दशैंमा मेलम्चीको पानी आउने सम्भावना कायमै, अब मात्र २३०० मिटर सुरुङ खन्न बाँकी
काठमाडौं । आगामी दशैंसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दशैंसम्म राजधानीमा पानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको छ । निर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसकेको, सुरुङ खन्ने कार्यले गति लिन नसकेको तथा अन्य प्राविधिक जटिलता थपिएको भन्दै पानी आउने समयावधि लम्बिन थालेको भन्दै गुनासो आइरहेको बेला सम्बद्ध पक्षले भने तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाएको हो । दैनिक २० मिटरको दरले सुरुङ खन्ने कार्य जारी रहेको र हाल विभिन्न चार स्थानबाट नियमित रुपमा काम भइरहेको छ । हाल सुरुङ खनिइरहेको स्थानमा कमजोर चट्टान भएका कारण द्रुत रुपमा सुरुङ खन्न अप्ठ्यारो परेको भए पनि निर्माण व्यवसायीले योजनाअनुसार नै काम गरिरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले व्यवस्थापिका-संसद्, सार्वजनिक लेखा समितिको आजको बैठकमा जानकारी दिए । उनका अनुसार कुल २७ किलोमिटर लामो सुरुङमध्ये दुई हजार ३०० मिटर मात्रै सुरुङ बाँकी रहेको, ठेकेदारले योजनाअनुसार नै काम गरेको, कुनै समस्या आए तत्काल समाधान गर्ने गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचरण देवकोटाले सिन्धुको माथिल्लो भागमा नरम चट्टानका कारण केही जटिलता पैदा भएकाले विस्फोटन गर्न नसकिएको बताए । “वर्षाको समयमा भूमिगत पानीका कारण पनि केही समस्या पैदा भएको छ, तर सबै समस्या हटाएर काम भइरहेको छ । हामी जनतालाई दसैँमा मेलम्चीको पानी उपलब्ध गराउन रात दिन प्रयासरत छौँ”-कार्यकारी निर्देशक देवकोटाले भने, “खनिएको सुरुङको मर्मत तथा व्यवस्थापन पनि सँगसँगै अगाडि बढेको छ ।” यस्तै मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौँबासीले खेप्नु परेको हैरानीसमेत क्रमशः कम गर्दै जाने सचिव उपाध्यायको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मेलम्ची आयोजनाले भत्काएको सडक कालोपत्र गर्ने कार्य युद्धस्तरमा अगाडि बढेको उल्लेख गरे । “केही स्थानमा पाइपको ‘हाइड्रोलिक’ परीक्षण गर्नुपर्ने भएकाले समस्या देखिएको छ । यसै महिनाको अन्त्यसम्म वाग्मतीको पानी हाल जडान गरिएको पाइपमा पठाएर परीक्षण गर्दैछौँ”- सचिव उपाध्यायले भने । मेलम्ची आयोजनाबाट तत्काल दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने र हाल विभिन्न स्रोतबाट प्राप्त भइरहेको ११ करोड लिटर पानीले राजधानीबासीलाई थप सहजता प्रदान गर्ने उनको भनाइ छ । यस्तै दोस्रो चरणमा लार्के र याङ्ग्री खोलाको पानी ल्याउनका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । आगामी पुुससम्म डिजाइन र लागतको सम्पूर्ण तयारी गरेर २०७५ देखि निर्माण सुरु गर्ने योजनामा मन्त्रालय रहेको छ । उनले एसियाली विकास बैंकले सो आयोजना समेत लगानी गर्ने तयारी गरिसकेको छ । मन्त्रालयले आयोजना स्थलमा पहुँचमार्ग निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरेको उनको भनाइ छ । हाल राजधानीमा पाइप लाइन जडानको कार्य ९१ प्रतिशत पूरा भएको छ । जटिल रहेको करिब आठ किलोमिटर सडक खन्ने काम पनि जारी रहेको छ । नौमध्ये छवटा पानी जम्मा गर्ने ट्यांकीसमेत निर्माण भइरहेको छ । चाबहिल-गौशाला सडक खण्डमा ट्राफिकका कारण नियमित रुपमा काम गर्न समस्या भएको जानकारी दिँदै सचिव उपाध्यायले बाँकी रहेको काम डेढ महिनामा सकिने स्पष्ट पारे । उनले नयाँ जडान हुन नसकेको क्षेत्रमा समेत पुराना पाइपलाइनबाट पानी वितरण हुने बताए। रासस
हकप्रद खारेज गर्ने साहाराको साधारण सभा रोकियो, राप्तीभेरी विकास बैंक कारवाहीमा
काठमाडौं । अब भने एउटा साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर अर्काे साधारण सभाबाट खारेज गर्न नपाउने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले जेठ १२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णय कार्यान्वयन गर्नैपर्ने व्यवस्था अघि सारेको थियो । सोही दिन बिशेष साधारण सभा गरेको जनता बैंकलाई भने सो नियमले छोएको थिएन् । यसबिचमा साहारा विकास बैंकले हकप्रद सेयर निष्काशन गर्ने पुर्ववत निर्णय खारेज गर्न डाकेको बिशेष साधारण सभा रोकेको छ । साहारा विकास बैंकले पनि हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय उल्टाउन असार ३१ गते बिशेष साधारण सभा बोलाएको थियो तर सूचना प्रकाशित गरेर साधारण सभा नै रोकेको छ । साहाराले २०७३ पुस २९ गते सम्पन्न छैठौं साधारण सभाबाट एक बराबर २.५० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । उता, राप्तीभेरी विकास बैंकले भने असार १७ गते नेपालगञ्जमा बिशेष साधारण सभा गरेर हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय खारेज गरेको छ । राप्तीभेरीले २०७३ भदौ १७ गतेको साधारण सभाबाट एक बराबर २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । ‘बैंकले असार १७ गतेको साधारण सभाबाट हक प्रद सेयर निष्काशन गर्ने निर्णय खारेज गरेका छौं’, साहारा विकास बैंकका कम्पनी सचिव कमल प्रसाद रावतले विकासन्युजसँग भने । उता, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने राप्तीभेरी विकास बैंकको सेयर रजिष्ट्रेशन रोक्ने बताए ।‘हामीले बैंकलाई लेखेर हकप्रद सेयर जारी गर्ने निर्णय कार्यान्वयन गरेर मात्रै अन्य काम अघि बढाउन भनेका छौं, त्यस्तो गरिएन भने उनीहरुलाई बोर्डले दिने अनुमति र सेवा सुबिधा बन्द गरिन्छ’, धितोपत्र बोर्डका प्रवक्ता गिरीले भने । उनले हकप्रद सेयर जारी गर्ने साधारण सभाको निर्णय कार्यान्वयन नगर्ने कम्पनीहरुको सेयर कारोबार रोक्का गर्नसम्मको चेतावनी पनि दिए ।‘एउटा साधारण सभाबाट हकप्रद निष्काशन गराउँछौं भन्ने अनि अर्काेबाट खारेज गर्ने कुराले लगानी कर्तालाई ठुलो अन्याय हुन्छ, हामी त्यसलाई हेरेर बस्न सक्दैनौं, निर्देशन कार्यान्वयन नगर्ने कम्पनीलाई कारवाही हुन्छ’, गिरीले भने ।
जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई साउन ६ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने
कठमाडौं ।कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने भएको छ । सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई यूल्लेन्स स्कुललेअमेरिका भ्रमणमा लैजान लागेको हो । यूलेन्स स्कूलमा अध्ययनरत ४२ विद्यार्थीहरुलाई जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा लेजाने बताईएको छ । भ्रमणमा रहेका विद्यार्थीले न्यू योर्क, ओरल्यान्डो, मियामी, वासिंटन डिसी लगायत स्थानको भ्रमण गराउने जानकारी उक्त जारि प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त भ्रमणको मुल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृती जान्ने अवसर प्रदान गर्ने गरेको बताइएको छ । विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथ सोनियन म्यूजियम अफ नेशनल हिष्ट्रि, यूएन हेडक्वाटर, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवलोकन गर्ने जानकारी दिइएको छ । ओशो ट्राभल्ससंगको सहकार्यमा सन् २०१७ का लागि विश्वकै सर्वोत्कृष्ट एयरलाइन घोषित कतार एयरवेज मार्फत भ्रमण दल अमेरिका घुम्ने एयरवेजले जनाएको छ । कतार एयरवेजसंग आफ्ना विद्यार्थीलाई नयाँ स्थान र नयाँ ज्ञानका लागि भ्रमणमा लाने क्रममा स्मरणिय एन फ्लाइट प्रदान गर्न पाउँदा यूल्लेन्स स्कूल अत्यन्त प्रशन्न रहेको विद्यालयले जानकरी दिएको छ । कतार एयरवेजले न्यू योर्क, एट्लान्टा, वासिंटन डीसी, बोस्टन, सिकागो, हुस्टन, डल्लास, मियामी, लस एन्जेलस, फिलाडेल्फिया गरी १० शहरमा दैनिक उडान भर्ने गरेको एयरवेजले जनाइएको छ ।
तीन कम्पनीको चार करोड ७८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?
