विकासन्युज

माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि

काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले १० कित्ता बराबर १.२ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । भदौं ७ गतेसम्म आवेदन दिन सकिने हकप्रद सेयरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । बैंकले आफ्ना देशभरका शाखा र एनएमबी क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीद्वारा संकटलाई अवसरमा बदल्न आग्रह

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उद्यमी व्यवसायीहरूले संकटलाई अवसरमा रुपान्तरण गर्न सक्नु पर्ने बताए । श्रीलंकाका उद्यमी व्यवसायीको छाता संगठन सिलोन चेम्बर अफ कमर्सको १७८औं बार्षिक साधारण सभा सम्बोधन गर्दै अध्यक्ष चौधरीले लगानीकर्ताका लागि संकट अवसर रहेको धारणा राखेका छन् । ‘जति बेला एलटिटिईले कोलम्बो एयरपोर्टमा विमानहरू ध्वस्तपारेको थियो, त्यही समयमा म श्रीलंकाप्रवेश गरेको थिएँ’, अध्यक्ष चौधरीले भने, ‘श्रीलंकाको राजनीतिक संकटलाई कारण देखाएर यहाँ लगानी नगरेको भए सायद मैले धेरै महत्वपूर्ण कुराहरु गुमाउने थिएँ ।’ सिजीकर्प ग्लोबलले श्रीलंकामाताज समुद्र लगायतका प्रख्यात होटलहरूमा लगानी गरेको छ । अध्यक्ष चौधरीले नेपालको माओवादी द्वन्द्वको समयमा नवलपरासीमा सिजी इन्डस्ट्रियल पार्क स्थापना गरेको, उत्तरपूर्वी भारतमा उल्फाले द्वन्द्व मच्चाइरहँदा वाईवाईको बजार प्रवर्धन गरेको र अफ्रिकामा जारी द्वन्द्वकाबीच लगानी विस्तार गरिरहेको आफ्नो अनुभव श्रीलंकाली लगानीकर्तासँग बाँडेका छन् । ‘लगानीको अनुकुल वातावरण तयार होला र लगानी विस्तार गरौंलाभनेर प्रतिक्षा गरेको भए चौधरी ग्रुुपअहिले मल्टिन्यासनल कम्पनीहुन संभव थिएन’, अध्यक्ष चौधरीले भने, ‘एकजनाउद्यमीले प्रतिकुल अवस्थालाई पनि अनुकुलतामा परिणत गर्न सक्छ र त्यसो गर्न सम्भव छ ।’ अध्यक्ष चौधरीले विजनेशका परम्परागत सोंचहरू असान्दर्भिक भएको विश्लेषण गर्दै नयाँ विजनेश सोंचहरुले विश्वमा राज गर्न थालेको बताए । परम्परागत सोंचबाट सञ्चालित विजनेशहरू कुनै पनि बेला असान्दर्भिक हुन सक्ने तर्फ सचेत गराउँदै अध्यक्ष चौधरीले समयानुकुल आफ्ना विजनेशलाई अपडेट गर्न नसक्ने हो भने नोकिया, ब्ल्याकबेरी वाकोडाकको जस्तै नियती भोग्नु पर्ने धारणा राखे । सूचना प्रविधिका क्षेत्रमाभइरहेको तिब्र विकासबाट दक्षिण एसियाली युवाहरुले लाभ लिन सक्नुपर्ने सुझाव उनले बताए । अहिले विश्वमा सूचना प्रविधीमा आधारित विजनेशहरुबाट धेरै युवाहरूले आफुलाई अर्बपति क्लबमा प्रवेश गराईरहेका छन् । अध्यक्ष चौधरीले नेपाली अर्थतन्त्रमा सन्तोषजनक सुधार आएको जानकारी दिदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानीगर्न पनि ध्यानाकर्षण गरेका छन् । आर्थिक बृद्धिदर उच्च रहेको, लोडसेडिङको समस्या नरहेको, पूर्वाधार विकासमा नेपालले फड्को मारिरहेको जानकारी दिँदै उनले नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेको बताए ।

लक्ष्मी बैंकको नयाँ शाखा सल्यानको सल्लीबजारमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज सल्यानको सल्लीबजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । यस अनुसार, लक्ष्मी बैंकको शाखा संजाल अब ६९, ३ हस्पिटल सेवा काउन्टर, ८७ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ ।

सिद्धार्थ बैंकको विशेष साधारण सभा सम्पन्न, के के प्रस्ताव पारित ?

काठमाडौं । आइतबार सिद्धार्थ बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भयो । उक्त साधारणसभाले बैंकका शेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद शेयर र त्यसपछि कायम हुने चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १०ः१ कित्ता हकप्रद शेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेकोे छ । त्यसपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९० एटीएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंक ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

मेटलाइफ नेपालको जनरल मेनेजरमा निर्मल काजी श्रेष्ठ नियुक्त

काठमाडौं । मेटलाइफ नेपालले कम्पनीको भाइस प्रेसिडेन्ट तथा जनरल मेनेजरको रुपमा निर्मलकाजी श्रेष्ठलाई नियुक्त गरेको छ । निर्मलकाजी श्रेष्ठ काठमाण्डौं स्थित मुख्यकार्यलयमा रहनेछन् र मेटलाइफ बंगलादेश, नेपाल र म्यानमारका नियुक्त म.नुरुल इस्लामलाई रिर्पोट गर्नेछन् । श्रेष्ठको नियुक्ति शनिबारदेखि नै लागु भएको छ । श्रेष्ठ हालका प्रमुखकार्यकारी अधिकृत, म. अलाउद्दीन अहमदबाट नियुक्त ग्रहण गर्नुहुनेछ् ।म. अलाउद्दीन अहमदमलेशियाको एममिटलाइफ इन्स्योरेन्स, बरह्याडमा भाइस प्रेसिडेन्ट तथा हेड अफ स्ट्रयटजी, बिजनेस पलानिङ र ट्रान्सफरमेसनको रुपमा नियुक्त भएका छन् ।

उपत्यका छिर्ने चार नाकामा गाडी धुने आधुनिक मेसिन जोडिँदै, लामो दुरीका बसले रिङरोड घुम्न नपाउने

काठमाठौं । काठमाडौं उपत्यका प्रवेश गर्ने चार वटा नाकामा गाडी धुने(कार वासिङ) मेसिन जडान गरिने भएको छ । उपत्यका प्रवेश गर्ने सवारी साधनले उपत्यकामा धुलो भित्र्याएको भन्दै काठमाडौं महानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले चारै नाकामा कार वासिङ मेसिन जडान गर्न लागेको हो । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामाका अनुसार नागढुंगा, पासाङ ल्याह्मु सडकको मुड्खु भञ्ज्याङ, फर्पिङ र अरनिको राजमार्गको जगातिमा कार वासिङ मेसिन राख्न लागिएको हो । महाशाखाले राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ योजना सार्वजनिक गर्दै त्यस्तो बताएको हो । त्यसरी राखिने मेसिनले एकै पटकमा १० देखि १५ वटा सम्म सवारी साधन धुन सक्नेछ । सवारी साधन धोए वापत केहि शुल्क तिर्नुपर्नेछ । त्यस्तै, वातावरण विभागसँगको सहकार्यमा उपत्यका छिर्ने चार वटै नाकामा २/२ वटा प्रदुषण परिक्षण यन्त्र पनि जडान हुँदैछ । त्यस बाहेक उपत्यकाका बिभिन्न क्षेत्रमा थप १६ वटा प्रदुषण परिक्षण यन्त्र जडान गरिने पनि लामाले जानकारी दिए । उपत्यकाको सवारी आवागमनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले लामो रुटका ठुला बसहरुलाई रिङ रोड घुम्न पनि रोक लगाउने तयारी थालेको छ । लामो दुरीका सवारी साधनले रिङरोड घुमेर यात्रु चढाउने तथा उतार्ने गरेकाले ट्राफिक व्यवस्थापनमा असहजता आएको भन्दै रिङरोड घुम्न रोक लगाउन लागिएको हो । लामो दुरीका सवारी साधनहरु अब बसपार्कबाट छुट्ने र बस पार्कसम्म मात्रै आउन पाउनेछन् ।

महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबार शुरु 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंक लि.को एकिकृत कारोबार शुरु  भएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपालले एक समारोहका बीच सो बैंकबीचको कारोबारको उद्घाटन गरेका छन् । महालक्ष्मी विकास बैंक र यती डेभलपमेण्ट बैंक लि.गाभिए पछि बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । साथै, निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड र संचालन मुनाफा ६८ करोड रुपैयाँ पुगेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकबाट एकिकृत बैंकको इजाजत पत्र पाइसकेपछि बसेको संचालक समितिको पहिलो बैठकले बैंकको अध्यक्षमा राजेश उपाध्यायलाई मनोनित तथा प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईलाई नियुक्त गरेको छ । दुवै बैंकको सहमति भए बमोजिम संचालक समितिमा राजेश उपाध्याय, संजय गिरी, अरुण राज सुमार्गी, राजेश कुमार रौनियार, विरेन्द्र कुमार संघई र रुपेन्द्र पौडेल चयन भएका छन् ।

मनि ट्रान्सफर र मर्चेण्ट बैंकिङलाई भ्याट अनिवार्य, ३० प्रतिशत आयकर तिर्नैपर्ने

काठमाडौं । अब मनि ट्रान्सफर कम्पनी र मर्चेण्ट बैंकिङको सेवा प्रदान गर्ने कम्पनीहरु पनि भ्याटमा दर्ता हुनुपर्ने भएको छ । मूल्य अभिवृद्ध कर ऐन, २०५२ अनुसार वित्तिय सेवा प्रवाह गर्ने संस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था अनुसार मनि ट्रान्सफर र मर्चेण्ट बैंकिङ कम्पनी पनि भ्याटमा दर्ता हुनुपर्ने भएको हो । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले भ्याटमा दर्ता भएर भ्याट छुट पाउँदै आएका छन । तर वित्तिय संस्था अन्तर्गत परेर मनि ट्रान्सफर र मर्चेण्ट बैंकिङ भने भ्याटमा दर्ता भएका थिएनन् । यद्यपी भ्याटमा दर्ता भएर पनि मनि ट्रान्सफर र मर्चेण्ट बैंकिङले भ्याट भने तिर्नुपर्नेछैन् । किनकी सोही ऐनको अनुसूचि १ को ११ को (आ) ले भने भ्याट छुटको सुबिधा दिएको छ । त्यस्तै, अब मनि ट्रान्सफर कम्पनी र मर्चेण्ट बैंकिङहरुलाई ५ प्रतिशत आयकर थपिने भएको छ । हालसम्म यी कम्पनीहरुले जम्मा २५ प्रतिशत मात्रै आयकर तिर्दै आएका छन् । वित्तिय संस्थाहरुले भ्याटमा दर्ता भएर छुट पाउने तर ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था रहेको छ । ३० प्रतिशत आयकर नतिर्ने २१ वटा मनि ट्रान्सफर कम्पनी र ९ वटा मर्चेण्ट बैंकरलाई भने जरिवाना गरिँदैछ । ३० वटा कम्पनीसँग ४ करोड ३६ लाख रुपैँया असुल्नुपर्ने महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर २१ वटा मनि ट्रान्सफर कम्पनी र ९ वटा मर्चेण्ट बैंकरको नाम भने गोप्य राखिएको छ । महालेखा परिक्षकको प्रतिवेदनले यी कम्पनीहरुले ५ प्रतिशत आयकर छलेकोले तत्काल असुल गर्न पनि ताकेता गरेको छ ।