एघार महिनामा पाँच लाख ६९ हजार सवारी चालकलाई कारबाही
काठमाडौं। ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने पाँच लाख ६९ हजार ८१५ सवारी साधनका चालकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा पाँच लाख ४८ हजार ४७० सवारी साधनका चालक कारबाहीमा परेका थिए । गत आवमा पाँच हजार ६६८ दुर्घटनामा १६६ जनाको मृत्यु, २७५ जना गम्भीर घाइते तथा तीन हजार ९०१ जना सामान्य घाइते भएका थिए । कमजोर सडक पूर्वाधार, कमजोर ट्राफिक नियम, जनचेतनाको स्तरलगायत कारणले दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिङ्मार लामाले बताए । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको सडक सुरक्षासम्बन्धी बैठकमा ट्राफिक नियम उल्लङ्घनका घटना प्रस्तुत गर्दै उहाँले पैदल मार्ग ९फुटपाथ०को अतिक्रमण, अनधिकृत पार्किङ र सडकमा हतार गर्ने बानीका कारण दुर्घटना बढ्ने गरेकाले कारबाही गर्न बाध्य हुनुपरेको बताए । “विशिष्ट व्यक्तिको सवारी, सरकारी नम्बर प्लेटका सवारी साधनका चालकले गर्ने नियम उल्लङ्घन, कानुनी प्रावधान, प्रतिरोधात्मक क्षमता एवम् साधन स्रोतजस्ता कारण सडक सुरक्षामा चुनौती देखिएको छ,” – उनले भने । यसका लागि विद्यालय पाठ्यक्रममा सडक सुरक्षा समायोजन, ड्राइभिङ स्कुल मापदण्ड, महाशाखामा स्रोत र ट्राफिक तालिम केन्द्रको स्थापना, बालबालिका ट्राफिक शिक्षा उद्यानलगायत व्यवस्थाको पहल गर्न महाशाखाले समितिसमक्ष माग गरेको छ । उपत्यकाको सडक सुरक्षाका लागि विशेष कार्ययोजना बनाइएको बताउँदै महाशाखा प्रमुख लामाले रु छ अर्ब ७५ करोड ७७ लाख १५ हजार बजेट आवश्यक पर्ने जानकारी गराए । गत वैशाख १ गतेदेखि बिहीबारसम्म हर्न बजाउने पाँच हजार ५०७ सवारी चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहरी र राजमार्गका सडकको मापदण्ड तोक्न सहरी विकास मन्त्रालयसँग संयुक्त समिति गठन गरेर काम गर्न निर्देशन दिएको छ । सडक सुरक्षा अभिवृद्धि गरी दुर्घटनाका घटना घटाउन पनि समितिले सम्बन्धित निकायलाई निर्देश गरेको छ । अतिविशिष्ट पाँच व्यक्तित्वको सवारीका क्रममा सडक अवरोध गर्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको गुनासो धेरैतिरबाट आएकाले सरलीकरण गर्न पनि निर्देशन दिएको सभापति रवीन्द्र अधिकारीले बताए । “पैदल यात्रुका लागि सडक पेटीको व्यवस्था गर्न र १५ दिनभित्र १२० मिटर सडकको दूरीमा जेब्रा क्रसिङ निर्माण गरिसक्न समिति बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ” – उनले भने । एसियाली विकास बैंकको सहयोगमा निर्माण हुने भनिएको सडक बत्ती (ट्राफिक लाइट) छिटो मर्मत गर्न र छिटो सम्भव नभए सरकारकै स्रोतबाट बनाउन मन्त्रालयलाई निर्देशन दिइएको छ । विभिन्न देशका नेपालस्थित राजदूतावासले सडक पेटी नछोडेकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरी सडक पेटीको काम सम्पन्न गर्न समितिले सरोकारवाला निकायलाई