विकासन्युज

गण्डकी विकास बैंकको संचालन मुनाफा ८५ करोड रुपैयाँ, निष्कृय कर्जा न्यून

काठमाडौं । गण्डकी विकास बैंकले आ.व. २०७३/७४ मा ८५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । सो अवधिसम्म बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै, बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको छ । हाल बैकको चुक्ता पूँजी १ अर्व ८४ करोड रुपैयाँ र कूल प्राथमिक पूँजी २ अर्व ७८ करोड रुपैयाँ रहेको छ । पोखरामा स्थापित साविकका दुई विकास बैंकहरु फेवा विकास बैंक र गण्डकी विकास बैंक एक आपसमा गाभिई गण्डकी विकास बैंकको नामबाट गत असार २१ गते देखी कारोवार गर्दै आइरहेको छ । बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५० वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस एटिएम, एसएमएस बैकिङ्ग, मोवाइल वैकिगं सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

सांग्रिला बैंकको समिक्षा भेला सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा प्रमुखहरुको २ दिने समिक्षा भेला सम्पन्न गरेको छ । बैंकले आर्थिक बर्ष २०७३ र ७४ को समिक्षा भेला साउन ७ र ८ गते पोखरामा गरेको थियो। बैकका बिभिन्न बिभागीय प्रमुख क्षेत्रीय प्रबन्धक र शाखा प्रमुुख गरी ४५ जना कर्मचारीको सहभागीतामा प्रशिक्षण तथा समिक्षा कार्यक्रम आयोजना गरेको जनाएको छ । प्रशिक्षण कार्यक्रममा बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको गत आर्थिक बर्षको समिक्षा गर्नुुको साथै बैंकको भावी योजना तथा रणनीतिको बारेमा प्रष्ट पारेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरेको परिमार्जित निर्देशनको बारेमा नेपाल राष्ट्र बैंकका उप-निर्देशक शरण कुुमार अधिकारीले प्रशिक्षण दिएका हुन् । कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यल पनि प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष प्रा डा रविन्द्र प्रसाद श्रेष्ठ, संचालक शिवलाल मल्लले बैकको वर्तमान अवस्था र भावी कार्यक्रममाथि प्रकाश पारेका थिए । बैंकले आर्थिक बर्ष २०७३ र ७४ मा १३ अर्व ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । ११ अर्ब ६६ करोड कर्जा प्रवाह गरि करिब ५४ करोड १ लाख रुपैयाँ संचालन मुनाफा कमाएको छ ।  

९औं वार्षिकोत्सवको अवसरमा ज्योति विकास बैंकद्धारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो स्थापनाको ९औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले गरिब असहाय व्यक्तिको हेरचाह, पालनपोषण, औषधोपचारका लागि कार्यरत उक्त आश्रमलाई लुगाधुने मसिन खरिद गर्ने प्रयोजनका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । त्यसका साथै, उक्त वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंक आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सामाजिक योगदानमा पनि सम्लग्न हुँदै आएको छ । बैंकले महोत्तरीको बर्दिबास नजिकमा रहेको मुसहर बस्ती विकासका लागि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत निर्मित एकिकृत मुसहर बस्ति विकास कार्यका लागि उक्त फाउण्डेशन मार्फत आर्थिक सहयोग प्रदान गरेको छ । हाल सम्म बैंकको ३२ वटा शाखा र १४ वटा एटिएम सञ्चालनमा छन् । यो आवमा ८ वटा एटिएम थप गर्ने योजना रहेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने कार्य अन्तिम अन्तिम चरणमा रहेकोले सो प्राप्ति पश्चात ५ वटा शाखा थप हुनेछ । यसै आ.व. भित्र ५० वटा शाखाहरु पुर्याउने बैंकको लक्ष्य रहेको छ । विकास बैंकले आधुनिक प्रविधि अनुरुप इण्टरनेट बैंकिङ्ग सेवा, मोबाईल बैंकिङ सेवा, टेलिफोन तथा मोबाइलको बिल आदि भुक्तानी सेवा, ए.वि.वि.एस. सेवा तथा ए.टि.एम. कार्ड मार्फत नेपाल तथा भारतमा बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएका छौं । हाल एससीटी डेबिट कार्ड उपलब्ध गराइ आएकोमा सम्भवतः असोज महिनाबाट भिसा कार्डबाट कारोवार गर्न सकिने गरी कार्य भैरहेको बैंकले जनाएको छ । बैंकले २०७४ असार मसान्तमा सम्ममा करिब १ लाख निक्षेपकर्ता ग्राहकबाट १० अर्व ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब ८ हजार ऋणीहरुलाई ९ अर्व १३ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छौं । त्यस्तै बैंकले ३९ करोड ३ लाख रुपैयाँ कुल मुनाफा आर्जन गरी खुद मुनाफा २४ करोड ८४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकको आषाढ मसान्तमा निस्क्रीय कर्जा १.०२ प्रतिशत भन्दा कम रहेको छ । चालु आ.व. मा १५ अर्व रुपैयाँ निक्षेप तथा १४ अर्व रुपैयाँ कर्जा पुर्याउने बैंकको लक्ष्य रहेको छ ।

