राष्ट्रिय वाणिज्य बैंकको थप ४ शाखा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बुधबार र बिहिबार दुईदिन गरी थप ४ वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले बुधबार झापाको झापाबजार, सिन्धुलीको भिमान, रुपन्देहीको सुरजपुरा र बिहिबार नवलपरासीको त्रिवेणी गरी चारवटा शाखा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखा कार्यालय संख्या १ सय ७९ वटा, ब्रान्चलेस बैंकिङ सेवा संख्या ९२ वटा, एटीएम संख्या १३० वटा पुगेकाे छ । बैंकले गत चैत मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब कर्जा लगानी गरेको छ । साथै, सो अवधिमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
युनाइटेड इन्स्योरेन्सद्धारा ओम कृषि फार्मलाई बीमा रकम हस्तान्तरण
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले गोकर्णेश्वर स्थित ओम कृषि फार्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईको क्षतिपुर्ति बापत रकम प्रदान गरेको छ । कम्पनीका तर्फबाट कामु नायब महाप्रबन्धक जीवनकुमार उप्रेतीले बिमितको तर्फबाट बाबुराम कार्कीलाई ५८ लाख ९५ हजार रुपैयाँको क्षतीपुर्ति बापतको चेक रकम हस्तान्तरण गरेका छन् । बिमितिको तर्फबाट बाबुराम कार्कीले बिमा बापतको क्षतिपुर्ति रकम सहज र सरल प्रक्रियाबाट पाएकोमा बिमक कम्पनीलाई धन्यवाद दिएका छन्।
फिनल्याण्ड सरकारद्धारा दुई अर्ब ३६ करोड अनुदान उपलब्ध
काठमाडौं । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ३६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्न आगामी छ वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदूत योर्मा सुभान्तोले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा सहसचिव अर्यालले नेपालको सामाजिक, आर्थिक विकासका साथै शैक्षिक उन्नयनमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । राजदूत योर्माले नेपालको विकास प्रयासमा फिनल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षाको सुधारबाट नेपालको प्रगति र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् । रासस
लुम्बिनी बिकास बैंकको नयाँ शाखा कार्यालय सुनसरीको हरिनगरामा
काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत सुनसरी जिल्लाको हरिनगरामा आफ्नो ५१औं शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरेका छन् । स-साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि तराईका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस्, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकले यस शाखा सहित कुल ५१ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
विद्युत विभागले छ दर्जनभन्दा बढी आयोजनालाई यहि साउन १ गते सम्मान गर्दै
काठमाडौं । विद्युत विकास विभागले सरकारी तथा निजी क्षेत्रबाट विद्युत उत्पादन गरी राज्यलाई सहयोग पुर्याउने आयोजनाहरूलाई सम्मान गर्ने भएको छ । विभागले आइतबार (साउन १) लागेको २४औं वार्षिकोत्सवमा निजी क्षेत्रका ५८ र नेपाल विद्युत प्राधिकरणका १७ आयोजनालाई सम्मान गर्न लागेको हो । जलविद्युत उत्पादनको १ सय ६ वर्षको इतिहास विभिन्न समस्याको बाबजुद पनि आयोजना निर्माण गरी सेवा पुर्याएको कारण आयोजनाहरूलाई सम्मान गर्न लागेको विभागका महानिर्देशक नविनराज सिंहले बताए । आयोजनाहरूलाई प्रोत्साहन गरी नयाँ आयोजना सञ्चालकलाई आकर्षण गर्नु विभागको मुख्य हो छ,’ उनले भने । प्राधिकरण र निजी क्षेत्रले अहिलेसम्म करिब ९ सय ७ मेगावाट विद्युत उत्पादन भएको छ । निजी क्षेत्रले अहिलेसम्म ५८ आयोजनाबाट ४ सय ३९ मेगावाट र प्राधिकरणले १७ आयोजनाबाट ४ सय ६७ मेगावाट उत्पादन गरेको हुन् । प्राधिकरणले हेटौडा र दुहबीमा राखिएको दुई थर्मल प्लान्ट उत्पादन भएको ५३ मेगावाटसमेत जोड्दा हालसम्म ९ सय ६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
३५ अर्ब ११ करोडको बाँडफाँड मै अलमल, घर बनाउन शुरु गर्ने एक लाख मात्रै
काठमाडौं । भूकम्प गएको दुई वर्ष वित्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३५ अर्ब ११ करोड रुपैयाँ बाँडफाँड (अंश बण्डा) नै सकेको छैन । रकम खर्च गर्ने परियोजनाहरूको मोडालिटी तयार नहुँदा अर्थात ढिला गरी मोडालिटी तयार हुँदा उक्त रकम अबण्डाको रुपमा रहेको हो । भारत सरकारले स्रोत विनियोजन गर्ने भनिएको साढे १२ अर्ब रुपैयाँको अझै सम्झौता हुन नसकेको, जर्मन, कोरियाजस्ता सिधै स्रोत भुक्तान गर्ने प्रतिवद्धता गरेका राष्ट्र समक्ष कार्यक्रम नै पेश गर्न नसक्नु तथा स्रोत विनियोजन गरेका जाइका, एडीबीलगायतका विकास साझेदारबाट विनियोजित रकम खर्च गर्न प्रयास गर्दा गर्दै पनि खर्च गर्न नसकिएको कारण ठूलो रकम अबण्डामा परेकोप्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले बताए । चालु आर्थिक वर्षको ६ महिनापछिमात्र त्रिभुवन विश्वविद्यालय भवन निर्माणको मोडालिटी तयार भएको, विद्यायत तथा गुम्बा पुननिर्माणको मोडालिटी ढिलो गरी तय भएको छ । जसले गर्दा परियोजना अघि बढाउन गाह्रो भएको हो । प्राधिकरणले चालु आवमा पुननिर्माणका लागि कुल एक खर्ब ११ अर्ब खर्च गर्ने अख्तियारी पाएको थियो । सो रकममध्ये हालसम्म करिब ५६ प्रतिशत रकममात्र खर्च हुन सकेको प्राधिकरणले जानकारी दिएको छ । एकलाखले मात्रै बनाउन शुरु गरे घर भूकम्प गएको दुई वर्षमा प्राधिकरणले सवा ६ लाख भूकम्प पीडितसँग पहिलो किस्तको सम्झौता गरेपनि एक लाखलेमात्र घर निर्माण कार्य शुरु गरेका छन् ।