निर्देशन दिएको छ । राजस्व उठाएको १५ प्रतिशत भत्ता दिँदा सर्वसाधारणमा नकारात्मक प्रभाव परेको ट्राफिक प्रहरीबाटै गुनासो आएकाले जोखिम र विशेष भत्ताको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सडक नियमको उल्लङ्घन गर्दा गरिने कारबाहीको रकम कम भएकाले कार्यान्वयन गर्न नसकिएको गुनासो गर्दै बढी जरिवाना लगाउने कानुन निर्माण गरिदिन सांसद्सँग माग गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले सडक सुरक्षाको नीतिगत व्यवस्था गर्न सडक सुरक्षा परिषद्को गठन गरिएको जानकारी गराए । सडक सुरक्षा र सार्वजनिक सडक ऐनको मस्यौदा तयार भइरहेको उनले बताए । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले राजमार्ग र सहरी क्षेत्रमा सवारीको गति एकै किसिमको हुने गरेकाले दुर्घटना बढेको बताए । नमुना सहरी सडकको मापदण्ड निर्माण गर्न लागिएको समेत उनले जानकारी गराएका छन् । रासस
पाँच बर्षभित्रै राजधानीका सडक सिंगापुरकै जस्तो
काठमाडौं । आगामी पाँच बर्षभित्रै काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन सिंगापुरकै जस्तो हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ६ अर्ब ७५ करोड ७७ लाख १५ हजार रुपैंयाँ खर्चेर आगामी पाँच बर्षभित्रै काठमाडौं उपत्यकाको ट्राफिक आवागमनलाई सिंगापुरकै जस्तो आधुनिक र व्यवस्थित बनाउन लागेको हो । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ५ बर्षभित्र बनाउन लागेको राजधानीको सवारी व्यवस्थापनको स्केच महाशाखाले तीन वटा चरणको कार्ययोजनासहित ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ । त्यसका लागि महाशाखाले चालु आर्थिक बर्षमा १४ करोड २९ लाखको बजेटमा स्वास्थ्य सुरक्षाका लागि मास्क, जोखिम भत्ता, कम्प्युटर, प्राथमिक उपचार व्याग, ब्रेथलाइजर, नमुना सडक लगायतका काम गरिरहेको छ । दोश्रो चरणमा ३ अर्ब २२ करोड ३७ लाख ६२ हजारको लागतमा सडकमा सिसि टीभी जडान, ट्राफिक तालिम केन्द्रको निर्माण, सवारी साधन खरिद, इनफोर्समेन्ट डिभाइसको खरिद, तथ्यांक व्यवस्थापन केन्द्रको स्थापना, चिल्ड्रेन्स ट्राफिक एजुकेशन पार्कको निर्माण, सञ्चार साधान खरिद, लगायतका काम गर्ने योजना बनाएको छ । दोश्रो चरणको यो कार्यक्रम आर्थिक बर्ष २०७४/७५ देखि २०७६/७७ सम्म तीन बर्ष सञ्चालन हुनेछ । तेश्रो चरणको कार्यक्रम भने आर्थिक बर्ष २०७७/७८ देखि २०७८/७९ सम्म सञ्चालन हुनेछ । ३ अर्ब ४० करोड ९० लाख ५३ हजारको लागतमा सो दुई बर्षभित्रै इन्टेलिजेन्ट ट्राफिक मेनेजमेन्ट सर्भिस विस्तार गरिहनेछ । महानगरिय ट्राफिक प्रहरीका लागि आधुनिक भवनको निर्माण गरिनेछ भने सुबिधा सम्पन्न ट्राफिक अध्ययन केन्द्रको पनि निर्माण सम्पन्न गरिनेछ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले भने –‘हामीले आगामी पाँच बर्षभित्रै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सिंगापुरकै जस्तो बनाउने योजनासहित काम अघि बढाएका छौं ।’ ट्राफिक प्रहरीलाई जरिवाना रसिदबाट नभएर सुरक्षा भत्ताका रुपमा प्रोत्साहन रकम दिनुपर्ने धारणा पनि उनले राखे ।
