केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला शुरु
काठमाडौं । चाबहिलको केएल टावरमा संचालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइल हब सँचालनमा आएको अबसर पादै सुरु भएको मोबाइल मेला सँगै एक्सचेन्ज मेला पनि सुरु गरेको हो । जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरिने बताउँदै केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले पुराना मोबाइलको राम्रो भ्यालु पाइनुका साथै नयाँ मोबाइल खरिद गर्न चाहनेहरुका लागि गिफ्ट ह्याम्पर लगायत हात खाली नजाने उपहारको ब्यबस्था गरिएको बताए । मोबाइल एक्सचेन्जका लागि ग्राहकहरुले आफ्नो परिचय खुल्ने परिचय पत्रको फोटोकपी ल्याउनुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । ब्राण्डेड मोबाइलको कारोबार र मल्टिब्राण्ड मोबाइल सोरुमको रुपमा कारोबार सुरु गरेको मोबाइल हबले नेपालमै नम्बर १ बन्ने लक्ष लिएको प्रबन्ध निर्देशक ग्लाइडरले बताए । मोबाइल हबमा बिश्वबजारमा पाइने २३ भन्दा बढी कम्पनीका मोबाइलको कारोबार गरिरहेको छ भने बिभिन्न कम्पनीका मोबाइलबारे जानकारी दिन टच एण्ड फिलको सुबिधा पनि दिएको छ । १ हजारको मोबाइलको खरिदमा ५ हजार भन्दा बढीको उपहार पाइने ब्यबस्था गरेको छ । लक्की ड्र मार्फत मलेशिया र सिंगापुरको भ्रमण गर्न पाइने तथा हरेक मोबाइलको खरिदमा दुइवटा फिल्मको टिकट र क्लब डेजाभुको २ जनालाइ प्रबेश टिकट उपलब्ध गराउने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिएका छन् ।
नेपालमा पहिलो पटक स्क्रिन प्रिन्ट प्रर्दशनी हुँदै
चितवन । उद्योग वाणिज्य संघ चितवनको परिसरमा आगामी साउन २ र ३ गते नेपालमा नै पहिलो पटक स्क्रिन प्रिन्ट प्रर्दशनी २०१७ हुने भएको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी स्क्रिन प्रिन्ट हुने कुराको जानकारी गराइएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको उक्त प्रदर्शनीमा स्क्रिन प्रिन्ट, गार्मेन्ट प्रिन्ट, सब्लीमेशन प्रिन्टका नयां प्रविधि र प्रयोग बारे जानकारी गराइने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् प्रर्दशनीका संयोजक राजन गौतमले बताए । नेपालभरी छरिएर रहेका सो प्रकृतिका व्यवसायी हरुलाई एकिकृत गर्दै कच्चा पदार्थ, उपकरण, नयां प्रविधि र नयाँ व्यवसायीलाई आकर्षण गर्नका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको उनले बताए । व्यवसायबारे जानकार नहुँदा उपभोक्ताले समेत सहज सेवा लिन नसकेको अवस्थामा प्रर्दशनीले व्यवसायको विस्तारसंगै नयाँ व्यवसायी उत्पादनमा पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । निशुल्क प्रवेशको व्यवस्था गरिएको प्रर्दशनीमा विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने संयोजक गौतमले जानकारी दिएका छन् ।
हितग्राही खाता एक लाख पुर्याउनेमा एनआईबिएल क्यापिटल पहिलो
