नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न
काठमाडौं । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटोबारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो । सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागि हुनुभएका कर्मचारीहरूलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै पूर्वबैंकर अनिलकेशरी शाहले नेतृत्व विकास सम्बन्धमा तालिम दिएका थिए । यसैगरी नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे । सम्मेलनमा आव २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले कार्यक्रमको उद्घाटन गरे । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले गत वर्ष आर्थिक वर्षमा ७ सय करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिँदै सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरूको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्द भित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मेहनतले सम्भव बनाउन सकिने बारे कुराको प्रकाश पारे ।
जीवन बीमाले गरे पौने २ खर्ब रुपैयाँको व्यवसाय, नेपाल लाइफकाे सबैभन्दा धेरै
काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा पौने २ खर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत वर्ष १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । गत आवमा बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क अघिल्लो आवको तुलनामा १६.०५ प्रतिशतले बढी हाे । बीमा कम्पनीहरूले आवमा १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। बीमा प्राधिकरणका अनुसार असारमा मात्रै २२ अर्ब ७० करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल लाइफकाे सबैभन्दा धेरै व्यापार गत आव २०८१/८२ मा सबैभन्दा धेरै व्यापार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । गत आवमा नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा १७.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षमा कम्पनीले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले १६.७७ प्रतिशतले व्यापार बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आवमा १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय १०.०४ प्रतिशतले बढेको हाे । अघिल्लो आवमा कम्पनीले १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । हिमालयन लाइफ इन्स्योरेन्सले गत आवमा १७ अर्ब ६६ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै गत आवमा सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपैयाँ, एशियन लाइफले १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । त्यसैगरी सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँ, मेट लाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँ र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि
काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स- २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो । नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ । साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैंकले डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण प्राप्त गरेको हो । यसैगरी, बैंकले मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेका कारण नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड प्राप्त गरेको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, ‘यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन् । हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौं ।’ उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ सेवामार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
निर्जीवन बीमाको व्यापार ६.७७ प्रतिशतले बढ्यो, २ कम्पनीको व्यापार खस्कियो
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्बभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरेर ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । आव २०८१/८२ मा बीमा कम्पनीहरूले आर्जन गरेको व्यापार अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले बढेको छ । कम्पनीहरुले आव २०८०/८१ मा २८ लाख ४९ हजार ९३४ वटा बीमालेख जारी गर्दै ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा शिखर अगाडि गत आवमा शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले भने नेपाल इन्स्योरेन्स अगाडि रहेको छ । समीक्षा वर्षमा शिखर इन्स्यारेन्सले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको । जुन अघिल्लो वर्षको तुलनामा ५.९२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । धेरै व्यवसाय भित्र्याउने दोस्रो कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले गत आवमा ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले आफ्नो व्यवसाय ४.४७ प्रतिशतले बढाएको छ । तेस्रो धेरे व्यवसाय आर्जन गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स रहेको छ । सिद्धार्थ प्रिमियरले गत आवमा ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.१९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको व्यवसाय १०.१४ प्रतिशतले बढेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । गत आवमा नेको इन्स्यारेन्सले ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, सानिमा जीआईसीले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । दुई कम्पनीको व्यवसाय घट्यो समीक्षा वर्षमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको व्यापार घटेको छ । अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कुल बीमा संकलन गरेकोमा गत आवमा १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । समीक्षा वर्षमा कम्पनीको व्यापार १३.४८ प्रतिशतले घटेको हो । त्यस्तै, समीक्षा वर्षमा नेशनल इन्स्योरेन्सको व्यापार ११.४४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा गत आवमा १ अर्ब ६ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।
डिशहोम र सिद्धार्थ हस्पिटालिटीबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा
काठमाडौं । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गरेको छ । यस साझेदारीअन्तर्गत डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २० प्रतिशत छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् । डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत आवासमा २० प्रतिशत छुट र फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट रहेको छ । ‘सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं,’ डिशहोमका सीईओ तारा मानन्धरले बताए । डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एपमा उपलब्ध छ। ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्ने जनाइएको छ।
रसुवाको चन्दनबारीमा नेपाल टेलिकमको टुजी सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले दुर्गम भेगसम्म दूरसञ्चार सेवा विस्तार गर्ने अभियानअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने चन्दनबारीमा टुजी बीटीएस सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा रहेको उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले विशेष महत्त्व बोकेको छ। धार्मिक तीर्थस्थल गोसाइँकुण्ड जाने तिर्थालु र पदयात्रीलाई लक्षित गर्दै टेलिकमले धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गमा पर्ने चन्दनबारीमा सेवा सञ्चालन गरेको हो । नयाँ टुजी सेवा सञ्चालनसँगै धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक हुँदै ४ हजार २०० मिटर उचाइमा रहेको गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको कम्पनीले जनाएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लाग्ने मेलामा हजारौं श्रद्धालु पुग्ने गर्दछन्। नयाँ सेवा सञ्चालनले तीर्थालु, पर्यटकसहित स्थानीय बासिन्दालाई सञ्चारमा सहजता पुग्ने विश्वास गरिएको छ । नेपाल टेलिकमले हिमाली तथा विकट क्षेत्रमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुरूप कम प्रतिफल र उच्च लागतका बाबजुद पनि यस्तो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ । आगामी दिनमा उच्च हिमाली क्षेत्रतर्फ फोरजी नेटवर्क सेवा विस्तार गर्ने योजना समेत रहेको टेलिकमले जानकारी दिएको छ।
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
मध्यविन्दु (नवलपरासी) । बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्ने खण्ड अवरुद्ध भएको हो । दाउन्नेको पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनःअवरुद्ध हुने गरेको छ । आज बिहानदेखि सडक पुनःअवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ,’ उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ ।’ दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका- २ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।