बेबी लाईफ होमलाई नबिल बैंकको सहयोग
काठमाडौं । नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपालसँग सहकार्य गरी बेबी लाईफ होम किर्तिपुरलाई .एक लाख पन्ध्र हजार रुपैयाँ बराबरको खाने कुरा, स्टेशनरी तथा अन्य देनिक रुपमा आवस्यक पर्ने सामाग्रीहरु प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामाग्रीहरु त्यहाँ वस्ने बालबालिकाहरुलाई वितरण गर्नको लागि गत बिहीबार बेबी लाईफ होमलाई हस्तान्तरण गरको हो । बेबी लाईफ होम एचआई भी लागेका अनाथहरुको लागि स्थापना गरिएको एक अनाथालय हो र यसले एचआईभी संक्रमित बालबालिकाहरुलाई खाना, आवास तथा शिक्षा प्रदान गर्दछ । हाल बेबी लाईफ होमले नेपालको विभिन्न क्षेत्रबाट आएका ५ देखी १८ वर्षको उमेर समुहका २३ जना बालबालिकाहरुलाई संरक्षण र हेरचाह प्रदान गरिरहेको छ र ती बालबालिकाहरुलाई एचआइभी संक्रमितको लागि स्थापना गरिएको पहिलो विद्यालय सफलता एचआईभी शिक्षा सदनबाट शिक्षा प्रदान गरिरहेको छ । नबिल बैंकका नायब महाप्रवन्धक रमेशप्रसाद लोहनीले उक्त सामाग्रीहरु बेबी लाईफ होमलाई हस्तान्तरण गर्नु हुंदै यस्तो उत्कृष्ट सेवाको काममा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गरेका थिए । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तररुपमा सहयोग प्रदान गरी सहयोगको अझ बढी प्रतिवद्धताका साथ लागि परेको छ ।
नेक्स्ट लन्चप्याडमा छनोट भयो नेपालका ६ व्यवसाय
काठमाडौं । नेपाली भूमीका नेपाली उद्यमी र उनीहरुको व्यवसायलाई अगाडी बढाउने उदेश्यले नेकस्ट लन्चप्याड व्यवसाय प्रवद्र्धन र बढोत्तरी लागि एम एड नेकस्ट भेन्चर कर्पले चार महिने कार्यक्रम तयार पारेको छ । नेपालमा काम नभएर विदेशीले युवाहरुका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमीका निर्वाह गर्ने विश्वास गरिएको छ । एम एड नेकस्ट भेन्चर कर्पले लामो प्रयास पछि कार्यक्रमका लागि ६ वटा कम्पनी छनौट गरेको छ । छनौटमा परेका कम्पनीहरु विभिन्न विज्ञ तथा अनुभवी उद्यमीहरुद्धारा सञ्चालन हुने छनौटमा परेका कम्पनीहरु विभिन्न विज्ञ तथा अनुभवी उद्यमीहरुद्धारा सञ्चालन हुने छन् । जसका कारण उनीहरुको व्यवसायलाई गति प्रदान गर्नुका साथै व्यवसायलाई माथि उठाउन समेत सहयोग गर्ने छ । कार्यक्रममा नेटवोर्किङ, बजारीकरण, व्यापार कानून नीति, सञ्चालन विधी, मानव संसाधन , व्यवस्थापन, वित्त व्यवस्थापन जस्ता कुराहरु सिक्ने अवसर मिल्ने नेकस्ट लन्चप्याड व्यवसाय प्रवद्र्धनले जनाएको छ ।
लुम्बिनी फाइनान्सको ५ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं । शुक्रबार लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको ५ लाख एक हजार १९८ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४१ करोड २५ लाख रुपैयाँ रहेको छ ।