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. ले आफ्नो हितग्राही खाता एक लाख पुर्याएको छ । देशकै पहिलो पटक सो मात्राको हितग्राही खाता पुुर्याएको यस क्यापिटल आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने निक्षेप सदस्य संस्था भएको छ । यस संस्थाले मर्चेन्ट बैंकिङ तथा सामुहिक लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको समेत कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । साथै, निक्षेप खाताको बजार हिस्सा मध्ये ११ दशमलब ५५ खाता यसै संस्था मार्फत संचालन गर्न सफल रहेको छ । नेपालको धितोपत्र बजारको लागि एकिकृत मोवाईल एप सार्वजनिक गरि प्रयोग गर्ने पहिलो संस्था समेत रहेको छ । उक्त एपमा निक्षेप सदस्यले आफ्नो हिताग्राही खाताको विवरण, म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य तथा लगानी व्यवस्थापन सेवा लिएका सेवाग्राहीहरुले समेत आफ्नो लगानीको विवरण हेर्न सक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएकाे छ । यस क्यापिटलले बैंक/वित्तीय संस्था, लघुुवित्त कम्पनी, जीवन तथा निर्जिवन बीमा कम्पनी लगायत होटल गरी जम्मा ३० वटा कम्पनीका करिव ५ लाख ७२ हजार ३ सय शेयर धनीहरुलाई शेयर रजिस्टर सम्बन्धी सेवा पुर्याउदै आएको जानकारी दिइएको छ ।
बजार सामान्य अंकले घट्दा ४ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ४ दशमलब ८९ अंकले घटेर १५८२ अंकमा पुगेको छ । बुधबारको तुलनामा आजको बजारमा नेप्सेमा गिरावट आएता पनि सेयर कारोबारमा भने वृद्धि भएको छ । बिहीबार बजारमा ७४ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा जम्मा ६४ करोड रुपैयाँ को सेयर किनबेच भएको थियो । सामान्य अंकले घटेको बजारमा पनि चार कम्पनीका लगानीकर्ताले करिब१० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.६० प्रतिशत कमाएका छन् । त्यस्तै, ग्लोबल आईएमई समुन्नट स्किम १ को ९.४५, दिब्याश्रोरी हाइड्रोपावरको ९.१८ र नेशनल माइक्रोफाइनान्स वित्तीय संूस्थाको ९.१० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । अन्य समूहको परिसूचक ११ अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५३ अंकले ओरालो लागेको छ ।
अब हुण्डी भन्दा रेमिटेन्स च्यानलबाट पैसा पठाउन सस्तो हुने, कारोबार शुल्क पुनरावलोकन गर्न निर्देशन
काठमाडौं । अब विदेशमा रहेका नेपालीहरुले हुण्डीबाट पैसा पठाउनु भन्दा रेमिटेन्स कम्पनीको च्यानलबाट पठाउन सस्तो हुने भएको छ । रेमिटेन्स कम्पनीको कारोबार शुल्क महंगो भएकाले हुण्डी कारोबार बढेको निष्कर्षसहित शुल्क पुनरावलोकन हुन लागेको हो । व्यवस्थापिका संसदको अर्थ समितिले रेमिटेन्स कम्पनीको च्यानलबाट पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर पुुनरावलोकन गर्न निर्देशन दिएको हो । ‘रेमिटेन्स कम्पनीको च्यानलबाट पैसा पठाउँदा कारोबार शुल्क महंगो र विनिमय दर पनि कम हुने भएकाले हुण्डी कारोबारले प्रोत्साहन पाईरहेको देखियो, त्यसैले रेमिटेन्स कम्पनीको कारोबार शुल्क र विनिमय दर पुनरावलोकन गर्न निर्देशन दिएका छौं’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने । अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणी शिवाकोटीले पनि रेमिटेन्स कम्पनीको करोबार शुल्क बढि भएकाले हुण्डीले प्रोत्साहन पाएको बताउँदै रेमिटेन्स कम्पनीहरुलाई अनुदानको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । उनले दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स(युएइ)बाट हुण्डी मार्फत धेरै कारोबार भैरहेको पनि बताएका थिए । अर्थ समिति बैठकले हुण्डी कारोबार नियन्त्रणको कार्ययोजना बनाउन, विदेश जाने कामदारको बैंक खाता अनिवार्य गर्न, श्रम सम्झौतामै बैंकिङ च्यानल मार्फत पैसा पठाउने प्रतिवद्धता गराउन पनि निर्देशन दिएको छ । त्यस्तै विदेश जाने नेपाली कामदारले बैंकिङ च्यानलबाट पठाएको पैसाको निश्चित प्रतिशत कोषमा जम्मा गर्ने र केहि ब्याज दिने व्यवस्था गरेर त्यस्तो रकमलाई व्यक्तिको सेयरका रुपमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएको छ । बैठकमा पुर्व अर्थमन्त्री डा. रामशरण महत, सुरेन्द्र पाण्डेले हुण्डी कारोबार नियन्त्रण गर्न सरकारले कारोबार शुल्क घटाउनु पर्ने बताएका थिए । आइएमईका अध्यक्ष चन्द्र ढकालले पनि पाकिस्तानमा जस्तै रेमिटेन्सको कारोबार गर्ने कम्पनीलाई सरकारले अनुदान दिएर कारोबार लागत घटाउनुपर्ने धारणा राखेका थिए । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार हाल विदेशबाट नेपालमा रेमिटेन्स पठाउन न्युनतम ५ डलरदेखि ८ डलरसम्म शुल्क कायम रहेको छ ।
दोलखाका पाँच स्वास्थ्य चौकी भवन निर्माण अलपत्र
चरिकोट । दोलखाका पाँच स्थानमा निर्माणाधीन स्वास्थ्य चौकीे भवन अलपत्र भएको छ । ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो । दोलखामा रहेका विभिन्न स्वास्थ्य चौकीका भवन निर्माण व्यवसायीले निर्माण गरी बुझाउनुपर्ने समय सकिए पनि विभिन्न बहाना देखाउँदै अलपत्र अवस्थामा राखेका हुन् । भवन निर्माणको समय सकिए पनि व्यवसायीले भवन निर्माण अलपत्र बनाउँदा ग्रामीण भेगका जनता त्यसको मारमा परेका छन् । प्राविधिकले अनुमान गरेको भन्दा न्यून मूल्यका ठेक्का हाल्ने र पछि बहाना बनाएर ठेक्का छोड्ने प्रवृत्ति बनेकाले पनि ठेकेदारले भवन बनाउन नसकेको हुन सक्ने स्थानीय वासीको भनाइ छ । दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक स्वास्थ्य चौकीे भवन पाँच वर्ष बित्दा समेत ठेकेदार कम्पनीले अझै पूरा गरेको छैन । विसं २०६९ मंसिरमा सम्पन्न गर्ने गरी कोशी एण्ड न्यौपाने बिएन जेबिले १ करोड २ लाखमा सो भवनको ठेक्का लिएको थियो । हालसम्म भूकम्पको कारण देखाएर सो कम्पनीले भवन हस्तान्तरण गरेको छैन । त्यसैगरी गौरीशंकर गाउँपालिकामा रहेको जुँगु स्वास्थ्य चौकी पनि समय सकिएको दुई वर्ष भइसकेको छ । विसं २०७२ माघमा कबोल बमोजिम भवन हस्तान्तरण गर्नुपर्ने भए पनि हालसम्म सो कम्पनीले भवन हस्तान्तरण गरेको छैन । १ करोड ९५ लाखको लागतमा सम्पन्न गर्ने गरी सुवर्ण सुन्दर माई जेबीले सो भवन निर्माणको ठेक्का लिएको थियो । त्यसैगरी मेलुङ गाउँपालिकामा रहेको मेलुङ स्वास्थ्य चौकी निर्माण गरेर बझाउनुपर्ने समय तीन वर्ष बित्दासमेत भवनको हस्तान्तरण गरिएको छैन । त्यसैगरी बिगु गाउँपालिकामा रहेको लादुक स्वास्थ्य चौकीे भवन समय सकिएको चार वर्ष बित्दासमेत निर्माण भइसकेको छैन । विसं २०७० फागुनमा पूरा गर्ने गरी १ करोड ५ लाखको लागतमा सो भवन निर्माणको ठेक्का दाप्चाबारा जेबीले लिएको थियो । कालिञ्चोक गाउँपालिका रहेको सुन्द्रावती स्वास्थ्य चौकीको भवन पनि अलपत्र छ । विसं २०७२ चैतमा सक्ने गरी कन्काई इन्टरनेसनलले रु एक करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि हालसम्म सो स्वास्थ्य चौकीको भवन हस्तान्तरण हुन सकेको छैन । शहरी डिभिजन कार्यालय दोलखा शाखाका प्रमुख एकराज अधिकारीले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दासमेत अटेर गरेको बताए । अटेर गरेर बस्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरिएको पनि अधिकारीले जानकारी दिए । “हामीले पटक–पटक निर्माण व्यवसायीलाई काम पूरा गर्न ताकेता गरेका छौँ, तर निर्माण व्यवसायीले अटेर गरेर बसेका छन्, छिट्टै कालोसूचीको प्रक्रिया थाल्छौँ” – उनले भने । रासस
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड पुन सञ्चालनमा
चितवन। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलोमा खसेको पहिरो पन्छाएपछि शुक्रबार बिहान १०ः३० बजेबाट सडक सञ्चालनमा आएको छ । बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो । राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका झण्डै ३०० सवारी साधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर शुक्रबार बिहान ४ बजेदेखि पुनः पन्छाउन शुरु गरिएको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सडकको झण्डै ४० मिटर लामो भाग पहिरोले पुरिएको थियो । दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाएपछि सडक खुलेको हो । गत वर्ष पहिरो खसेर दुःख दिएकै ठाउँमा यस वर्ष पनि पहिरो खसेको खनालले बताए । सडक विस्तारका क्रममा भित्तो काटिएका ठाउँमा पहिरो खस्ने क्रम बढेपछि हाल सो सडक रातिको समयमा बन्द गरिएको छ । रासस
१० लाखको लगानीमा ट्रयाक निर्माण सम्पन्न, दुई हजार ५०० घरधुरी लाभान्वित
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका ३ पिप्लेको बगैँचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्ड अन्तर्गत बनाखीको भिरमा ट्रयाक निर्माण भएको छ । विगत छ वर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडकअन्तर्गत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो वर्ष डोजर लगाएर ट्रयाक निर्माण गरिएको हो । गलेश्वरदेखि बेग खोलासम्मको सडकको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको पिप्ले बगैँचा, रानीपौवा, रिसीनचौतारी, माछखर्क, बेगखोला सडक अन्तर्गत यो वर्ष र १० लाख बजेटबाट सो ट्र्याक निर्माण गरिएको हो । जिल्ला समन्वय समिति मार्फत ९ नौ लाख १० हजार र स्थानीयको १ लाख एक हजार ६९६ बराबरको श्रमदानबाट रानीपौवा र रिसीनचौतारीको बीचमा पर्ने सो भिरमा ट्र्याक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत शाहीले बताए । विगत छ वर्षदेखि निरन्तर प्रयास गर्दासमेत उल्लेख्य रुपमा बजेट विनियोजन नभएको र विनियोजन भएको बजेटले समेत सो भिरमा ट्र्याक खन्न सकिएको थिएन । बेनी-जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरदेखि बेगसम्मको खण्डको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको सो सडकखण्डमा खहरेखोलादेखि माछखर्कको बीचमा रहेको करिब ३०० मिटर भिरमा ट्रयाक निर्माण गर्न बाँकी छ । बगैँचादेखि रिसीनचौतारी हुँदै खहरेखोलासम्म र बेगखोलादेखि माछखर्कसम्म ट्र्याक निर्माण कार्य सम्पन्न भएकाले आगामी वर्षमा सजिलैसँग ट्र्याक निर्माणले पूर्णता पाउने स्थानीय वासीको भनाई छ । यस वर्ष नै यो खण्डको ट्र्याक निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि बजेट अभावले सम्भव नभएको हो । पिप्लेको बगैँचादेखि रानीपौवा हुँदै भगवतीको रिसीनचौतारी माछखर्क हुँदै बेगखोला जोडिने यो सडकले स्थानीय दुई हजार ५०० घरधुरी लाभान्वित हुने छन् भने गलेश्वरदेखि बेगखोला खण्डको वैकल्पिक मार्गका रुपमा समेत प्रयोगमा ल्याउन सकिनेछ । रासस