विकासन्युज

सेयर बजारमा एक अर्ब २१ करोडको कारोबार, ५ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । सेयर बजारमा एकै दिन एक अर्ब २१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको कारोबार भन्दा करिब ५१ करोड रुपैयाँले बढी हो । अघिल्लो दिन(सोमबार)को बजारमा जम्मा ६९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार १५५ कम्पनीको १९ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा नेप्से र कारोबार रकम दुबैमा सुधार भएको छ । मंगलबारको बजारमा नेप्से परिसूचक ३४ अंकले बढेर १६३८ अंकमा पुगेको छ भने २ दशमलब १४ प्रतिशतले उकालो लागेको छ । मंगलबारको बजारमा ५ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी (करिब १० प्रतिशत) कमाएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब ९९ प्रतिशतले बढेको छ । त्यस्तै, एनबी इन्स्योरेन्स कम्पनी, कुबेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय बीमा कम्पनी र प्रोगेसिभ फाइनान्सको सेयर मूल्य क्रमशः ९.९३, ९.९३, ९.३१ र ९.१८ प्रतिशतले बढेको छ । त्यसैगरी, कारोबार समूहका अधारमा सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१६ अंकले बढेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२७३ रुपैयाँ रहेकोे छ ।

मुक्तिनाथ विकास बैंकलाई ४० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ६१ करोड ७० लाख रुपैयाँ बराबरको ६१ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल रहेको छ ।

सेयर बजारका लगानीकर्ता मध्ये ११ प्रतिशत मात्रै सक्रिय, प्रमोटर सेयर ७० प्रतिशतबाट ५५ प्रतिशतमा झर्यो

काठमाडौं । दोस्रो सेयर बजारका लगानीकर्ताहरू अत्यन्त कम मात्र सक्रिय भएको देखिएको छ । पछिल्लो सयम लगानीकर्ता सक्रिय हुँदै गएपनि कुल बजार पुँजीकरणको तुलनामा कारोबार रकम भने अत्यन्त न्यून देखिएको नेपाल स्टक एक्सचेन्जको तथ्यांक छ । १८ खर्ब ५६ अर्ब रुपैयाँ पुँजीकरण भएको बजारमा गत आवमा दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । सेयर कारोबार पुँजीकरणको करिब ११ प्रतिशत मात्रै भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । आव  पुँजीकरणको तुलनामा कारोबार रकम (प्रतिशतमा) २०७३/७४         ११.०४ २०७२/७३         ६.६८ २०७१/७२         ६.६० २०७०/७१         ७.३१ २०६९/७०        ४.२९ स्रोतः नेपाल स्टक एक्सचेन्ज पाँच वर्षअघिसम्म ५ खर्ब १४ अर्बको बजार पुँजीकरण थियो । त्यतिबेला करिब ६ प्रतिशत सेयर कारोबार हुने गरेको थियो । पाँच वर्षमा बजारमा तीन गुणाले बृद्धि भएपनि सेयरको कारोबार भने सोही अनुसार बढ्न सकेको नेप्सेका निमित्त महाप्रवन्धक निरञ्जन फुयालले बताए ।\ केही वर्षअघिसम्म दोस्रो बजारमा कारोबार नहुने (सस्थापक) सेयरको संख्या ७० प्रतिशतसम्म थियो अहिले त्यो घटेर करिब ५५ प्रतिशतमा झरेको छ । गएको आवमा जम्मा १० अर्ब ६८ करोड रुपैयाँको मात्र संस्थापक सेयर कारोबार भएको छ । कुल बजार पुँजीकरणमध्ये १६ खर्ब ५१ अर्ब ८४ करोड मूल्य बराबरको सेयर कारोबारमै आएको देखिदैन । गएको वर्षमा दुई अर्ब कित्ता सेयर सूचिकृत भएकोमा ३९ करोड २८ लाख कित्तामात्रै सेयर किनबेच भएको छ । बजार पुँजीकरणको आधारमा सबैतिर बजार पहुँच नपुग्नु, पुगेको स्थानमा पनि आमलगानीकर्ता एक पटक किनेपछि लामो समयसम्म त्यतिकै होल्ड गरेर राख्नु लगायतका कारणहरू रहेका छन् । यदि सूचिकृत सेयरमध्ये बजारमा कारोबार गर्न मिल्ने ४५ प्रतिशत सेयर शतप्रतिशत दैनिक कारोबारमा जाने हो भने बजारको आकार अझ बढ्ने उनले बताए । विवेकशील मुलुकको बजारमा शतप्रतिशतभन्दा बढी कारोबार हुन्छ भने इमर्जिङ मार्केटमा ५० देखि ७० प्रतिशत सेयर कारोबार हुने गरेको फुयालको भनाइ छ ।

भरतपुर महानगरमा २१ करोडको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु

चितवन । चितवनको भरतपुर महानगरपालिकामा २१ करोड रुपैयाँको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेलका अनुसार केरुङ्गा घोलको पूर्व क्षेत्रका बासिन्दा आर्सेनिक युक्त पानी खान बाध्य भएपछि महानगरका ९, ११ र १२ नम्बर वडाका २ हजार १६ घरधुरीलाई लक्षित गरी सोमबारदेखि औपचारिक रुपमा धनगढा खानेपानी आयोजना सुरु गरिएको जानकारी दिए । डिभिजनको ७० प्रतिशत र भरतपुर खानेपानी वोर्ड र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानी आयोजनामा शर्मा सगरमाथा जेविले निर्माण गरेको छ । उक्त आयोजना आउँदो २०७५ माघ मसान्तसम्मा सम्पन्न हुनेमा बिश्वस्त रहेको उपभोक्ता समितिका अध्यक्ष तारानाथ शर्माले जानकारी दिए । ‘यहाँ स्वच्छ खानेपानीको निकै समस्या थियो, अध्यक्ष घिमिरे भन्छन् – भरतपुर खानेपानी वोर्डको सहकार्यमा डिप बोरिङ्गबाट वितरण पानी सबैको पुग्न सकेको थिएन्, अब सबैले स्वच्छ पानी पिउन पाउनेछौँ ।’  

अपडेट: नेप्से २३ अंकले बढ्यो, बीमा समूहले उचाल्यो बजार

काठमाडौं । मंगलबार बजार खुलेको साढे दुई घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । दिउँसो १ बजेर ३९ मिनेट जाँदा परिसूचक २३ दशमलब ३१ अंकले बढेर १६२७ दशमलब ४६ अंकमा पुगेको छ । सो समयसम्म परिसूचक १ दशमलब ४५ प्रतिशतले उकालो लागेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भइरहेको छ । सो अवधिसम्म ७६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । १४८ कम्पनीका १२ लाख कित्ता सेयर किनबेच भइसकेका छन् । कारोबार समूहका आधारमा पनि बीमा समूहको परिसूचक २८१ अंकले उकालो लागिरहेको छ । त्यस्तै, अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागिसकेका छन् ।  

आर्थिक विकासका लागि नेपाल–भारत बीचको सहकार्य आवश्यक

काठमाडौं। नेपाल र भारतको आर्थिक विकासका लागि दुबै देश बीचको सम्बन्धलाई झन् बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीसँग सोमबार गरेको भेटमा चेम्बरका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले सो कुरामा जोड दिएका हुन् । उनले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनामा लगानीका लागि भारत सरकारसँंग आग्रह गर्दै दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य शहरसम्म पुग्ने गरी परियोजना बनाउनुपर्नेमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याए। सो अवसरमा राजदूत पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक हो भन्दै नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुबै देश बीचको सहकार्य आवश्यक रहेको बताए । नेपालमा जलविद्युत्, पर्यटनलगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने बताउँदै उनले नेपाल र भारतबीचको सदियौँदेखिको मित्रतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । भेटमा चेम्बरका पदाधिकारी तथा कार्य समितिका सदस्यको सहभागिता थियो । रासस

पुतली बजारको बजेट ४८ करोड ३१ लाख

स्याङ्जा । स्याङ्जाको पुतली बजार नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ४८ करोड ३१ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको बजेट निःशर्त अनुदानतर्फ २५ करोड ५४ लाख पाँच हजार रुपैयाँ तथा सशर्त अनुदानतर्फ २२ करोड ७७ लाख ८१ हजार रुपैयाँ रहेको छ । चौधवटा वडा रहेको पुतलीबजार नगरपालिकाले प्रत्येक वडामा २५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताए । पुतलीबजार नगरपालिकाले आगामी पाँच वर्षको कार्ययोजनामा सुकुम्बासीविहीन नगर, भूकम्पपीडितलाई घर बनाउन निःशुल्क जग्गा पासको व्यवस्था, उज्यालो नगर, सरसफाइयुक्त शहर, लागू औषध नियन्त्रण, शिक्षा, खेलकुद, कृषि तथा पर्यटन लगायतलाई प्राथमिकतामा राखेको नगर प्रमुख सीमाकुमारी क्षेत्रीले बताए । रासस

बर्खे बिदामा पनि विद्यालय सञ्चालन

जाजरकोट । शिक्षण सिकाइ लक्ष्यमा पुर्याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जानकारी दिए । पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य कुरामा समय खर्चने र शिक्षकले पनि काम नपाउने भन्दै आफूहरु विद्यालय खोलेर बर्खे बिदा नलिएको कालिका प्रावि डाँडागाउँका प्रधानाध्यापक ठाकुरनाथ शर्माले बताए। शिक्षकहरु विद्यालयमा बिदा नलिएरै पढाउन आएपछि विद्यार्थी पनि विद्यालयमा खुसीका साथ आएको उनले बताए । त्यस्तै घरमा जान आउन समयलाग्ने तर विद्यालय र घरको काम दुवै नहुने भन्दै बर्खे बिदामा विद्यालय खोलेर पठनपाठनमै समय बिताउने निधो गरेको मालिका प्रा.वि सुगुरखालका प्रधानाध्यापक शान्तबहादुर रोकायाले बताए । असार १५ देखि साउन १५ सम्म विद्यालय बन्द गर्ने निर्णय सरकारी नियम भएपनि यहाँका विद्यालयले त्यो बिदा नलिएर विद्यालय खोलेर नियमित अध्यापन गर्दा अहिले यहाँका सबै विद्यालय सिको गर्ने मोडमा पुगेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत यज्ञश्वर खत्रीले बताए। नियमित विद्यालयमा नआउने र कामचोर शिक्षकलाई यहाँका १६ विद्यालयका शिक्षकले विद्यालय खोलेर गतिलो पाठ सिकाएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विद्यालय बन्द हुन्छ भनेर घरघरमा बसेका विद्यार्थीलाई समेत घरघरमा गएर शिक्षकले विद्यार्थी विद्यालयमा ल्याउने काम भएको लाइटफ्यूचर आधारभूत विद्यालय टालेगाउँका शिक्षकले बताए । घरघरमा पुगेर विद्यार्थी विद्यालयमा ल्याएको देख्दा अन्य विद्यालय नखोल्ने विद्यालयका शिक्षकसमेत अब हामी पनि विद्यालय खोल्छौँ भन्दै धमाधम खोल्नतर्फ लागेको जिल्ला शिक्षा अधिकृत, सिंहले बताए । रासस –––––––