नेप्सेमा तीन कम्पनीको एक करोड ९३ लाख कित्ता बोनस सेयर सूचिकृत, हेरौँ क-कसको ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको एक करोड ९३ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन तीन कम्पनीको बोनस र हकप्रद सेयर गरि जम्मा एक करोड ६८ लाख ८६ हजार ३५१ कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार कृषि विकास बैंक सहित दुई कम्पनीको बोनस सेयर मात्रै र एक कम्पनीको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ । कृषि विकास बैंकको एक करोड १८ लाख १२ हजार ८०० कित्ता र डिप्रोक्स लघुवित्त विकास बैंकको ९ लाख २ हजार ७३३ कित्ता बोनस सेयर बजारमा थपिएको हो । साथै, सगरमाथा फाइनान्सको १२ लाख १६ हजार ४६९ कित्ता बोनस र २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पुर्याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना-२, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए । मेलम्चीबाट सुरुङ हुँदै सुन्दरीजल आउने पानी सुन्दरीजलमा प्रशोधन भइसकेपछि उपत्यकाका विभिन्न ११ ट्याङ्कीबाट नागरिकको घर घरमा पुर्याइने व्यवस्था मिलाइएको छ । आरुबारी, महाङ्काल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, खुमलटार, कटुन्जे, कीर्तिपुर र ठिमीमा नयाँ ट्याङ्की तथा अनामनगर र मीनभवनमा रहेको पुरानो ट्याङ्कीबाट पानी वितरण गरिनेछ । नयाँ बन्न लागेका नौवटा ट्याङ्की तथा पुराना दुईवटा ट्याङ्कीमा पानी पुर्याउन ६१ किमी पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ४९ किमी पाइप बिच्छ्याइएको प्रमुख खत्रीले बताए । नयाँ बन्न लागेका नौवटा ट्याङ्कीमध्ये पाँचवटा निर्माण सम्पन्न भएका, तीनवटाको २० प्रतिशत काम भएको र एउटा ट्याङ्कीको निर्माण कार्य असारदेखि सुरु हुने आयोजनाले जनाएको छ । रासस
आइपिओमा आवेदन गर्नेलाई न्युनतम १० कित्ता सेयर दिने व्यवस्था साह्रै राम्रो
ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्री नेपालमा पूँजी बजारको सुव्यवस्थित ढंगले विकास र विस्तार गरी मुलुकको पूर्वाधार तथा आर्थिक विकासका लागि आवश्यक पूँजी संकलन गरी सही ढंगले परिचालन गर्ने उद्देश्यले २०४६ सालमा प्रजातन्त्रको पुनरोदयपछि बनेको नेपाली कांग्रेसको निर्वाचित सरकारले स्थापना गरेको नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन पाउँदा मैलै आफूलाई गौरवान्वित महसुस गरिरहेको छु । म यस सुखद अवसरमा धितोपत्र र पूँजी बजारसंग सम्बन्धित सबैलाई बधाई सहित शुभकामना दिन चाहन्छु । उदारवादी, खुला र प्रतिस्पर्धात्मक आर्थिक व्यवस्थामा मात्र पूँजी बजारको स्वस्थ र दिगो विकास संभव छ र यस्तो विकासले मात्रै देशका लागि आवश्यक पूँजी जुटाउन मद्दत गर्दछ । यही यथार्थलाई ध्यानमा राखेर नै नेपाली कांग्रेसले यस क्षेत्रको विकास गर्न बजार सञ्चालक र नियमनकारी निकायको अलग अलगव्यवस्था गरेको हो । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको स्थापना र सञ्चालन पछि नेपालको पूँजी बजारमा सबैले देख्ने र भोग्ने गरि आमूल परिवर्तन भएका छन । नेपाल धितोपत्र बोर्डले एक नियमनकारी निकायको रुपमा चालेका कतिपय सामयिक कदमले नेपालीहरुलाई वचत गर्ने र वचतलाई लगानी गर्ने शिक्षा र अवसर दिएको छ । प्राथमिक निष्कासनमा आवेदन गर्ने सबैलाई न्यूनतम १० कित्ता शेयर दिने जुन व्यवस्था अहिले भएको छ, मलाई लाग्छ त्यसले आउने दिनमा नेपाली नागरिकलाई वचत गर्ने र संकलित रकम उच्च प्रतिफल दिने कम्पनीमा लगाउने संस्कारको विकास गराउने छ । नेपालीलाई उद्यम उन्मुख गराउन र कम्पनीका अंशियार वा मालिक बनाउन धितोपत्र बोर्डले ल्याएका यस्ता कार्य सराहनीय रहेका छन् । केही अगाडिदेखि लागू भएको आश्वा प्रणालीले पनि राजधानी र देशका केही ठूला शहर बजारमा केन्द्रित रहेको पूँजी बजारलाई देश व्यापी बनाउन मद्दत गरेको छ । अब राम्रा कम्पनीको शेयरमा देशभरबाट बैंकमार्फत नेपाली जनताले आवेदन गर्न सक्ने भएका छन । मैले यसलाई नेपालको पूँजी बजारको विकासमा महत्पपूर्ण सुधारको रुपमा लिएको छु । धितोपत्र बोर्डको रजत जयन्तीको अवसरलाई म विगत २५ बर्षमा नेपाली कांग्रेसले अंगीकार गरेका नीतिलाई पनि स्मरण गरिरहेको छु । जल विद्युत क्षेत्रमा पूँजी बजारबाट पूँजी संकलन गरी आयोजना निर्माण गर्ने जुन परम्परा विकसित भएको छ , त्यसले नेपाललाई मुलुकको आर्थिक र सामाजिक विकासका साथै गुणस्तरीय जीवन यापनका लागि अत्यावश्यक मानिएको ऊर्जामा आत्म निर्भरतातर्फ उन्मुख गराइरहेको छ । यो सुखद् पक्षहो । सन्तोषको विषय हो । अन्य क्षेत्रमा पनि हामीले यसको अनुशरण गर्नुपरेको छ । उत्पादन मूलक कम्पनीहरु यसरी सार्वजनिक निष्कासनमा आउने हो भने उनीहरुको विकास र विस्तारमा मात्र हैन, कम्पनीहरुको सुशासन र सुसञ्चालनमा पनि गुणात्मक परिवर्तन हुने मेरो विश्वास छ । हामीले अपनाएको संघीयतालाई व्यवहारमा सफलबनाउन हरेक प्रदेशमा कि त हाल भएका व्यवसायी पुग्नु प¥यो कि नयाँ व्यवसायी आउनु प¥यो । उद्योगी र व्यापारीहरु तपाईहरुको जुन जुन लगानी छ, त्यसलाई विस्तार गर्नुस, जनतासंग पैसा उठाउनुस, नाफाको अंश वितरण गर्नुस । आफू पनि बढ्नु होस् देशलाई पनि बढाउनु होस । सातै प्रदेशमा समानुपातिक रुपमा औद्योगिक र आर्थिक विकासका लागि सरकारको साथ साथै निजी क्षेत्रले पनि सोच्नु पर्ने अवस्था आएको छ । मलाई लाग्छ , पूँजीबजारको दिगो विकास र विस्तारले नै हाम्रो आवश्यकता केही हदसम्म पूर्ति गर्न सक्छ । बैंक तथा वित्तीय क्षेत्रको विकासमा पनि नेपालले फड्को मारेको मैले देखेको छु । बाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थाहरु, लघुवित्तले नेपाली जनताको घरदैलोमा पुगेर सेवा दिन थालेका छन् । उद्यमी नेपालीहरुलाई उद्यमका निम्ति अब खर्चको समस्या हुने दिन सकिदैछन । नयाँ संरचनाका स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना र सञ्चालनमा दिइएको सुविधाले कुनै पनि नेपाली आर्थिक समस्याको कारणले उपयुक्त व्यवसाय गर्नबाट बञ्चित हुन नपरोस भन्ने ध्येयले सरकारले काम गरेको छ । अब बीमा क्षेत्रले पनि देशभर आफ्नो उपस्थिति देखाउनु पर्ने अवस्था आएको छ । यो क्षेत्रबाट पूँजी परिचालनको ठूलो संभावना भएर पनि सन्तोषजनक काम हुन सकेको मैले देखेको छैन । बीमा समितिले देशका सबै प्रदेशमा विमा कम्पनीहरुलाई आफ्ना सेवा विस्तार गर्न लगाउनु पर्ने खाँचो देखिएको छ । हामीले राजनीतिक व्यवस्थाको टुंगो लगाइसकेका छौ । २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाले जारी गरेको संविधानले संघीयता सहितको गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको माध्यमबाट नेपाल र नेपाली जनताको भाग्योदय गर्न सकिने परिकल्पना गरेको छ । अब हाम्रो ध्यान आर्थिक समृद्धिमा केन्द्रित रहेको छ । आर्थिक विकासको लागि पूँजीको निर्माण र परिचालन गर्नु पर्दछ । यस कार्यको महत्वपूर्ण भूमिका पूँजी बजारका तपाईहरुले पाउनु भएको छ । नेपाल धितोपत्र बोर्डले पाएको आइओस्कोे लगायतका अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरुको सदस्यतालाई मैले उत्तिकै उपलब्धिको रुपमा लिएको छु । नेपालको धितोपत्र बजार पनि अन्तराष्ट्रिय स्तरको हुन पुगेछ । यो आधुनिकीकरणको युगमा प्रवेश गरेछ । यसले नेपालको धितोपत्र बजारमा गैरआवासीय नेपाली नागरिकलाई लगानी गर्न दिने र विदेशी संस्थागत लगानीकर्ता भित्र्याउने कार्यलाई पनि सहज गराउने मैले विश्वास लिएको छु । नियमन निकायका हिसाबले अधिक स्वायत्तता पाउनु पर्ने र बढ्दै गएको पूँजी बजार र धितोपत्र बजारलाई नियमन गर्न विश्वमा विकसित उच्च प्रविधिका उपकरणको जडान र सेवा सञ्चालनका लागि आफ्नो अलग्गै भवन हुनुपर्ने बोर्डको मागलाई मैले सकारात्मक रुपमा लिएको छु । अहिलेसम्म कानूनले व्यवस्थित हुन नसकेको कमोडिटी बजारको नियमन र सञ्चालनका लागि संसदमा दर्ता भएको विधेयकलाई छिटै पारित गर्न मेरो पूर्ण सहयोग रहनेछ । पूँजी बजारलाई अझ प्रतिस्पर्धी, सक्षम, लगानी कर्ता मुखी बनाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । यसका लागि आवश्यक पूर्वाधार बनाउन निजी क्षेत्र पनि अगाडि सरोस्, हामी देश विकासलाई सघाउने यस्तो निकायलाई प्रोत्साहित गर्न पछाडि पर्ने छैनौ । आज पनि वचत, लगानी र प्रतिफलका कुरा गरिरहदा अझै पनि मलाई दिनहुँ घरपरिवारबाट छुटेर विदेशिन वाध्य नेपालीको सम्झना आउछ । हामी आफै स्वदेशमा नै पूँजी निर्माण गरौ । परिचालन गर्रौ । उद्यम गरौ । रोजगारी सिर्जना गरौ । उत्पादन गरौ । विदेशी बजारमा निर्यात गरौं । यति धेरै संभावना बोकेको मुलुकका बासिन्दालाई नेपालको पूँजी बजारले त्यो सत्मार्गमा लैजान उत्प्रेरित गर्न सकोस् । (अर्थमन्त्री कार्कीले नेपाल धितोपत्र बोर्डको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचार)