल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधारबाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

सानिमा बैंकले बढायो निक्षेप र कर्जा, वितरणयोग्य नाफामा ९२.१२ प्रतिशत उछाल

काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेर २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७३ लाख ३७ हजार रुपैयाँ थियो भने लाभांश क्षमता १०.६६ प्रतिशत थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड १६ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ र जगेडामा ६ अर्ब ५६ करोड ७१ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन १३.५६ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ र कर्जा लगानी १०.६८ प्रतिशत बढेर १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष बैंकले १ खर्ब ९७ अर्ब १९ करोड ७० लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब ४१ करोड ४७ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी गत वर्ष १.२८ रुपैयाँ बढेर १८.९३ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९.८० गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ११.७३ प्रतिशत छ ।

एभरेष्ट बैंकको नाफा ५ अर्ब रुपैयाँ, लाभांश क्षमता ३८.२७ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंकले गत वर्ष झण्डै ५ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.३८ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब ६४ करोड ८३ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १३.८३ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८९ लाख ४३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशत बढेर ११ अर्ब १६ करोड ६४ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.६३ प्रतिशत बढेर ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेर ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३० करोड २३ लाख ६९ हजार रुपैयाँ थियो भने लाभांश क्षमता २८.०६ प्रतिशत थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ, सेयर प्रिमियम २३ करोड ८४ लाख ७० हजार रुपैयाँ र जगेडामा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख ४५ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब २१ करोड ५३ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ३१.४७ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ३७.९९ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २४७.३९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ । 

माबिलुङ्ग इनर्जीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । माबिलुङ्ग इनर्जीले आज साउन २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँट पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५ सय रुपैयाँको १३ लाख ५४ हजार २३५ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ३० हजार ९५ कित्ता कर्मचारी, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन २९ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ ९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । 

मधेसमा २७ प्रतिशत धान उत्पादन घट्ने, कुन जिल्लामा कति ?

काठमाडौं । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका ८ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको कूल ५ लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकोमा हालसम्म २ लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भएको हो । उनका अनुसार पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्रफल वृद्धि भएको हो । बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ गरेर धान रोप्दा केही सहजता भएको छ । तर, धनुषामा कमला नदी सुक्दा समस्या भएको हो । यस वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ । ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको निर्देशक यादवले बताए ।  सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरिका २२ हजार ५२ किसानले आवेदन दिएका छन् । सिँचाइ व्यवस्थापन सहयोगका लागि मधेस प्रदेश सरकार सङ्घीय सरकारको निर्णयको पर्खाइमा रहेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । उनले प्रदेश सरकारले किसानलाई सो सहयोगका लागि १८ करोड बजेट विनियोजन गरेपनि पर्याप्त नभएको बताए । 

तारे होटलमा तात्तातो कोदोको सेल

काठमाडौं । नेपाली तारे होटलमा नास्तासँगै बारा, अम्लेट, जेरीजस्ता परिकार लाइभ-किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् । पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानिलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ-किचनमार्फत प्रस्तुत गरेको छ । पाँच तारे होटलको दर्जामा रहेको सो रिसोर्टले गत शनिवार प्रस्तुत गरेका दर्जनौं परिकारमध्ये कोदोको सेल रोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बासना दार सेल रोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो । रिसोर्टको डाइनिङ हल नै सेल रोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेल रोटी नौलो लागेर सोधपुछ गरेका उनीहरुले पछि भने रोटी थपी-थपी खाए । रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेल रोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए । नेपाली परिकारको छुट्टै लाइभ-किचन रहेको स्टलमा कोदोको सेल रोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यान केक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो ।  नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो । नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मूर्तरूप दिएको हो । उनको टोलीमा सेफ इङ्वा सुब्बा, मान बहादुर तामाङ र सङ्गम मोक्तानले सघाएका थिए । विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउँछन् ।  ‘नेपाली रैथाने खाना संरक्षण र प्रवर्द्धनसँगै यसको व्यावसायिकतालाई पनि जोड्नुपर्छ,.’ अध्यक्ष शाहले भने, ‘नेपाली खानाको धेरै माग छ । ठूला तारे होटलमा नेपाली मेन्युमा आवश्यक छ ।’ अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ । नेपाली पर्यटकको चहलपहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए ।   ‘नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो,’ संयोजक सापकोटाले भने ।  सेफ कँडेलले नेपाली खानालाई प्रवर्द्धन गर्न पाँच तारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औँल्याए । विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए ।  ‘यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर विस्तारै कोदो फापर सिस्नो जस्ता परिकारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नसके सबै होटल रेष्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ,’ उनले भने ।  अभियानले यसअघि विभिन्न रेस्टुराँ मार्फत नेपाली खानाको प्रवर्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच सँस्करण सम्पन्न गरिसकेको छ । यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिए ।