विकासन्युज

महिलाले सञ्चालन गरेका उद्योगलाई कर छुट दिएका छौं : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको बताएका छन् । सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा आयोजित २२औँ सिर्जनशील उद्यमी मेलाको शुभारम्भ गर्दै मन्त्रालयले स्टार्टअप र रचनात्मक उद्यमशील परियोजना अन्तर्गत २५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रम समावेश गरेको उनले उल्लेख गरे ।  रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषय सरकारको प्राथमिकतामा राखेको बताउँदै मन्त्री भण्डारीले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिइने जानकारी दिए ।  मन्त्री भण्डारीले स्वदेशी ज्ञान, सीप, श्रम र अनुभवले सृजना गरेका वस्तुले आन्तरिक बजारको केही प्रतिशत माग पूरा गर्दा पनि त्यसले आयात प्रतिस्थापनमा ठूलो योगदान गर्ने बताए ।  देशको साना, लघु र घरेलु उद्योगले रोजगारी सृजना गर्ने बताउँदै मन्त्री भण्डारीले त्यस्तो स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्न सकेमा त्यसले पुँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने र आर्थिक तथा सामाजिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । हस्तकला तथा घरेलु उद्योगबाट हुने उत्पादनले रोजगारी सृजना गर्नका साथै ग्रामीण अर्थव्यवस्थालाई गतिशील बनाउने बताउँदै उनले महिलालाई उद्यमशीलता तर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए । केन्द्रका अध्यक्ष मिलु थापाले ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाएर समग्र मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न सकिने बताउँदै महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्नुपर्नेमा जोड दिए । मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बालुवाटारमा आयोजित सो मेला आइतबारसम्म चल्ने छ । इभेन्ट संसारको समन्वयमा सुरु भएको मेलामा घरेलु तथा हस्तकला सामग्री, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शनका साथै बिक्रीसमेत गरिएको हो ।

जोखिमपूर्ण यात्राले ज्यान जान सक्छ, एकै दिन तराइबाट हिमाल भ्रमण नगरौं

काठमाडौं । होटल सङ्घ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । सङ्घका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले विज्ञप्तिमा जारी गर्दै नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायत जोखिम बढेको उल्लेख गरेका छन् ।  पर्यटकलाई आराम गर्दै वातानुकूलित हुँदै यात्रा गर्ने वातावरणका लागि सम्बन्धित ट्राभल एजेन्सी, टूर अपरेटर र सरोकारवाला समक्ष सङ्घले अपिल गरेको छ ।  ‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा नगराउन हामी सुझाव दिन चाहन्छौं । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनीकरण गर्न सरकारी स्तरबाट समेत आवश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन पनि मद्दत पुग्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।  पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आवतजावत गर्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्त्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ । पछिल्ला दिनमा नेपालको दक्षिण सीमावर्ती क्षेत्र र तराईबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरूको ठूलै सङ्ख्या भेटिन थालेको विषय उल्लेख गर्दै सङ्घले भनेको छ, ‘होटल सङ्घ नेपाल, गण्डकी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनुहुन्न भन्ने पक्षमा रहेको छ । समुद्र सतहबाट १ सय मिटर हारहारीको उचाइ रहेको तराई क्षेत्रबाट ८ सय मिटर उचाइको पोखरा उल्किएर उही दिन ३ हजार ७१० मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यका लागि निकै नकारात्मक कुरा हो ।’  होचो उचाइबाट एकै दिन एकतर्फी साढे ३ सय किलोमिटरभन्दा लामो अनि उचाइ तिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडी पूर्ण मात्र नभई बर्खा यामको रात्रि कुँदाई अत्यन्त जोखिमयुक्त पनि हुनसक्ने विज्ञप्तिमा भनिएको छ । यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जानसक्ने जोखिम बढाएको छभने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि सङ्घले सचेत गराएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीटजरल्याण्डका १/१ जना नागरिक रहेको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बाहिर ल्याएको छ ।  यस्तै मुस्ताङ जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उक्त जिल्लामा मात्र २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेमा ८ जना भारतीय, २ नेपाली र एक जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउने पनि भारतीय पर्यटककै सङ्ख्या बढी रहन गएको छ । केही दिनअघि काठमाडौंबाट हेलिकप्टरमा सिधै सगरमाथा क्षेत्र पुगेका १ अष्ट्रेलियाली पर्यटकलाई लेक लागेपछि काठमाडौँ फर्काइएको पनि सङ्घले उल्लेख गरेको छ ।

नबिल फ्लेक्सी क्याप फण्डको ९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट नबिल फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । त्यसैले साउन २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् ।  उक्त म्युचुअल फण्डको कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग हो । लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २७ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

जनै फेरेर पशुपतिनाथमा पवित्रारोहण गरिँदै

काठमाडौं । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । आराध्य देव भगवान पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोष अन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ । कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए । पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ ।​​​​​​भगवान पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उनी गोसाइँकुण्डमा जाने विश्वास पनि पशुपति क्षेत्रका ज्येष्ठ नागरिकले सुनाउने गरेका छन् । आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षा बन्धन गर्ने सनातनी परम्परा रहे पनि पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको हो ।

देशभर मनसुनको प्रभाव, तराईसहित कोशी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा धेरै र देशका बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।  लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।      आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

१५ लाख मुनीका आयोजना प्रदेशले कार्यान्वयन नगर्ने, ५० लाख माथिका आयोजना भदौसम्म बोलपत्र

  काठमाडौं । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि पत्राचार गरेको छ । मुख्यमन्त्री यायमलाल कँडेलको अध्यक्षतामा २०८२ असार २५ गते बसेर चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठकबाट भएका निर्णयहरू सबै मन्त्रालय तथा निकायलाई कार्यान्वयन गर्न बिहीबार पत्राचार गरिएको हो । आयोजनाको छनोट तथा प्रस्तावसम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा (१)कमा १५ लाख रुपैयाँभन्दा कम लागत भएका आयोजना प्रदेश सरकारबाट कार्यान्वयन नगर्न र त्यस्ता आयोजनाको विवरण २०८२ साउन १५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित रूपमा उपलब्ध गराउन पत्राचार गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।  त्यस्तै, कर्णाली प्रदेश सरकार कार्य विभाजन नियमावली, २०७४ बमोजिम मन्त्रालय र अन्तर्गतका निकायको कार्यक्षेत्रसँग नमिल्ने गरी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा कुनै आयोजना स्वीकृत भएको भए ती आयोजना कार्यान्वयनका लागि मिल्दो कार्यक्षेत्र भएको मन्त्रालय वा अन्तर्गतबाट कार्यान्वयन गराउने गरी व्यवस्था मिलाउन र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराउन पत्राचार गरिएको उनले बताए ।  आव २०८२/८३ को स्वीकृत वार्षिक विकास कार्यक्रम अन्तर्गत प्रदेश तथा मातहतका निकायबाट कार्यान्वयन गरिने आयोजनाको नाम र विनियोजित रकमसहितको विवरण सम्बन्धित मन्त्रालयले आफ्नो मातहतको कार्यालयबाट जानकारी एवं कार्यान्वयनमा सहजीकरणको लागि सम्बन्धित स्थानीय तहलाई छुट्टा छुट्टै रूपमा २०८२ साउन १५ गतेभित्र पत्राचार गरिसक्ने निर्देशन दिइएको मुख्यमन्त्री कँडेलको भनाइ छ । उनका अनुसार सम पूरक र विशेष अनुदानबाट सञ्चालित हुने आयोजनाको बोलपत्रको सूचना साउन मसान्तभित्र आह्वान गर्न, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको १ करोड रुपैयाँभन्दा माथिका आयोजना र अन्य मन्त्रालयका ५० लाख रुपैयाँभन्दा माथिका आयोजनाको भदौ मसान्तभित्र बोलपत्रको सूचना आह्वान गरिसक्न र चालु आवको वार्षिक बजेट कार्यान्वयन गर्दा बहु वर्षीय र स्रोत सुनिश्चितता गर्नुपर्ने आयोजना भए साउन मसान्तभित्र ती आयोजनाको विवरण कर्णाली प्रदेश योजना आयोगमा पठानसमेत निर्देशन दिइएको छ । विगतमा ठेक्का भई हाल कार्यान्वयनमा रहेका आयोजनाको कार्यारम्भ साउनबाट नै गर्ने गरी कार्यान्वयनमा लैजान, योजना छनोट तथा प्रस्तावसम्बन्धी कार्यविधि र आयोजना बैंकसम्बन्धी कार्यविधि परिष्कृत रूपमा परिमार्जनका लागि साउन मसान्तभित्र कर्णाली प्रदेश योजना आयोगले तयार गर्न, सम पूरक, विशेष र सशर्त अनुदानसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा परिमार्जनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले साउन मसान्तभित्र मस्यौदा तर्जुमा गर्न समेत निर्देशन दिइएको छ ।  त्यस्तै, स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि भदौ मसान्तभित्र तर्जुमा गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन, मन्त्रालयले रकम बाँडफाँट नगरी अवण्डामा बजेट राख्न नहुने कानुनी व्यवस्था एवं नियमनकारी निकायको निर्देशनसमेतलाई ध्यानमा राखी कुनै मन्त्रालयमा अवण्डामा रकम रहेको भए भदौ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजान पनि मुख्यमन्त्री कार्यालयले पत्राचार गरेको जनाइएको छ ।

भूकम्पको १० वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर

पूर्णप्रसाद मिश्र काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ । यस वर्षको वर्षात् सुरू हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो । पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।  गत आर्थिक वर्षमै कुमारी घरमा पानी चुहिन थाले पनि यो आर्थिक वर्षमा पनि बजेट नभएकाले अर्को वर्ष बजेट राखेर मर्मत गरिने उनले बताए । इन्द्र जात्रा व्यवस्थापन समितिका पदाधिकारी र वसन्तपुर दरबार क्षेत्रका स्थानीयवासी भने एक दशकअघिको भूकम्पदेखि नै कुमारी घर टेकोका भरमा राखिए पनि सरोकार भएका निकायले ध्यान नदिएको गुनासो गर्छन् । कुमारी घरमा १० वर्ष अघिको भूकम्पले क्षति पुर्यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे । पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनर्निर्माणको सूचीमा राख्न निर्देशन दिएको अहिले पनि इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको स्मरणमा ताजै छ । देशका कार्यकारी प्रमुखले दिएको निर्देशन पनि कार्यान्वयन नहुँदा अहिले कुमारी घर पालको ओतमा जोगाउनुपर्ने अवस्थामा पुगेको हो । कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले छुट्टा छुट्टै प्राविधिक अध्ययन गरे । तीनवटै निकायले एक/एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ । कुनै पनि निकायले पुननिर्माणमा चासो देखाएका छैनन् । सनातनदेखि चलिआएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथ यात्रा गराउने चलनको सुरुआत मल्लकालमा भयो । कुमारीको रथ यात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्य बताउँछन् । त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनर्निर्माण भएको छैन । करिब तीन दशकअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ । मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्र जीर्ण बनेको छ । जीर्ण भवनको छानोमा पनि समस्या भएकाले पानी भित्र छिर्न थालेकाले विभागलगायत निकायलाई खबर गरेपछि पालको ओत हालिएको उनले सुनाए ।  भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ । कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ । इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ । वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टि बाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ ।   ‘भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने तीन वर्षअघि इन्द्रजात्राका बेला निकालियो, भर्‍याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन,’ उनले भने ।  जीवित देवीका रूपमा पुजिने कुमारी घर बनाउन तीन वर्षअघि नै काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि काम भने सुरू गरेन । त्यसबेला महानगरपालिका-२३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरू हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । महानगरपालिकाले दुई वर्षअघि कुमारी घर पुनर्निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुनर्निर्माणका लागि ३ करोड रुपैयाँ बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको भन्दै त्यसबेला पनि काम सुरू हुन सकेन ।  पुनर्निर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ । दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरक-फरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्त बहादुर श्रेष्ठ बताउँछन् । घरबाट वर्षमा १३ पटक निकालिन्छ कुमारीलाई  कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ । इन्द्रजात्राकै क्रममा तीनपटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ । बडा दसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ । रामनवमीको दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ ।  चैते दशैँकै बेला हुने सेतो मच्छेन्द्रनाथको रथयात्राका क्रममा कुमारीलाई लगनटोल लगिन्छ । माघ महिनामा हुने सेतो मच्छेन्द्रनाथको स्नानका क्रममा पनि कुमारीलाई मच्छेन्द्रबहाल लैजाने परम्परा छ । गाईजात्राको भोलिपल्ट ठमेलस्थित भगवानबहालमा लगिन्छ । गाईजात्राको भोलिपल्ट ठमेलमा बौद्धमार्गीका बहिल देवताको प्रदर्शनी गरिएको हुन्छ ।  माघमै चाँगुनारायणलाई हनुमानढोका दरबार ल्याउने क्रममा पनि कुमारीलाई घरबाट निकालेर दर्शनका लागि लगिन्छ । गाईजात्राको चार दिनअघि पनि चाँगुनारायणलाई हनुमानढोका दरबारमा ल्याउँदा समेत कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ । आश्विन शुक्ल पञ्चमीमा पचलीभैरव जात्रा हनुमानढोका दरबार लैजाँदा पनि कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ । यसैगरी घोडेजात्राका क्रममा कुमारीलाई नेपाल वायु सेवा निगम भवनको तेस्रो तलामा लगेर राखी जात्रा देखाउने परम्परा रहिआएको छ । विसं २०६५ मा कुमारी परम्परा सुरू भएको २५० वर्षको विशेष कार्यक्रम गरी मनाइएको थियो । रासस

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सुरु : फुटबल खेल्ने रोबोटलगायतका ५० परियोजना

काठमाडौं । टेक एवं  बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा सुरु भएको छ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रदर्शनी साउन २५ गतेसम्म चल्नेछ । कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ ।  कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशालाहरू, बिजनेस स्टल, क्लबका गतिविधि र रमाइला खेलहरू यसका आकर्षण रहनेछन् । यो कार्यक्रम प्लस टू उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आइटिमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ । प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क छ ।  विद्यार्थीद्वारा निर्मित परियोजनाको प्रदर्शनी, अमेरिकासँग सम्बद्ध प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलले बीएससी आइटी, एमएससी आइटी, बीबीए, एमबीए, डाटा एनालिटिक्स र आइटीमा एमबीएजस्ता कार्यक्रम सञ्चालन गर्छ ।  यो इभेन्टमा बीएससी आइटीका अन्तिम वर्षका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन् । करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्पवृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने) लगायत  छन्। उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सेवामा उपयोगी हुनेगरी विकास गर्ने विद्यार्थीहरूको भनाइ छ । साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने कसीले बताए ।  स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली) र टुरिजम प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन् ।  प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ । स्कुलको स्टार्टअप इन्कुबेसन सेन्टरले यी परियोजनालाई व्यावसायिक बनाउन सहयोग गर्छ । आइटी र बिजनेस विद्यार्थीहरूको सहकार्यले यी परियोजनालाई बजार र लगानीका लागि तयार पारिन्छ ।  हाल १ हजार २०० विद्यार्थी अध्ययनरत यो स्कुलमा ८० भन्दा बढी प्राध्यापक र २० भन्दा बढी व्यवस्थापन कर्मचारी छन् । प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलका निर्देशक  तथा प्रिन्सिपल कल्पना गुरुङले वेस्टक्लिफ युनिभर्सिटीको सहकार्यमा क्रेडिट ट्रान्सफर सुविधाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनको थप अवसर दिने जानकारी दिइन् ।