सिद्धार्थ एक्वायर गरेपछि जनताको एकिकृत कारोबार आरम्भ, ११३ शाखाबाट देशैभर सेवा
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक अक्वायरपछि जनता बैंकले एकिकृत कारोबार सुरु गरेको छ । एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले आरम्भ गरेका हुन् । एक्वायरपछि जनता बैंकको शाखा सञ्जाल ११३ वटा पुगेको छ । बैंकको निक्षेप ५० अर्ब पुगेको छ भने कर्जा ४५ अर्ब रहेको छ । ७ अर्ब चुक्ता पुँजी पुर्याएको बैंकले आगामी बोनस सेयर दिएर ८ अर्ब पुँजी पुर्याउने बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बाणिज्य बैंक तर्फ सबै भन्दा धेरै उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बैंकका रुपमा जनता बैंक स्थापित भैसकेको बताए । बैंकमा कर्मचारीको संख्या एक हजार पुगेको छ । प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बैंकको शाखा विस्तार नभएका १४ जिल्लाका १५ स्थानीय तहमा बैंकले शाखा विस्तार गर्ने तयारी गरेको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले सिद्धार्थ बैंकलाई अक्वायर गरेसँगै जनता बैंकको प्रतिष्पर्र्धी क्षमता थप बढ्ने बताएका थिए । उनले सबै जनतामा पुग्ने लक्ष्य अनुसार जनता बैंकले न्युनतम शुल्कमा छिटो छरिटो र विश्वनिय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाहले २८ वटा बाणिज्य बैंकहरुबिचको प्रतिष्पर्धामा जनता बैंक अब्बल हुने विश्वास व्यक्त गरेका थिए ।
ठूलो लगानीमा क्यान्सर अस्पताल
चितवन । निजी क्षेत्रमा क्यान्सरको समेत उपचार गराइरहेको यहाँको एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा छुट्टै क्यान्सरको विशेषज्ञ अस्पताल सञ्चालन गर्नेभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्ष र कार्यकारी निर्देशक रहिसक्नुभएका डा भक्तमान श्रेष्ठको नेतृत्वमा रहेको नारायणी सामुदायिक अस्पतालले नेपालमै सबैभन्दा ठूलो लगानीमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालन गर्न लागेको हो । नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार बर्सेनि नेपालबाट ४० प्रतिशत क्यान्सरका बिरामी विदेश उपचार गर्न जाने गर्दछन् । ती बिरामीलाई समेत रोक्न सक्ने गरी अत्याधुनिक अस्पताल सञ्चालन गरिने उनले बताए । अस्पताल सञ्चालनका लागि भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित राजमार्गबाट एक किलोमिटर दक्षिणतर्फ तीन बिगाहा ६ कठ्ठा जमिनसमेत खरिद गरिसकिएको छ । करिब २ अर्ब लगानी गरी तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याइने श्रेष्ठले बताए। हाल नारायणी सामुदायिक अस्पतालमा १८० जना लगानीकर्ता रहेका छन् । यसको मातृ संस्थाको रुपमा नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपिआई रहेको छ । एनपिआई समूहले अस्पतालको नेतृत्व गर्नेछ । यो समूहभित्र झण्डै ७०० लगानीकर्ता रहेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताए । विशेषज्ञ चिकित्सक र स्थानीय वासीलाई लगानीका लागि आह्वान गरिएको छ । नपुग रकम बैंकबाट ऋण लिइने खनालले बताए । अस्पताललाई प्राइभेट लिमिटेडको रुपमा विकास गरिने जानकारी दिँदै खनालले सर्वसाधारणका लागि पनि शेयर दिइने बताए । अस्पतालमा मानिसको शरीरमा क्यान्सर भए नभएको पत्ता लगाउने पेटस्क्यान, रेडियोथेरापीको अत्याधुनिक मेसिन आइजिआरडी, टाउकोको रेडियोथेरापी गर्ने गाफानाइफ, क्यान्सरको जेनेटिक थेरापी गर्ने उपकरण लगायतका अत्याधुनिक उपकरण र शल्यक्रिया कक्ष हुने अध्यक्ष श्रेष्ठले बताए । भविष्यमा रोवट सर्जरी गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको उनको भनाइ छ । यससँगै अस्पतालमा मुटुरोग र मृगौला रोगको पनि विशेषज्ञसहितको उपचार गरिने छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि ४० देखि ४६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । रासस
अनलाईन मेघा स्टोरको छुट कुपन असार ३० देखि साउन ५ गते सम्म
काठमाडौं । अनलाईन मेघा स्टोरले ग्राहकहरुलाई सहुलियत दिने उद्देश्यले स्मार्ट डोकोले निश्चित सामानको खरिदमा असार ३० देखि साउन ५ सम्म कुपनको व्यवस्था ल्याएको छ । ‘स्मार्ट डोकोले’ ग्राहकहरुलाई सहुलियत दिने उद्देश्यले निश्चित सामानको खरिदमा ५० प्रतिशत सम्म छुट तथा अन्य ससामानको खरिदमा ५ प्रतिशत सम्मको छुटको व्यवस्था ल्याएको जानकारि दिएको छ । स्मार्ट डोकोमा विभिन्न उमेर एवम् समुहका लागि विभिन्न वस्तुहरु रहेका छन् । यो संस्थाले कानुनी रुपमा मान्यता पाएको तथा कुनै पनि ग्राहक वर्गले किनेको सामान फिर्ता गर्न सकिने जानकारि दिइएको छ । साथै उक्त अनलाइनले स्मार्टडोको एप्सको पनि उपलव्धता गराएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह रहेको छन् । भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पाउने जनाएको छ । हाल स्मार्ट डोकोमा ४५ भन्दा बढी समानहरु रहेका छन भने हरेक दिन नयाँ समानहारु थप्दै गएको तथा ग्राहकहरुको सन्तुष्टिका लागि स्मार्टडोकोले ५सय रुपैयाँ देखि २५सय रुपैयाँ सम्म गिफ्ट कार्ड पनि ल्याएको उल्लेख छ । काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, इटहरी, धरान र बीरगन्जमा छिटोभन्दा छिटो डेलिभरी सुविधा रहेको कम्पनीले जनाएको छ ।
अलैँची ब्लकलाई पिकअप भ्यान र ट्रयाक्टर
इलाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देउमाई नगरपालिकामा सञ्चालित अलैँची ब्लक कार्यक्रमलाई ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय इलाममा बुधबार आयोजित कार्यक्रममा देउमाई ब्लक सञ्चालक समितिका अध्यक्ष राम रानालाई एक पिकअप भ्यान र एक ट्याक्टरको साँचो स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले हस्तान्तरण गर्नुभयो । परियोजनाअन्तर्गत ८५ प्रतिशत अनुदानमा पिकअप ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराइएको वरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ शाहले जानकारी दिए । पिकअपको मूल्य २१ लाख र ट्याक्टरको १८ लाख परेको कार्यालयले जनाएको छ । अलैँची ब्लक कार्यक्रममा साना सिँचाइलाई ५ लाख, नर्सरी निर्माणमा ६ लाख, कस्टम हायरिङ सेन्टरलाई १५ लाख, पोष्ट हार्भेस्ट सेन्टर निर्माणमा २० लाख, माटो परीक्षण शिविरलाई ६० हजार रुपैयाँ र बीउ बेर्नाका लागि ६० हजार रुपैयाँ उपलव्ध भएको शाहले बताए । इलाममा परियोजनाअन्तर्गत सूर्योदय नगरपालिकाको आठघरेमा तरकारी ब्लक र देउमाई नगरमा अलैँची ब्लक सञ्चालनमा रहेका छन् । आठघरे तरकारी ब्लकमा यसअगाडि नै ३ वटा पिकअप भ्यान हस्तान्तरण गरिसकिएको छ । २ हजार रोपनी क्षेत्रफलमा कुनै एक बालीलाई आधुनिकीकरण गरी यान्त्रीकरणतर्फ उन्मुख गराउनका लागि परियोजना सञ्चालन हुँदै आएको छ । यस्तै, जिल्लामा धान, मकै, अदुवा, तरकारी लगायतका क्षेत्रमा २५ वटा पकेट कार्यक्रम सञ्चालनमा रहेका छन् । रासस ––––––––
बूढानीलकण्ठको बजेट ७१ करोड
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सभा बिहिबारदेखी सुरु भएको छ । सभाको सांसद डा राजन भट्टराईले आज उद्घाटन गर्दै सरकारले स्थानीय तहलाई असाधारण अधिकार दिएकाले त्यसको सदुपयोग गर्न आग्रह गरे। उनले स्थानीय तह लोकतन्त्रलाई संस्थागत गर्ने निकाय भएकाले सर्वसाधारणलाई अपनत्व हुने गरी काम गर्नुपर्ने बताउँदै स्थानीय तह स्थानीय सरकार भएकाले स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरी विकास गर्नुपर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख उद्धव खरेलले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बूढानीलकण्ठको विकास गर्न सबैको सहयोग हुनुपर्नेमा जोड दिए । उनले आ.व २०७४/०७५ का लागि ७० करोड ९७ लाख ८६ हजार छ सय १० को बजेट प्रस्तुत गरे । पूँजीगततर्फ ५४ करोड ९७ लाख ८६ हजार छ सय १० र चालुतर्फ १८ करोड बजेट प्रस्तुत गरिएको छ । प्रमुख खरेलले खानेपानी र भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार खानेपानी पूर्वाधार निर्माण र वितरणमा १ करोड ५० लाख, शैक्षिक सुधार र पूर्वाधार विकासमा १ करोड २५ लाख, फोहोर मैला व्यवस्थापनमा एक करोड, बालमैत्री बूढानीलकण्ठ निर्माणमा ५० लाख र नगरपालिका भवन निर्माण गर्न ५ करोड बजेट प्रस्तुत गरिएको थियो । उनले शनिबार बजेट र नीति तथा कार्यक्रम बारेमा छलफल गरिने जानकारी दिए । कार्यक्रममा उपप्रमुख रमा राईले बूढानीलकण्ठको विकास गर्न आफूहरु प्रतिबद्ध भएको बताएकी थिइन् । रासस
बेसीशहरको बजेट ३८ करोड ५५ लाख
लमजुङ । बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि साढे ३८ करोड रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । नगरप्रमुख गुमानसिंह अर्यालले प्रस्तुत गरेको बजेटमा सरकारको गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ २१ करोड ५ लाख १५ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानमा १५ करोड ८१ लाख १७ हजार रुपैयाँ, संघीय संरचना पूर्वाधार विकास कार्यक्रम पुँजीगतमा ४८ लाख रुपैयाँ र आन्तरिक आयतर्फ ८० लाख रुपैयाँ उल्लेख छ । यस्तै, राजश्व बाँडफाँड रजिस्टेसन शुल्कमा ३० लाख रुपैयाँ, प्राकृतिक स्रोतमा १ लाख रुपैयाँ, विद्युत् रोयल्टीमा १ लाख रुपैयाँ गरी कुल ३८ करोड ५५ लाख ३२ हजारको अनुमानित आय रहेको छ । व्ययतर्फ चालु खर्चमा ६ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ । पुँजीगत खर्चतर्फ वित्तीय समनीकरण अनुदानतर्फ १५ करोड ७८ लाख ८७ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १५ करोड ८१ लाख १७ हजार रुपैयाँ, संघीय पूर्वाधार विकास कार्यक्रमतर्फ ४८ लाख रुपैयाँ, आन्तरिक पुँजीगततर्फ ४१ लाख रुपैयाँ गरी ३२ करोड ४९ लाख चार हजार रुपैयाँरहेको छ । चालु र पुँजीगत गरी जम्मा ३८ करोड ५५ लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमानित बजेट नगरपरिषद्ले पारित गरेको छ । नगर सभाबाट नगरपालिकाका १४ वटै वडाको ६०÷६० लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रम पारित गरिएको छ । बजेट प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बेँसीशहर नगरपालिकालाई व्यवस्थित र समुन्नत बनाउन सबैको सहयोग र सहकार्यको खाँचो रहेको बताए। उनले नगरपालिकाको विकासका लागि भौतिक पूर्वाधार, यातायात, सूचना तथा सञ्चार, भवन तथा आवास, शहरी विकास, विपद् व्यवस्थापन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, शिक्षा, वातावरण, पर्यटन लगायतका क्षेत्रको छुट्टै नीति तथा कार्यक्रम तयार गरिएको बताए । रासस –––––
विदेशमा मृत्यु हुने कामदारका परिवारलाई ७ लाख क्षतिपुर्ति
काठमाडौं । विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई राज्यले ७ लाख क्षतिपुर्ति दिने भएको छ । सो सम्बन्धी निर्णय केहि दिन अघि मात्रै मन्त्रिपरिषदले गरेको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई ७ लाख रुपैंयाँ दिने घोषणा गरेका थिए । त्यसको एक बर्षपछि मात्रै सो घोषणालाई मन्त्रिपरिषदले पास गरेको हो । केहि दिन भित्रै राजपत्रमा प्रकाशन गरेर निर्णय कार्यान्वयनमा ल्याउन लागिएको हो । हालसम्म विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई ३ लाख रुपैंयाँ दिईदै आईएको थियो । हालसम्म विदेशमा मृत्यु भएका ५ हजार ५ सय ९० जना नेपाली कामदारका परिवारले आर्थिक सहायता लिएका छन् । गोरखापत्र दैनिकबाट
बार्षिक बजेट पारित, बढ्ला त विकास
काठमाडौं । व्यवस्थापिका संसदले आगामी आर्थिक बर्षको बजेट पारित गरेको छ । बिहिबार बसेको बैठकले बजेट आश्रित सम्पुर्ण बिधेयकहरु पारित गरेको हो । अघिल्लो सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैंयाँको बार्षिक बजेट पेश गरेको थियो । ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार चालु खर्च विनियोजन गरिएको छ भने ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैंयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । नयाँ बजेटले विकास खर्च बढाउँदै ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।