नेपाल-चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि शुरु हुने, तीव्रगतिको इन्टरनेट सेवा पुर्याउने

काठमाडौं । मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा ल्याउने र भारतसँग मात्रै अन्तरनिर्भर रहेको इन्टरनेट सेवालाई बहुपक्षीय मार्गमा लैजान लागेको हो । नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार ‘नेपाल चीन इन्टरनेट कनेक्टिभिटी’ भदौको पहिलो सातादेखि सञ्चालनमा आउन लागेको हो । नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि २०७३ पुसमा चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएको थियो । इन्टरनेट जोड्नका लागि नेपाल र चीनको सिमाना रसुवाको रसुवागढीसम्म नेपालले अप्टिकल फाइबर विस्तार गरिसकेको छ । “यताबाट रसुवागढीसम्म अप्टिकल फाइबर विस्तार भइसकेको छ, उता (चीन) बाट पनि सिमानासम्म आइसकेको थियो, एकपटक त जोडिसकेको थियो, एउटा परीक्षण पनि भइसकेको थियो, तर बीचमा समस्या आयो अब साउनको अन्तिम वा भदौको शुरुदेखि पुनः जोडिँदैछ” – नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने । सहप्रवक्ता अधिकारीका अनुसार चीनले जमिनमुनिबाट रसुवा सिमानासम्म अप्टिकल फाइबर विस्तार गर्दैगर्दा एक ठाउँमा फाइबर काटियो, त्यो काटिएको ठाउँमा हिउँ पर्यो र समस्या आयो, अब वैकल्पिक मार्गबाट पुनः छिट्टै जोडिँदै छ । चीनले करिब २० किमी वैकल्पिक बाटोबाट सिमानासम्म ल्याएर फाइबर जोड्दै छ । नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँचका लागि मित्रराष्ट्र चीनमार्फत ब्याण्डविथ कनेक्टिभिटीसम्बन्धी सम्झौता गरिएको निवर्तमान सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको कार्यकालमा सम्पादित मुख्य कार्यअन्तर्गत राखिएको छ । अहिले नेपालमा चलेको इन्टरनेट भारतसँग भैरहवा, विराटनगर र वीरगञ्जबाट जोडिएको छ । चीनसँग जोडिने इन्टरनेट पहिलोपटक हो । हङ्कङ र भारत हुँदै नेपाल आउने इन्टरनेटको तार समुद्रमुनिबाट आएको हुँदा काटिन पनि सक्छ, सहप्रवक्ता अधिकारीले भने- “कहिलेकाहीँ विविध कारणले सेवा अवरुद्ध हुनसक्छ, त्यसैले जति धेरै ठाउँबाट इन्टरनेट जोडियो त्यति नै सेवा प्रवाह गर्न सजिलो हुने भएकाले चीनसँग सम्झौता गरिएको हो ।” सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले एउटै स्थानबाट इन्टरनेट जोड्दा विभिन्न समस्या हुने भएकाले अर्को ठाउँ ९चीन० बाट पनि जोड्ने तयारी गरिएको बताए । प्रवक्ता ढकालले भने – “दुवै देशसँग नेपालको सम्बन्ध राम्रो छ, जहाँबाट ल्याए पनि किन्ने नै हो, अहिले चलिरहेको इन्टरनेटको अप्टिकल तारलाई भैरहवा, विराटनगर वा वीरगञ्जमा कहीँकतै काटिएको खण्डमा समस्या नहोस् भनेर नै सञ्चार मन्त्रालयको स्वीकृतिमा अहिले चीन सरकारसँगको सहकार्यमा इन्टरनेट ‘कनेक्सन’ गर्ने भनिएको हो ।” दुई वर्षभित्रमा गाउँगाउँमा तीव्रगतिको इन्टरनेट सेवा पुर्याउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकारणले अप्टिकल फाइवर विस्तारलाई तीव्रता दिएको छ । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यले १ नं, २ नं र ३ नं प्रदेशका मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर ओछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मेवारी दिएअनुसार काम अघि बढेको टेलिकमको भनाइ छ । त्यसका लागि टेलिकमले रेडियो उपकरणको विज्ञापन निकालेर काम शुरु गरेको छ । त्यसबाहेक चाहिने अप्टिकल फाइवर, डप्टिङ, राउटरलगायत अन्य सामग्री जुटाउनुका साथै सर्भेको काम सकेर विज्ञापन गरिएको छ । टेलिकमले प्रदेश नं १, २ र ३ का लागि पाँचथरको चिरुभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइवर बिछ्याउनु पर्नेछ । त्यसका लागि दूरसञ्चार र टेलिकमबीच रु चार अर्ब ८८ करोडको सम्झौता भएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पुर्याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकबाट ग्रामीण दूरसञ्चार विकास कोषको उपयोग गर्ने निर्णय गरेको हो । नेपालमा पछिल्लोपटक इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ५३ लाख ८८ हजार पुगेको छ । गाउँगाउँमा इन्टरनेट पुगेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क गर्ने प्राधिकरणको योजना छ । रासस

सेयर बजारमा एक अर्ब माथिको कारोबार, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । सोमबारको सेयर बजारमा एक अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार) बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । नेशनल हाइड्रो पावर कम्पनी, अरुण फाइनान्स, हिमालयन डिष्टीलरी, राष्ट्रिय बीमा समिति र राष्ट्रिय बीमा समिति प्रमोटर सेयरका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, बजारमा सबैभन्दा बढी सानिमा माई हाइड्रो पावरको ८ करोढ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११०२ रुपैयाँ रहेको छ । समग्रमा: नेप्से परिसूचक ६ दशमलब ४८ अंकले घटेर १६२९ अंकमा झरेको छ । त्यस्तै, तीन समूहको परिसूचक बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २६ अंकले ओरालो लागेको छ । सो दिन बीमा १००, उत्पादनमूलक ३९ र फाइनान्स समूहकोको परिसूचक ३ अंकले उकालो लागेका छन् ।

कर्जाको व्याजदर १० देखि २० प्रतिशतसम्म, कसले पाउँछ सस्तो कर्जा ? कसरी हुन्छ प्रतिस्पर्धा ?

काठमाडौं । ‘बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा १ देखि ८ प्रतिशत थप व्याजमा कर्जा लगानी गर्ने सूचना प्रकाशित गरिरहेका छन् । यो राम्रो अभ्यास होइन कि’ बजेट र मौद्रिक नीतिको समिक्षा गर्न नेपाल व्यवस्थापन संघले शुक्रबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेपाल वित्त कम्पनी संघको अध्यक्ष सरोजकाजी तुलाधरले–‘बेस रेटभन्दा १ प्रतिशत बढीमा कर्जा पाउने भनेको ठूला र पुराना ऋणीले हो । बेस रेटभन्दा ८ प्रतिशत बढी व्याज तिरेर कर्जा लिनुपर्ने नयाँ र साना ऋणिले हो ।’ ‘बेस रेटभन्दा १ प्रतिशत बढीमा कर्जा पाउने भनेको ठूला र पुराना ऋणीले हो । बेस रेटभन्दा ८ प्रतिशत बढी व्याज तिरेर कर्जा लिनुपर्ने नयाँ र साना ऋणिले हो ।’ सरोजकाजी तुलाधर तुलाधरले भने जस्तै प्राय सबैं बैंकले कर्जाको व्याजदर बेसरेटभन्दा १ प्रतिशतदेखि ८ प्रतिशतसम्म बढी तोकेर सार्वजनिक गरिरहेका छन् । सोमबार एनएमबी बैंकले प्रकाशित गरेको व्याजदर सम्बन्धि सूचनालाई यहाँ उदाहरणको रुपमा प्रस्तुत गरिएको छ, जहाँ बसेरेटमा शुन्य दशमलव २५ प्रतिशतदेखि १० प्रतिशतसम्म व्याज थपेर कर्जा प्रवाह गर्ने उल्लेख गरिएको छ । बैंकको बेसरेट असार मसान्तमा १०.१२ प्रतिशत छ । बैंककै शब्दमा ‘प्राइम’ वर्गका ग्राहकले वर्किङ क्यापिटल लोन, ट्रस्ट रिसिप्ट लोन लिदा १०.२७ प्रतिशतमा कर्जा पाउने छन् । सोही बैंकबाट ‘अन्य’ वर्गको ग्राहकले मार्जिन ल्याण्डिङ, पासर्नल ओभर ड्राफ्ट, सम्पत्ति धितो राखेर लिने विविध कर्जा, व्यक्तिगत कर्जा लिँदा २०.१२ प्रतिशत कर्जा दिनुपर्नेछ । दुई थरी व्यवसायीले पाउने कर्जाको व्याज अन्तर १० प्रतिशतले फरक छ । कसरी हुन्छ प्रतिस्पर्धा ? ‘पुराना, विश्वासिला र जोखिम कम भएको कर्जामा व्याज कम लिने र नयाँ, जोखिम बढी भएका, प्राथमिकतामा नपरेका क्षेत्रमा प्रवाह गरिने कर्जामा बढी व्याज तोक्ने संसारकै नियम हो।’ सुनील केसी   एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्- सरकारी नीतिले निरुत्साहित गरेको क्षेत्रबाट माग हुने कर्जा, बढी जोखिम भएको कर्जा, नयाँ र विश्वास गर्न कठिन हुन ग्राहकलाई दिने कर्जाको व्याज बढी तोखिएको हुन्छ । १० औं वर्ष पुराना, धेरै कारोबार गर्ने कर्पोरेट हाउस, जसको कर्मचारीहरुको खाता पनि हाम्रै बैंकमा हुन्छ, उनीहरुलाई कम व्याजदरमा कर्जा प्रवाह गर्छौ ।’ ‘पुराना, विश्वासिला र जोखिम कम भएको कर्जामा व्याज कम लिने र नयाँ, जोखिम बढी भएका, प्राथमिकतामा नपरेका क्षेत्रमा प्रवाह गरिने कर्जामा बढी व्याज तोक्ने संसारकै नियम हो’ केसीले भने  । पुराना व्यवसायीले ११/१२ प्रतिशतमा कर्जा पाउने, नयाँ व्यवसाय गर्ने चाहानेले १८/१९ प्रतिशत व्याज तिर्नु पर्ने अवस्थामा नयाँ उद्यमशिलताको विकास हुन नसक्ने सरोजकाजी तुलाधरको विश्लेषण छ । ‘नयाँ व्यवसाय गर्नेलाई आफ्नो बस्तु तथा सेवा बेच्न पनि गाह्रो हुन्छ । ब्राण्ड स्थापित गर्न सकिरहेका हुँदैनन्, त्यसमाथि उसलाई बैंकले पनि झण्डै डबल बढी व्याज लगाईदिने हो भने नयाँ उद्यमी जन्मन गाह्रो हुन्छ, बजार विकासमा यस्तो नीतिले सहयोग गर्दैन’ तुलाधर भन्छन्-‘यस्तो अवस्था नीतिगत सुधार गर्न सकियो भने राम्रो हुन्छ ।’ तर नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण प्रसाद पौडेलले बजारमा भईरहेको अभ्यास स्वभाविक भएको बताए । ‘हामीले बैंकहरुलाई बेसरेट पनि सार्वजनिक गर्न भनेका छौं र स्प्रेडदर ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन भनेका छौं’ उनले भने-‘कस्तो ग्राहकसँग धेरै व्याज लिन पाइने, कस्तो ग्राहकसँग थोरै व्याज लिन पाईने भनेर राष्ट्र बैंकले तोक्नु मुनासिब हुँदैन ।’ ‘कस्तो ग्राहकसँग धेरै व्याज लिन पाइने, कस्तो ग्राहकसँग थोरै व्याज लिन पाईने भनेर राष्ट्र बैंकले तोक्नु मुनासिब हुँदैन ।’ -नारायाण प्रसाद पौडेल केही समयअघि बैंकहरुले बचत खातामा ३/४ प्रतिशत व्याज दिदै गर्दा मुद्दती खातामा १२ प्रतिशत व्याज पुर्याए । कल खातामा पनि झण्डै मुद्दती खातामा सरह नै व्याज दिन थाले । त्यतिबेला राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गर्यो । बचत खाताको व्याजदर र कल खाताको व्याजदर समान बनाउन राष्ट्र बैंकले निर्देशन दियो । त्यसपछि बैंकहरुले बचत कर्तालाई दिने व्याजदर अन्तर साँघुरिएको छ । अहिले बचत खातामा ६ देखि ९ प्रतिशतसम्म व्याज दिन थालेका छन् भने मद्दती खातामा ८ देखि ११ प्रतिशत दिन थालेका छन् । जसरी फरक निक्षेप खाताको व्याज अन्तर सीमा साँघुरो बनाउन बचतकर्ताको हितमा राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ, त्यसरी नै कर्जाका विभिन्न शिर्षकमा हुने फराकिलो व्याज अन्तरलाई कम गर्न नयाँ नीति आवश्यक भएको उद्योगी व्यवासायी बताउँछन् । कर्जाको व्याजदर बेसरेट भन्दा २ प्रतिशतदेखि ५ प्रतिशतभन्दा बढी गरी सीमा तोक्ने हो भने व्याजदरमा सन्तुलन देखिने जानकारहरु बताउँछन् ।

शाहले सम्हाले नेपाल इन्स्योरेन्सको सिईओ पदभार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को पद विजय बहादुर शाहले समालेका छन् । चार्टड एकाउन्टेन्ट शाहले सोमबारदेखि यस कम्पनीको सिईओको पदभार ग्रहण गरेका हुन् । शाहले यसअघि पनि बीमा क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरिसकेका छन् । २०१५ सालमा बर्दिया जिल्लाको गुलरियामा जन्मेका शाहले सन १९८८मा चार्टर्ड एकाउन्टेन्टको अध्ययन पुरा गरेका हुन् । नेपाल बिमक संघको २ कार्यकाल अध्यक्ष रहिसकेका शाह एसिया र अफ्रिकाका विकास शील राष्ट्रहरुमा कार्यरत बीमा तथा पुनर्विमा कम्पनीहरुको सदस्य रहेको एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स कम्पनी इन डेभलपिङ कन्ट्रिज(एआईआरडिएस)को उपाध्यक्ष हुन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । शाहको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रभु बैंकको नयाँ शाखा गुर्जुधारामा सञ्चालन

काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको गुर्जुधारामा स्थापना गरी सञ्चालनमा ल्याएको छ । सभासद राजेन्द्र कुमार के.सी.ले एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरिएको हो । उक्त शाखा मार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत, कर्जा संगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।