काठमाडौं । आइतबार विभिन्न तीन वाणिज्य तथा विकास बैंकको चार करोड ७८ लाख ६४ हजार ८४३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्सेमा) सूचिकृत भएको छ । नेप्सेमा तीन कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा एक कम्पनीको बोनस र बाँकी दुई कम्पनीको हकप्रद सेयर थपिएको छ । नेरुडे लघुवित्त विकास बैंकको ३ लाख ६० हजार बोनस सेयर थपिएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ३ करोड २० लाख ७३ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । साथै, नेपाल बैंकको पनि १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
आइएसओ प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय
काठमाडौं। राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ । राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो । विभागमा आइतबार आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय विभाग बन्नु गौरवको विषय भएको बताए । परराष्ट्रमन्त्री महराले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिए । “विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्त रुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ”, परिवर्तनशील समयअनुरुप विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीन विकासलाई आत्मसात् गर्दै काम गर्नुपर्ने अहिलेको खाँचो औँल्याउँदै उनले भए । कर्मचारीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न मन्त्रालयले अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । परराष्ट्र सचिव शंकरदास वैरागीले पारदर्शिता, व्यावसायिकता र प्रभावकारिता वृद्धिको परिणामस्वरुप विभागले उक्त प्रमाणपत्र पाएको बताउँदै त्यसबाट अन्य सरकारी नियकालाई पनि प्रेरणा मिलेको विचार व्यक्त गरेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्नु नेपालका निम्ति प्रतिष्ठाको विषय भएको बताउँदै त्यसलाई कायम राख्न विभागलाई अनुरोध गरे । विभागका महानिर्देशक रामकाजी खड्काले सेवा प्रवाहमा विभाग दत्तचित्त भएर लागेको भन्दै अझ स्तरीय एवं गुणस्तरयुक्त सेवा जनतालाई उपलब्ध गराउन आफू नेतृत्वको कार्यालय दृढ रहेको बताए। रासस
औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने
भद्रपुर । स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट झापाको भद्रपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने प्रतिबद्धता जाहेर गरेका छन् । संवाद समूह झापाद्वारा आज आयोजित ‘विजयी प्रतिनिधिसँगको जिम्मेवारी, जनअपेक्षा, प्राथमिकता चुनौती, समस्या र समाधान’ विषयको एकदिने छलफल कार्यक्रममा नगर प्रमुख जीवनकुमार श्रेष्ठले समग्र नगरको स्तरोन्नतिका लागि सडक विस्तारलाई बढी प्राथमिकतामा राखिएको बताए । उहाँले चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालको स्तरोन्नति, प्राङ्गारिक कृषि उत्पादन, बालमैत्री वडा कार्यालय र भन्सार कार्यलयको व्यवस्थापनलगायत विषयलाई आफूले जति सक्दो छिटो अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे । नगर उपप्रमुख चन्द्राकुमारी श्रेष्ठले समाजमा रहेको हिंसा न्यूनीकरण गर्न आफ्नो प्राथमिकता रहेको जानकारी दिए । रासस
नेप्से सामान्य अंकले घट्दा एक अर्ब बढीको कारोबार, तीन कम्पनीको सेयर मूल्य ९% बढीले वृद्धि
काठमाडौं । साताको पहिलो दिनको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ । दिनभर उतारचढाव आएको सेयर बजारमा एक अर्ब चार करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो दिन १५१ कम्पनीको १५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । त्यस्तै, कुबेर मर्चेन्ट एण्ड फाइनान्स र हिमालय जेनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ९.७० र ९.२० प्रतिशत कमाएका छन् । आइतबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल र विकास बैंक समूहको परिसूचक हरिया भएका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।