प्राधिकरणका अनुसार५० हजार पाएकामध्ये१ लाख १० हजार ६ सय ४९ भूकम्प पीडितलेमात्रै घर निर्माण कार्य शुरु गरेका हुन् । अहिलेसम्म ५ लाख ९२ हजार ९ सय ६१ ले घर निर्माणका लागि सरकारबाट पहिलो किस्ताको अनुदान पाएका छन् । सोमध्ये ४ लाख ८२ हजार ३ सय १२ पीडित परिवारले घरको जगसमेत हालेका छैनन् । विनाशकारी भूकम्पका कारण ३१ जिल्लाका ७ लाख ४६ हजारले आफ्नो निजी आवास गुमाएका छन् । सरकारले अहिलेसम्म ६ लाख २८ हजार ४ सय ४३ भूकम्पपीडित परिवारसँग अनुदान सम्झौता गरिसकेको छ भने एक लाख १७ हजार पाँच सय ५७ लाभग्राहीसँग अझै सम्झौता गर्न सकेको छैन । पहिलो किस्ता पाएकामध्ये ७७ हजार १ सय ८० परिवारले घरको जग हालेर दोस्रो किस्ताको लागि आवेदन दिएका छन् । सो मध्ये ६४ हजार ३ सय २१ आवेदन प्रमाणिकरण भइसकेका प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ३८ हजार ७ सय २४ वटा घरहरु निर्माण भएका छन् । यस्तै ४८ हजार २१ परिवारले दोस्रो किस्ता वापतको १ लाख ५० हजार रुपैयाँ बुझिसकेका छन् । ३१ जिल्लाका २ हजार २ सय ३४ पीडित परिवारले तेस्रो किस्ता वापतको १ लाख रुपैयाँ पनि बुझिसकेका छन् । भूकम्पमा निजी आवास गुमाएका पीडितलाई नयाँ घर बनाउन सरकारले तीन किस्तामा गरी तीन लाख रुपैयाँ उपलब्ध गराउने छ । सो योजनाअनुसार पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ उपलब्ध गराइने छ ।
अग्नि ग्रुप मार्फत ११ सय २८ थान जर्सी तथा ट्राक प्रदान
काठमाडौं । बिहिबार अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंह बहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा ११ सय २८ थान जर्सी तथा ट्राक प्रदान गरेका छन् । अग्नि ग्रुप नेपाल एपीएफ क्लबको फुटबल खेल प्रवद्र्धनको लागि अग्नी इन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा) ले प्रायोजन गर्दै आएको छ । अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको जानकारि दिइएको छ । एपीएफ क्लबले समग्र देशको खेलकुद विकासमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको तथा। अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिका अन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगत्मा केन्द्रित गराएको उल्लेख छ । राष्ट्रिय लिगमा मात्र केन्द्रित नभई खेलकुदको समग्र विकास गर्नमा अग्नि केन्द्रित रहदै आएकोले गर्दा नेपाली फुटब तथा फुटबलका फ्यानहरुलाई विशेष फलदायी भएको जानकारि दिइएको छ ।
बैंक तथा वित्तिय संस्थालाई चुक्ता पुँजी पुर्याउने समय असोज मसान्तसम्म-चिन्तामणी शिवाकोटी
काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुलाई चुक्ता पुँजी पुर्याउने समय असोज मसान्तसम्म प्रदान गरिएको बताएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वायर गरेपछि जनता बैंकको एकिकृत कारोबार सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कायम मुकायम गभर्नर शिवाकोटीले भने–‘हामीले तोकेको चुक्ता पुँजी पुर्याउन असोज मसान्तसम्मको समय दिने भएका छौं, यो भनेको समय थपिएको होइन, सहुलियत दिएका मात्रै हौं ।’ उनले आगामी साधारण सभाबाट पनि चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तिय संस्थाहरुलाई भने कारवाही गर्ने स्पष्ट पारे । ‘आगामी साधारण सभाबाट पनि तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्नेहरुलाई कारवाही हुनबाट कसैले रोक्न सक्दैन’, शिवाकोटीले भने । उनले असोज मसान्तसम्ममा चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तिय सस्ंथाहरुलाई निक्षेप संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने स्पष्ट पारे । उनले पुराना नोटहरुको कारोबार गर्ने बैंक् तथा वित्तिय संस्थाहरुलाई पनि कारवाही गर्ने बताए । बैंक तथा वित्तिय संस्थाहरुले पुराना नोटको साटेर जनतालाई नयाँ नोट दिन अटेरी गरेको पनि बताए । कायम मुकायम गभर्नर शिवाकोटीले हाल क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाहरुको शाखा सञ्जाल ४ हजार ८ सय ९४ वटा पुगेको बताए । बाणिज्य बैंकको शाखा सञ्जाल १ हजार २ सय ६२ वटा, विकास बैंकको ८०५ वटा, फाइनान्स कम्पनीको १४८ वटा र माइक्रोफाइनान्सको १ हजार ८ सय २५ वटा शाखा रहेको जानकारी दिए ।